क्यान्सर रोगीको आहार
रोग लाग्न नदिनका लागि सक्रिय तथा अनुशासित जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

आखिर किन हो, तिमी त्यसै पनि झर्किरहने ? केही भएको छैन, त्यसै सानातिना कुरामा पनि आवेशमा आइरहन्छ्यौ । सबै कुरा पुर्याइदिएकै छु त तिमीलाई, तिमीले पनि आफ्नो नोकरी गरेकै छौ । घरमा कुनै समस्या छैन, केटाकेटीले राम्रै विश्वविद्यालयमा पढेका छन् । आमाबुवा उमेर पुगेका भए पनि समझदार हुनुहुन्छ । तिम्रो यो चिड्चिडाहटले आजकल मलाई दिक्क बनाएको छ ।’ यी मेरा भिनाजुका संवादका केही अंश हुन् । कोरोना कहरले धेरै महिना नभेटेकी दिदीलाई भेट्न पुगेकी मैले यो संवाद सुनेपछि आश्चर्यमा छु । त्यति धेरै मिल्ने दिदी–भिनाजुको सम्बन्धमा किन यस्तो भयो भनेर म चिन्तित भएँ । दिदी रुँदै आफ्नो कोठामा जानुभयो, भिनाजुले दिक्क मान्दै मलाई भन्नुभयो, ‘असीमा सम्झाऊ, तिम्री दिदीलाई.., जाऊ ।’ म दिदीको कोठामा गएँ, दिदीको टाउको मुसारें अनि भनें, ‘दिदी सन्चो छैन र ?’ दिदीले भन्नुभयो, ‘खासै बिरामी पनि होइन तर थाहै पाउँदिन किन एक्कासि तनाव र इरिटेसन महसुस गर्छु । कोही बोलेको पनि मन पर्दैन । त्यत्तिकै असहज महसुस हुन्छ, मलाई कसैले बुझ्ने प्रयास गर्दैन, उल्टै मसँग जवाफ माग्छन् ।’ मलाई दिदीको उमेरको सम्झना भयो । दिदी अहिले ४८ वर्षकी हुनुभयो । पढेको वा सुनेको आधारमा मलाई दिदीको रजोनिवृत्तिको लक्षण देखिएजस्तो लाग्यो । मैले सोधें, ‘दिदी, महिनावारी रोकियो ?’ दिदीले भन्नुभयो, ‘छैन तर समयमा हुँदैन, भयो भने पनि धेरै दिनसम्म रोकिँंदैन । अब धेरै कुरा नगर नानु, आमासँग भेटघाट गर्न नपाएर यस्तो भएजस्तो लाग्छ ।’ दिदीका यी सबै लक्षण रजोनिवृत्तिकै हुन् कि जस्तो मलाई लाग्यो । मैले भिनाजुलाई दिदीको अवस्थाबारे बुझाउने प्रयास गरें, तर पुरूष स्वभावलाई यो बुझ्न सहज देखिनँ । किनकि भिनाजुले आन्तरिक रूपमा दिदीको शारीरिक र भावनात्मक परिवर्तन सजिलै बुझ्न सक्ने अवस्था पनि सायद थिएन । भिनाजु दिदीबाट सधैं उस्तै व्यवहार, शारीरिक सम्बन्ध र ऊर्जा चाहनुहुन्छ । मैले भिनाजुलाई त बुझाउने प्रयास गरें तर सम्झें सबै श्रीमान्ले श्रीमतीलाई बुझ्नुपर्ने वास्तविक समय र उमेर हुँदोरहेछ ।
एउटा रथका दुई पाङ्ग्रा
भनिन्छ–श्रीमान्–श्रीमती एउटा रथका दुई पाङ्ग्रा हुन् । एकको अभावमा जीवनको रथ गुड्नै सक्दैन । जीवनरूपी रथलाई गुडाउन श्रीमान्–श्रीमतीबीच आपसी सहमति, समझदारी एवं सहकार्यको आवश्यकता हुन्छ । परिवार सुखी, खुसी रहन, शान्त एवं सम्पन्न रहन आफन्तजनमा सुमधुर सम्बन्ध र मेलमिलाप कायम राख्न श्रीमान्–श्रीमतीकै सहकार्यको आवश्यकता हुन्छ । त्यसैले धेरै महिलाले भन्नुहुन्छ, ‘मेरो जीवनमा खुसी छ किनभने मलाई मेरा श्रीमान्ले बुझ्नुहुन्छ ।’ श्रीमान्हरूले श्रीमतीको शारीरिक, आर्थिक सामाजिक एवं आध्यात्मिक ज्ञानका साथै स्वास्थ्यलाई पनि ध्यानमा राखेको हुनुपर्छ । प्रत्येक श्रीमान्ले श्रीमतीको मानसिक र मनोवैज्ञानिक भावना बुझ्ने गरेकै हुन्छन् तर, एउटा यस्तो समय पनि आउँछ जब प्रायःजसो श्रीमान्ले श्रीमतीको शारीरिक परिवर्तन र त्यसले पार्ने भावनात्मक दशालाई बुझ्न सकेका हुँदैनन् । त्यो समय हो महिलाको रजोनिवृत्ति । यतिबेला श्रीमान्ले श्रीमतीको शारीरिक स्वास्थ्य र भावनामा आएको असर बुझ्न नसक्दा धेरै महिला दिक्क हुन्छन् ।
शारीरिक परिवर्तन
महिलाको शारीरिक परिवर्तनमध्ये एक महिनावारी भएजस्तै रजोनिवृत्ति पनि शारीरिक हर्मोन परिवर्तनको एउटा समय हो । हर्मोनको मात्रामा आउने परिवर्तनका कारणले महिनावारी सुरू हुन्छ । अधिकांश महिलामा रजोनिवृत्ति सुरू हुनुअघि शारीरिक परिवर्तनका महिनावारीकै लक्षणहरू देखिन थाल्छन् । सामान्यतया ४५ देखि ५५ वर्षमा महिलाहरूको महिनावारी रोकिने क्रम सुरू हुन्छ । त्यतिबेला विनाकारण तनावमा जाने, झर्किने, कसैले बोलेको सुन्न मन नलाग्ने, कसैलाई जवाफ दिन र संवाद गर्न मन नलाग्ने अवस्था आउन सक्छ । यी लक्षणहरूको अवधि र गम्भीरता प्रत्येक महिलामा फरक हुनसक्छ । सामान्यतया लक्षणहरू केही महिनाअघि वा केही वर्षअघि पनि सुरू हुन्छन्, जुन महिनावारी पूरै रोकिनुभन्दा पहिले ‘पेरिमेनोपोज’ भनेर चिनिन्छ । केही समयसम्म यस्ता लक्षण कायमै रहन सक्छन् । औसतमा, प्रायः लक्षणहरू ४ वर्षसम्म रहन्छन् । यो कुनै रोग होइन तर महिनावारी रोकिने अवधिअघि ३–४ वर्षसम्म थोरै–थोरै रूपमा तनाव महसुस हुनु, शरीरमा चिडचिडेपन सुरू हुनु, विनाकारण झर्किनु, शारीरिक सम्पर्क गर्ने इच्छा घट्दै जानु, निıामा गडबड हुनु आदि लक्षण देखिनुलाई श्रीमान् र घरपरिवारले बुझ्न कठिन परिस्थिति हुनसक्छ तर पनि बुझ्ने प्रयास गर्नैपर्छ ।
रजोनिवृत्ति प्राकृतिक प्रक्रिया
महिलाको अन्तिम मासिक चक्रपछि सुरु हुने रजोनिवृत्ति एक प्राकृतिक चरण हो । यसले शरीरको पुनरुत्पादन गर्ने क्षमताको अन्त्यलाई संकेत गर्छ । यस्तो अवस्थामा योनि सुखा हुनुका साथै भावनात्मक परिवर्तनहरू आउन थाल्छन्, जुन औसतमा एकदेखि चार वर्षसम्म रहने गरेको चिकित्सकहरू बताउँछन् । रजोनिवृत्ति महिलाको यौन परिपक्वताको एक हिस्सा हो । रोगको अवस्था होइन । व्यक्तिअनुसार रजोनिवृत्तिका फरक–फरक लक्षणहरू देखापर्न सक्छन् । रजोनिवृत्तिको समयमा महिलामा अनायासै शारीरिक र भावनात्मक परिवर्तन देखिन थाल्छन्, यसलाई नबुझ्ने हो भने घरकै परिवारबाट महिलाहरूमा बढी तनाव उत्पन्न हुने अवस्था रहन्छ । आफ्नी श्रीमतीको उमेर हेरेर यस्ता लक्षण देखिन थालेमा ‘कतै रजोनिवृत्तिको लक्षण त होइन’ भनी बुझ्ने प्रयास गर्नुपर्छ । पुरूषले बुझ्नै नसक्ने गरी महिलामा देखिने लक्षणले विश्वासमा कमी एवं प्रेममा बाधा उत्पन्न हुनसक्छ । त्यसैले श्रीमान्ले यस विषयमा बुझ्ने प्रयास गर्नुपर्छ । ४२ देखि ५५ वर्ष तथा त्यसभन्दा माथिका महिलामा शारीरिक सम्बन्ध राख्ने इच्छा कम हुन्छ । कसैको कुरा सुन्न र सुनाउन मन लाग्दैन । कुनै कुरामा मन स्थिर हुँदैन । कसैलाई दिक्क मात्र लाग्छ त कसैलाई रून मन लाग्छ । टाउको दुख्छ, रातिमा पनि पसिना आउनुका साथै पर्याप्त मात्रामा निद्रा पनि लाग्दैन । शरीर अस्वस्थ हुन्छ, केश झर्दै जान्छन्, पिसाब छिटोछिटो लाग्छ र मानसिक रूपमा त्यत्तिकै बेचैनी महसुस हुन्छ । यस्ता लक्षणहरू देखिनासाथ रजोनिवृत्तिको लक्षण सुरू हुन लागेको कुरा बुझ्नुपर्छ । रजोनिवृत्तिको लक्षण देखिएपछि महिलालाई शान्त एवं खुसी राख्न ध्यान र योगमा प्रेरित गर्ने, बाहिर घुम्न निस्किने, प्रकृतिसँग घुलमिल हुने वातावरण मिलाइदिनुपर्छ । यो अवस्था सधैं नरहने हुँदा केही समयका लागि पारिवारिक सहयोग बढी आवश्यक हुन्छ ।
email: [email protected]