संकटका सारथी

सामान्यतया त्रासमै बितेको मानिसको अहिलेको दैनिकीलाई चुनौती दिँदै यी ‘वास्तविक नायक’ सबैखाले डर बिर्सेर युद्धभूमिमा सिपाहीसरह लडिरहेका छन्

लक्ष्मी भण्डारी

आश्विन ५, २०७७‘सेवा नै परम धर्म हो ‘वाक्यांश’लाई अठार पुराणको सार मानिन्छ । यो सबैमा लागू नै हुन्छ भन्ने छैन । तर, कैयौं मानिस अझै पनि हाम्रो समाजमा भेटिन्छन् जसले आफ्ना इच्छा, आकांक्षा, रहर र आवश्यकतालाई एकातिर थन्क्याई सेवामै हरपल तत्पर रहन्छन् ।

कोरोना महामारीले ८ महिना यता संसारलाई गाँजेकै छ । घर, परिवार, समुदाय, सिंगो मुलुक मात्र होइन, विश्व नै यसको चपेटामा छ । महामारीका कारण लाखौंको ज्यान गइसकेको छ । करोडकै हाराहारीमा संक्रमित छन् । त्यो क्रम अझै रोकिएको छैन । अहिले मान्छेसँग मान्छे डराएर हिँड्नुपर्ने बेला छ । जो कोही सहजै घरबाट निस्कन पाएका छैनन् । निस्किहाले पनि जोखिम मोल्न तयार छैनन् । यस्तो विपद्का बेला कतिपय यस्ता योद्धाहरू पनि भेटिन्छन्, जसले जोखिम मोलेरै सेवा दिइरहेका छन् । विशेषगरी अस्पताल, वित्तीय क्षेत्र, सुरक्षा सेवा, बजार जस्ता बढी भीडभाड र चहलपहल हुने स्थानमा महामारी छिटो फैलिने सम्भावना रहन्छ । यी स्थानहरूमा कार्यरत वारियर्स (योद्धा) हरू सलाम र सम्मानका पात्र हुन् । सामान्यतया त्रासमै बितेको मानिसको अहिलेको दैनिकीलाई चुनौती दिँदै यी ‘वास्तविक नायक’ सबैखाले डर बिर्सेर युद्धभूमिमा सिपाहीसरह लडिरहेका छन् । यो अंकमा तिनैमध्येका केही नारी योद्धालाई समेट्ने प्रयास गरेका छौं ।

 

डा. नीरा पाठक

चिकित्सक, नारायणी अस्पताल, वीरगन्ज

दैनिक १८ घन्टासम्म खटिन्छिन् डा. नीरा पाठक । वीरगन्जस्थित नारायणी अस्पतालकी चिकित्सक उनी एउटी योद्धाका रूपमा सेवारत छिन् । ‘म दायाँबाट हिँड्दा, मानिस तर्किएर बायाँबाट हिँड्थे । मनको त कुरै नगरौं, मन मारेर काम गर्नुपरेको छ,’ डा. पाठक भन्छिन्, ‘सुरुका दिनमा यस्तै व्यवहार भोगियो । अहिले भने मानिसको स्वभाव केही हदसम्म बदलिएको छ । पहिलो पटक स्वाब संकलन र परीक्षण गर्ने तालिम टेकु अस्पतालबाट लिने व्यक्ति यहाँबाट म एक्लै थिएँ । ‘त्यसपश्चात् म एक्लै खटें । बिस्तारै टिम बन्दै गयो । अहिले टिमको नेतृत्व गरिरहेकी छु ।’

राति २ बजेसम्म काम गरेर फर्केपछि उनलाई बिहान ५ नबज्दै झिसमिसेमै फोन आउन थाल्छ– मेरो रिपोर्ट के आयो ? किन ढिलो ? म फलानो नेताको मान्छे हुँ । यी र यस्तै धम्कीपूर्ण अभिव्यक्तिले उनलाई सास्ती छ । वीरगन्जमा पहिलो स्वाब संकलन र परीक्षणमा संलग्न डा. नीरालाई आफूभित्र डर त हुन्छ तर आफ्ना कारणले कसैको ज्यान बच्छ भने सेवा गर्नुपर्छ भन्ने दृढता पनि उत्तिकै छ । त्यसैले उनी चार वर्ष नपुगेकी छोरीलाई बुटवल (माइतीमा) छोडेरै भए पनि सेवारत छिन् । यसबीच नारायणी अस्पतालभित्रका ७५ भन्दा बढी कर्मचारीलाई कारोना पोजिटिभ देखिसकिएको छ । उनी भने हरेक दिन आत्मविश्वासका साथ लडिरहेकै छिन् । भन्छिन्, ‘हामी डाक्टरहरूले नगरे कसले गर्ने ? युद्धका बेला सिपाही लड्छन्, अहिलेको यो युद्ध भनेको हामी लड्ने बेला हो । आफू बाँच्दै अरूलाई बचाउनमा मनैदेखि तल्लीन छु ।’

सरकारबाट यथेष्ट पैसा, चित्तबुझ्दो सेवा सुविधा, थप प्रेरणा र हौसला प्राप्त नभएकोमा भने उनी खिन्न छिन् । तर, दिनरात नभनी उनी जिउँदो भाइरससँग खेल्दैछिन् । पीसीआर परीक्षण र प्रयोगशालामा काम गर्नेहरूलाई सरकारले अग्रपंक्तिमा नराखेकोमा उनको दुखेसो छ । ॅनाङ्गो आँखाले देख्न नसकिने खतरनाक जीवाणुसँग प्रतिस्पर्धा गरिरहेका प्रयोगशालामा काम गर्नेहरूलाई सरकारले हौसला दिनुपर्छ । हामीजस्ता मान्छे नहुने हो भने अवस्था झनै भयावह हुन्छ,’ उनी भन्छिन्, ‘वीरगन्ज नगरपालिकाले ‘एक घर, एक पीसीआर’ सुरु गरेकाले आजकल व्यस्तता झनै बढेको छ । काठमाडौंमा रहेका चिकित्सक श्रीमान् र बुटवलमा रहेकी छोरीसँग पनि विरलै संवाद हुन्छ । मन आत्तिन्छ, तर के गर्नु ? वास्तवमै जनताको सेवा गर्ने हो भने यसरी काम गर्नुबाहेक मसँग अर्को विकल्प नै छैन ।’

 

सरु पञ्च

प्रहरी सहायक निरीक्षक

महानगरीय ट्राफिक प्रहरी प्रभाग एअरपोर्ट

ट्राफिक प्रहरी सरु पञ्च बिहान ९ देखि राति १० बजेसम्म सडकमै खटिन्छिन् । आफूले सुरक्षा अपनाउँदै अरूलाई सुरक्षा दिइरहेको बताउने यिनी कहिले एअरपोर्ट त कहिले तिलगंगा, सिनामंगल, भत्केको पुलतिर नियम मिच्ने चालकसँग सामना गरिरहेकी हुन्छिन् । पहिलेजस्तो अहिले चाबी खोस्ने, मुखैमा गएर मापसे चेक गर्ने बेला होइन । अहिले आफूजस्ता सबै ट्राफिक प्रहरी दुई मिटरको दूरी कायम गरी चालकसँग डिल गर्ने, चालकको गल्ती भए डोरीको सहायताले सवारीसाधन होल्ड गर्ने गरिएको बताउँछिन् । सरु भन्छिन्, ‘हामीले सेवा नदिए अनावश्यक भीड बढ्छ, मान्छेहरूको अनावश्यक आवतजावत बढ्न थाल्छ, सबै कुरा अव्यवस्थित हुन सक्छ । हरेक कुरा नियमविपरीत हुन सक्छ । बढ्दो भीडभाडमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ । त्यसैले पनि अहिलेको यो महामारीमा ट्राफिक प्रहरीको महत्त्वपूर्ण भूमिका छ ।’

यो विषम परिस्थितिमा ट्राफिकले २४ घन्टे ड्युटी, सवारीमा जोर–बिजोर, भित्रका कर्मचारीलाई दैनिक ब्रिफिङको काम गरिरहेको छ । ‘देश र जनताको सुरक्षा नै हाम्रो पहिलो कर्तव्य हो । त्यसपछि मात्रै आफू र परिवार, पहिले नै हामी यही शपथ खाएर यसमा लागेका हुन्छौं, तसर्थ डर छैन तर आवश्यक सतर्कता अपनाउनु भने पर्छ ।’

 

प्रतिष्ठा श्रेष्ठ

बैंकर, नेपाल बंगलादेश बैंक

रातभरि निद्रा लाग्दैन, मनमा छटपटी हुन्छ, अघिपछि अलार्म लगाएर उठ्नुपर्ने उनी पछिल्ला दिनहरूमा चाँडै ब्युँझिसक्छिन् । अस्ट्रेलियाबाट स्नातकोत्तर सकेर स्वदेशमै योगदान दिनुपर्छ भन्दै फर्किएकी प्रतिष्ठा श्रेष्ठलाई अचेल पेसागत हिसाबले यस्तै बेचैनी छ । दैनिक हजारौं मानिसको आवतजावत हुने पेसामा उनी संलग्न छिन् । भीडभाडमा कोरोना संक्रमण हुने सम्भावना बढी रहन्छ । तर, उनी देश र जनतालाई यथासक्य सहयोग गर्न ‘रिस्क’ उठाइरहेकी छन् । ‘कोरोना महामारी युद्धभन्दा चर्को लाग्न थाल्यो । युद्धमा प्रतिकार गर्ने सम्भावना रहन्छ तर महामारीमा कोसँग प्रतिकार गर्ने ?’ उनी भन्छिन् । अहिले स्वास्थ्य संकट मात्रै आइलाग्दा त यो हविगत भयो, आर्थिक संकट आयो भने झन् थामिनसक्नुहुन्छ भन्ने सवालमा प्रतिष्ठाले भनिन्, ‘मुलुकले दुईवटै संकट एकै पटक भोग्न नपरोस् भनेर सेवामा निरन्तर खटिइरहेका छौं । बैंकहरू बन्द हुनेबित्तिक्कै उद्योग, व्यवसाय, कलकारखाना, उद्यम मात्र होइन दैनिक व्यवसाय तथा रोजगार गरी खानेहरू भोकमरीमा पर्न सक्छन् । आर्थिक प्रवाह नभएपछि सबैतिर ठप्प हुन्छ ।’ पहिलो लकडाउनदेखि नै कार्यालय नछुटाई पुगिरहेकी प्रतिष्ठा यो समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गरी ‘अन्तर निर्भरता’ मोडलमा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँछिन् । कार्यालयले प्रशस्त सुरक्षाका सामग्रीहरू उपलब्ध गराएकाले मानसिक रूपमा केही राहत मिलेको उनको भनाइ छ । कहिले कस्टमर केयर त कहिले पैसा गन्ने फ्रन्ट डेस्क (टेलर) मा उनको ड्युटी पर्छ । फाइलहरू हातले नछोई टाढै राख्छिन्, पैसा गन्दा हातमा पञ्जा लगाउँछिन् । ‘सक्दो दूरी कायम राख्ने र सुरक्षा उपकरणहरू प्रयोग गरी आफैं सावधान रहने हो । अर्को विकल्प नै छैन,’ उनी भन्छिन्, ‘आफूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन पोषणयुक्त खानेकुरा खाने, योगा गर्ने, मोटिभेसनल भिडियो हेर्ने, बिहान पूजापाठ गर्ने तथा आफूभित्रको त्रास र चिन्ता साथीभाइलगायत सिनियरलाई सेयर गरी आफूलाई बलियो बनाइरहेकी छु ।’ यो समय एक्लै लड्न सक्ने समय होइन भन्ने प्रतिष्ठालाई लाग्छ । सबैजना मिलेर लडे मात्र विजय हासिल गर्न सकिने उनको धारणा छ ।

 

सुषमा महर्जन, वार्ड क्लिनिङ तथा शारीरिक सहयोगी, टेकु अस्पताल

शरीरमा पीपीई, मुखमा मास्क, हातमा पञ्जा, टाउकोमा फेस सिल्ड लगाएर युद्ध लड्न हिँडेको सिपाही जस्तै उनी सबेरै घरबाट निस्किन्छिन् । असनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुसम्मको उनको दैनिक यात्रा मनभरि कुरा खेलाउँदैमा टुंगिन्छ । ३२ वर्षीया सुषमा महर्जन टेकु अस्पतालकी कर्मचारी हुन् । उनको काम सरसफाइ र बिरामीको स्याहार गर्ने तथा सुई र औषधीहरू बोकेर डाक्टर/नर्सको पछि लाग्ने हो । जोखिम मोलेरै काममा रमाएकी सुषमा भन्छिन्, ‘मलाई त कोरोनाबाट डर लाग्नै छाड्यो । यो रोग त मलाई रुघाखोकी र निमोनिया जस्तै लाग्न थाल्यो । विगत ३ वर्षदेखि यहाँ कार्यरत उनी अस्पतालमा काम गर्छु भनेर आएपछि आफू एक्लैको सुरक्षा र सजिलोभन्दा पनि बिरामीहरूको सेवाभावमा लाग्नुपर्ने बताउँछिन् । ‘सेवा नै परम धर्म हो भन्ने कुरा हाम्रो शास्त्रमा उल्लेख छ, मलाई पनि सेवा गरे मेवा पाइन्छ भन्नेमा विश्वास लाग्छ,’ बिरामीको सेवा गर्दा मनमा आनन्द आउने बताउँदै सुषमा भन्छिन्, ‘पैसै मात्र कमाउन म यहाँ आएकी होइन । मेरो कारणले कसैको ज्यान बच्छ भने त्यो नै मेरा लागि ठूलो उपलब्धि हो । यसमा मलाई सन्तोष मिल्छ । कोरोना संक्रमितको छेउ नजाने हो भने उनीहरू आत्तिएरै मर्छन् ।’ उनको ड्युटी कोरोनाका बिरामीलाई लुगा फेरिदिने, खाना खुवाइदिने, पानी पिलाउनु पनि हो । सुरक्षाका सम्पूर्ण सामग्री प्रयोग गरी उचित सावधानी अपनाउने हो भने कोरोना सर्दैन भन्ने उनको अनुभवले बताउँछ । मानवताका लागि काम गररहेको बताउने उनी कोरोना सरुवा रोग हो तर अत्यन्तै सावधानी अपनाएकाले डर नभएको बताउँछिन् । सुषमाको घरमा ८५ वर्षका ससुरा, श्रीमान् र ९ वर्षीया छोरी छन् । उनीहरू पनि सुषमाको साहसलाई सलाम गर्दै थप प्रेरणा दिने गर्छन् । अस्पतालले कोभिड–१९ पछि थप सेवासुविधा दिएको छ । खाना, खाजा, सुरक्षा सामग्रीदेखि अन्य सुविधा अहिले अस्पतालले थपेको छ । टेकु अस्पतालमा अहिले कोरोनाका बिरामीबाट सबै बेड भरिएको सुषमाले बताइन् । यस्तो हटस्पटमा काम गर्दा कडा तवरले सुरक्षा अपनाए कोरोना नसर्ने उनले बताइन् । उनले भनिन्, ‘धेरै आत्तिनु हुँदैन । सावधानी अपनाइयो भने सर्दैन भन्ने ज्वलन्त उदाहरण हामी यहीं छौं ।’

 

ममता श्रेष्ठ

नर्स, कोसी अस्पताल, विराटनगर

‘कोरोना हटस्पट’ बनेको विराटनगर क्षेत्र, त्यसमा पनि अस्पतालमा काम गर्नु कम जोखिम छैन । सुरुमा उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखिएको थियो । तिनै संक्रमितको उपचार र हेरचाह गर्ने १३ जनाको टोलीमा नर्सिङ इन्चार्जका रूपमा थिइन्, ममता श्रेष्ठ । लकडाउनभरि र अहिले पनि एक दिन नबिराई कोसी अस्पतालको ड्युटीमा खटिएकी उनलाई सुरुवातका दिनहरूमा कोरोनाबाट निक्कै डर लागेको थियो । तर, अहिले भने उनी अभ्यस्थ बनिसकेको बताउँछिन् । ‘सुरु–सुरुमा रेनकोट सिलाउने कपडाको पीपीई पनि लगाइयो, असाध्यै गर्मी हुने भएकाले अहिले एप्रोन मात्रै लगाउँछौं ।’ ममता भन्छिन्, ‘मेरै वार्डमा सँगै काम गर्ने साथीलाई पनि संक्रमण भएको छ, यस्तो हुँदा पनि सेवाभाव घट्दैन । सेवामै मन बसिसक्यो । यस्तो बेलामा झनै गर्नुपर्छ भन्ने लाग्छ ।’ आफूलाई जोखिममा राखेरै भए पनि अरूको ज्यान बचाउन अहोरात्र खटेकी ममताले ‘यो सब सेवाका लागि गरिरहेको’ जस्तो लागेको बताइन् ।

‘फेस सिल्ड’, ‘एन–९५ मास्क’, पञ्जा लगाएर समय–समयमा सेनिटाइजरले हात रगड्दै अरूको सुरक्षामा तैनाथ उनले काम गर्ने प्रसूति वार्डमै ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । त्यसैले आजकल उनी बढी नै सजगता अपनाउन थालेकी छन् । आफूलाई शारीरिक र मानसिक रूपमा तरोताजा राख्नु नै कोरोनासँगको जित हो भन्दै उनले थपिन्, ‘आफूभित्र रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ, सुरक्षा सामग्री प्रयोग गरी सावधानी अपनाउनुपर्छ, बेला–बेला साबुनपानीले हात धुने या सेनिटाइज गरिरहनुपर्छ, दूरी कायम राखेमा कोरोनालाई जितिन्छ ।’ आफैं सजग र सचेत भए आत्तिइहाल्नु नपर्ने उनको तर्क छ । धेरै डराउने, नकारात्मक सोच्ने, व्यायाममा ध्यान नदिने, पोषिलो खाना नखानेमा संक्रमण बढिरहेको उनको भनाइ छ । त्यसैले मनोबल दह्रो पार्नुपर्ने उनको सुझाव छ । ‘मेरो कारण कसैको ज्यान बच्छ भने त्योभन्दा ठूलो धर्म अरू के नै होला र ?’ उनी भन्छिन् । कोरोनाले कतिपय राम्रा कुरा पनि सिकाइरहेको उनको तर्क छ । यसले मास्क लगाउने चेतनामा वृद्धि गरेको छ र त्रास भयो भने सजगता अपनाइन्छ भन्ने पाठ पनि सिकाएको छ ।

 

स्वस्थानी श्रेष्ठ, टेम्पो चालक, भक्तपुर

‘बिहान घरबाट निस्कँदा मुटु ढक्क फुल्छ, कता रोग सर्ने पो हो कि भनेर,’ ३५ वर्षीया भक्तपुरे स्वस्थानी श्रेष्ठ भन्छिन्, ‘दिनभरि टेम्पो चलाइन्छ, सयौं मान्छे चढ्छन्, हात–हातमा पैसा लेनदेन गरिन्छ के भर ?’ टेम्पो नचलाई खान नपाइएला भन्ने पीर उनको प्राथमिकता होइन, लकडाउनका बेला हजारौं मानिसले सवारीसाधन अभावमा कडा सकस झेलेको र कति त हिँड्दाहिँड्दै बाटोमै मृत्युवरण गरेसम्मको खबरले निकै मर्माहत बनाएको उनी बताउँछिन् । त्यसैले उनी आफूले जानेको सीप प्रयोग गरी अरूको सेवा दिनुलाई आफ्नो प्राथमिकतामा राखेकी हुन् । भन्छिन्, ‘मेरो सानो पहलले धेरैलाई सुविधा पुग्यो भने मेरा लागि त्यो ठूलो खुसीको कुरा हो । सबैसँग निजी सवारीसाधन हुँदैन, सार्वजनिक यातायात नि धेरै चलेका छैनन् । मानिसलाई समयमै पुग्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा यात्रुलाई आफ्नो गन्तव्यसम्म पुर्‍याइदिन पाउँदा केही गर्न सकें भन्ने लाग्छ ।’ आरएनएसी, सिंहदरबार, नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर रुटको टेम्पो चालक स्वस्थानीले फेस सिल्ड, पञ्जा, मास्क, सेनिटाइजरबाट आफूलाई सुरक्षित बनाइरहेको बताउँछिन् । ‘पैसा नभएकालाई भाडा नलिई चढाउने गरेकी छु,’ उनी भन्छिन्, ‘यस्तो संकटका बेला पैसा कमाउने, थुपार्नेभन्दा पनि कसले, कसरी र कति सहयोग गर्न सक्छ भनेर एकअर्कालाई बचाउने र बाँच्ने हो ।’ सिंहदरबार क्षेत्र आसपास भएर चल्ने टेम्पो चालक भएका कारण दैनिक धेरै सभासद र भीआईपी बोक्ने उनलाई यस्तो बेला पनि सेवा दिन तम्तयार रहेकाले सबैले स्याबासी दिने गरेका छन् । उनीसँगैका सहकर्मी धेरैले टेम्पो थन्क्याएर अन्य स–साना काम गर्न थालेका छन् । स्वस्थानी भने यसैमा मग्न छिन् । सरकारले सबैलाई सुरक्षा दिन नसक्ने हुँदा आफैं सचेत र सजग बनौं भन्ने सुझाव उनको छ ।

 

पूर्णिमा तामाङ

तरकारी व्यापारी, नक्साल

काभ्रेकी २३ वर्षीया पूर्णिमा तामाङ प्लस टुसम्मको अध्ययनपछि बगाउने कामतर्फ लागिन् । यसले जीवन सुन्दर र उज्यालो बनाउँछ भन्ने उनलाई छ । यो महामारीका बेला पनि उनलाई केही कुराले रोकेको छैन, न त फेरिएको छ उनको दैनिकी नै । अहिले उनी झन् बढी व्यस्त हुन थालेकी छन् । सबैतिर ठप्प हुँदा जताततै अहिले तरकारीको खपत बढेको छ । ‘हामीले तरकारी नल्याउने हो भने हरेकको भान्सा रित्तो हुन्छ,’ पूर्णिमा भन्छिन्, ‘अर्को कुरा आफू पनि त बाँच्न पर्‍यो नि । यो बेला आफू बच्दै अरूलाई पनि बचाउने हो ।’

अहिले उनको दैनिकी राति २ बजे सुरु हुन्छ । उनी उठ्नेबित्तिकै कालीमाटीतिर लाग्छिन् । त्यहाँ थोकमा तरकारी किन्ने व्यापारीको लर्को हुन्छ । भीडभाडमा जान उनको मन चिसो हुन्छ तर पनि उनले हिम्मत जुटाएर यो व्यवसाय रोकेकी छैनन् । मध्यरातदेखिको उनको व्यस्तता ९ बजेपछि केही होलो हुन्छ । नारायणचौरस्थित उनको पसलमा तरकारी किन्न हरेक किसिमका मान्छे आउँछन् । ‘कसलाई कोरोना संक्रमण छ/छैन अनुहार हेरेर थाहा हुँदैन,’ उनी भन्छिन्, ‘तर पनि आत्मविश्वास बलियो पारेर आफ्नो ठाउँबाट काम गर्न विचलित भएकी छैन । हामी दुई/चार जनाले हिम्मत जुटाएन भने धेरैलाई समस्या हुन सक्छ ।’

पैसा कमाउनकै लागि मात्रै अहिलेको विषम परिस्थितिमा कामलाई निरन्तरता नदिएको उनी बताउँछिन् । उनका कतिपय साथीले कोरोना महामारी फैलिन थालेपछि तरकारी बेच्न छाडिदिए तर पूर्णिमा भने डटेर काम गरिरहेकी छन् । उनलाई कोरोनाले मर्छु भन्ने पटक्कै लाग्दैन । किनभने आवश्यक सावधानी अपनाएमा यो सर्दैन भन्ने कुरा उनलाई थाहा छ । त्यसैले उनी सावधानीपूर्वक सुरक्षा सामग्री प्रयोग गर्छिन् । ग्राहकलाई नजिक नआउन आग्रह गर्छिन् । बेला–बेला हातमा स्टानिटाइजर दल्छिन् । पूर्णिमाका अनुसार अहिले आफूजस्तै मजदुरी गरेर खानेहरू निक्कै मारमा परेका छन् । सावधानी अपनाउँदै कामलाई निरन्तरता दिन सके यो समस्या थोरै मात्रामा भए पनि हल हुने उनको तर्क छ । ‘डराएरै बसेर केही हुने वाला छैन,’ उनी भन्छिन्, ‘आत्मविश्वासी भएर आफू सुरक्षित रहँदै काम गरियो भने अरूका लागि पनि केही गर्न सकिन्छ । सेवा गर्नु नै मानव धर्म हो, जुन यस्तै संकटका बेला प्रमाणित हुन्छ ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>