Successfully Copied

नेपालमै घुमफिर

नेपालका हिमाली भेग तथा नदीको किनारमा बेग्लै रमाइलो हुन्छ । अहिले धेरैजसो परिवारसहित नगरकोट, सुकुटे बीच, गोरखा बीच, त्रिशूली बढी जान्छन् ।

नेपालका हिमाली भेग तथा नदीको किनारमा बेग्लै रमाइलो हुन्छ । अहिले धेरैजसो परिवारसहित नगरकोट, सुकुटे बीच, गोरखा बीच, त्रिशूली बढी जान्छन् ।

अंग्रेजी क्यालेन्डरअनुसार नयाँ वर्षको मेसोमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुरुवात भएको छ । यसअन्तर्गत वर्षभरमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । जीवनभरका लागि रोमाञ्चक अनुभव संगाल्न नेपालको भ्रमण सार्थक हुने भन्दै विदेशी पर्यटक आकर्षित गरिएको छ । त्यसो त हालै फोब्र्सले विश्वमा घुम्नैपर्ने स्थानमा नेपाललाई पनि राखेको छ । जंगल सफारीदेखि साहसिक यात्राका लागि नेपाल उपयुक्त गन्तव्य भएको भन्दै फोब्र्सले नेपाललाई टप १० मा समावेश गरेको थियो । 

नेपालमा हिमालय क्षेत्र, उच्च पहाडी बस्ती घुमेर बेग्लै किसिमको आनन्द लिन सकिन्छ । नेपाल साहसिक पर्यटनको गन्तव्य मानिन्छ । यहाँ र्‍याफ्टिङ, बन्जी जम्प, रक क्लाइम्बिङ, क्यानोइङ आदि खेलहरूको रोमाञ्चक अनुभव लिन सकिन्छ । सौराहमा हात्तीको सवारी र जंगल सफारीको आनन्द लिन सकिन्छ, सिन्धुपाल्चोकमा बन्जी जम्प खेल्न सकिन्छ, पोखरामा स्काई डाइभिङ गर्न सकिन्छ, त्रिशूली–भोटेकोसीमा साहसिक र्‍याफ्टिङ गर्न सकिन्छ । यसैगरी हिमाली क्षेत्रको पदयात्रा, जंगल सफारी, हाइकिङ, क्यानोइङ, अल्ट्रालाइट विमानजस्ता विकल्पले घुमघामको संस्कृतिलाई बढावा दिएका छन् । 

कहाँ घुम्ने ?

स्वदेशभित्रै भ्रमण गर्दा प्राय: एक–दुई दिनको यात्रा गरिन्छ । नेपालका हिमाली भेग तथा नदीको किनारमा बेग्लै रमाइलो हुन्छ । अहिले धेरैजसो परिवारसहित नगरकोट, सुकुटे बीच, गोरखा बीच, त्रिशूली बढी जान्छन् । 

सुकुटे बीच

सिन्धुपाल्चोकको सुकुटे बीच उपत्यकावासीहरूका लागि एकरातको गन्तव्य हुँदै आएको छ । सुकुटे जान १ दिनको औसत २५ सय रुपैंयाँ लाग्छ । टुर प्याकेजअन्तर्गत २५ सय खर्च गरेर गएपछि त्यसमै ब्रेकफास्ट, लन्च, डिनर आदि प्राप्त हुन्छ ।

सुकुटे बीच पुगेपछि र्‍याफ्टिङ गर्न मन लाग्नसक्छ । र्‍याफ्टिङका लागि छुट्टै १ हजार रुपैयाँ  लाग्छ । सुकुटे बीच जान शुक्रबार गाडीमा ५ सय र अरू दिनमा ८ देखि ९ सय रुपैयाँ  लाग्छ । समूहमा जाने हुँदा कम्तीमा १५ जना हुनुपर्छ ।

चित्लाङ

काठमाडौंबाट नजिकको गन्तव्य हो–चित्लाङ जहाँ स्थानीय रहनसहनमा रमाउन सकिन्छ । चित्लाङमा एक रात दुई दिन बस्न सकिन्छ । यसमा क्याम्प फायर, कुलेखानीमा जलयात्रा आदि गर्न सकिन्छ । टुर प्याकेजअन्तर्गत जाने हो भने २८ सय रुपैंयाँ खर्च हुन्छ । 

चितवन

घुमफिरका लागि चितवन उपयुक्त गन्तव्य हो, खासगरी सौराह । यहाँ जंगल सफारीदेखि लिएर टाँगाको यात्रासम्म गर्न सकिन्छ । यहाँ घुम्ने प्रशस्तै ठाउँ छन् । सौराह एउटा खुला चिडियाघर पनि हो । सौराहका लागि टुर प्योकजको व्यवस्था छ । त्यहाँ सामान्य होटलमा रात बिताउन ७ हजार र अलि स्तरीय होटलका लागि ९ हजार रुपंैयाँ लाग्छ । यही खर्चमा थारू गाउँ तथा नेसनल पार्क घुमाइन्छ भने जंगल सफारीका साथ इलिफेन्ट वर्थिङ सेन्टरसमेत घुमाइन्छ । 

पोखरा

पोखरा भनेकै घुम्ने ठाउँ हो जहाँ मन बहलाउने झरनादेखि अनेकौं मनोरम ताल छन् । माछापुच्छ्रेको आँगन हो–पोखरा । यहाँ डेभिड फल्स, गुप्तेश्वर गुफा, गोरखा म्युजियम, विन्ध्यवासिनी मन्दिर आदिको अवलोकन गर्न सकिन्छ । जल विहार पोखराको अर्को आकर्षण हो । पोखरामा टुर प्याकेजअन्तर्गत दुई रात तीन दिन बिताउन ८ हजारदेखि १० हजार रुपैंयाँ खर्च लाग्छ । 

मुक्तिनाथ

धार्मिक पर्यटनका लागि मुक्तिनाथ उपयुक्त गन्तव्य हो । उच्च हिमाली क्षेत्रको जनजीवनसँग साक्षात्कार गर्न पनि मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिनाथको टुर प्याकेजअन्तर्गत बेनी, जोमसोम, मार्सा र पोखरा घुमाइन्छ । यसका लागि कम्तीमा १४ हजार ५ सयदेखि १६ हजार ५ सय रुपैंयाँ खर्च लाग्छ । टुर प्याकेजका लागि कम्तीमा ७ जना हुनुपर्छ । 

रारा

गाढा नीलो पानीले भरिएको रारा तालको मनमोहक दृश्य साँच्चै नै लोभलाग्दो देखिन्छ । मुगु जिल्लामा अवस्थित रारा नेपालको सवैभन्दा ठूलो ताल हो । रारा राष्ट्रिय निकुन्जले घेरिएको रारा ताल पर्यटकीय दृष्टिले नेपालकै महत्वपूर्ण स्थानमा पर्छ । टुर प्याकेजअन्तर्गत ६ रात ७ दिनको १९ हजारदेखि २२ हजार खर्च लाग्छ । टुर प्याकेजका लागि कम्तीमा ८ जना हुनुपर्छ ।

इलाम

पूर्वी पहाडी जिल्ला इलाम चिसो हावापानी र चिया वगानको लागि प्रसिद्ध मानिन्छ । इलाम जाँदा कन्याम र सन्दकपुर छुटाउन नहुने गन्तव्य हुन् । थुम्काथुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले इलामलाई थप सुन्दर बनाएको छ । कन्याम चियाबगान, माइपोखरी, छिन्टापु, टोड्के झरना, सन्दकपुर तथा श्रीअन्तु इलामका पर्यटकीय स्थान हुन् । काठमाडौंबाट १६ घण्टाको बस यात्रा भए पनि काठमाडौ–चन्द्रगढी हवाईयात्राले सुगम बनाएको छ ।

 

 Image