ढिलो विवाहको असर

डा. अचला वैद्य

पुस १५, २०७६

केही समयअघि चाबहिलकी ३४ वर्षीया शैलजाले शल्यक्रियामार्फत सन्तान जन्माइन् । यसैगरी चितवनकी शर्मिलाको पनि ३६ वर्षको उमेरमा शल्यक्रियामार्फत नै सन्तान जन्मिएको थियो । शैलजा र शर्मिलाजस्ता धेरै महिला अहिले करिअरमा केन्द्रित भएका कारण ढिलो विवाह गरी सन्तान पनि ढिलै जन्माउँछन् । 

३० वर्षको उमेरपछि आमा बन्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । उमेर ढल्कदै जाँदा गर्भावस्थामा हुने जटिलता बढ्ने खतरा हुन्छ । यो कुरा सबै महिलाको हकमा भने लागू हुँदैन । यद्यपि ढिलो सन्तान जन्माउँदा केही कुरामा भने ध्यान पुर्‍याउनु जरुरी हुन्छ । 

३५ वर्षपछि गर्भाधान हुन गाह्रो मात्र हुँदैन स्वस्थ अण्ड निस्कने सम्भावना पनि कम हुन्छ । फलस्वरूप ढिलो सन्तान जन्माउन चाहने महिलामा बच्चा बस्न गाह्रो हुने तथा बच्चा बसे पनि गर्भस्थ शिशु अस्वस्थ हुने, अपरिपक्व हुने तथा अन्य समस्या देखा पर्ने हुन सक्छन् । 

यस्ता महिलाले जन्माउने शिशुमा डाउन सिन्ड्रोम देखापर्ने सम्भावना पनि उत्तिकै हुन्छ । यसका साथै पेटमा शिशु हुर्कने सम्भावना कम हुन्छ परिणामस्वरूप अपरिपक्व तथा अस्वस्थ शिशु जन्मन सक्छ । यसैगरी नर्मल डेलिभरी नहुनुका साथै समयअघि नै शिशुको जन्म हुनसक्छ । शिशु गर्भमै तुहिन पनि सक्छ । शिशुमा मधुमेह तथा रक्तचापको समस्या देखा पर्न सक्छ । 

मधुमेहको खतरा 

गर्भाधानका लागि २६ देखि २८ वर्षको उमेरलाई उपयुक्त मानिन्छ । उमेर बढ्दै जाँदा महिलाको शरीरमा आउने परिवर्तनले जटिलता बढाउँछ । ३५ वर्षभन्दा बढी उमेरमा गर्भधारण गर्दा महिलामा मधुमेह तथा उच्च रक्तचापको खतरा वृद्धि हुन सक्छ । यसले गर्दा गर्भस्थ शिशुको मुटुमा असर पार्न सक्छ ।

शिशुमा असर 

ढिलो शिशु जन्माउँदा गर्भस्थ शिशुमा डाउन सिन्ड्रोमको सम्भावना हुन्छ । नेपालमा डाउन सिन्ड्रोमको स्क्रिनिङ गर्ने मापदण्ड बनिसकेको छैन । गर्भावस्थाको १० देखि १२ हप्ताभित्र अल्ट्रासाउन्डबाट डाउन सिन्ड्रोमलगायतका वंशानुगत रोगका बारेमा केही सम्भावित संकेत प्राप्त गर्न सकिन्छ । यसबाट डाउन सिन्ड्रोम छ–छैन भनेर छुट्याउनुभन्दा पनि हुने सम्भावना कम वा बढी छुट्याउन सकिन्छ । यसलाई सफ्ट मार्कर भनिन्छ ।

शल्यक्रियाको आशंका 

ढिलो गर्भवती हुँदा नर्मल डेलिभरीभन्दा पनि शल्यक्रियाको आवश्यकता पर्न सक्छ । महिलाको हड्डी पनि उमेर वृद्धिसँगै कडा भएको हुन्छ । शारीरिक लचकता नहुन सक्छ । त्यसैले शल्यक्रियामार्फत नै शिशु निकाल्नुपर्ने हुन्छ ।

हेरचाहको आवश्यकता 

बढी उमेरमा सन्तान जन्माउँदा अलि बढी ध्यान दिनुपर्छ । चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ । यसका साथै परिवारको सहयोगको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । 

यो पनि 

ढिलो सन्तान जन्माउने सबै महिलामा माथिका समस्या देखिन्छन् भन्ने छैन । महिलाले सन्तान जन्माउनुअघि प्रि–प्रिगनेन्सी स्क्रिनिङ गराउनुपर्छ । गर्भवती हुनुअघि मधुमेह जाँच, थाइराइड, भाइरल इन्फेक्सन जाँच, कम्प्लिट ब्लड पिक्चर हेरेर मात्र सन्तानको योजना बनाउनुपर्छ । यसैगरी गर्भवती भएको ३–४ महिनामा सुगर टेस्ट गराउनुपर्छ । यसलाई ग्लुकोज च्यालेन्ज टेस्ट भनिन्छ । २० हप्ता (५ महिना) मा गर्भवती महिलाको रक्तचाप बढ्ने सम्भावना भएकाले जाँच गराउनुपर्छ । 

सतर्क 

गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना विशेष सावधानी अपनाउनुपर्छ । थकाइ लाग्ने गरी कुनै काम गर्नुहुँदैन । गह्रौं भारी बोक्नुहुँदैन । लामो यात्रा पनि गर्नुहुँदैन । खाल्डाखुल्डी भएको बाटोमा हिँडडुल गर्दा सतर्क हुनुपर्छ भने पौष्टिक आहार समय–समयमा खाइरहनुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×