घरमै हेल्थ क्लब

लक्ष्मी भण्डारी थापा

मंसिर ३०, २०७६

अहिले व्यायामसम्बन्धी विभिन्न उपकरण राखेर घरमै एक्सरसाइज गर्ने प्रचलन वृद्धि हुँदै गएको छ । जिम वा हेल्थ क्लब गैरहनुपर्ने समय तथा त्यहाँ निरन्तर तिरिरहनुपर्ने रकमसमेत बचत हुने, भीडभाडबाट अलग रहेर एकान्तमा एक्सरसाइजमा रमाउन पाइने, जिम वा व्यायाम स्वतन्त्र रूपमा गर्न पाइने तथा आफू अनुकूलको समय उपयोग गर्न पाइने हुनाले पनि घरमै हेल्थ क्लबको कन्सेप्ट मौलाउँदै गएको फिटस्टपकी शास्ता राणा शाह बताउँछिन् । राणा भन्छिन्–अहिले हरेक मानिसले प्राइभेसी खोजिरहेका हुन्छन् । उनीहरू क्लबमै आउँदा पनि सोलो टाइम लिएर आउँछन् । अर्को कुरा एकपटक खरिद गरिसकेपछि लामो समयसम्म त्यही उपकरण टिकिरहने हुनाले पैसा र समय दुवैको बचत हुन्छ । त्यसैले पनि अहिले घरमै एक्सरसाइज गर्नेहरूको संख्या बढिरहेको हो ।’

विशेषत: जाडो महिनामा चिसो र अल्छी दुवै कारणले बाहिर निस्कन कठिन हुन्छ । काठमाडौंको जाडो त्यसमा पनि एक्सरसाइजका लागि बिहानको समय उपयुक्त, उही समयमा लाग्ने मीठो निद्रा... यस्तो स्थितिमा घरमै हेल्थ क्लब हुनेहरूले त्यसको विशेष फाइदा उठाउन सक्छन् । चन्डोलकी देवाश्री पाण्डे दैनिक जिम तथा एक्सरसाइज गर्ने युवती हुन् तर उनी अहिलेसम्म कुनै हेल्थ क्लब गएकी छैनन् । उनको घरमै ट्ेरडमिलदेखि एप मेसिन तथा साउना, ज्याकुजी, स्टिम बाथ सबै उपलब्ध छन् । घरमै एक्सरसाइज गर्नुका फाइदाका सम्बन्धमा पाण्डे भन्छिन्–‘मलाई शान्ति चाहिन्छ । एकान्तप्रिय स्वभावका कारण म जे कुरामा पनि एक्लै रमाउँछु । अर्को कुरा जिमको भीडभाडमा मलाई एक्सरसाइज गर्न अप्ठ्यारो लाग्छ । घरमै हेल्थ क्लब हुँदा मलाई यी कुरामा सहज छँदैछ । त्यसका अतिरिक्त दैनिक वा मासिक रूपमा जिममा तिर्नुपर्ने पैसा तथा 

समय दुवैको बचत भएको छ । घरमा म जसरी खुलेर एक्सरसाइज गर्छु बाहिरको हेल्थ क्लबमा गर्न सक्दिन ।’ पाण्डेले सुरुवाती दिनमा घरमै इन्स्ट्रक्टर राखेकी थिइन् । अहिले हरेक स्टेप्सको ज्ञान आफैंलाई भएको उनी बताउँछिन् । यसले उनलाई जिम तथा व्यायामसम्बन्धी ज्ञानसमेत दिएको छ । अहिले व्यायामका सम्पूर्ण सामग्री खरिद गरेर घरमै हेल्थ क्लब सेटअप गरी इस्ट्रक्टर राखेर व्यायाम गर्नेहरू बढ्दै गएका छन् । यसको कारण भनेको मानिसहरूसँग समय कम हुनु तथा आर्थिक सबलीकरण हो । लक्जरियस लाइफ बिताउनेहरू यस्ता कुरामा बढी सचेत हुन्छन् । पेप्सिकोलाकी न्युट्रिसियनिस्ट सुनयना डिओजू भन्छिन्–‘म दैनिक घरमै व्यायाम गर्छु । व्यस्त भएकीले मसँग समय कम छ । भनेको बेला जिम जाने समय हुँदैन । तसर्थ मैले घरमै पुसअप, सेटअप तथा मसल्स रिफर्म मेसिनहरू जडान गरेकी छु । जसले मलाई जिमको सुविधा घरमै उपलब्ध गराएका छन् ।’ डिओजूका अनुसार मुख्यत: जाडोमा मर्निङ वाकलगायतका अन्य आउटडोर एक्सरसाइज गर्दा हाम्रो मुटु, छाला तथा ब्लड सर्कुलेसनमा समस्या सिर्जना हुनसक्ने सम्भावना भएकाले यसरी घरमै इन्डोर एक्सरसाइज गर्नु सुरक्षित हुन्छ । 

पुरानो बानेश्वरस्थित अशोक फिटनेस इक्विपमेन्टका सञ्चालक अशोक शाही भन्छन्–जिम गर्ने भन्नेबित्तिकै ट्ेरडमिल मात्र बुझिन्छ । ट्ेरडमिल अलि महँगो भएका कारण त्यसको साटो अहिले क्रस ट्रेनरको माग बढेको छ । जेनरल फिटनेसभन्दा माथि जानेहरू यी दुई मेसिनबाहेक डमबेल सेट, बारबेल सेट, सिक्सप्याक केयर आदि बढी रुचाउँछन् ।’ अशोकको अनुभवमा जिम जान नभ्याउने, बढी व्यस्त, जिम गैरहेकाहरू नै पनि घरको शोभा बढ्ने, परिवारका सदस्यहरूसँग एक्सरसाइज गर्न पाइने भएकाले पनि घरमै हेल्थ क्लब सेटअप गर्न लालायित हुन्छन् । जेनरल फिटनेस, स्ट्रेन्थ ट्रेनिङ  तथा कार्डियो ट्रेनिङ  यी तीन वटाले कस्तो होम क्लब बनाउने भन्ने मूल्य निर्धारण गर्छन् । ट्ेरडमिलको ४५ हजारभन्दा माथि नै पर्छ भने अन्य सामग्रीको बाँकी रकम जोडेर करिब १ लाखमा घरमै ठिक्कको हेल्थ क्लब स्थापना गर्न सकिन्छ–अशोकले बताए । 

ज्यास्मिन हेल्थ क्लबका संचालक नीरज लामाका अनुसार घरमै जिम भएका मानिसहरूका लागि समय व्यवस्थापन र समयको बचत प्रमुख फाइदा हो । अहिले ठूला व्यापारीहरू घरमै जिम सेटअप गर्छन् । त्यसपछि केही समय यससम्बन्धी तालिम लिनुपर्छ । काठमाडौं, पोखरा, बुटवल, धरान, नारायणगढ, विराटनगरजस्ता प्रमुख सहरहरूमा घरमै हेल्थ क्लब सेटअप गर्नेहरू निकै बढेको लामा बताउँछन् । लामा भन्छन्–‘अहिले व्यावसायिक मानिसहरू बाहिरको हेल्थ क्लब त्यति प्रयोग गर्दैनन् । अहिले बाहिर पढेर आएका फिटनेस इन्स्ट्रक्टरहरू प्रशस्त पाइन्छन् जसले होम सर्भिसस्वरूप घरमै आएर इन्स्ट्रक्ट गर्ने मात्र नभई तालिमसमेत प्रदान गर्छन् जुन सधैका लागि उपयोगी हुन्छ ।’ कुटनीतिक क्षेत्रमा कार्यरत अर्बिता भन्छिन्–‘बाहिरको हेल्थ क्लबमा हरेक किसिमका मानिस एउटै प्लेटफर्ममा एक्सरसाइज गरिरहेका हुन्छन् । भीडभाडमा पालो कुरिरहनुपर्ने, विभिन्न किसिमका रोग सर्नेसम्मका सम्भावना हुने हुँदा मेरो घरकै हेल्थ क्लब बढी सुरक्षित अनि शान्त छ ।’ अर्बिताले घरमै व्यायाम सामग्री राखेर एक्सरसाइज गर्न थालेको एक दशक नाघिसकेको छ । त्यतिबेला उनले डम्बेल तथा ट्ेरडमिल भारतबाट झिकाएकी थिइन् । उनले उतिबेला उक्त सामग्रीका लागि जति खर्च गरिन् त्यसमा उनलाई कुनै गुनासो छैन किनभने त्यसले उनलाई सदाबहार सुन्दर मात्र बनाएको छैन स्वस्थ रहनसमेत सहयोग पुर्‍याएको छ । 

टेकुस्थित फिटेक्स द फिटनेस शोरुमका सुनील शर्माका अनुसार प्रौढहरूले ट्ेरडमिल तथा युवाहरूले क्रस ट्ेरनर (इलिप्टिकल) को माग बढी गर्छन् । महिलाले बढी प्रयोग गर्ने पनि क्रस ट्ेरनर नै हो । यो होल बडीको कार्डियो मेसिन हो । शर्मा भन्छन्–‘स्पा, क्लबमा एकपटक जाने हो त्यसमा पनि यस्ता स्थानमा पठाइने सामान फरक हुन्छन् । एक्सरसाइज मेसिनहरू अहिले घरेलु प्रयोजनकै लागि बढी बिक्री भैरहेका छन् र यस्ता सामग्रीमा पैसा हाल्नेहरू बढिरहेका छन् । एक लाख रुपैंयाँ खर्च गर्‍यो भने मिडिल रेन्जको करिब–करिब पूर्ण कार्डियो सामग्री खरिद गर्न सकिन्छ । जिम, स्पा वा क्लब जाँदा कसैलाई रुघाखोकी लागेको छ वा अन्य कुनै सरुवा रोग लागेको छ भने सर्ने प्रबल सम्भावना हुन्छ, मुख्य कुरा बढी समय खर्चिनुपर्छ तसर्थ पनि हिजोआज घरमै व्यायाम गर्नेहरूको संख्या बढ्दो छ ।’ 

खाली पेटमा एक्सरसाइज नगर्ने

शरीरलाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्नतिर लाग्ने धेरैको बानी हुन्छ । यसै पनि बिहानै केही खान मन नलाग्ने भएकाले एक्सरसाइज गरेर मात्र खाने काम गरिन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×