महिला जनप्रतिनिधि अब्बल

नारायण अधिकारी

वैशाख ७, २०७७ चितवन जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गरेकी छन् । यि निकायका क्रमशः रेनु दाहाल, प्रभा बराल र गीता गुरुङ प्रमुखको रुपमा कार्यरत छिन् । दाहाल तत्कालीन नेकपा (माओवादी) केन्द्र, बराल नेकपा एमाले र गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् ।

‘पुरुषले भन्दा महिलाले हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन्’ भन्ने उदाहरण यहाँका ती जनप्रतिनिधिले प्रस्तुत गरिरहेका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिनासाथ भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा कोरोना उपचारका लागि ७२ घण्टाभित्र अस्थायी अस्पताल निर्माण भयो । राजधानी काठमाडौँ र धादिङबाट घर जान आएका मजदूरलाई गाडी रोकेर आ–आफ्नो गन्तव्य पठाउने इच्छाकामनाका प्रमुख गुरुङ अहिले चर्चाको शिखरमा छिन् ।

जिल्लाभित्र पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण देखिएको राप्ती नगरपालिकाका प्रमुख बरालको व्यवस्थापकीय क्षमता उदाहरणीय बनेको छ । दाहालको अग्रसरतामा भरतपुर कोभिड–१९ प्रयोगशाला सञ्चालनमा अएको छ । जिल्लाका तीन ठाउँमा क्वारेन्टाइन सञ्चालन गरिँदैछ । अस्पतालका कर्मचारीका लागि स्थानीय होटलमा क्वारेन्टाइन सञ्चालन गरिँदै आइएको छ । महानगरभित्रका १६ हजार १६३ परिवारले पहिलो चरणमा राहत पाइसकेका छन् ।

महानगरपालिका प्रमुख दाहालको यतिबेलाको दैनिकी कोरोनाको जोखिम हुन नदिन नै केन्द्रित हुने गरेको छ । उनी महानगरभित्र रोग भित्रिन नपाओस् र कोही भोकै बस्न नपरोस् भन्नेमा आफुले पूरै समय खर्चिएको बताउछिन् । पीडामा बढी महिलालाई पोल्ने हुँदा पनि सङ्कटमा महिला जनप्रनिधिको नेतृत्व प्रभावकारी हुने बताइन्छ । मकवानपुरसँग जोडिएको जिल्लाको पाँच नगरपालिकामध्येको राप्ती नगरपालिका हो ।

जहाँका दुई जनालाई कोरोना भाइरस पुष्टि भइसकेको छ । प्रमुख बराल रोगको सङ्क्रमण नेपालमा भित्रन्छ भन्ने अनुमान भएसँगै आफ्नो दैनिकी फेरिएको बताउछिन् । विगत एक महिनादेखि नगरवासीलाई सचेतना, क्वारेन्टाइन व्यवस्थापनजस्ता कार्यका लागि बैठक र दौडधुपमै उनको दैनिकी बित्ने गरेको छ । भोकै कोही बस्न नपरोस् भन्नका लागि उनले राहतमा बढी जोड दिएकी छिन् । हालसम्म ५ हजार ३८५ परिवारले राहत पाइसकेका छन् ।

धादिङतर्फ जोडिएको इच्छाकामना गाउँपालिका प्रमुख गुरुङको दिन आजभोलि सडकमै बित्ने गरेको छ । पैदल हिँड्नेलाई गाडी रोकेर चढाएर पठाउने, चाउचाउ, पानी, बिस्कुटजस्ता खाना खुवाउने र राहात बाँड्न उनी व्यस्त हुन्छिन् । उनी भन्छिन् , ‘बिहान घरबाट हिँडेपछि रात परेको थाहा पाउँदिन म ।’

सडकमा पैदल हिँडेका मजदुरदेखि खान नपाएका गाउँवासीसम्मकोमा उनी पुग्ने गरेकीछिन् । उनको पहलमा अहिलेसम्म १ हजार ५ सय भन्दा बढी घरधुरीलाई राहत बाँडिसकिएको छ । दाताको खोजी गर्ने पनि उनको दैनिकीभित्र पर्छ । उनले भनिन्, ‘ कुनै पुरुषको भन्दा कम मैले काम गरेको छैन । आत्तिने र मात्तिने मेरो बानी छैन ।’ जनताको हितमा सकेजति लाग्ने भन्दै उनले भनिन्, ‘मेरो क्षेत्रमा मजदुर हिँडिरहने म घरमा मज्जाले सुत्न सक्दिनँ ।’ म घरमा खाइरहँदा मेरो गाउँवासीले पनि खान पाउनुपर्छ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>