सामाजिक दूरीले जन्माएको पतिपत्नी बीचको मनोविज्ञान 

- डा. गंगा पाठक, मनोविद 

चैत्र ३०, २०७६  

मानिस सामाजिक प्राणी हो । ऊ एक्लै रमाएर बस्न सक्दैन अथवा कसैसँग नबोली अन्र्तक्रिया नगरी बस्न सक्दैन । आफ्नो दु:ख र भावनालाई अभिव्यक्त गर्न होस् अथवा सुख साटासाट गर्न मानिसलाई मानिसनै चाहिन्छ । त्यसमा पनि आफ्नै मानिस जसले आफ्नो भावनालाई बुझ्न सक्छ त्यस्तो मानिससँगको भावनात्मक सामिप्यताले जीवनमा हौसला र सकारात्मक उर्जा दिन्छ । तर अहिले कोरोना भाइरस कोभिड–१९ ले मानिस बीचको दूरी बढाउनु पर्दाको बाध्यात्मक परिस्थितिले पतिपत्नी बीचमा जन्माएको मनोविज्ञानको पीडा चुनौतीपूर्ण बनेको पाइन्छ । यस विषयमा धेरैको ध्यान पुगिसकेको छैन किनभने यो घरभित्रको कलह, वैमनस्यता एवं मानसिक संघर्षको कथा हो । जबसम्म बाहिर छताछुल्ल हुँदैन अथवा सम्बन्ध जोडिनै नसक्ने स्थिति आउँदैन तबसम्म यो अदृश्य बन्ने गर्छ । 

आज रातीको कुरा हो, छिमेकीको घरबाट राती चर्को स्वर सुनियो, एकैछिनपछि ढोका जोडले लगाएको र सामान फ्याँकेको मानौं ठूलो युद्ध भए जस्तो सुनियो । झण्डै एक घन्टाजतिको यो युद्धले वरिपरिको छिमेकी सबैको निद्रा जगायो र कसैले झ्यालबाट र कौसीबाट के भयो ? किन राती हल्ला ? पुलिस बोलाउ ? भन्न थाले । त्यत्तिकैमा एक महिला रुँदै घरबाहिर आइन् । आफ्नो श्रीमान् दिनभरी तास खेलेर भएको अलि अलि पैसा पनि सबै सकेर रक्सीले मातेर झगडा गर्न आएको गुनासो गरिन् । यसरी छिमेकी सबै कराएको सुनेर ती पुरुष चुपचाप सुते होलान् । त्यसपछि आवाज सुनिएन । ती महिला पाँच वर्षको छोरासहित कोठामा वहालमा बसेको धेरै भइसकेको थियो । दुवैजना पसलमा काम गर्थे । अहिले कोरोना त्रासका कारण लकडाउन भएकाले पसल बन्द भएको छ । यसले गर्दा बेरोजगार मात्र होइन, दैनिकी चलाउन नै मुस्किल परेको छ । तर श्रीमान्ले कुनै चासो नदेखाएको उनी गुनासो  गर्छिन् । 

हुने खानेको घरमा पनि महिलाको आफ्नै किसिमको व्यथा छ । धेरै महिलालाई लकडाउन खुले पनि हुन्थ्यो जस्तो लाग्न थालिसक्यो । सामाजिक दूरी कायम गर्न तथा आफ्नो सुरक्षाका लागि लकडाउन गरिएको भए पनि धेरै पुरुष घरमा तास खेल्ने, खाने, फोहोर गर्ने, केटाकेटी छिनछिनमा अब के खाने ? अब के गर्ने ? भन्ने प्रश्नबाट धेरै महिला वाक्क भइसकेका छन् । एक जना महिला भन्छिन्– ‘बरु अफिस जाँदा यति धेरै दिक्क लाग्दैनथ्यो । घरपरिवारको सदस्यको इच्छा र माग पूरा गर्दा गर्दै थाकिसके । अब त झर्को लागिसक्यो, कसैले सहयोग गर्ने होइन । पुरुषहरु खाने, तास खेल्ने, राजनीतिका कुरा र अन्य गफ गरेर दिन बिताउँछन् । यसैगरी केटाकेटी भिडियो गेम खेलेर र मोबाइलमा व्यस्त हुन्छ । आफू एक्लैले के मात्र गर्नु ? महिलाको यस्ता गुनासो धेरै आइरहेको हुन्छ । 

घरमा बूढा सासुससुरा भएका घरका छोरी बुहारीलाई मानसिक स्ट्रेस पनि छ । बाहिर हिड्डुल गर्ने, नियमित रुटिन नै अवरुद्ध हुँदा न मन्दिर, न पूजा पाठ, न आफन्तसँगको भेटघाट नै हुन पाएको छ । घरमा नै बसिरहनुपर्दा यता दुख्यो, उता दुख्यो, खाएको पचेन, चिकित्सकको फलोअपमा कसरी जाने ? आदि कचकचले दिक्कै बनिसकेको वितृष्णा व्यक्त गरिरहन्छन् । 

कतिपयको घरमा भने इन्टरनेट र सामाजिक सञ्जालमा अति व्यस्त पति र छोराछोरीप्रति आक्रोशित महिलाहरु नेटकै तार काटिदिने स्थितिमा पुग्छन् । जतिखेर पनि चाहिने नचाहिने भिडियो हेर्ने र दुनियाँसँग च्याट गरेर बसेको असन्तुष्टिले कतै गएर समय बिताउ भने पनि नमिल्दा मानसिक तनावमा पर्न सक्छन् । 

यी माथि उल्लेखित केही प्रतिनिधि पात्र मात्र हुन् । अहिले कोरोना भाइरसका कारण क्वारेन्टाइनको अवस्थामा हुने घरायसी झैं झगडा, मतभेद, हिंसा, र पीडाको बारेमा खासै चासो राखेको पाइदैन । कतिपय देशमा सामाजिक दूरीले महिला हिंसा, वैवाहिक कलह र डिभोर्स भएका घटना पनि सुन्नमा आएका छन् । यस समयमा पुरुषहरु गलत आचरण अथवा बानी विकास गर्ने, मादक पदार्थ अधिक सेवन गर्ने, श्रीमतीसँग असमझदारी देखाउने कारणले दाम्पत्य सम्बन्ध टुट्न पनि सक्छ । अथवा दुवै मनोरोगी बन्ने र आत्महत्यासम्म गर्न सक्ने संभावनालाई संवेदनशील बनेर सोच्नुपर्छ । 

पतिपत्नीबीचको भावनात्मक दूरीलाई बढ्न नदिन, दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । घरमा आफूले लिनुपर्ने जिम्मेवारी, खानपान, सरसफाई एवं केटाकेटीलाई व्यस्त राख्ने क्रियाकलापलाई योजनावद्ध रुपमा पतिपत्निको सहभागिता देखाउँदा एउटालाई मात्र कार्यबोझ पर्दैन । एक्लैको जिम्मामा यस्ता कार्यबोझ पर्दा झर्कने रिसाउने, मन उदास बन्ने र आरोप प्रत्यारोप बढ्न जान्छ । फलस्वरुप दाम्त्पय जीवनलाई खलल पुऱ्याउाछ । पतिपत्नि दुवैले एक अर्काप्रति सकारात्मक सहयोगी भावना देखाउनुपर्छ । यो विषम परिस्थितीमा सम्बन्धलाई अझ प्रगाढ बनाउन यो पुरुषको काम र यो महिलाको काम भन्ने रुढिवादी र पूर्वाग्रही बन्नु हुदैन । अरुले के भन्लान् होइन आफू कसरी उदाहरणीय बन्न सकिन्छ भन्ने सोचले हरेक काममा सक्रियता देखाउन सकिन्छ । घरायसी काममा व्यस्त हुादा आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य पनि राम्रो हुनुका साथै समय पनि उत्पादनमूलक रुपमा बिताउन सकिन्छ । दाम्पत्य जीवन पनि सुमधुर एवं प्रगाढ बन्छ । यसैगरी केटाकेटीलाई आमा बुवा दुवैले समय दिदा उनीहरुको मनोबल उच्च हुनुका साथै परिवारमा आत्मियता बढ्दै जान्छ ।    

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>