आफैं सचेत र जागरूक हुनुपर्छ 

उपासना घिमिरे

चैत्र २, २०७६ नेपालका थोरै ‘महिला राजनीतिक विश्लेषक’ मध्येकी एक हुन्, डा. इन्द्र अधिकारी । पर्वतको मल्लाजमा जन्मिएकी अधिकारीले सेना–सरकार सम्बन्धमा पिएचडी गरेकी छिन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल र राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । विद्यालयस्तरको पढाइदेखि नै अब्बल इन्द्रले अहिले समयसापेक्ष सटिक राजनीतिक विश्लेषण गर्ने महिलाको छवि बनाएकी छिन् । समसामयिक घटनाप्रति अपडेटेड अधिकारीसँग नेपाली राजनीतिमा महिलाको सहभागिता, चुनौती र सम्भावनाबारे उपासना घिमिरेले गरेको कुराकानी:

नेपाली राजनीतिमा महिला सहभागिता कम हुनको कारण के होला ?

नेपालमा राज्यको संरचना निर्माण भएसँगै पुरुष हावी भएको इतिहास छ । त्यतिबेलाको समाज ‘महिलालाई चौघेराबाट बाहिर आउन दिनु हुँदैन’ भन्ने पुरुष मानसिकताबाट ग्रस्त थियो । पछि राजा तथा राणाले आफ्नी रानी तथा श्रीमतीलाई राज्यका केही निकायमा स्थान दिन थाले । त्यो पनि पुरुषको निगाहमा मात्रै । महिलालाई राज्यको नेतृत्व गर्ने छुट नै थिएन । निर्णय तहमा भन्दा पनि राजा तथा राणाकी श्रीमतीको हिसाबमा पछि लाग्नुको विकल्प थिएन । प्रणाली नै यस्तो बनाइएको थियो कि, महिलाले नेतृत्व एवं निर्णय गर्ने तहमा पुग्ने आश नै गर्दैनथे । जब राजनीतिक दलको अवधारणा आयो, तब राजनीतिमा महिलाको सहभागिताबारे कुरा उठ्न थाल्यो । तर, भारतमा बनेका कांग्रेस, कम्युनिस्ट पार्टीका नेताले पनि श्रीमतीलाई सँगै लिएर हिँड्नेबाहेक कुनै जिम्मेवारीमा राखेनन् ।

क्रमश: महिलामा पनि चेतना बढ्यो । राजनीतिक दलले महिलाका संगठन खोले । जहाँ पुरुष नेताका श्रीमती र आसेपासे सहभागी भए । जब मंगलादेवी, साहना प्रधानहरू राजनीतिमा उदाए, तब राजनीतिमा महिला सहभागिताबारे बहस हुन थाल्यो । सन् १९५० पछि मात्रै राज्यका निकाय र राजनीतिमा महिलाको सहभागिताबारे बहस हुन थालेको हो । जसको असर अहिले पनि छ । वर्षौंदेखिको विभेदका कारण महिलालाई माथि उठ्न मुस्किल परिरहेको छ । अहिले पनि हाम्रो राजनीतिक नेतृत्वमा पुरुष मानसिकता हावी छ । अहिले आरक्षण दिएर महिलालाई थोरै भए पनि महिला सहभागिता बनाउने प्रयास त भएको छ । तर त्यो पर्याप्त र प्रभावकारी हुनसकेको छैन । यसर्थ अहिले पनि राजनीतिमा महिलाको सहभागिता सन्तोषजनक छैन ।

परिवर्तित राजनीतिक परिवेशमा महिलालाई अघि बढ्न के कुराले रोकेको छ ?

मुख्यत: आन्तरिक सशक्तीकरण र चेतनास्तरकै समस्या छ । अहिले पनि राज्यले महिलालाई जागरुक बनाउन आवश्यक पहल गरेको छैन । जसकारण महिलाको राजनीतिक चेतनास्तर कमजोर छ । महिलाले पनि आफूमा आवश्यक विकास गर्न सकेका छैनन् । तुलनात्मक रूपमा महिला जागरण बढेको छ । महिलालाई राज्यले गर्ने विभेद कम भएको छ । शिक्षासँगै बढ्दो खुला समाजका कारण महिलाले स्वतन्त्रता र अधिकारका लागि आवाज उठाउन थालेका छन् । तर त्यो पर्याप्त छैन । राजनीतिमा होमिएका महिलालाई टिक्न र अघि बढ्न अझै गाह्रो छ । विवाह, पारिवारिक जिम्मेवारीलगायत धेरै कुराले महिला गाँजिएका छन् । सन् १९९० पछि तत्कालीन दुवै सदनमा पाँच प्रतिशत महिला सहभागिता अनिवार्य भएसँगै आरक्षणको बहस तीव्र भयो । राजनीतिक संगठनमा पनि महिला सहभागिता बढ्न थाल्यो । पछि विश्वव्यापी रूपमै राजनीतिमा महिला सहभागिताको विषय उठ्यो । परिणामत: अहिले नेपालमा पनि हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको अभ्यास भइरहेको छ । यसले थोरै भए पनि सकारात्मक संकेत गरेको छ । राज्यका हरेक निकायसँगै राजनीतिमा महिला सहभागिता बढ्दो छ । 

आरक्षणका कारण बढेको सहभागिता कत्तिको प्रभावकारी होला त ?

यो गम्भीर विषय हो । आरक्षणका नाममा महिलाको संख्या बढेको देखाउने र उनीहरूलाई साक्षी मात्रै बनाउने स्थिति राम्रो होइन । गुणात्मक रूपमा फड्को नमारुन्जेल संख्या मात्रै पनि महत्वपूर्ण कुरा हो । तर, महिलाले पनि आफ्नो सोचमा विकास गर्न जरुरी छ । पुरुषको पछि लाग्दा मात्रै आफू सुरक्षित हुन्छु भन्ने मानसिकताबाट महिला उम्कनुपर्छ । पुरुषका कारण आफ्नो समस्या समाधान नहुँदा पनि मौन बस्ने प्रवृत्तिका कारण पनि महिला पछि परिरहेका छन् । आरक्षण भनेको केही समयका लागि मात्रै हो भन्ने कुरा बुझ्न जरुरी छ । विगतमा भएको विभेदका कारण मूल प्रभावमा आउन नसकेका लागि समान बनाउन दिइने अवसर मात्रै हो, आरक्षण । यसर्थ आफूले विकास गर्न नसक्ने हो भने आरक्षण मात्रैले अघि बढाउन सक्दैन । यसर्थ आरक्षणलाई प्रभावकारी बनाउन महिलाले आफूलाई गुणात्मक हिसाबमा पनि विकास गर्नुपर्छ ।

 मन्त्रिपरिषद्मै ३३ प्रतिशत महिला छैनन् । आरक्षण त भन्नका लागि मात्रै जस्तो भयो नि, होइन ?

हो । तर यो प्रश्न उठाउने कसले ? अदालतमा मुद्दा हाल्यो भने भविष्य नै सकिन्छ भनेर महिला नै डराउँछन् । सरकारमा मात्रै के र ? देशका ठूला पार्टीका निर्णय तहमा पनि ज्यादै थोरै मात्रै महिला छन् । पार्टीका महिला संगठन छन् । तिनीहरू पनि यस्ता मुद्दामा बोल्दैनन्, डराउँछन् । अधिकारकर्मीहरू पनि गफ मात्रै ठूला गर्छन् । अधिकारका लागि कानुनी लडाइँ लड्न तयार हुँदैनन् । अनि कसरी बढ्छ राजनीतिमा महिला सहभागिता र प्रभावकारिता ? यसप्रति महिला नै बढी सचेत र जागरुक हुन जरुरी छ ।

राजनीतिमा महिला सहभागिता र प्रभावकारिता बढाउन चाहिँ के गर्नुपर्ला ?

मुख्यत: महिला आफैं सचेत र जागरुक हुनुपर्छ । प्राप्त अधिकारको भरपूर उपयोग गर्नेतिर सोच्नुपर्छ । र, राजनीतिमा जरैदेखि प्रवेश गर्नुपर्छ । आफू महिला भएको हीनताबोध होइन, गर्व गर्नुपर्छ । पुरुषको छायामा रमाउने होइन, पुरुषसँग प्रतिस्पर्धा गर्ने मानसिकता विकास गर्नुपर्छ । पाएको जिम्मेवारी कुशलतापूर्वक बहन गरेर पुरुषभन्दा कमजोर नभएको प्रमाणित गर्नुपर्छ । आफू जुझारु नहुने हो भने आरक्षण कोटाबाट कुर्सीमा पुगेर मात्रै हुँदैन ।

महिलालाई समाजले विश्वास नै नगर्ने स्थिति छ । कसरी विश्वास जित्न सकिएला ?

विश्वास जित्ने त काम गरेरै हो । पुरुषसत्ताले ग्रस्त समाजले सहजै महिलाको नेतृत्व पचाउँदैन । तर, उल्लेख्य काम गरेर आफूलाई प्रमाणित गरिसकेपछि नपत्याएर सुखै छैन । कहिलेकाहीँ जोखिम मोलेरै भए पनि लड्न सक्ने क्षमता विकास गर्नुपर्छ । मानिसले परिणामलाई हेरेर धारणा बनाउने हो । त्यसैले परिणाम देखिने गरी महिला लाग्नुपर्छ । पुरुष र समाजलाई प्रश्न गर्ने आँट गर्नुपर्छ । 

अहिले महिला निर्णायक तहमा आउन नसकेका हुन् कि नल्याइएको हो ?

दुवै हो । पुरुषसत्ताले महिलाको नेतृत्व स्वीकार्न गाह्रो मान्छ । र महिलाले पनि आफूलाई समयसापेक्ष विकास गर्न सकेका छैनन् । एकअर्थमा महिलामा पनि पुरुषवादी सोच छ । खासगरी हामीले चिन्तन–चेतनाको स्तर बढाउनमा ध्यान दिनुपर्छ । तब निर्णायक तहमा पुग्न महिलालाई सजिलो हुन्छ । कसैले हात समाएर मात्रै हिँड्न खोज्दा हात छुटेको दिन गाह्रो हुन्छ । 

महिलामा नेतृत्व विकासका लागि के सुझाव दिनुहुन्छ ?

महिलालाई अघि बढाउने कि नबढाउने भन्नेमा परिवारको हात हुन्छ । परिवारका सदस्यको धारणा पनि समाजकै कारण निर्माण भएको हुन्छ । त्यसैले सबैभन्दा पहिला परिवारका सदस्यलाई बुझाउन सक्नुपर्छ । उनीहरूलाई बुझाउन खोज्नुपूर्व आफूले बुझ्नुपर्छ । क्रमश: समाजले बुझ्छ । चुनौती मोल्नै नखोज्ने र बुझ्न/बुझाउनै नखोज्ने कारण पनि महिलाको नेतृत्व विकासमा समस्या भएको हो । महिलाले औपचारिक अध्ययनसँगै समाज निर्माणका आधार, विभेदको कारणलगायत विषयमा यथेष्ट अध्ययन गर्नुपर्छ । अध्ययनबिना अरु बुझाउन सकिँदैन । अधिकार लडेरै पाउने हो भन्ने कुरा बुझ्नुपर्छ । कसैले निगाहवश दिएको कुराले आफूलाई विकास गर्दैन । कम्तीमा महिलामा आलोचनात्मक चेतको खाँचो छ । र, आत्मसम्मानमा सम्झौता नगर्ने गरी आफूलाई विकास गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>