Successfully Copied

अनलाइन सपिङ

डेक्सटप र ल्यापटप कम्प्युटरद्वारा हुने सबै काम मोबाइल फोनबाटै सम्भव छ तर स्मार्टफोनलगायतका हरेक मोबाइल सेट एन्टी भाइरसमुक्त हुँदैनन् ।


डेक्सटप र ल्यापटप कम्प्युटरद्वारा हुने सबै काम मोबाइल फोनबाटै सम्भव छ तर स्मार्टफोनलगायतका हरेक मोबाइल सेट एन्टी भाइरसमुक्त हुँदैनन् ।

अनलाइन खरिदमा अहिले धेरैको पहुँच बढ्दै गएको छ । इन्टरनेटको सहजताले गर्दा व्यस्त मानिसहरू यसतर्फ बढी रुचि राख्न थालेका छन् । बजार गएर समय खर्चिनु नपर्ने मात्र होइन धूलो–धूवाँ, भीडभाड तथा तनावबाट टाढा रहन पनि क्रेताहरू अहिले अनलाइन सपिङमा रुचि देखाउन थालेका छन् ।

अनलाइन खरिदको लत बसेकाहरू बजारबाट टाढै रहन्छन् । खरिदमा सहजता, आफूले खरिद गर्न चाहेको मालसामानसम्बन्धी अग्रिम जानकारी तथा मूल्यलगायत ब्रान्ड र गुणस्तर छनोट गर्न सकिने सुविधाका कारण अहिले अनलाइन सपिङको क्रेज चुलिँदै गएको छ । त्यसमाथि कतिपय अनलाइन सपिङमा फिटिङका साथै सामान मन नपरे फिर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराइएको हुन्छ ।

यो सरल सुविधा प्रयोग गर्दा कहिलेकाहीँ आफू ठगिने, अनावश्यक झन्झट र दु:ख बेहोर्नुपर्ने हुँदा विशेष ध्यान पुर्‍याउनु जरूरी हुन्छ । अनलाइन सपिङ गर्दा के–कस्ता कुरामा सावधानी अपनाउनुपर्छ त ? बिजनेस इन्स्योरेन्स पोर्टलका अनुसार आम खरिददारीको तुलनामा यस्तो बेला थप सावधानी अपनाउँदै आफू बढी सजग हुनुपर्छ । अनलाइन सपिङ व्यक्ति स्वयं उपस्थित नभई भर्चुअल रूपमा गरिने कारोबार भएकाले यस्तो अवस्थामा विशेष सजगता अपनाउनुपरेको हो । 

आफ्नो आँटमा विश्वस्त 
अनलाइन सपिङका बखत तपाईं शारीरिक रूपमा कतै उपस्थित रहनु हुनेछैन तसर्थ तपाईंले आफूमा भएको आँटमाथि नै विश्वास गर्नुपर्ने हुन्छ । जुन पायो उही साइट खोलेर आफ्नो क्रेडिट वा डेबिट कार्डको पिन कोड इन्ट्री गर्ने काम नगर्नुहोस् । भरपर्दो र परिचित अनि विश्वासयोग्य साइट मात्र छनोट गर्नुहोस् ।

सार्वजनिक स्थानका वाइफाइ सकेसम्म कनेक्ट नगर्ने
सार्वजनिक स्थानका वाइफाइ कनेक्सन भरपर्दा र विश्वसनीय हुँदैनन् । धेरै जनाले एकैपटक एउटै ठाउँमा एउटै वाइफाइ कनेक्सन गर्दा आफ्नो नजिकमा आफ्नो व्यक्तिले तपाईंको व्यक्तिगत विवरण ह्याक गरिरहेको हुनसक्छ । कुनै सार्वजनिक रेस्टुराँ, कफी सप, मल वा पार्लरमा बसेर वाइफाइ कनेक्ट गरी अनलाइन सपिङ साइट चहारिरहनुभएको छ भने त्यो निकै हानिकारक हुनसक्छ ।

स्टेटमेन्ट चेक गरिरहने
क्रेडिट वा डेबिड कार्डबाट अनलाइन सपिङ गर्ने बानी छ भने आफ्नो बैंक स्टेटमेन्ट चेक गरिरहनुपर्छ । जसले गर्दा आफूलाई कुन मितिमा कहाँबाट कति र के–कस्ता सामग्री खरिद गरिएको हो थाहा हुन्छ ।

सकेसम्म भर्चुअल क्रेडिट कार्ड नम्बर प्रयोग गर्ने
सम्भव भएसम्म भर्चुअल क्रेडिट कार्ड नम्बर प्रयोग गर्नु उत्तम हुन्छ । जुन बैंकहरूले सहजै प्रदान गर्छन् । आफ्नो वास्तविक कार्ड नम्बरको साटो अनलाइन सपिङका लागि मात्र भनेर बैंक वा वित्तीय संस्थाले प्रदान गर्ने छुट्टै गोप्य पिन कोड नम्बर नै भर्चुअल कार्ड नम्बर हो जुन सुरक्षाको हिसाबले अत्यन्तै उपयोगी छ । 

समय–समयमा पासवर्ड परिवर्तन गर्ने
अनलाइन सपिङमा रुचि भएकाहरूले एउटै पासवर्ड लामो समयसम्म राखिरहनु भनेको जोखिम मोल्नु हो । अनलाइन सपिङ क्रेडिट वा डेबिड कार्डमार्फत गरिने भएकाले यसको पिन कोड अर्थात् पासवर्ड समय–समयमा परिवर्तन गरी सुरक्षित रहनुपर्छ ।

सबै लिंक क्लिक नगर्ने
कतिपयको सामाजिक सञ्जालमा जे लिंक देख्यो क्लिक गरिहाल्ने बानी हुन्छ । आफ्नो आइडीलाई विभिन्न किसिमका ह्याकरले पछ्याइरहेका हुन्छन् । त्यसैले यसो गर्नु आफैमा जोखिममा पर्नु हो । कुनै ह्याकरले पासवर्ड ह्याक गरी आफ्नो कार्डबाट मनग्य सपिङ गरिदियो भने के गर्ने ? तसर्थ बेलैमा सजग हौं । 

मोबाइल डिभाइसमा हुनुहुन्छ भने 
डेक्सटप र ल्यापटप कम्प्युटरद्वारा हुने सबै काम मोबाइल फोनबाटै सम्भव छ तर स्मार्टफोनलगायतका हरेक मोबाइल सेट एन्टी भाइरसमुक्त हुँदैनन् । बेलाबखत कतिपय सेट भाइरसद्वारा प्रभावित हुन्छन् जसका कारण अरूलाई आफ्नो पासवर्ड थाहा हुने, ह्याक गर्न सक्ने र सोही पासवर्डबाट अरूले विभिन्न साइट खोल्न सक्ने सम्भावना हुन्छ । यस्ता मोबाइलमार्फत अनलाइन सपिङ गर्दा विभिन्न फेक साइट एकैपटक खुल्ने, विश्वासका आधारमा आफ्नो पासवर्ड हाल्दा पैसा र समय नष्ट हुने हुँदा यस्ता कुरामा सजग रहनुपर्छ ।

 Image