Successfully Copied

कोभिड–१९ को संक्रमणवाट बाथ रोगीहरु कसरी जोगिने 

बाथरोगका प्रतिनिरोधक औषधी सेवन गरिरहेका बिरामीले सामाजिक दूरी कायम राख्नुपर्छ । बाहिर निस्कनुपरेमा पनि पुरा बाहुला भएका पहिरन लगाउनुपर्छ । बाहिरबाट आउनासाथ पहिरन परिवर्तन गरी साबुन पानीले हात धोइ हाल्नुपर्छ । 

डा. श्वेता नकर्मी, बाथरोग विशेषज्ञ, नेशनल बाथरोग सेन्टर

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि सरकारले देशव्यापी रुपमा चैत ११ गतेदेखि लकडाउन गरेको छ । नेपालमा यो भाइरसवाट अहिलेसम्म ९ जना संक्रमित देखिसकेका छन् । भाइरसको जोखिम न्यूनिकरण गर्न अस्पतालहरुले आफ्नो ओपिडी सेवा बन्द गरेका छन् भने धेरैले हटलाइन मार्फत्सेवा दिइरहेका छन् । 

दीर्घकालिन रोग बाहेक प्राय: सबै बिरामीमा कोभिड १९ को जटिलता हुने संभावना धेरै हुने चिकित्सकहरुले बताइरहेका छन् । वृद्ध मानिस (६५ वर्ष भन्दा माथी) मा मधुमेह, मिर्गौला रोगका बिरामी जस्तै बाथरोगका बिरामीहरुमा पनि यसको जटिलता धेरै हुन सक्ने देखिन्छ । यसो हुनुको मुख्य कारण बाथ रोग स्वयं र यसमा प्रयोग हुने औषधी नै हो । 

बाथरोग भनेको मानिसको रोग प्रतिनिरोधक क्षमतामा गढबढी भएर हुने रोग हो । यसकारण बाथरोगीमा रोगसाग लड्ने क्षमता अरु सामान्य मानिसको तुलनामा अलिक कम हुन्छ । यसैगरी बाथरोगमा प्रयोग हुने औषधीका कारण पनि रोगसाग लड्ने क्षमता कम भइरहेको हुन्छ । यस्तो अवस्थामा कुनै पनि संक्रमण भएमा जटिलता देखा पर्न सक्छ । जसमा कोभिड १९ को संक्रमण पनि पर्छ । 

 

बाथका बिरामीले विशेष ध्यान दिनुपर्ने कुरा 

अहिले लकडाउनको अवस्था छ । ओपिडी सेवा बन्द छ । यस्तो अवस्थामा बाथ रोगीले चिकित्सकको सल्लाह नलिई सेवन गरिरहेको औषधी बन्द गर्ने वा कम डोज खाने गर्नुहुदैन ।

बाथरोगका प्रतिनिरोधक औषधी सेवन गरिरहेका बिरामीले सामाजिक दूरी कायम राख्नुपर्छ । बाहिर निस्कनुपरेमा पनि पुरा बाहुला भएका पहिरन लगाउनुपर्छ । बाहिरबाट आउनासाथ पहिरन परिवर्तन गरी साबुन पानीले हात धोइ हाल्नुपर्छ । 

जटिल बाथरोगका औषधी (प्रतिरोधात्मक) सेवन गरिरहेका बिरामी सकेसम्म घरबाहिर जानु हुदैन ।

घरभित्र बस्दा पनि अरु मानिसको सम्पर्कमा कम आउनु पर्छ । 

घरभित्र बसेर नियमित व्यायाम गर्नुपर्छ । 

कुनै पनि प्रकारका समस्या देखा परेमा चिकित्सकको सल्लाह लिनुपर्छ । 

धुम्रपान गर्नुहुदैन । आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ । 

लकडाउनका समयमा घरभित्रै बसी आफू पनि सुरक्षित र अरुलाई पनि सुरक्षित बनाउनुपर्छ । 

 Image