‘खाद्य सुरक्षामा अझै धेरै चुनौती छ’

लक्ष्मी भण्डारी

जेष्ठ २७, २०७७ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागकी खाद्य बिशेषज्ञ भारती अधिकारी लामो समय खाद्य सुरक्षा र यसको गुणस्तर बृद्धिमा कार्यरत छिन् । खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी थुप्रै गोष्ठी, तालिम र कार्यशाला मार्फत् चेतना अभिबृद्धि गरिरहेकी अधिकारीसँग नेपालमा खाद्य सुरक्षा सम्बन्धी बिषयमा नारीकालागि लक्ष्मी भण्डारीले गरेको कुराकानीः

खाद्य सुरक्षा भन्नाले के बुझिन्छ ?

खाद्य सुरक्षाले खानालाई कसरी ह्याण्डल गर्ने, तयारी गर्ने र भण्डारण गर्ने भन्ने सुनिश्चितता गर्दछ । यसअन्तरगत मुख्यतः खाद्य भण्डारण र तयारी पर्दछ । खाद्य सुरक्षाले खाद्यजन्य रोगबाट बिरामी हुने व्यक्तिको जोखिमलाई कम गर्दछ । खाद्य सुरक्षा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष्य जोडिएको बिषय हो ।

नेपालमा खाद्य सुरक्षाको अवस्था कस्तो छ ?

सन् २००४ मा नेपालले विश्व खाद्य संगठन (डब्ल्युएफओ) को सदस्यता लिएको हो । त्यसयता नेपालमा खाद्य सुरक्षा सम्बन्धी थुप्रै नीति नियम बनिसकेका छन् । हामीकहाँ कमजोर पूर्वाधार र प्रविधिका कारण विकसित मुलुकमा जस्तो खाद्य सुरक्षा छैन । तरकारीमा बिषादीका कुराहरु उठिरहेका छन् । कहिले म्याद नाघेका चामल र अन्य खाद्यान्नको मुद्धा उठ्छ । तर पछिल्लो समयमा आएर यसमा निकै सुधार आएको छ ।

हाम्रो देशमा खाद्य सुरक्षा बलियो बनाउन के आवश्यक देख्नुहुन्छ ?

मुख्यतः सरकारी तवरबाटै कडाइ गर्नुपर्छ । एउटा व्यक्ति वा संघ–संगठनले गरेर हाम्रो जस्तो विकासोन्मुख र कमजोर पूर्वाधार भएको मुलुकमा सम्भव छै् । सरकारद्वारा यसमा बलियो नीति ल्याइ प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । नियम कानुन बनेर मात्र केही हुँदैन । व्यवहारिक मै त्यसलाई कडाइका साथ पालना गराउन सक्नुपर्छ । खाद्यान्न उमार्ने कृषकदेखि भण्डारण गर्ने व्यावसायी र बिक्रीबितरण गर्ने बिक्रेतासम्ममा निरन्तर अनुगमन जरुरी छ । अनुगमनबाट गलत ठहरिएमा कारबाहीको समेत दायरा तोकिदिनुपर्छ ।

खानालाई कसरी तयारी र भण्डारण गर्ने ?

सर्वप्रथम त जुनसुकै खाद्यान्न पनि सफा हुनुपर्‍यो । धोइपखाली गरेर हुन्छ वा घाममा सुकाएर हुन्छ खाद्यान्नमा घुन, किरा, बालुवा, माटो या अन्य कुनै जीवाणु रहनु भएन । त्यसपछि खाद्यपदार्थको प्रकृति हेरी छुट्याएर राख्नुपर्छ । सबै खाद्यान्न एकै स्थानमा राख्नुहुदैन । कतिपय खाद्यपदार्थ २४ घण्टासम्म फ्रिजिङ गरेर खाँदा उत्तम हुन्छ ।

खाद्यान्न कसरी तयार पार्ने ?

धुने, केलाउने, फ्रिजिङगर्ने त मुख्य कुरा नै भए यसका अलावा खानालाई पकाएर खानु राम्रो मानिन्छ ।

कतिपय खाद्यान्न बढी पकाउँदा भिटामिनको मात्रा घट्छ या खेर जान्छ भनिन्छ नि?

हो । हरिया सागसब्जी, काँचै खानमिल्ने फलजन्य तरकारी जस्तैः कांक्रो, गाँजर, मुला, चुकन्दर लगायतका खाद्यान्नलाई बढी पकाएर खाँदा यसमा भएको भिटामिन खेर जाने बढी सम्भावना हुन्छ । तसर्थ यि प्रकृतिका खानेकुरालाई काँचै या कम पकाएर खानु राम्रो हुन्छ । तर चामल, मकै, गहुँ जस्ता ठोस प्रकृतिका खाद्यान्नलाई भने पकाएरै खानुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>