Successfully Copied

३० वर्षमुनिका ‘रोल मोडल’

आफ्नो स्थापना कालदेखि नै ‘नारी’ मासिकले महिलाको सशक्तीकरण, शिक्षा, विकास र सबलीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । किशोरीहरूको समस्या र त्यसको समाधान तथा महिलाको अधिकार र आर्थिक पक्षका बारेमा विभिन्न लेख–रचनामार्फत वकालत गर्दै आएको छ ।

आफ्नो स्थापना कालदेखि नै ‘नारी’ मासिकले महिलाको सशक्तीकरण, शिक्षा, विकास र सबलीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । किशोरीहरूको समस्या र त्यसको समाधान तथा महिलाको अधिकार र आर्थिक पक्षका बारेमा विभिन्न लेख–रचनामार्फत वकालत गर्दै आएको छ । विगतमा यो पत्रिकाले के–कति योगदान पुर्‍याउन सक्यो, त्यसको लेखाजोखा पाठकहरूले मात्र नभएर नीति–निर्माण तहमा रहेका निर्णयकर्ताहरूले निश्चित रूपमा राखेकै छन् भन्ने हाम्रो विश्वास छ । यो अंकदेखि १८ वर्ष पूरा गरी १९ वर्ष लागेको ‘नारी’ अब परिपक्व भइसकेको छ । आगामी दिनमा यसलाई थप परिमार्जनसहित प्रस्तुत हुने हाम्रो लक्ष्य र प्रयास निरन्तर रहनेछ । हाम्रो त्यो प्रतिबद्धता पनि हो । त्यसैअनुरूप यो अंकमा हामीले केही त्यस्ता ‘योङ अचिभर्स’ लाई समेट्ने प्रयास गरेका छौं, जो आ–आफ्ना क्षेत्रमा दक्ष, अब्बल र सफल छन् । यहाँ उल्लिखित ३० वर्षमुनिका महिलाहरू तमाम सफल महिलाहरूका प्रतिनिधि पात्र हुन सक्छन् । हुन त विविध क्षेत्रमा अहिले थुप्रै महिलाको उपस्थिति र सफलता चुलिँदै गएको छ । सबैलाई समेट्ने इच्छा र प्रयासका बाबजुद हामीले समय र परिस्थितिअनुकूल केही प्रतिनिधि पात्रहरूको विचार र धारणा राख्न सफल भएका छौं । वकालतमा पोख्त रिया बस्नेत (२८ वर्ष), लेखक विज्ञता कार्की (१८ वर्ष) देखि डा. अस्मिता भट्टराई (२४ वर्ष) , मनोविद् तथा रंगकर्मी नानी थापा (२८ वर्ष), डिजाइनर अस्मिता जी. उप्रेती (२६ वर्ष), आर्किटेक्ट इन्जिनियर तथा मोडल दीपिका थापा मगर (२२ वर्ष), व्यवसायी एमी शाक्य (२८ वर्ष) र सामाजिक मनोपरामर्शदाता कविता चापागाईं (२६ वर्ष) का बारेमा पढेर पक्कै पनि पाठकहरूले नौलो स्वाद पाउनुका साथै ‘गरे सम्भव छ’ भन्ने कुरा अनुभूति गर्न सकून् भन्ने हाम्रो अपेक्षा हो । यो वर्षको ‘बीबीसी हन्ड्रेड वुमन’ मा दरिएकी अर्की किशोरी बोनिता शर्मा युवाका लागि रोल मोडल बन्न सक्छिन् ।

बोनिता शर्मा

बेलायती समाचार संस्था ‘बीबीसी’ ले हालै संसारभरिका सय जना प्रेरणादायक महिलाको सूची जारी गरेको छ । सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छन् । उनी सामाजिक कार्यकर्ता हुन् । उनको सामाजिक संस्था सोचाइ (सोसल चेन्जमेकर एन्ड इनोभेटर्स) शिक्षा, नवीनता र उद्यमशीलतामार्फत बालबालिका, किशोरी र महिलाको स्वास्थ्य एवं पोषणमा सुधार ल्याउने क्षेत्रमा सक्रिय छ । देशका विभिन्न समुदायमा पौष्टिक खानाको महत्वका बारेमा सचेतना जगाइरहेको छ । उनका बारेमा ‘बीबीसी’ ले लेखेको छ, ‘कुपोषणका कारण मृत्युको मुखमा पुगेका नाबालक, शिशु र बालबालिकालाई जोगाउन बोनिताले आमाको पोषणसँग सम्बन्धित ब्रेसलेट डिजाइन गरिन् । त्यसले आमाहरूले आफ्ना बालबालिकालाई स्वस्थ र पोषणयुक्त खाना कसरी खुवाउँछन् भन्ने जानकारी दिन्छ । संसारमा धेरै व्यक्ति स्वास्थ्य, शिक्षा र पोषणमा असमानताको भयंकर परिणाम भोगिरहेका छन्, विशेषतः महिला र किशोरीहरू ।’ बोनिताले विभिन्न रंग प्रयोग गरी महिनावारी तथा पोषण माला बनाएकी छन् । मालाले महिला स्वयम् र आफ्ना सन्तानले कुन बेला कस्तो पोषण ग्रहण गर्ने भन्ने निर्क्यौल गर्न सहयोग गर्छ । उनी भन्छिन्, ‘मलाई आशा छ हाम्रो सानो प्रयासले प्रत्येक किशोरी र महिलाले आफ्नो जीवनमा कुनै भेदभावविना अवसर प्राप्त गर्न सक्नेछन् । भविष्यका लागि यो माला बाँध्नुहोस्, किनकि महिलाले भोलि विश्वव्यापीरूपमा आर्थिक र सामाजिक रूपान्तरणका लागि नेतृत्वमा आउनैपर्छ ।’

बालिकाहरूको शिक्षा अधिकारमा सहयोग पुर्‍याएको भन्दै बोनिताको परियोजनालाई ‘युनेस्को मालाला’ कोषले पुरस्कृत गरेको छ । उनी भन्छिन्, ‘यसलाई मैले ठूलो उपलब्धिका रूपमा लिएकी छु । महिला, पुरुष, किशोर–किशोरी र शिशुहरूलाई शिक्षा दिएर कुपोषणको अन्तरपुस्ताको चक्र तोड्न हाम्रो अभियान र संघर्ष जारी रहनेछ ।’

रिया बस्नेत

सुर्खेत वीरेन्द्रनगरकी स्थायी निवासी अस्मिता भट्टराईले काठमाडौंको गोल्डेनगेट इन्टरनेसनल कलेजबाट ‘प्लस टु’ पूरा गरिन् । ०६७ मा उनले बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजबाट स्नातक (एमबीबीएस) गरिन् । केही महिना त्यहीँ काम पनि गरिन् । पछि सुर्खेतस्थित कर्णाली प्रान्त अस्पतालमा सेवा दिन थालिन् । सानैदेखि अरुको सेवामा मन बसेकाले चिकित्सा पेसा रोजेकी अस्मितालाई अस्पतालले कोरोना व्यवस्थापन प्रयोजनका लागि चिनगढ ग्रामीण नगरपालिकामा खटायो । उनी भन्छिन्, ‘घर फर्केका आप्रवासी कामदारहरूको वृद्धि भएपछि मैले हजारभन्दा बढी व्यक्तिका लागि क्वारेन्टाइन प्रबन्ध गर्ने भार बोक्नुपर्‍यो । ओपीडी र इमरजेन्सी दुवैको भार र सीमित स्रोत–साधनका बाबजुद पनि पीएचसीका सहयोगीका कारण संक्रमित बिरामीलाई समायोजन गर्न अलग्गै वार्ड स्थापना गर्न सक्षम भएँ जुन अहिलेको संकट व्यवस्थापनमा अत्यावश्यक थियो ।’

चिकित्सक अभावका कारण केही महिनादेखि ओपीडी समेत बेवारिसे अवस्थामा रहेको जोखिमपूर्ण स्थानलाई व्यवस्थित गर्न सफल हुनु आफ्नो उपलब्धि भएको अस्मिता बताउँछिन् । बढ्दो कोरोना महामारीकै कारण चीनगढ ग्रामीण नगरपालिकामा उनले गरेको कामको प्रतिफल देखेर अस्मितालाई पुनः कर्णाली प्रान्त अस्पतालले बोलायो । हाल उनी आइसोलेसन वार्डका बिरामीको हेरचाह गर्छिन् । परिवारका सदस्यहरूको निरन्तर प्रेरणा र समर्थनका साथै उनीहरूबाट पाएको साथ, सहयोग र हौसलाले आफूलाई अझैं काम गर्ने जोस–जाँगर भरिएको उनी बताउँछिन् । ‘आफ्नो कामप्रतिको दृढता, परिश्रम, कर्तव्यनिष्ठ स्वभाव अनि परिवारको उत्प्रेरणाले नै मैले यही उमेरमा यति गर्न सकेकी हुँ’ उनले भनिन्, ‘विश्वव्यापी महामारीका बखत बिरामीको हेरचाह र व्यवस्थापनसम्बन्धी जोडिएर आउने विभिन्न अनावश्यक राजनीतिक मुद्दाहरूको सामना गर्नु अहिलेको ठूलो चुनौती हो । यसका अतिरिक्त एउटी प्रोफेसनल महिला हुनुको पूर्वाग्रह पनि अनुभूति गर्न पाएँ । कतिपय मानिसहरूले पुरुष डाक्टरको माग गर्छन्, महिलालाई पत्याउँंदैनन् ।’

डा. अस्मिता भट्टराई

विज्ञता कार्कीले यो उमेरमै अंग्रेजी र नेपालीका ७ वटा पुस्तक प्रकाशित गरिसकेकी छिन् । उनका अभिभावकले उनलाई सानैदेखि अक्षरसँगको साक्षात्कारमा बानी बसाले । ‘चित्रभित्र लुकेको शब्द’, ‘यात्री सिंह’, ‘इनभिजिबल भ्युज’, ‘स्कार्स अन्डर स्कार्फ’ लगायतका उनका कृतिहरू निक्कै रुचाइएका छन् । कविता, निबन्ध, यात्रा संस्मरण र उपन्यास लेख्न रुचाउने विज्ञता नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै दख्खल राख्छिन् । बाल्यकालदेखि नै कला र साहित्य भनेपछि हुरुक्कै हुने यिनी युवा उमेर र समयलाई उपयोगी र सत्कर्ममा लगानी गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘सानैदेखि आफ्नो क्षमता र आत्मविश्वासमा भरोसा गर्न थालें, जसले मलाई आफ्नो रुचिमा कसी लगाउन मद्दत गर्‍यो । मेरा प्रकाशनहरू त्यसैका परिणाम हुन् ।’ ‘साहित्य परिवार नेपाल’ की संस्थापक अध्यक्ष समेत रहेकी उनले दुई दर्जनभन्दा बढी पुस्तकका लागि कभर आर्टसमेत गरिसकेकी छन् । बालपत्रिका ‘जूनकिरी’ र ‘एम्बिसन स्पेक्ट्रम’ गरी दुईवटा पत्रिकाको सम्पादक भएर काम गरिसकेकी विज्ञता, देवकोटा शतवार्षिक चित्रकला पुरस्कार, प्रारम्भ अवार्ड, कविता राम बाल साहित्य, राष्ट्रिय नवप्रतिभा पुरस्कारलगायत दर्जनौं पुरस्कारद्वारा सम्मानित भइसकेकी छन् । ग्याजेट्समा समय खेर फालिरहेका अहिलेका युवालाई शब्द, चिन्तन र भविष्यप्रति अलिकति भए पनि सोच्न आग्रह गर्दै विज्ञता भन्छिन्, ‘मोबाइल, ल्यापटप, ट्याबका स्क्रिन अहिले देख्दा जति रंगीन र चित्ताकर्षक हुन्छन् तिनले हाम्रो भविष्य उत्तिकै अँध्यारोतर्फ लगिरहेका हुन्छन् । हामी युवाले अब ती स्क्रिनहरूबाट जीवन उज्यालो पार्ने चीज खोज्नु जरुरी छ । भविष्यको तय गर्ने आफैंले हो त्यो पनि आजैदेखि ।’

विराटनगरकी रिया बस्नेत अधिवक्ता तथा योग प्रशिक्षक हुन् । बेपत्ता पारिएका द्वन्द्वपीडित नागरिकहरूको डकुमेन्ट्री बनाइरहेकी उनले काठमाडौंस्थित ‘स्कुल अफ ल’ बाट एलएलबी गरेकी छन् ।

दीपिका थापा मगर

उनका अभिभावकले धरान बीपी मेमोरियलका डाक्टर छोरासरह छोरी रियालाई पनि समान वातावरणमा हुर्काए, बढाए, पढाए । रिया आफ्नो क्षेत्रमा सफल छिन् । भन्छिन्, ‘म आफैंलाई पनि कुन बाटो जान्छु भन्ने निश्चित थिएन । आफूलाई एक्सप्लोर गर्ने स्पेस सधै ओपन राखें । आफूलाई कहिल्यै खुम्च्याएर राखिन । हाम्रो उमेर पढ्ने, स्कुल–कलेज जाने मात्रै होइन, आफ्नो क्षमता एक्सप्लोर गर्ने र मेहनती हुने हो । यसो गरे सफलता आफैं भेटिन्छ ।’

कलेज लाइफमै महिला उद्यम प्रोजेक्टमा लामो समय काम गरेको बताउने रिया विद्यार्थीहरूको ‘स्टुडेन्ट्स फर लिबर्टी फोरम’ मार्फत ‘फ्रि–इकोनोमिक’, ‘फ्रि–ट्रेड’ मा ‘साउथ एसियन रिजनल’ को नेतृत्व गरेकी थिइन् । महिला उद्यमका लागि तालिमलगायत नयाँ व्यवसाय कसरी थाल्ने ? व्यावसायिक जोखिमबाट कसरी बच्ने ? लगायतका काममा उनको महत्वपूर्ण भूमिका रह्यो । हाल उनी बेपत्ता पारिएका द्वन्द्वपीडितका अलावा एकल महिलाको घर कसरी चलिरहेको छ ? सरकारले कसरी हेरिरहेको छ र यस मुद्दामा कस्तो सहयोग गरिरहेको छ ? भन्ने काममा व्यस्त छिन् । कोभिड–१९ का कारण भएको लकडाउनको अवस्थामा उनले ‘हेल्दी नेपाल ग्रुप’ सँग मिलेर हरेक साँझ ७ बजे निःशुल्क योग सिकाउँथिन् । उनी भन्छिन्, ‘जुनसुकै क्षेत्रमा सफल हुनका लागि शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनु जरुरी छ । ‘हेल्दी नेपाल’ ले विभिन्न खालका कार्यक्रम गरिरहेको थियो, त्यसमा म पनि जोडिएँ । मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यान दिँदै यो सेवामूलक काम सुरु गरेको हो । महामारीका कारण डिप्रेसनमा जान लागेका तथा अन्य शारीरिक रोग भएका मानिसहरूलाई हामीले आफूसँग भएको ज्ञान र सीप निःशुल्क बाँडेका हौं ।’ सिर्जनात्मक काममा रुचि राख्ने रियाले लकडाउनमै ‘द ब्रान्ड गुडिज’ सुरु गरिन् । यसले क्रेताको क्षमताअनुसार उनीहरूकै बजेटभित्र रहेर विविध सामग्री बनाई घरदैलोसम्म पुर्‍याउने काम गर्छ ।

नानी थापा

व्यावसायिक जीवनमा प्रवेश गरेपछि महिलाको आवाज त्यति स्वीकार नगरिएको अनुभव आफूले गरेको बताउँदै रिया भन्छिन्–‘तिनै कुरालाई इखका रूपमा लिएर अगाडि बढेकी हुँ । आगामी दिनमा मानव अधिकारका क्षेत्रमा योगदान गर्ने योजना छ ।’

भर्सटायल नानी थापा रंगकर्म, वकालत र मनोपरामर्श क्षेत्रमा दख्खल व्यक्तित्व हुन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा जन्मिएकी उनले सामाजिक न्यायको यात्रा थालेको दशकको हाराहारी हुन थाल्यो । नानी बच्चैदेखि निडर स्वभावकी थिइन् । स्कुले जीवनदेखि नै गीत, कविता, सडक नाटक, वक्तृत्वकलामा अब्बल उनी कक्षामा कहिल्यै दोस्रो नभएको बताउँछिन् । भन्छिन्, ‘७ कक्षा पढ्दा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न प्रतियोगितामा भाग लिएँ, उपहार जितें तर त्यो मेरा लागि जीवनको जित थिएन । अझैं अगाडि केही गर्ने हुटहुटी मभित्र बढ्दो थियो ।’ त्यतिबेलै खाजाको पैसा जोगाएर उठाएको एक मोहोरबाट जम्मा भएको रकमबाट देश–विदेशमा रहेका गरिब बालबालिकालाई सहयोग गरेकी थिइन् । त्यही बेला नै उनी नर्वेसम्म पुग्ने अवसर पाइन् । एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौं आएपछि पद्मकन्या क्याम्पसबाट बी एस डब्ल्युमा स्नातक, केन्द्रिय विश्वविद्यालय कीर्तिपुरबाट चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर, कानुनमा स्नातकोत्तर तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् । भन्छिन्, ‘गर्भधारणको समयको वातावरण, हाम्रो स्कुलिङ, प्यारेन्टिङ, पारिवारिक व्यवहार तथा वातावरण, भौगोलिक अवस्थालगायत आफूमा भएको व्यक्तित्वले एउटा मान्छेको करिअर र समग्र जीवनमा ठूलो छाप र प्रभाव पार्छ । आफ्नो जीवनको नेतृत्व आफैले लिनुपर्छ । यति गर्न सकियो भने सफल भइन्छ । मेरो हकमा म सदा ‘गोल सेट’ गरेर हिँड्छु । बीचमा जे–जस्ता चुनौती र आँधीहुरी आए पनि लड्दैपड्दै त्यो गोल प्राप्त गरेरै छोड्छु ।’ काठमाडौंका गल्ली–गल्लीमा बिनाचप्पल नानीका खुट्टाले लामा बाटा नापेका छन् ।

यमी शाक्य

उनको जीवनले धेरै दुःख र संघर्ष खेपेको छ । संघर्षका दिन कोट्याउँदै उनले भनिन्, ‘बुवा बित्दा म १४ वर्षकी थिएँ । घाँस–दाउरा गरेरै पढेकी हुँ । काठमाडौं आएपछि पनि मार्केटिङ, रिसेप्सनिस्टलगायत विभिन्न संस्थामा स्वयंसेवकको काम गर्दै पढियो । आजको यो सफलता त्यसै प्राप्त भएको होइन ।’ त्यत्रो संघर्ष आइपर्दा पनि कहिल्यै अलापविलाप गरी मनोविषादमा डुबेर बस्ने स्वभाव भएन नानीमा । अहिले व्यावसायिक रूपमा जमिसकेपछि पनि महिला भएका कारणले हुने चुनौती, सानो उमेरमै धेरै पढ्नुको र धेरै उपलब्धि गर्नुको चुनौती पाइलैपिच्छे भोग्न परिरहेको छ उनी बताउँछिन् । संघर्षको स्वरूप र स्तर मात्रै बदलिन्छ, रूप त उही हो भन्ने उनको धारणा छ ।

समय व्यवस्थापनका सन्दर्भमा एक समयमा एउटा मात्रै काम गर्नु नानीको बानी हो । उनी सधैं प्राथमिकता सेट गरेर हिँड्छिन् । यस्तो बेला रुचि र कुन महत्वपूर्ण भन्ने कुरा आउँछ जसलाई राम्ररी छुट्याउने कला उनीमा छ । ‘इच्छाशक्ति महत्वपूर्ण कुरा हो । वर्षको एउटा च्यारिटेबल नाटक गर्छु । बिहानको समय कलेज पढाउँछु । दिउँसोको समय वकालत र मनोपरामर्शलाई दिने गरेकी छु ।’ नेपाली महिलाको अवस्था बारेमा नानी भन्छिन्, ‘कुन मर्मका साथ कानुन बने, कुन मर्मका साथ कार्यान्वयन गरियो भन्ने कुराले न्यायको संकेत गर्छ । न्यायको मर्म र भावनालाई मर्न नदिई न्याय गरिनुपर्छ ।’ ‘जिन्दगी जिन्दावाद’ नाटक तयारीमा लागेकी नानी अहिले रुकुममा बालिका हत्याको घटनामा काम गरिरहेकी छिन् ।

विज्ञता कार्की

एमी शाक्यले केजीएच ग्रुप अफ होटल एण्ड रिजोर्टको कार्यकारी निर्देशक पद सम्हालेको पाँच वर्ष भयो । यो समयको अन्तरालमा उनले विदेशमा सिकेको ज्ञान, सीप र दक्षतालाई मज्जाले आफ्नै भूमिमा सिंचित गरेकी छिन् । एमीले प्रारम्भिक शिक्षा भारतमा सम्पन्न गरेकी हुन् । स्विजरल्यान्डबाट होटल म्यानेजमेन्टमा बीबीए गरिन् । पेरिसको ‘भियना इन्टरनेसनल होटल’ र मुम्बईको ‘लोसुत्रा बुटिक होटल’ तथा ‘आउट अफ द ब्लु रेस्टुरेन्ट’ मा गरेको इन्टर्नसीपले एमीको क्षमतालाई अझ तिखार्ने काम गर्‍यो । आफ्नो पुरानै ढर्राबाट चलिरहेको खानदानी/पारिवारिक व्यवसायलाई एमीले अन्तर्राष्ट्रिय सीप र स्टाइल सिकेर फर्केपछि पूर्णरूपमै बदलिदिइन् । उनी भन्छिन्, ‘सम्पूर्ण परिवार यसैमा लागेका थियौं । म आएपछि यसलाई पारिवारिक भन्दा पनि व्यावसायिक बनाउन प्रयास गरें, दक्ष जनशक्तिमा जोड दिएँ । यसलाई अन्तराष्ट्रिय स्तरको कसरी बनाउने भन्नेमा लागें अहिले केही हदसम्म सफल पनि भएँ भन्ने लाग्छ ।’

‘पार्क भिलेज’ को नेतृत्वमा उनी पुगेपछि यो बढी नै प्रोफेसनल देखिन थालेको छ । पहिले ट्राभल फोकस व्यवसायलाई एमीले इन्टरनेट बेस्डमा ढालिन् । अनलाइन प्लेटफर्मलाई प्रयोगमा ल्याइन् । उनले कम्पनीलाई ‘कर्पोरेट स्ट्रक्चर’ मा ल्याएकी छन् । सेल्सको सट्टा मार्केटिङमा बढी फोकस छ उनको व्यवसाय अहिले । ‘पार्क भिलेजभित्रको नयाँ ब्याक्वेटको कन्सेप्ट, डिजाइन, यहाँका रुम अपग्रेडिङसम्म सबै मेरो अवधारणा हो ’ एमी भन्छिन् ‘यसरी नै हरेकले आफ्नो क्षेत्रमा दत्तचित्त भएर सिर्जनात्मक काम गर्ने हो भने देश परिवर्तन हुन लामो समय लाग्दैन । मात्र चाहिन्छ, दृढता र आफ्नो क्षमताप्रतिको आत्मविश्वास ।’

एमीका अनुसार अहिलेको पुस्तालाई चाहे जति सबै किसिमका काम गर्ने अधिकार प्राप्त छ । एक्सपोजर पाएका छन् । अहिलेका युवाले पाएको अवसरलाई समातिहाल्नुपर्ने उनी बताउँछिन् । सोसल मिडियाका कारण आहिलेका युवालाई एक्सप्लोर हुन सहज बनाइदिएको पनि उनले बताइन् । भन्छिन्, ‘ क्षमता छ भने लुकाएर बस्नु पर्दैन, अहिलेको समयमा प्रशस्त प्लेटफर्म छन्, थोरै साहस र इच्छाशक्ति भए सफल भइन्छ ।’ पारिवारिक व्यवसाय हाँक्न पाएकोमा आफूलाई निक्कै भाग्यशाली ठान्ने एमी पढेको र परेको गर्नुमा धेरै अन्तर भएको धारणा राख्छिन् । तर बेलाबखत महिला भएकै कारण अनौठा चुनौती आउने गरेका छन् । कुनै महिलाको कमजोरी पाए भने पूरै महिला जगत्लाई नै गिराएर टीकाटिप्पणी गर्ने नेपाली चलन र व्यवहारले एमीलाई दिक्क बनाउँछ ।

उनको उपस्थितिले पार्क भिलेजको मुहार मात्रै फेरिएन त्यहाँभित्र नेतृत्वतहमा महिला कर्मचारीलाई बढावा दिने काम भयो । उनको आगमनपछि त्यहाँ थुप्रै महिलाले समान ज्यालामा जागिर पाएका छन् । एमीले भनिन्, ‘विदेश पढ्न गएँ, ज्ञान र सीप सिकेर फर्किएँ, त्यो सीपलाई आफ्नै देशमा प्रयोग गर्न पाएँ । यो मेरा लागि गौरवको कुरा हो ।’

कविता चापागाई

धनगढीमा जन्म काठमाडौंको हुर्काइ, बढाइ आर्किटेक्ट इन्जिनियर तथा मोडल दीपिका थापा मगरलाई सानो छँदा नै मनोरञ्जन मन पर्थ्यो । उनका अभिभावकले उनलाई कुनै कुरामा कमी हुन दिएनन् । उनको शिक्षादीक्षा काठमाडौंमै भयो । हिमालय कलेज अफ इन्जिनियरिङबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक दीपिका बाल्यकालदेखि नै अभिनय, नृत्य र क्यानभास पेन्टिङमा रुचि राख्थिन् । पिजेज कलेक्सन, सक्यता भि–भ्याग, युसा भिरागोमा मोडलिङ गरिसकेकी उनले युनिग्लोब कलेजको क्लासरुम डिजाइनका साथै स्पेश डिजाइन कन्सल्ट्यान्टमार्फत आधा दर्शन रेसिडेन्सी र स्कुलको इन्टेरियर डिजाइनिङ गरिसकेकी छन् ।

अहिलेका युवाहरू सोसल मिडियाको प्रभावमा परी अरूको जीवनबाट प्रभावित हुन्छन् भन्ने दीपिकाको ठम्याइ छ । उनी भन्छिन्, ‘आफूभित्रको क्षमता चिनेर, अरुको प्रभावमा नपरी दृढ भएर अगाडि बढ्नुपर्छ, सफल भइन्छ । नत्र हराउने र बिलाउने सम्भावना रहन्छ ।’

दीपिकाका अनुसार करियरमा सबैभन्दा ठूलो कुरा परिवारको सहयोग र हौसला हो । हाम्रो सामाजिक संरचनाले महिलालाई अलिकति पछाडि नै राख्ने हुनाले महिलाका लागि जुनसुकै क्षेत्रमा चुनौती रहेको उनी बताउँछिन् । महिलालाई प्राथमिकतामा राखिँदैन भन्ने उनलाई लाग्छ । ‘म सँगैको अर्को पुरुषलाई विश्वास गरिन्छ म महिला भएकैले कम प्राथमिकतामा पर्छु । तगारो बढी हुन्छ महिलालाई ।’ यसका लागि महिला स्वयं बलियो हुनुपर्छ भन्ने धारणा राख्दै उनले भनिन्, ‘महिला आफैंले आफ्नो सुरक्षा गर्नुपर्छ, सुरक्षाका लागि अरूको सहारा खोज्नुहुँदैन ।’

बालबालिका, किशोर–किशोरी, युवायुवती र महिलाको स्वास्थ्यबारे परामर्श क्षेत्रमा उनी क्रियाशील छिन् । विशेषगरी परिवारबाट बिछोडिएका बालबालिका र किशोर– किशोरीलाई परिवारसँग पुनर्मिलन गराउन सक्रिय छिन् । काठमाडौंस्थित गोठाटारकी कविता चापागार्इं २८ वर्षकै उमेरमा यसरी सामाजिक कार्यमा लागेकी हुन् । ‘द स्कुल अफ साइकोलोजी’ बाट ‘साइकोसोसियल काउन्सिलिङ’ को ६ महिने विशेष कोर्स गरेपछि परामर्शतर्फ मोह बढेको उनी बताउँछिन् । ‘रिलायन्स कलेज’ बाट ‘प्लस टु’ र ‘सोसल वर्क’ मा स्नातकपछि त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिन् । अहिले भने उनी अर्को विषय ‘एमएसडब्लयु’ मा त्रिविबाटै स्नातकोत्तर गर्दैछिन् । कविता भन्छिन्, ‘नेपाल सरकारले विभिन्न बालगृहबाट उद्धार गरेका बालबालिकाको पारिवारिक पुनर्मिलनमा काम गर्छ त्यसैअन्तर्गत परिवर्तनको संवाहक टिम लिडरका रूपमा पाँच वर्षयता काम गरिरहेकी छु । परिवारबाट बिछोड भएका बालबालिकाको पुनर्मिलन गराउन पाउँदा गौरवान्वित छु । मुख्यतः उनीहरूलाई परिवारको महत्व र किशोरावस्थामा आउने द्विविधाबारे तथा युवावस्थामा जागिर नपाएको वा अन्य कारणले डिप्रेसनमा जानबाट कसरी जोगिनेबारे परामर्श दिने गरिरहेकी छु ।’

बालबालिका र युवालाई सही मार्गनिर्देश गर्न सक्नु नै आफ्नो उपलब्धि ठान्ने कविता एक जना नै किन नहोस् उसमा परिवर्तन ल्याउन सक्नु र दिशानिर्देश गर्न सक्नुलाई आफ्नो सफलता ठान्छिन् । परिवारबाट छुट्टिएका बालबालिकालाई परिवारसँग मिलाउँदा उनीहरूको मुहारमा देखिने मुस्कानले उनलाई अझ यो क्षेत्रमा क्रियाशील रहन प्रेरित गरेको छ । अहिलेका विचलित युवाबारे उनी भन्छिन्, ‘युवामा धैर्य हुनुपर्छ । अहिलेका युवा छिटो परिणाम खोज्छन् यसले कहिलेकाहीँ निराशा ल्याउन सक्छ । अरुको सल्लाह सुन्ने तर निर्णय आफै गर्नुपर्छ । आफूभन्दा ठूलाको कुरा सुन्ने, उदाहरण हेर्ने गरे उत्प्रेरणा मिल्छ ।’ बालबालिका, युवा र महिलाको क्षेत्रमा काम गर्ने इच्छा पहिल्यैदेखिकै हो, उनको । अब उनीहरूलाई आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने उनको तर्क छ । ‘द हिमालयन इनोभेटिभ सोसाइटी’ मार्फत काम गरिरहेकी उनी आफू मानसिक रूपमा सन्तुलित रहन किताब पढ्ने, कहिलेकाहीँ एक्लै पनि घुम्न निस्किने, ठूलाको कुरा सुन्ने, सहज भएकाहरूसँग आफ्ना कुरा सेयरिङ गर्ने गरेकी छन् ।

अस्मिता जी. उप्रेती

बलिउडका अहिलेका चल्तीका नायिका कियारा अड्भानी, परिनीति चोपडा, तब्बु र पूर्व अभिनेता स्व.इरफान खानलगायतका सेलिब्रेटीसँग काम गरिसकेकी अस्मिता जी.उप्रेती आफू जन्मे–हुर्केको ठाउँमा धेरै गर्न सकिने सम्भावना देखेकीले मुम्बई जस्तो फराकिलो ‘फेसन हब’ छाडेर नेपाल फर्किएकी छन् । बलिउड कलाकारका लागि ड्रेस डिजाइनदेखि स्टाइलिङको काम गरिसकेकी २६ वर्षीया अस्मिता शुभतारा हुँदै रातो बंगलापछि मुम्बईको र्‍याफल्स कलेज पुगेकी हुन् । त्यहाँबाट उनले फेसन डिजाइनिङमा ब्याचलर गरिन् । हाल ‘यल मण्डला’ मा रिटेल र प्रमोसनको काममा व्यस्त उनी फेसनका लागि मुम्बई जस्तो ठूलो मार्केट छोडेर नेपालमै आफ्नो सीप र कला पस्किइरहेकी छन् । उनी कार्यरत मण्डलाले पहिरन, एसेसरिज तथा होम डेकोरका सामग्रीहरू निर्यात गर्छ । अस्मिता भन्छिन्, ‘मुम्बई जस्तो ठाउँमा पाएको एक्सपोजर नेपाल ल्याएर यसबारे अरुलाई सु–सूचित गराउँंदै, फेसन जगत्मा केही फरक गर्न सक्छु भन्ने आत्मविश्वास छ । फेसन क्षेत्रमा नेपाल केही पछाडि नै छ, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिन्छ भन्ने मलाई लाग्छ ।’ यसका लागि ‘आर्ट एन्ड क्राफ्ट’ मा विद्यालयस्तरदेखि नै प्रमोट गरिनुपर्ने उनको धारणा छ । छोराले डिजाइनिङमा रुचि राखेर यही विषय पढ्छु भन्यो भने ‘छोरा मान्छे भएर साडी बनाउँछस्’ भनेर हतोत्साहित गर्न नहुने उनी बताउँछिन् । अस्मिताका अनुसार चिकित्सहरूका लागि सरकारबाट स्वदेशी–विदेशी छात्रवृत्तिको कोटा हुन्छ तर फेसन शिक्षाका लागि छैन त्यो पनि गर्ने हो पो कि ? फेसन क्षेत्रमा निजी लगानी र सरकारी सहयोगको आवश्यकता रहेको बताउने अस्मिताले भनिन्, ‘हाम्रो संस्कृति झल्काउने पहिरन संसारभर रुचाइएको छ र आगामी दिनमा विश्वको कुनाकाप्चामा पुर्‍याउन सक्दो पहल र परिश्रम गर्नेछु ।’

अस्मिता करियरको सुरुवाती तीन/चार वर्ष अत्यन्तै द्विविधामा रहिन् । ‘के गर्ने, कसो गर्ने, कुन क्षेत्र रोज्ने ?’ अत्यन्तै अन्यौलपूर्ण अवस्थामा उनको तीन वर्ष यसै खेर गयो । उनी भन्छिन्, ‘युवा उमेरमा यो अवस्था एकपटक सबैको जीवनमा आउँछ । कुनै विन्दुमा पुगेर यस्तो लाग्छ अब ढिला भइसक्यो । तसर्थ प्रयास गर्न कहिल्यै रोकिनु हुँदैन । तीन महिना मुम्बईमा घरमा यत्तिकै बसे । कता–कताबाट प्रोजेक्ट हात पर्‍यो, रातदिन मेहनत गरें, सफल पनि भएँ । असफल भइएला भन्ने नसोची शतप्रतिशत बेस्ट दिनुपर्छ, सफल भइन्छ । साथीहरूको यो भयो, त्यो भयो अर्काको जीवनसँग तुलना गर्नु हुँदैन । ढिला भइयो भन्ने पनि सोच्नु हुँदैन । कोही ४० पछि पनि सफल भइरहेका हुन्छन् ।’

धेरैजसो बुटिक लेहेंगा, साडी, कुर्तामा मात्रै केन्द्रित रहेका छन्, कहिल्यै फेसन आउट नहुने नहुने पहिरन  (रेडी टु वेयर) जस्तै, जिन्स पनि समावेश गर्नुपर्छ जस्तो लाग्छ । नेपालमा फेसन शिक्षा दिँदा कक्षामा सिकेको कुरा घरमा आएर प्राक्टिस गरिँदैन कि ? भन्ने उनलाई लाग्छ । एक घन्टा पढेको कुरा घरमा आएर १० घन्टा प्राक्टिस गर्थिन् उनी मुम्बईमा हुँदा । डिजाइन भनेको घोकेर हुने विषय नभै रिसर्च गर्ने, हेर्ने, खोज्ने गर्नुमै कलामा निखार आउँछ । ‘कपी’ गर्ने होइन ‘इन्स्पायर’ हुनुपर्छ भन्ने उनको तर्क छ ।

मुम्बई पुगेपछि उनले निक्कै संघर्ष गर्नुपर्‍यो । महँगा पहिरन, गरगहना घरमा हुन्थे, काम गर्ने मान्छे राख्न पनि जोखिम । घर, पढाइ, करियर एकैपटक सम्हाल्न उनलाई गाह्रो भएको थियो । तर, त्यसले उनीमा जिम्मेवारी र आत्मविश्वासको तह बढाउँंदै लग्यो । ‘यसले मेरो अभिभावकसँगको सम्बन्धलाई एकदमै प्रगाढ, बलियो र सुमधुर बनायो’ अस्मिता भन्छिन्, ‘अहिले म पञ्चवर्षीय योजनाभित्र रहेर अगाडि बढ्दैछु । मैले आफ्नै व्यवसाय सुरु गरेपछि सीमान्तकृत र पछाडि परेका महिला दिदीबहिनीलाई ल्याएर विशेष तालिमसहित काम दिनेछु । मेरो सपना भनेको हरेकका लागि समान हिसाबले शिक्षा प्रदान गर्ने फेसन डिजाइन तथा फेसन मार्केटिङ एजुकेसन इन्स्टिच्युट नेपालमै स्थापना गर्ने छ ।’

नेपाली छोरी र नारीहरूको सवालमा बोल्दै अस्मिताले भनिन्, ‘बलात्कारको घटना भयो कि, केटीले के लगाएकी थिई ? कति बजे कहाँ र कसरी हिँडेकी थिई ? नशा पो प्रयोग गरेकी थिई कि ? भन्ने कुरा आउँछ, बलात्कार गर्ने केटाका बारे कहिल्यै सोचिँदैन–सोधिँदैन । यसका लागि हदैसम्मको दण्ड सजाय हुनुपर्छ, ताकि घटना गराउनुअघि उसले पटक–पटक सोच्न बाध्य होस् । सामाजिक सोचमै परिवर्तन हुनु जरुरी छ । छोरीहरू पनि आफैं सुरक्षित रहन सक्षम हुनुपर्छ । परिस्थितिसँग आफू पनि अलर्ट हुनुपर्छ ।’

 Image