संकटमा सौन्दर्य व्यवसाय

नारी संवाददाता

भाद्र १७, २०७७ मास्क लगाउनु, सेनिटाइजर प्रयोग गर्नु र सामाजिक दूरी कायम गर्नु कोरोना भाइरसबाट बच्ने मुख्य सुरक्षाका उपाय हुन् । अहिलेको समयमा यी तीन कुरा सुत्रजस्तै लागू भएका छन् । हरेक स्थानमा हरेक व्यवसायमा यी मापदण्ड लागू गर्दै संचालित भएका छन् । तर यी मापदण्ड पूरा गर्न नसक्ने सौन्दर्य व्यवसाय भने संकटमा छन् । यो व्यवसायमा सामाजिक दूरी र मास्क लगाएर काम गर्न नसकिने सौन्दर्यविद्हरू बताउँछन् । यी मापदण्ड पूरा गर्न नसक्ने व्यवसायी भएकै कारण यो व्यवसायलाई उच्च जोखिमको क्षेत्र मानिएको छ । कोरोना कहरका कारण सौन्दर्यविद्हरू संकटमा परेका छन् भने कतिपय व्यवसायीहरू व्यवसाय बन्द गर्न नै बाध्य बनेका छन् ।

ब्युटिसियन शान्ता महर्जनले लकडाउनका कारण पार्लर नै बन्द गर्नुपर्‍यो । पार्लरमा ग्राहक नआउने र अनिवार्य घरभाडा तिर्नुपर्ने बाध्यताले उनी पार्लर बन्द गर्ने अवस्थामा पुगिन् । उनले अहिले पार्लरका सामानहरू घरमै लगेर राखेकी छन् । घरमा पार्लरका सामान राख्दा उनलाई झन् समस्या परेको छ । घरमा बच्चाहरू भएकाले पार्लरका सामान फुटाउलान् वा बिग्रेलान् भन्ने चिन्ता उनलाई थपिएको छ । करिब तीन वर्षअघि तीन लाख लगानी गरेर पार्लर सञ्चालनमा ल्याएकी उनी अहिले बेरोजगार भई घरमै दिन बिताउन बाध्य छिन् । भोलिका दिनमा के–कसरी सञ्चालन गर्ने भन्ने चिन्ता उनीमा छ । उनी भन्छिन्, ‘व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन समस्या परेकाले अब के गर्ने भन्ने सोच्न सकेकी छैन ।’

धेरै महिलाले स्वरोजगारका रूपमा अपनाएको यो पेसा कोरोना महामारीका कारण अहिले संकटमा परेको देखिन्छ । अन्य व्यवसायहरू सञ्चालन गर्न सरकारले अनुमति दिए पनि पार्लरलाई सञ्चालनका लागि भने अनुमति दिएको छैन । सरकारको अनुमतिबिना पनि केही व्यवसायीले पार्लर सञ्चालन गरेका छन् । बानेश्वरकी मुस्कान खत्रीले साउनदेखि नै पार्लर सञ्चालनमा ल्याइन् । सुरक्षाका मापदण्ड अपनाएर पार्लर सञ्चालनमा ल्याएको उनी बताउँछिन् । सेनिटाइजर, मास्कको प्रयोग र सरसफाइमा ध्यान दिएर सेवाग्राहीहरूलाई सेवा दिइरहेको उनी बताउँछिन् । कोरोना महामारीको समयमा पार्लर सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण भएको उनको अनुभव छ । यस कार्यमा सेवा दिने र लिनेबीच सामाजिक दूरी कायम गर्न नसक्दा जोखिम रहेको उनको अनुभव छ । उनी भन्छिन्, ‘आउने सेवाग्राहीहरू कहाँबाट कसरी आएका हुन्छन् थाहा हुँदैन । आएपछि सेवा दिनुपर्दछ । त्यसकारण जोखिम एकदमै छ ।’ जोखिम मोलेर भए पनि केही आम्दानीको आशाले उनी सेवा भने दिइरहेकै छिन् । खत्रीले आशा गरेजस्तो आम्दानी भने भएन । गत वर्षको जस्तै अवस्था भइदिएको भए साउन लाग्नासाथ उनी कामको चटारोमा हुन्थिन् । मेहन्दी लगाउनु, हरियो, पहेंलो चुरा बेच्न उनलाई भ्याइनभ्याइ हुन्थ्यो । यसैगरी चाडपर्वका बेला फेसियल गर्न, थ्रेडिङ गर्न आउने पनि धेरै हुन्थे । तर यसपटकको साउन भने सुनसान बन्यो । उनी भन्छिन्, ‘पार्लर सञ्चालनमा ल्याए पनि दैनिकी भने पट्यारलाग्दो छ ।’ चाडपर्वको समयमा व्यवसाय संचालन भई सोचेजस्तो आम्दानी गर्न नसक्दा चिन्तित छु ।’

कोरोना महामारीका कारण जोखिम रहेका र मानिसहरूको प्राथमिकतामा नपरेका कारण ब्युटिसियन व्यवसाय संकटमा आएको नेपाल ब्युटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्का बताउँछिन् । उनका अनुसार अहिले देशभर अढाइ लाख सौन्दर्यविद् समस्यामा परेका छन् । व्यवसायीहरू पार्लर सञ्चालन नभएपछि भाडा तिर्न पनि नसकेर बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनी बताउँछिन् । पार्लरलाई नै मुख्य व्यवसाय बनाएका व्यवसायीहरू अझ बढी मर्कामा परेको उनको भनाइ छ । उनी भन्छिन्, ‘विवाह पार्टी वा अन्य समारोह बन्द भएकाले पनि ग्राहकहरूले यसको आवश्यकता महसुस गरेनन्, यसको प्रत्यक्ष असर महिला व्यवसायीहरूलाई परेको छ ।’ समस्यामा परेका केही महिला सौन्दर्यविद्लाई भने विभिन्न संघसंगठनले सहयोग गरेका छन् । कोरोनाका कारण समस्यामा परेका सौन्दर्यविद्हरूका लागि नेपाल स्थानीय सरकारदेखि केन्द्रीय सरकारलाई ध्यानाकर्षण संघहरूले गराएका छन् । सौन्दर्य क्षेत्रबाट सरकारलाई वार्षिक करोडौं कर तिरे पनि आपत्को समयमा सरकारले सहयोग नगरेको खड्का बताउँछिन् । उनी भन्छिन्, ‘राहतका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि कतैबाट सुनुवाइ भएन ।’ सरकारबाट राहतको व्यवस्था नभए पनि विभिन्न गैरसरकारी संस्थाहरूमार्फत राहतको व्यवस्था गरिएको उनी बताउँछिन् ।

 

“सरकारले हाम्रो समस्याप्रति ध्यान दिएन”

कमला श्रेष्ठ

अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण सौन्दर्य क्षेत्र नाजुक अवस्थामा छ । नेपालमा करिब अढाइ लाख सौन्दर्यकर्मी संलग्न भएको यो क्षेत्रमा कोरोना कहरपछि धेरैको रोजीरोटी नै गुमेको छ । देशव्यापी रूपमा लकडाउन लागू भएपछि मानिसहरू घरमै बस्न बाध्य भए । सबै सभा/समारोह बन्द भए । त्यसैले सौन्दर्यताको आवश्यकता पनि भएन । लकडाउन खुकुलो र हटेपछि अन्य व्यवसाय सञ्चालन भए पनि सौन्दर्य व्यवसाय भने अझै सञ्चालनमा आउन सकेको छैन । सानो पुँजीले सञ्चालन हुने यो व्यवसायमा आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सक्ने अवस्था हुँदैन । रोजीरोटी गुमाएका व्यवसायीहरूका लागि राहतको व्यवस्था गर्न विभिन्न तहका सरकारसँग आग्रह गरेका छौं । घरभाडा, वार्षिक कर, बैंक ब्याजदरमा छुटलगायतका माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाए पनि हाम्रा माग कतै सुनुवाइ भएको छैन । हामीले विभिन्न संघसंस्थाहरूमार्फत नै पीडितलाई सहयोग गरेका छौं । अब भने रोजगार सिर्जना गर्ने बाटोमा छौं । अहिले देशभर करिब ५० हजार महिलालाई रोजगार प्रदान गर्ने उद्देश्यले पुरुषको हेयर कटिङ तालिम दिने कार्यक्रम ल्याएका छौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>