विवाह :  कानुनी स्वतन्त्रता

प्रकृति दाहाल

फाल्गुन ६, २०७६  

२०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहिताले विवाहको परिभाषा दिएको छ । जसअनुसार पुरुष र महिलाबीच दाम्पत्य जीवन प्रारम्भ गर्न एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ । जुनसुकै किसिमबाट भएको भए पनि विवाहलाई सार्वजनिक गराउनुपर्छ भनी कानुनमा उल्लेख छ । कानुनमा विवाहसम्बन्धी व्यवस्थाबारे नारीकी प्रकृति दाहालले अधिवक्ता अनिता न्यौपाने थपलियासँग गरेको कुराकानीको सम्पादित अंश : 

कानुनले विवाहको परिभाषा कसरी गरेको छ ?

२०७५ साल भदौ १ गतेबाट लागू भएको देवानी संहिताले विवाहको परिभाषा गरेको छ । पुरुष र महिलाबीच दाम्पत्य जीवन प्रारम्भ भएपछि एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ । प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने स्वतन्त्रता हुनेछ । विवाह जुनसुकै किसिमबाट भएको भए पनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्नेछ भनी कानुनमा स्पष्ट व्यवस्था छ । 

कस्तो अवस्थामा महिला र पुरुषबीच विवाह हुनसक्छ ?

पुरुष र महिलाले एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गर्न मञ्जुर गरेमा, कानुनबमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा, पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा र २० वर्ष उमेर पूरा भएमा पुरुष र महिलाबीच भएको मानिन्छ । 

कानुनमा महिला र पुरुषबाहेक अन्य लिंगका व्यक्तिको विवाहको सम्बन्धमा कस्तो व्यवस्था छ ? 

महिला र पुरुषबाहेक अन्य लिङ्गका व्यक्तिको विवाहको सम्बन्धमा कानुन निर्माण हुन सकेको छैन । त्यसलाई हालको कानुनको कमजोरीका रूपमा लिनुपर्नेछ । तर अन्य लिङ्गका व्यक्तिका बीचको विवाहलाई अपराध भन्ने अवस्था छैन । 

विवाह गर्ने व्यक्तिहरूको मञ्जुरीविना विवाह गराएमा के हुन्छ ? 

विवाह गर्ने व्यक्तिहरूको मञ्जुरीविना कसैले कसैको विवाह गर्न–गराउन हुँदैन । विवाह गर्ने उमेर पूरा नभएका व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । यसरी मञ्जुरीविना गराइएको विवाह बदर हुन्छ । मञ्जुरीविना विवाहको कसुर गर्ने–गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैंयाँसम्म जरिवाना हुनेछ ।

कानुनले कस्तो विवाहलाई स्वत: वदर गराउन सक्छ ? 

यदि पुरुष वा महिलाको मञ्जुरीविना भएको विवाह भएमा, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरूबीच विवाह भएमा बदर गराउन सकिने कानूनी रूपमा उल्लेख छ । तर त्यसमा आफ्नो जाति–समुदाय वा कुलमा चलिआएको चलनअनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न भने यो कानुनले बाधा पुर्‍याउँदैन । 

बदर हुने विवाह कुन–कुन हुन् ? 

दुई अवस्थामा विवाह स्वत: बदर हुन्छ । २० वर्ष उमेर पूरा नगरी विवाह भएमा र झुक्याएर विवाह गरेमा । 

झुक्याई गरिने विवाह भन्नाले कस्तो विवाहलाई बुझिन्छ ? 

विवाह गर्दा केटा र केटीबीच जे–जस्तो अवस्था छ, त्यसबारे एक पक्षले अर्को पक्षलाई जानकारी दिएर मात्र विवाह गर्नुपर्छ । विवाह गर्दा केटा र केटीबीच सहमति भई मञ्जुरीले विवाह गर्नुपर्छ भनी कानुनमा उल्लेख गरिएको छ । यदि जानकारी नदिई लुकाई–छिपाई विवाह गरिदिन्छन् भने त्यसलाई झुक्याई गरिने विवाह भनिन्छ । झुक्याई विवाह गरेको कारणबाट व्यक्तिलाई असर परेमा त्यस्तो विवाह बदर गराउन विवाह भएको मितिले ३ महिनाभित्र उजुर दिई मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ । 

विवाहको परिणामस्वरूप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा के हुन्छ ? 

यदि विवाहको परिणामस्वरूप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुन सक्नेछ । विवाह बदर भए पनि बच्चाले (पूर्ण अधिकार पहिचान तथा सम्पत्तिसम्बन्धी अधिकार) भने प्राप्त गर्नेछ । 

विवाहपछि महिलाले कुन थर प्रयोग गर्नुपर्छ ? 

महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछन् । यदि विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ । पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्धविच्छेद भएमा निजले चाहेमा निजका बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन् । 

कस्तो अवस्थामा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ ? 

कानुनबमोजिम विवाह बदर भएमा, कानुनबमोजिम पति–पत्नीको सम्बन्धविच्छेद भएमा र पत्नीले कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ । 

बालविवाहको सम्बन्धमा के–कस्ता कानुनी व्यवस्था छन् ? बालविवाह गरेमा वा गराएमा कस्तो सजाय हुन्छ ? 

२० वर्षभन्दा कम उमेरका केटा र केटीलाई विवाह गरिदिएमा त्यसलाई बालविवाह मानिन्छ । यसलाई कानुनले अपराध मानेको छ । बालविवाहको उजुरी प्रहरी कार्यालयमा दिनुपर्छ । बालविवाह गर्ने–गराउने कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । २० वर्ष नपुगी केटा र केटीले विवाह गरेर सन्तान जन्मेमा त्यस्तो सन्तानले बाबुआमाबाट अंश पाउनेछन् । बालविवाहमा थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी गर्नुपर्छ ।

बहुविवाहको सम्बन्धमा कानुनले के–कस्तो व्यवस्था गरेको छ ?

विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नुहुँदैन । कुनै पुरुष विवाहित हो भनी जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन । यसरी वैवाहिक सम्बन्ध रहेको अवस्थामा पुन: विवाह गरेमा बहुविवाह हुन्छ ।  बहुविवाहको अपराध भए–गरेको कुरा थाहा पाएको मितिले तीन महिनासम्ममा उजुरी गर्नुपर्नेछ । बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ र बहुविवाह स्वत: बदर हुन्छ । दोस्री श्रीमतीले श्रीमान््को सम्पत्तिबाट अंश पाउन सक्दिनन् । बहुविवाहको परिणामस्वरूप बच्चा जन्मिएमा जन्मिएको शिशुको कानुनबमोजिमको हकमा कुनै असर पर्ने छैन । उसले आमाबाबुबाट अंश प्राप्त गर्नेछ भने जन्मदर्ता तथा नागरिकताको हकसमेत सुरक्षित हुनेछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>