Successfully Copied

चश्माको स्याहार कसरी गर्ने ? 

चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ । 

चश्मा दृष्टिदोष भएका मानिसका लागि संसार चिहाउने ऐना हो । राम्ररी हेरचाह नगरेमा चश्मा छिट्टै बिग्रिने, कोरिने, फुट्ने गर्छ । चश्मा बिग्रिएमा कम्पनी, पसले वा हस्पिटललाई नक्कली चश्मा भिडाएको आरोप लगाइन्छ । सबै चश्मा सक्कली नै हुन्छन् भन्ने होइन तर राम्रो हेरचाह गरेमा चश्माको कार्यकाल बढाउन सकिन्छ । प्रस्तुत छ, चश्माको हेरचाह गर्ने केही उपाय:

१.चश्मा एउटा हातले एकातिरबाट मात्र फुकाल्नु हुँदैन । यसो गर्दा चश्माको अगाडिको मुख्य भाग (फ्रेम फ्रन्ट) र खुट्टा (टेम्पल) जोड्ने मिलनबिन्दुमा एकतर्फी दबाब पर्ने हुनाले चाँडै भाँचिने वा स्प्रिङ खुस्किने हुन्छ । साथै चश्मा लगाउँदा पनि सधैं दुवै हातले सन्तुलित बलको प्रयोग गरी दुवै कानमा एकैसाथ लगाउने बानी बसाल्नुपर्छ ।  

२.स्टाइल पार्न पावरको चश्मा निधारमाथि वा केशमा नराखौं । यसले फ्रेम खुकुलो बनाउँछ र साबिकझैँ लगाउँदा खस्ने डर हुन्छ । सनग्लासहरू पनि त्यसरी टाउकोमा लगाउँदा टाउकोको तेल वा जेलले चश्मा चिपचिप हुने र त्यसको रसायनले बाहिरी कोटिङ खुइलिन्छ । साथै केशसगँको घर्षणले चश्माको लेन्स कोरिन्छ ।

३.सिसाको लेन्स छ भने सानातिना ठक्करले पनि लेन्स चर्किन सक्ने भएकाले सक्भर लगाई राख्ने र खोल्दा विशेष जतन गर्ने गरौं । 

४.चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ । 

५.लामो समयसम्म चश्मा खोल्नु परेमा चश्माको खोल वा बट्टामा राख्ने गरौं । 

६.थ्री पिस चश्मा छ भने समय–समयमा फ्रेम खुकुलो भइरहन सक्छ त्यसैले चश्मा किन्दा यसको पेच कस्ने स्क्रियु ड्राइवर पनि सँगै लिने गरौं । 

७.चश्मा सफा गर्दा चश्मा पुछ्न प्रयोग गरिने माइक्रोफाइबर रुमाल प्रयोग गरौं नत्र अन्य खस्रा कपडाले पुछ्दा राम्रो सफा नहुने, वा चश्मा कोरिने हुनसक्छ । 

८.चश्मा सफा गर्न नरम साबुन वा हल्का तातो पानी प्रयोग गर्न सकिन्छ । अप्टिकलहरूमा किन्न पाइने लेन्स क्लिनर भन्ने केमिकल प्रयोग गरे झनै राम्रो । 

९.नोज प्याड सफा गर्दा नरम बुरुस प्रयोग गर्न सकिन्छ । चश्मा सफा गर्ने अल्ट्रा सोनिक तरंगको उपयोग गर्ने मेसिनले सफा गर्‍यो भने भौतिक बल प्रयोग नगरिकनै केही मिनेटमा सबै फोहोर चश्माबाट छुट्टिन्छ । यसले चश्माको सुरुवाती चमकसमेत फर्काउँछ ।

१०.प्राय: लेन्स वा फ्रेमहरू ८० डिग्री फरेन्हाइटभन्दा बढीको तापक्रमले बिग्रिने हुन्छ (आकार बिग्रिने, लुज हुने, रङ खुइलिने वा कोटिङ खुइलिने),  तसर्थ उच्च तापमान वा तापक्रम तल माथि भइरहने ठाउँबाट सकभर चश्मालाई जोगाउँ ।

अधिकारी तीलगंगा आँखा प्रतिष्ठानका दृष्टि विज्ञान संकायका स्नातकोत्तर विद्यार्थी हुनुहुन्छ ।  

 

 

 Image