Successfully Copied

परिवर्तित खाने शैलीको असर

उच्च शिक्षा, जागिर, कामको विविधीकरण अनि समयको अभावका कारण अहिले फास्टफुडमै भर पर्नुपर्ने अवस्था छ । अहिले जंकफुडका रूपमा चाउचाउ, चिप्स, कुरकुरे अनि सफ्ट ड्रिंक्स आदि खाइन्छ । खाजामा पनि म:म: अनिवार्यजस्तै भैसकेको छ ।

 

नेपालीहरूमाझ रेस्टुराँ जाने, आउटिङ जाने, जंकफुड खाने, प्याकेटका खानेकुरा खाने चलन चलेको कति नै भयो र ? यस्तै दस–पन्ध्र वर्ष त हो नि ? राम्रो वा नराम्रो आफ्नो ठाउँमा छ, पछिल्लो समय यो बानीमा निकै वृद्धि भएको पाइन्छ । कुनै समय थियो के गाउँ, के सहर बिहान–बेलुका खानाका रूपमा दाल–भात अनि खाजाका नाममा चिउरा, रोटी एवं तरकारी खाने चलन थियो । कहिलेकाहीँ बाहिर खान नै गए पनि म:म: र चाउमिन अनि बढीमा खाजा सेट । पिज्जा खाने वा बियर पिउने चलन आएको त धेरै भएकै छैन ।

जे होस् नेपालीहरूमा खाने संस्कृति फेरिने क्रममा छ । उच्च शिक्षा, जागिर, कामको विविधीकरण अनि समयको अभावका कारण अहिले फास्टफुडमै भर पर्नुपर्ने अवस्था छ । अहिले जंकफुडका रूपमा चाउचाउ, चिप्स, कुरकुरे अनि सफ्ट ड्रिंक्स आदि खाइन्छ । खाजामा पनि म:म: अनिवार्यजस्तै भैसकेको छ । यी खानेकुरा पश्चिमाहरूले पनि नखाने होइनन् तर उनीहरूले जस्तै दैनिकजसो वा साप्ताहिक रूपमै सही क्यालोरी खर्चिन गर्ने व्यायाम हामी गर्दैनौं । त्यसैले पनि दक्षिण एसिया क्षेत्रमा मोटोपनको समस्यासँगै उच्च कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप, थाइराइड, हृदयाघात, मस्तिष्काघात (पक्षघात) लगायतका मेडिकल भाषामा नन कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोगहरू लाग्ने तथा मृत्यु हुने दर विकाराल रूपमा बढ्दो छ ।

 

किन अस्वस्थकर छन् त ?

तारिएका, भुटिएका, फ्राई गरिएका खानेकुराहरू उसिनिएका, बफ्याइएका वा भिजाइएका टुसाएजस्ता हुँदैनन् । एक ग्राम चिल्लो पदार्थले नौ क्यालोरी दिन्छ जबकि एक ग्राम प्रोटिन वा कार्बोहाइड्रेटले केवल चार क्यालोरी मात्र दिन्छ । पटक–पटक उही तेल तताउने, त्यसमा तार्ने, चिस्याउने अनि फेरि प्रयोग गर्नाले तेल अस्वस्थकर हुन्छ । यद्यपि के रेस्टुराँ धनी वा पार्टी प्यालेसवाला वा होटलवालाहरूले यो कुरालाई गम्भीर रूपमा लिन्छन् ? चिल्लोयुक्त खानेकुरा सजिलै पच्दैन र धेरैबेर भोक पनि लाग्दैन । भोक नभए पनि, नाईं भन्न नसक्ने अवस्थामा पाहुना लाग्न जाँदा वा साथीहरूको करकापमा कोचीकोची खानुपर्ने बाध्यता आइलाग्छ ।

यसका अतिरिक्त तारेका खानेकुरा वा जंकफुड प्राय: मैदाबाट निर्मित हुन्छन् । मैदामा गहुँको पीठो वा आटा जस्तो रेसायुक्त तत्व नहुने हुनाले त्यति स्वस्थकर मानिँदैन । व्यस्त सहरी जीवनमा कुन कुरा हाइजेनिक छ कुन कुरा हाइजेनिक छैन हामी ध्यान पुर्‍याउँदैनौं । नतिजा मोटोपन बढ्दै जाँदा शरीर भद्दा देखिन थालेपछि जुम्बा, जिम वा फिटनेस सेन्टर धाउनुको विकल्प हुँदैन । 

तपाईंले दिनहुँ खाने खानामा कति भाग हरियो तरकारी एवं फलफूल हुन्छ ? दिनहुँ कुनै फल टोक्ने बानी छ ? छ भनेर सहमति जनाउनेहरूको संख्या अलि कम नै होला । हरिया सागपात अनि फलफूलले पाचनमा मद्दत गर्नुका साथै शारीरिक तौल कायम गर्न पनि सघाउँछन् । सहरी क्षेत्रमा समस्या कहाँ पनि छ भने सलादका रूपमा वा भेज आइटमका रूपमा पस्किने ती खाद्यवस्तु कस्तो पानीले धोइएको छ ? ती खाद्यवस्तुको उत्पादनका क्रममा कीटनाशक औषधि वा अरू के–कति केमिकल प्रयोग गरिएको छ ? अनुगमन गर्ने निकाय फितलो हुँदा उपभोक्ताहरूले मार खेपिरहनुपरेको छ । 

अहिलेको पुस्तालाई मनपर्ने अर्को खानेकुरा वा खाद्य आइटम भनेको प्याकेज्ड, क्यान्ड वा बोटल्ड खानेकुरा हो । यी खानेकुरामा प्रशस्त क्यालोरी हुन्छ वा खाना चाँडै नबिग्रियोस् भनेर प्रयोग गरिएका केमिकलले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छन् । 

अहिले बढी मात्रामा मासुसँगै यसमा पाइने चिल्लो पदार्थ (ट्राइग्लाइसेराइड र कोलेस्टेरोल) को सेवनले स्वास्थ्य समस्या निम्याउन सक्छ । मासु पौष्टिक एवं स्वास्थ्यवद्र्धक हुँदाहुँदै पनि अतिले खति पुर्‍याउन बेर लाग्दैन । मासुकै कारण उच्च रक्तचाप, कोलस्टेरोल, युरिक एसिड तथा मुटुको समस्या निम्तिन सक्छ । 

सारांशमा हाम्रो पछिल्लो खाने शैलीले शरीरमा चिल्लो थपिने वा मोटोपन हुने जोखिम हुुन्छ ।

 

चिल्लोको असर

त्यसो त कोषको झिल्लीको निर्माण तथा त्यसको भरथेगका लागि आवश्यक कोलेस्टेरोलको अधिकांश मात्रा (८० प्रतिशत) मानव शरीरको कलेजोमा उत्पादन हुन्छ । कोलेस्टेरोलले भिटामिन डी, चिल्लो पचाउने पित्त एवं सेक्स हार्मोनको उत्पादनमा सघाउँछ । 

सय ग्राम अन्य वनस्पति घिउमा ३४ प्रतिशतसम्म संतृप्त बोसो तथा ५० प्रतिशतसम्म ट्रान्स फ्याट हुन्छ भने डाल्डा घिउमा ५० प्रतिशतसम्म संतृप्त बोसो हुन्छ । वनस्पति घिउलाई लामो समय टिकाई राख्न गरिने हाइड्रोजिनेसनका कारण ट्रान्स फ्याट बन्छ । यही ट्रान्स फ्याटका कारण वनस्पति घिउमा शरीरका लागि हानिकारक संतृप्त (नराम्रो) बोसोको मात्रा बढी हुन्छ र खानाबाट पनि प्राप्त गर्न सकिने कोलेस्टेरोल खासमा बोसोजस्तै हो । रगतमा कोलेस्टेरोलको मात्रा बढ्यो भने रक्तनलीको भित्तामा जमी रक्तनली साँघुरिएर उच्च रक्तचाप, मस्तिष्काघात, हृदयाघातको सम्भावना वृद्धि हुन्छ । 

सहरी क्षेत्रमा निकै प्रचलित फास्ट फुड, प्याकेज्ड फुड, फ्रोजन फुड तथा प्रशोधित खानेकुरामा ट्रान्स फ्याटको मात्रा बढी हुन्छ । ट्रान्स फ्याटी एसिड निकै हानिकारक बोसो हो । यसले राम्रो खालको बोसोको मात्रा घटाउने भएकाले शरीरका विभिन्न अंगमा नकारात्मक असर पार्छ । अहिले बजारमा पाइने अधिकांश जंकफुडमा बढी मात्रामा यस्तो हानिकारक पदार्थ हुन्छ । लामो समयसम्म ट्रान्स फ्याटयुक्त खानेकुराको अधिक सेवनले प्रनजन् क्षमतामा कमी आउनुका साथै मधुमेह तथा क्यान्सरको जोखिम हुन्छ । 

हृदय रोगबाट मृत्यु हुनुको मुख्य कारण शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु हो भने रगतमा कोलेस्टेरोल बढ्नुको कारण असंतृप्त भन्दा पनि संतृप्त खालको बोसोको वृद्धिले हो । मुटुका लागि हानिकारक मानिने संतृप्त खालको बोसो–मासुलगायतका पशुजन्य खानेकुरा, दुग्ध पदार्थ, चिप्स तथा प्रशोधित खानेकुराबाट उपलब्ध हुन्छ । यी खाद्यपदार्थले रगतमा कम घनत्व हुने खालको नराम्रो प्रकारको कोलेस्टेरोल बढाउँछन् ।

मोटोपन

रिमोट कन्ट्रोल समाई टेलिभिजन सेटअगाडि थ्याच्च बसेर खाना खाने बानीका साथै दिनभरि भोकै बस्ने अनि बिहान–बेलुका एकैपटक खाने बानी भएका कारण नेपालमा पनि मोटोपनको समस्या देखापर्न थालेको छ । 

खानाको सेवन तथा शरीरमा त्यसको खपतबीच सन्तुलन मिलेन भने मोटोपन देखापर्छ तर मद्यपानसँगै तारेका, भुटेका, बोसोयुक्त तथा जंक एवं फास्टफुड, स्न्याक अथवा एपेटाइजर खाने बानी भएकाहरूमा मद्यपानबाट पनि मोटोपनको समस्या उब्जन्छ ।

मोटोपन भए मधुमेह लाग्नुका साथै सुगर पनि नियन्त्रणमा ल्याउन गाह्रो हुन्छ भने रक्तचापसमेत नियन्त्रणमा आउँदैन । बरू मुटुको रोग तथा पक्षघातको समस्या थपिन सक्छ । कोलेस्टेरोलको मात्रालाई नियन्त्रणमा ल्याउन कठिन हुन्छ । महिलामा पाठेघर, स्तन तथा पुरुषमा प्रोस्टेटलगायतका क्यान्सर लाग्ने जोखिम वृद्धि हुन्छ । समग्रमा अधिक तौलले आयु घट्नुका साथै चाँडै बुढ्यौली पनि देखिन्छ ।

मद्यपान

बियर वा रक्सी सेवन गर्दा शारीरिक सन्तुलन गुम्ने, नजिक वा टाढाको अनुमान लगाउन गाह्रो हुने, कुनै चीज ठम्याउन गाह्रो हुने, हल्का बेहोश हुने तथा अकालमा मृत्यु हुने हुनसक्छ । रक्सी सेवनले राम्रो खालको कोलेस्टेरोल बढाउने र खराब खालको कोलेस्टेरोल घटाउने हुनाले मुटुलाई जोगाउँछ भन्ने गलत धारणा छ । कुरा त्यसो नभई यसले कलेजोलगायत शरीरका अन्य अङ्गमा नकारात्मक असर पुर्‍याउँछ । रक्सी सेवनले शरीरको बाह्य भागको रक्तनली फुलाउने हुनाले सुरुमा ब्लड प्रेसर घट्छ तथा शारीरिक ताप नष्ट हुन्छ । त्यसैले विशेषत: जाडो मौसममा रक्सी सेवन खतरनाक सिद्ध हुनसक्छ । रक्सी वा बियर सेवनका क्रममा मासु एवं चिल्लोयुक्त खाद्यतत्व पनि बढी खाइने भएकाले यो बानी थप हानिकारक छ ।

रक्सी सेवनले मुटुको चाल घटबढ हुन्छ । यसले पाचन नलीको सुजन, ग्यास्ट्राइटिस तथा अल्सर गराउनुका साथै स्तन, खाद्यनली तथा आन्द्राको क्यान्सर गराउन सक्छ । पुरुषहरूमा नपुंसकता ल्याउने, अण्डकोष सुकाउने एवं महिलाहरूमा महिनावारीको गडबडी तथा हड्डी कमजोर हुने हुन्छ । गर्भवती महिलाले रक्सी सेवन गरे गर्भस्थ शिशुमा पनि नकारात्मक असर पर्छ । निरन्तर रक्सी सेवनले समग्रमा २० वर्ष आयु घटाउँछ ।

यसरी रक्सीका आ–आफ्नै बेफाइदा छन् भने कलेजो, प्यान्क्रियाज ग्रन्थि, मधुमेह, उच्च कोलेस्टेरोल, युरिक एसिड, मिर्गौला, क्यान्सर, अल्सर, मुटु सुन्निने समस्या, रगत पातलो हुने औषधि सेवन गरिरहेका व्यक्तिले थोरै भए पनि रक्सी सेवन गर्नु हुँदैन ।

 

 Image