Successfully Copied

महिला मनका बलिया हुन्छन्

आफूभन्दा पाको उमेरकी प्रतिमालाई दुलही बनाउन सुजोयले धार्मिक रूपमै ठूलो क्रान्ति गर्नुपरेको थियो । रोमन क्याथोलिक सुजोयले हिन्दू प्रतिमालाई विवाह गर्दा चर्चले बहिष्कार गर्‍यो । 

 

प्रतिमा चौधरी, संचारकर्मी / सुजोय योङ, डाइरेक्टर

‘म बूढी भएँ, गाला चाउरी पर्न थालिसके,’ भिजे तथा समाचारवाचिका प्रतिमाले यसो भन्दा सुजोयले मुस्कुराउँदै थपे, ‘तपाईं मेरा लागि सधैं जवान, सुन्दर अनि उत्तिकै प्रिय ।’ आफूभन्दा पाको उमेरकी प्रतिमालाई दुलही बनाउन सुजोयले धार्मिक रूपमै ठूलो क्रान्ति गर्नुपरेको थियो । रोमन क्याथोलिक सुजोयले हिन्दू प्रतिमालाई विवाह गर्दा चर्चले बहिष्कार गर्‍यो । 

‘उहाँले मलाई धर्म परिवर्तन गर्न एकपटक पनि भन्नुभएन बरु आफैंले कति कुरामा कम्प्रोमाइज गर्नुभयो,’ प्रेमलाई केही कुराले नछेक्ने विश्वास गर्ने प्रतिमा भन्छिन्, ‘अन्तत: हामीले सामाजिक विवाह गर्नुपर्‍यो ।’ वीरगञ्जका स्थायी बासिन्दा सुजोय कसैले सम्हाल्न नसक्ने स्वतन्त्र स्वभावका थिए । आमाले बाहेक उनलाई कसैले तह लगाउन सक्दैनथ्यो । 

‘आमाले पनि सम्हाल्न नसक्ने भएपछि मलाई सम्हाल्न प्रतिमा आइपुगिन्,’ सुजोय भन्छन्, ‘महिला मनका बलिया हुन्छन् । जिन्दगीभरि चाहिने शारीरिक बलभन्दा मानसिक बलै हो । आफूभन्दा परिपक्व जीवनसाथी पाउनु भाग्यको कुरा हो ।’ सुरुसुरुमा प्रतिमालाई अत्यन्तै चुलबुले केटाकेटीजस्तो स्वभाव, सम्हाल्नै गाह्रो बानी, अपरिपक्व व्यवहार देख्दा बेक्कारमा विवाह गरिएछ भन्ने नलागेको होइन तर ती सबैलाई उनको प्रेमले बाँधेर राखेको हुँदा क्षणभरमा माया पलाउँथ्यो । सम्बन्ध एकैनासको हुँदा ममज्जा नआउने भन्दै सुजोय मसला थपिरहन पनि निहुँ खोजिरहन्छन् । भन्छन्, ‘एकैनासे कन्स्ट्यान्ट जिन्दगी के मज्जा ?’ 

कुनै केटीप्रति आकर्षण भए पनि उनी सुनाइहाल्छन् । प्रतिमा भन्छिन्, ‘मम्मीजी मलाई त त्यो केटी साह्रै मन पर्‍यो भन्नुहुन्छ, मलाई नसुनाउनुहोस् भन्यो भने सबैभन्दा बढी विश्वास हुनेलाई सुनाउने त हो, अरूलाई सुनायो भने त इज्जतमा आँच आउँछ भन्नुहुन्छ ।’ पाको उमेरकी केटीसँग विवाह गर्दा धेरै सजिलाहरू हुने सुजोयको अनुभव छ । ‘कहिलेकाहीँ अरूप्रति क्षणभरको आकर्षण पलाए पनि जीवनको एउटै प्रेम र अन्त्यसम्मको सहारा प्रतिमा मात्रै हुन्,’ उनले भने ।

 

 

 Image