एक अपराजित धाविका, जसले १३ औँ साग खेल्न पाइनन्

सुजाता मुखिया

पुस १०, २०७६

एक अपराजित धाविका, जसले अधिकांश प्रतियोगिताको नतिजा आफ्नो पक्षमा बनाएकी छिन् । ‘हार्न नजान्ने खेलाडी’ उनले पाएको उपमा हो । तर, उनै खेलाडीले घरेलु मैदानमा भएको महत्वपूर्ण खेलकुद प्रतियोगिता खेल्न पाइनन् । 

उनले खेल्न पाएको भए सायद स्वर्ण पदक पक्का गर्थें । उनको खेल–जीवनको हिसाब किताब गर्ने हो भने यस्तै ठोकुुवा गर्न सकिन्छ । आठौं राष्ट्रिय खेलकुद सुरु हुने बेला कान्छीमाया कोजुका बुवा विते । त्यही कारण उनी प्रतियोगितामा सहभागी हुन पाइनन् । आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेलेमात्र  सागको लागि छनौट हुने भनिएकाले उनका लागि यो मौका पनि गुम्यो । ‘पछि फेरी सागमा छनौटका लागि प्रतियोगिता भएको थियो’ उनले सम्झिइन्, ‘तर, मैले आफुलाई मैदानमा फर्काउन सकिन ।’ बुवा वितेको पीडामा उनले खेल्न सकिनन् । 

‘मैले खेल्न नपाएपनि एथलेटिक्समा नेपालकै सन्तोषी क्षेष्ठले स्वर्ण पदक जितिन्’ उनले सुनाइन्, ‘त्यसले मलाई ढुक्क बनायो । उनले इतिहास बनाएकी थिइन् र त्यो सवैले गर्व गर्ने कुरा थियो ।’ सन्तोषीले एथलेटिक्सको १० हजार मिटर दौडमा अरु प्रतिस्पर्धीलाई उछिनेकी थिइन् । 

कान्छीको दौड 

पहिलो पटक दौड प्रतियोगितामा भाग लिँदा उनी जम्माजम्मी १३ बर्षकी थिइन् । खेल जीवनको यो लामो दौडमा उनले १९ वटा त अन्तराष्ट्रिय प्रतियोगिता खेलेकी छिन्, ४ पटक एशियन गेम र २ पटक साग गेम खेलिसकेकी छिन् । सन् २००४ मा उनले एथेन्स ओलम्पिकमा समेत भाग लिएकी थिइन् । ‘हरेक खेलाडीको सपना हो ओलम्पिक’ कान्छीमाया भन्छिन्, ‘आफु जन्मिएको देशको झन्डा ओडेर ओलम्पिकसम्म पुग्दा गर्व महसुष हुँदोरहेछ ।’

२०५३ सालमा जिल्लास्तरिय प्रतियोगिताबाट उनी क्षेत्रिय प्रतियोगिताका लागि छनौट भइन् । त्यही बर्ष चन्द्रगढीमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा तेस्रो स्थान हासिल गरिन् । २०५४ सालमा एशियन क्रस कन्ट्रीमा सहभागी हुँदै उनले अन्तराष्ट्रिय मैदान प्रवेश गरिन् । २०५५ सालमा नेपालगञ्जमा भएको राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हासिल गर्दै उनको खेल जीवनले स्वर्णिम ढोको खोलेको थियो । 

कान्छीको किर्तिमान

चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा कान्छीले पाँच हजार मिटरमा स्वर्ण पदक जितिन । त्यसपछिको दुई वटा संस्करणमा उनी सहभागी भइनन् । पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पदक जितिन् । उक्त खेलकुदमा ५ र १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । श्रीलंकामा भएको १० औं सागको १० किलोमिटर दौडमा उनले दोस्रो स्थान हासिल गरिन् । 

सन् २००६ मा जर्मनीको बर्लिनमा भएको म्याराथनमा नेपालकी निर्मला भारतीले बनाएको कीर्तिमान भंग गरिन् । त्यसबेला कान्छीमायाले २० सकेन्ड अगाडि अर्थात १ घण्टा १८ मिनेट २८ सेकेन्डमा पुरा गरेकी थिइन् । कान्तिपुर हाफ म्याराथनको उपाधि जितेको एक हप्तामै कोजुले पिंकाथन म्याराथनमा एघार वर्षपछि रेकर्ड राष्ट्रिय कीर्तिमान भंग गरिन्, जबकी यो प्रतियोगिताका लागि उनले निकै छोटो समयमा तयारी गरेकी थिइन् । ‘त्यसबेला हतारमा तयारी गरिएको थियो, त्यसैले अघिल्लो रेकर्ड मात्र सुधार्ने लक्ष्य राखेकी थिएँ’ कान्छीमाया भन्छिन्, ‘तर, त्यो प्रतियोगितामा मैले नयाँ किर्तिमान बनाएँ ।’

१३ औं संस्करणको काठमाडौं म्यारथनमा कान्छीले ह्याट्रीक गरिन् । त्यसैगरी २०७३ सालमा सम्पन्न हाफ म्यारथनमा पनि उनले पाँच वटा उपाधी आफ्नो पक्षमा पारेकी थिइन् । काठमाडौं म्यारथनमा कान्छीले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । उनले पिंकाथन हाफ म्याराथनमा पनि १ घण्टा १८ मिनेट २५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । धनगढी, नेपालगन्ज, भारतको दार्जिलिङ र कान्तिपुर हाफ म्याराथनको उपाधिसमेत जितेकी थिइन् । 

दार्जिलिङमा भएको पुलिस हाफ म्यारथनको उपाधि जितेर आएपछि कान्छी घाइते भएकी थिइन् । उनलाई चिकित्सकले आराम गर्न सुझाएका थिए । तर, कान्छीको मन मानेन । सधै झै कान्तिपुर हाफ म्यारथनमा सहभागी भइन् र जित हासिल गरिन् । यो उनको लगातार चौथो जित थियो । यस क्रममा कान्छीले पाँच वटा राष्ट्रिय किर्तिमान बनाइन् ।

२३ बर्षको दौड जीवन 

कान्छी सानैदेखि रौसे स्वभावकी थिइन् । नाच्न, गाउन भनेपछि हुरुक्कै हुने । चुलबुले र चकचके । केटीहरु भन्दा पनि केटाहरुसँग खेल खेल्ने । 

उनको जन्म २०३८ सालमा भयो, भक्तपुरको व्यासीमा । नेवार परिवारमा जन्मी, हुर्केकी कान्छीलाई पढाई भन्दा खेलकुद प्यारो लाग्न थाल्यो । यसमा परिवारले कुनै रोकटोक गरेनन् । ‘त्यसबेला त मलाई इनिस्पेक्टर बन्न मन थियो’ कान्छी भन्छिन्, ‘तर खेलकुदमा लागियो ।’ खेलकुदले नै उनलाई सशस्त्र प्रहरी बलमा पुर्‍यायो, खेलाडीको रुपमा । तर, त्यहाँसम्म आइपुग्नका लागि उनले लामो दौड पुरा गर्नुपर्‍यो ।

विद्यालयबाटै कान्छीले दौड सुरु गरिन् । त्यसपछि क्षेत्रिय, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय मैदानसम्म उनको अविछिन्न दौड जारी रह्यो । अहिले फर्केर हेर्दा कान्छी आफै दंग पर्छिन् कि, उनले दौडिएकै २३ बर्ष भएछ । ‘मेरो जीवनको लक्ष्य भनेकै दौड हो’ कान्छीमाया भन्छिन्, ‘सायद कहिल्यै थाक्नेछैन ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>