Successfully Copied

महामारीमा जात्रा–पर्व 

संस्कार–संस्कृति हाम्रा परम्परा हुन्, तिलाई जोगाउनु र मनाउनुपर्छ । तर, सुरक्षा अपनाएर । सोह्र श्राद्ध पनि भर्चुअल तरिकाले गर्न त सकियो नि भन्ने विषयमा मैले नै बोलेकी थिएँ । दसैंमा सामान्यतया घरमै धेरै पूजापाठ गरिन्छ ।

विषम परिस्थितिमा सबै कुरा प्रतिकूल हुन्छन् । यस्तो अवस्थामा अनुकूलता खोज्दा उल्टो परिणाम आउन सक्छ । खासगरी अहिलेको कोरोना महामारीको समयमा चाडपर्व मनाउनु, जमघट गर्नु वा आफन्त जम्मा भई रमाइलो गर्नु ठीक होइन । कतिपयले संस्कारले निरन्तरता पाउनुपर्ने जिकिर गर्दै मनाउनैपर्नेमा अड्डी कसिरहेका छन् । केहीले संकटका बेला संयमित हुनुपर्ने, बाँचे अर्को वर्ष मनाउने धारणा पनि राखिरहेका छन् । अहिलेको अप्ठ्यारो अवस्थामा जात्रा–पर्व धुमधामले मनाउनु कति उचित/अनुचित भन्ने विषय यस पटकको बहसमा समेटिएको छ :

प्रियम्वदा आचार्य, सह–प्राध्यापक तथा पुराणविद्

संस्कार–संस्कृति हाम्रा परम्परा हुन्, तिलाई जोगाउनु र मनाउनुपर्छ । तर, सुरक्षा अपनाएर । सोह्र श्राद्ध पनि भर्चुअल तरिकाले गर्न त सकियो नि भन्ने विषयमा मैले नै बोलेकी थिएँ । दसैंमा सामान्यतया घरमै धेरै पूजापाठ गरिन्छ । शक्तिपीठहरूमा सामाजिक दूरी कायम गरी व्यवस्थापन गर्न सकिन्छ । चाडपर्व नमनाउने भन्न पनि भएन । मनोदशालाई सही ठाउँमा राख्नका लागि पनि चाडपर्व मनाउनुपर्छ । यद्यपि सुरक्षित रहने निश्चितता भने हुनैपर्छ । शक्तिपीठ जाँदा पनि टाढैबाट दर्शन गर्न सकिन्छ । चाडपर्व मनाउँदा मनोविषादलगायत आत्महत्याबाट टाढै रहन सकिन्छ । मानसिक अवस्था ठीक राख्न पनि चाडपर्व चाहिन्छ । जात्राका विषयमा प्रशासन पक्ष र जात्रा पक्षबीचको सही संयोजन र समुचित समायोजन भएन भन्ने लाग्छ । त्यसले एक पक्षबाट जात्रा रोक्ने अर्को पक्षले नगरी नछोड्ने देखियो । वार्ताद्वारा अगावै निष्कर्ष निकालिनुपर्थ्यो । दैनिक गुजाराका लागि हामी उपभोग्य सामान किन्न त गइरहेकै छौं नि ? अहिले महामारी भनेर धेरै मान्छे सोत्तर भएजस्तो पनि देखिँदैन । लासमाथि लास देखिएको भए मान्छे आफैं डराउँथे, कसैले रोक्नै पर्दैनथ्यो । यसको सामाजिक परिस्थिति र मृत्युदर हेर्दा त्यति भयंकर लाग्दैन । आतंकित नभई सुरक्षित बस्नुपर्छ भन्नेमा सावधान हुनुपर्छ अनि संस्कार र संस्कृतिलाई जोगाउनुपर्छ ।

मोहन व्यञ्जनकार, प्रवक्ता, ज्यापू समाज यल तथा रातो मच्छिन्द्रनाथ जात्राको आन्तरिक जात्रा व्यवस्थापन समिति संयोजक

यस्तो अवस्थामा जात्रा/पर्वबारे ठीक/बेठीकभन्दा पनि तत्काल परिस्थितिलाई मनन गर्नुपर्छ । रातो मच्छिन्द्रनाथको लामो जात्रालाई एकै दिनमा सिध्याएर, दूरी कायम गरी, स्वास्थ्य उपकरण प्रयोग गरेर सम्पन्न गरियो । लकडाउनलाई ख्याल गरेरै गरेको हो । तिथिले नदिएकाले र मलमास परेकाले सीमित मान्छे जम्मा भएर गरियो । तर सबैभन्दा पहिले आफैं सचेत हुनुपर्ने बेला छ, अहिले । नेपाल सरकारले पनि अलिकति नियम परिवर्तन गरेको छ । त्यसैगरी व्यक्ति स्वयंले पनि आफ्नो नियम आफैं बनाउने हो अब । फेरि दसैंमा खड्ग जात्रा हुन्छ, महालक्ष्मीस्थान मंगलबजारमा । सल्लाहअनुसार नगरी नहुने विधि मात्रै गरेर अगाडि बढ्ने कि भन्ने सल्लाह हुँदैछ । स्वास्थ्य नै ठूलो धन हो । शरीर रह्यो भने नै जात्रा मनाइन्छ । संस्कार–संस्कृति नछोड्ने तर समय अनुकूल भएर ।

भारती घिमिरे , गृहिणी

यस्तो महामारीमा जात्रा–पर्व मनाउनु एकदमै बेठीक हो । हिन्दू नारीको महान् पर्व तीजमा के हामी गयौं पशुपतिमा लाइन लाग्न ? यस्तो बेला पनि धुमधामका साथ मनाउनु मूर्खता हो । सय जनाले गर्दा हजार जनालाई रोगको संक्रमण फैलन सक्छ । यो बेला भनेको आफू बाँच्ने र अरुलाई पनि बचाउने हो । अहिले बाँचियो भने अर्को वर्ष चाडपर्व मनाउँदा हुन्छ । तर अहिले त जोगिने बेला हो । एक महिनाअघि मच्छिन्द्रनाथकै लिंगो तान्दा पनि कयौं मानिस लडे, चोटपटक लाग्यो, पिटिए त्यही हो अनिष्ट । यस्ता चाडपर्व आउँछन्, जान्छन् । हामीले आफ्नो जीवन जोगाउने हो । यस्तो अवस्थामा मनाउनैपर्छ भनेर ढीट कस्नेहरू यो देश बनाउनैपर्छ, बिग्रिएका सडक बनाउनैपर्छ, दोषीलाई सजाय दिनैपर्छ भनेर किन ढीट कस्दैनन् ? किन त्यस्ता कुराका विरुद्ध सडकमा उत्रिँदैनन् ? जात्रा नमनाएर अनिष्ठ हुन्छ भन्ने हो भने चार वर्ष अघिको भुइँचालो किन रोकिएन त ? सिन्धुपाल्चोकको पहिरोलाई खोइ रोक्न सकेको ? परिस्थितिअनुसार संस्कार–संस्कृति जोगाउने हो, ढीट कसेर हुँदैन ।

मीना भट्टराई, अध्यक्ष, आदिम नेसनल कलेज चाबहिल

सोझो हिसाबले हेर्दा पनि व्यक्ति आफैंमा सजग र सचेत हुनैपर्छ । यस्तो अवस्थामा जात्रा–पर्व भीडभाड गरेर मनाउनु उचित होइन । जात्रा–पर्व भन्नेबित्तिकै जमघट भइहाल्छ । जीवन रहे पछि पनि चाडपर्व मनाइएला, अहिलेको सबैभन्दा ठूलो कुरा बाँच्नु नै हो । हाम्रो चलिआएको संस्कृतिलाई रोक्न भने हुँदैन, सावधानी अपनाएर पर्वलाई निरन्तरता दिनुपर्ने देखिन्छ । आ–आफ्नो परिवार जहाँ–जुन अवस्थामा छन् सोहीअनुसार मनाउनुपर्छ । महामारीले को आफ्नो, को पराइ भन्दैन, आफैं सजग हुनुको विकल्प छैन । विश्वासभन्दा पनि व्यावहारिक हुनुपर्‍यो । संस्कार विश्वास हो भने महामारी अहिलेको यथार्थ ।

 Image