प्रदर्शन होईन मानवता प्रकट गरौं

कविता शर्मा

मंसिर १८, २०७६

पुस महिनाको शीतलहरले कठ्यांग्रिएर बर्दियामा १३ दिनकी सुत्केरीको बच्चासहित मृत्यु भयो । अझै पनि न्यानो कपडाको कमीले कतिपय वृद्धवृद्धा र बच्चा बिरामी परेका छन् । यस्ता मौसमअनुसारका दु:खद् समाचार सामाजिक सञ्जाल, पत्रपत्रिका,  रेडियो एवं टेलिभिजनमार्फत आइरहेका हुन्छ्रन् । दुु:खद् समाचारले सबैको मन भक्कानिन्छ । साथै मनमा सहानुभूति पैदा हुन्छ  । त्यसका साथमा सहयोगको भावना पनि उजाग्रित भएर आउँछ । कोही कसैका सहयोगी हातहरू तुरुन्त सहयोगका लागि पुग्छन् त  कसैले सहयोग गर्ने भावना भएर पनि सहयोग गर्ने माध्यम पाइरहेका हुँदैनन् भने कसैले यो काम सरकारको हो भनेर कानमा तेल हालेर पनि बस्छन् । 

एकै देशका नागरिक हामी सबै एकै स्तरका छैनौ आर्थिक रूपले कोही धेरै सम्पन्न छौं त कोही मध्यम वर्गीय छौं त कोही पुस–माघ महिनाको जाडो छल्न भनेजति लुगा नहुने अवस्थाका पनि छौं ।

 हामीमा जबसम्म आर्थिक रूपमा समानता हुँदैन तबसम्म एकले अर्कालाई सहयोग गर्नु हाम्रो मानवता हो । हामीमा सेवाको भावना भए पनि सबै आर्थिक रूपले सम्पन्न त छैनौं जो हरेक ठाउँमा पैसाले सहयोग गर्ने तर कतिपय यस्ता ठाउँ छन् जहाँ हामीले पैसाले मात्र होइन पवित्र भावनाले सहयोग गर्न सक्छौं ।                        

जो मध्यम वर्गीय छौं हामीसँग बढ्दो छोराछोरीका केही दिन लगाउँदै साना भएका लुगा त्यसै दराजमा थन्किएका छन् । अझ धेरै भए ट्यांकरमा थन्क्याएका हुन्छौं हाम्रा लुगा पनि धेरै भएर दराजमा अटाइराखेका हुन्छौं अनि हामी भन्छौं हिँड्ने बेला के लाऊँ–लाऊँ हुन्छ तर राख्ने बेलामा दराजमा ठाउँ हुँदैन । यस्तो भनाइ प्राय: गृहिणीको मुखबाट सुनिरहेका हुन्छौं । अझ उच्च वर्गका छौँ  भने त बढ्दो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्न पनि बढी मात्रामा लुगा खरिद भएका हुन्छन् । एकपटक लगाएको लुगा अर्को पटक प्रयोग हुँदैन ती लुगा यसै  थन्किएर बसेका हुन्छन् ।  तर, सहयोग गर्ने भनेर यसै आफूले प्रयोग गरेका लुगा अरूलाई दिन अप्ठ्यारो पनि लाग्छ त्यसरी पनि लुगा धेरै भएर थपिँदै बढी भएका हुन्छन्  । 

 तर जोसँग जाडो छल्ने कपडा हुँदैन उनका लागि नयाँ होइन न्यानो कपडाको आवश्यकता पर्छ । त्यसैले सकिन्छ भने नयाँ नै दिने तर सकिँदैन भने ती थन्किएर बसेका सफा र सग्ला लुगा दिएर पनि सहयोग गर्न सकिन्छ । मनबाट गरेको सेवामै भगवान् पनि प्रसन्न हुनुहुन्छ चाहे ठूलो होस् वा सानो भगवान् कृष्णलाई सबरीले मीठो बयर मात्र अर्पण गर्छु भनेर सबै बयर चाखेर चढाएकी थिइन् । बयर जूठो थियो तर त्यसभित्रको भगवान्प्रतिको भक्ति, भावना एवं प्रेम चोखो थियो ।  

हामीले सेवाको नाममा चाउचाउ, फ्रुटी बाँडेका तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बिछाउनुभन्दा पुस–माघको जाडोमा न्यानो लुगा लगाउन नपाएर कठ्यांग्रिएका ती शरीरले हाम्रा दराजमा थन्किएर रहेका सफा र सग्ला लुगा लगाउन पाए तिनको आशीर्वाद प्राप्त हुन्थ्यो र हाम्रो आत्मा पनि सन्तोष हुन्थ्यो, समाज भत्कनुअघि नै सोचौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>