घरको सेनिटाइज्ड

अहिले प्रायःजसो कार्यालय, घर, अस्पताल, व्यापारिक केन्द्रहरूमा नियमित सेनिटाइज्ड गरिन्छ । एकपटक होइन, पटक–पटक नयाँ–नयाँ तरिका र विधिबाट सेनिटाइज्ड गरिन्छ ।

सुजाता मुखिया

आश्विन १३, २०७७चाडपर्वको मौसम सुरु भइसकेको छ । खासगरी, यतिबेला घर–आँगन सफासुग्घर राख्ने, लिपपोत गर्ने, रङरोगन गर्ने प्रचलन छ । सामान्य अवस्था हुँदो हो त हरेकले यतिबेला आ–आफ्नो घर सफासुग्घर गरिरहेका हुन्थे । वर्षायाममा आँगनमा उम्रिएका झार र लेउ सफा गर्नेदेखि घरलाई चिरिच्याट्ट पार्ने कामले भ्याइनभ्याई हुन्थ्यो । सहरी क्षेत्रमा त कतिपय कम्पनीले घर सरसफाइको ठेक्कापट्टा लिइसक्थे ।

अहिले स्थिति भिन्न छ । कोरोनाको संक्रमण फैलिँदो छ । विज्ञहरूका अनुसार अहिलेको स्थितिमा घरलाई ‘डिसइन्फेक्ट’ गर्न आवश्यक छ । कोरोना भाइरस हावामा तीन घन्टासम्म जीवित रहन सक्ने कुरा चिकित्सकहरूले बताइरहेका छन् । उनीहरू भन्छन्, ‘कार्डबोर्ड जस्ता ठाउँमा २४ घन्टा र प्लास्टिक तथा स्टिलको वस्तुमा तीन दिनसम्म रहन्छ ।’ अहिले प्रायःजसो कार्यालय, घर, अस्पताल, व्यापारिक केन्द्रहरूमा नियमित सेनिटाइज्ड गरिन्छ । एकपटक होइन, पटक–पटक नयाँ–नयाँ तरिका र विधिबाट सेनिटाइज्ड गरिन्छ । यसका लागि सोडियम हाइपोक्लोराइट कीटाणुनाशक रसायन प्रयोग गरिन्छ । हल्का हरियो र पहेँलो रङको यो तरल रसायन प्रभावकारी त हुन्छ तर यसको साइड इफेक्ट पनि छ ।

सेनिटाइज रसायनको साइड इफेक्ट

- यसले खोकी लाग्ने र घाँटीमा समस्या हुन सक्छ । कोरोनाको संक्रमण हुँदा पनि पनि यो लक्षण देखिन्छ । यस्ता लक्षणहरू देखिँदा मनमा डर पैदा हुन सक्छ ।

- यसको गन्धले धेरैलाई डिमेन्सिया (चाँडै बिर्सने रोग) पनि हुन सक्छ ।

- यो छालामा पर्दा एलर्जी, जलन, फोका आउन सक्छ । त्यसैले जुन ठाउँमा यसको प्रयोग गरिन्छ त्यहाँ नाङ्गो खुट्टाले टेक्ने वा हातले छुनु हुँदैन ।

- आँखाभित्र पर्‍यो भने रातो हुन्छ । आँखा पोल्ने र आँसु आउन सक्छ । साथै प्रकाशमा हेर्नै नसक्ने

(फोटोफोयिबा) हुन सक्छ ।

- मुखमा परे बान्ता आउने, पेट पोल्ने र दुख्ने हुन सक्छ ।

सावधानी कसरी अपनाउने ?

- रसायन छर्केको स्थानमा केही घन्टासम्म नजाने ।

- पीपीई किट लगाएर छर्कने ।

- दम र एलर्जीका बिरामी यसबाट टाढै रहने ।

भान्साको सरसफाइ

हाम्रो स्वास्थ्यसँग भान्साकोठा प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धेरैजसो समय भान्सामै बित्ने भएकाले भावनात्मक रूपमा पनि हामी योसँग जोडिएका हुन्छौं । त्यहाँ हामी परिवारका लागि पौष्टिक भोजन पकाउँछौं, पस्किन्छौं र खान्छौं । त्यही ठाउँ रोगका कारण बनिरहेको हुन सक्छ । भान्सामा प्रयोग हुने सामग्री, सागसब्जी लगायतमा ब्याक्टेरिया हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । हरेक दिन खाना बनाइने भएकाले भान्सा चाँडै फोहोर हुन सक्छ । त्यसैले भान्साकोठा व्यवस्थित र कीटाणुमुक्त हुनु जरुरी छ । अहिलेको विषम परिस्थितिमा घरबाहिर गएर सरसफाइको सामान किन्न सकिँदैन भने घरेलु सामग्रीबाट पनि सरसफाइ गर्न सकिन्छ ।

- एक लिटर तातोपानीमा आधा कप भिनेगर र १० थोपा तेल राखेर बनाइएको मिश्रणमा सफा कपडा डुबाउँदै जुनसुकै सामान पुछ्न सकिन्छ ।

- एउटा कागतीलाई माइक्रोवेभमा १० मिनेटसम्म राखेर निकालेपछि दुई टुक्रा बनाई त्यसमा नुन चोप्दै दाग भएको झ्याल, ढोका र ह्यान्डिलमा रगड्दा दागधब्बा हट्नुका साथै कीटाणुमुक्त हुन्छ ।

- डस्टबिनलाई कागतीको बोक्राले सफा गर्न सकिन्छ ।

- भान्साको फ्लोर भिनेगर वा सर्फ पानीमा मिसाएर सफा गर्नुपर्छ ।

- सिंकमा आधा कप भिनेगर वा बेकिङ पाउडर राखेर त्यसमाथि आधा कप तातोपानी हाल्ने । यसले सिंक सफा गरी गन्धमुक्त बनाउँछ ।

- भान्साको फर्स ब्लिचिङ पाउडर वा भिनेगरले सफा गर्न सकिन्छ ।

- फ्रिज सफा गर्न मनतातो पानीमा थोरै नुन, भिनेगर वा बेकिङ पाउडर राखेर सफा गर्दा गन्ध हट्छ ।

- चाँदी र चिनियाँ माटोको भाडा नुन र पानीले सफा गर्नुपर्छ ।

 

बाथरुमको सफाइ

- बाथरुमको फर्स वा टाइल्स सफा गर्नका लागि ब्लिचिङ पाउडर प्रयोग गर्न सकिन्छ । केहीबेर ब्लिचिङ पाउडर हालेर छाड्नुपर्छ । त्यसपछि ब्रसको सहायताले रगडेर सफा पानीले पखाल्दा जस्तोसुकै दाग पनि जान्छ ।

- ट्वाइलेट सिट सफा गर्न बेकिङ पाउडर वा भिनेगरको प्रयोग गर्न सकिन्छ । यसलाई ३० मिनेट जति छाडेपछि ब्रसले सफा गर्नुपर्छ ।

- धाराको नलमा लागेको दाग हटाउन टुथपेस्टलाई प्रयोगमा लिन सकिन्छ । नलमा टुथपेस्ट लगाएर केहीबेर रगड्ने र सफा कपडाले पुछ्नुपर्छ ।

 

घरलाई गोदाम नबनाउने

कतिपयले घरमा जथाभावी टुटेफुटेको सामग्री राख्ने गर्छन् । कुनै पनि सामग्री काम नलाग्ने भए पनि घरमै राख्ने गर्छन् । पुराना भाँडावर्तन, फर्निचर, लुगाफाटो, सजावटका सामग्रीले घर फोहोर र दूषित हुनुका साथै साँघुरो पनि बनाउँछ । घरमा भएका यस्ता सरसामानलाई हटाउनु वा अन्य स्थानमा व्यवस्थित गर्नुपर्छ । काम नलाग्ने वा प्रयोगमा नआउने सामग्री हटाएपछि घर खुला र सफा देखिन्छ ।

 

घर बाहिरको सफाइ

घरभित्र मात्र होइन, बाहिर पनि सरसफाइमा उत्तिकै ध्यान दिनुपर्छ । खासगरी वर्षायाममा उम्रिएका

झारहरू उखेल्ने, लेउ हटाउने, अनावश्यक बोटबिरुवाहरू काँटछाँट गर्ने गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>