Successfully Copied

मौसम मधुमासको

नवदम्पतीहरू विवाहलगत्तै एक–अर्कासँग नितान्त निजी पल साट्न चाहन्छन् । विवाहको धपेडीबाट विश्राम लिने उपयुक्त बाहना पनि हो यो हो भने भोलिका दिनमा कसरी दाम्पत्य जीवनलाई अघि बढाउने भन्ने पूर्वतयारी पनि हो । त्यसैले विवाह लगत्तैको हनिमुन एउटा सुखद् सुरुवात हो । विवाहको थकान मेट्ने अवसर भएकाले हनिमुन

घरजम सुरु गर्नुअघि नव–दम्पती कुनै टाढाको सुन्दर ठाउँमा जान्छन् । यस्तो ठाउँ, जहाँ उनीहरू आफन्त, इष्टमित्र तथा छरछिमेकको आँखाबाट ओझेल हुन्छन् । मानौं, त्यो उनीहरूको आफ्नो संसार हो । कामधन्दा, करियर, नातागोता, ऋण–धन सबै भुलेर त्यहाँ दुवैले उन्मुक्त क्षणहरू बिताउँछन् । यस्तो क्षण, जहाँ दुवैले एक–अर्काको सामीप्य र आलिङ्गनमा मीठा–मीठा कुराकानी गर्न पाउँछन् । अन्तरङ्ग पल साट्न पाउँछन् । नजिकबाट एक–आपसको ढुकढुकी अनुभूति गर्न पाउँछन् । 

यही समयमा उनीहरू एक–अर्काको भावना, चाहना, इच्छा एवं सपना आपसमा बाँड्छन् । नयाँ घरजमको योजना बुन्छन् । कसरी दाम्पत्य जीवन सुखमय बनाउने ? कसरी पारिवारिक सम्बन्ध सुमधुर राख्ने ? कसरी घरलाई सुखी एवं समृद्ध बनाउने ? प्रेमिल क्षणमा उनीहरूले यस्तै खाका पनि कोर्छन् । 

यसै पटक विवाह गर्नुभएको छ र घरजमको सुरसार गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईंहरू ‘मधुमास’ अर्थात् ‘हनिमुन’ को मुडमा हुनुहुन्छ । किनभने तपाईं आफ्नो दाम्पत्य जीवनको सुरुवात एक स्मरणीय क्षणबाट सुरु गर्दै हुनुहुन्छ । यही क्षण कल्पेर तपाईंहरूले भोलिका दिन पारिवारिक जीवनमा आइलाग्ने कतिपय कटुता, मतभेद तथा अप्ठ्याराहरू भुल्नुहुनेछ । हनिमुन हरेक नव–जोडीका लागि एउटा उत्सव हो । दाम्पत्य जीवनलाई नजिकबाट बुझ्ने, अनुभूत गर्ने एवं आपसी सम्बन्धलाई कसिलो बनाउने अवसर हो । 

समाजशास्त्री पुष्प राई भन्छन्–‘एक–अर्कामा अनुबन्धन गर्ने, चिनजान गर्ने, मूल्य–मान्यता बुझाउने, आपसमा भावनात्मक रूपमा नजिकिने भएकाले नयाँ जीवन सुरुवात गर्न लागेका जोडीहरूका लागि हनिमुनले सहजीकरण गर्छ ।’

हनिमुनले पारिवारिक जीवनलाई सहज बनाउन भूमिका खेल्ने भएकाले अहिले नव जोडीलाई घर–परिवारले नै हनिमुनका लागि अनुकूलता मिलाइदिने गरेको छ । कान्तिपुर होलिडेजकी प्रबन्धक समृद्धि मल्ल भन्छिन्–‘अब हनिमुन अनिवार्यजस्तै भैसकेको छ ।’

समाजशास्त्री कैलाशनाथ प्याकुरेलका अनुसार हनिमुन पश्चिमा संस्कृति भए पनि हामीकहाँ सदियौंदेखि यस्तो शैली विद्यमान थियो । दम्पतीले एक–अर्कालाई राम्रोसँग बुझ्ने अवसर भएकाले हनिमुनले घरबार राम्रो बनाउन सघाउ पुर्‍याउने प्याकुरेलको तर्क छ । 

नयाँ दाम्पत्यको सुरुवात

विवाहका बेला अक्सर दुलहा–दुलहीको दैनिकी धपेडीमा बित्छ । विवाहको कुरा छिनोफानो भएपछि नै उनीहरू एक किसिमले बेचैन एवं चञ्चल हुन पुग्छन् । विवाहको तयारी, किनमेल, शृंगार सबै कुराले उनीहरूलाई बेफुर्सदिलो बनाउँछ । 

वैवाहिक समारोहमा दुलहा–दुलहीले अनेकन विधिविधानमा सामेल हुनुपर्छ । विवाहको परम्परा, रीतिरिवाज सम्पन्न गरेपछि उनीहरूको घरजम सुरु हुन्छ । त्यसपछि उनीहरूले घर–व्यवहारमा फस्नुपर्छ भने एक–अर्कासँग बिताउने समय पनि कम हुँदै जान्छ । बालबच्चा भएपछि त दम्पतीले खुलेर एक–अर्कासँग समय विताउने अवसरसमेत पाउँदैनन् । 

त्यसैले नवदम्पतीहरू विवाहलगत्तै एक–अर्कासँग नितान्त निजी पल साट्न चाहन्छन् । विवाहको धपेडीबाट विश्राम लिने उपयुक्त बाहना पनि हो यो हो भने भोलिका दिनमा कसरी दाम्पत्य जीवनलाई अघि बढाउने भन्ने पूर्वतयारी पनि हो । त्यसैले विवाह लगत्तैको हनिमुन एउटा सुखद् सुरुवात हो । 

विवाहको थकान मेट्ने अवसर भएकाले हनिमुन जानु भनेको रिफ्रेस हुनु पनि हो । विवाहपछि दुवै पहिलो पटक सँगै घुम्न निस्किएका हुन्छन् । यो पल अविस्मरणीय बन्न सक्छ, जुन जीवनभर सम्हालेर राख्न सकिन्छ ।

आवश्यकता कि रहर ? 

हनिमुन वैवाहिक बन्धनमा बाँधिएका जोडीहरूका लागि महत्वपूर्ण पल हो । कामकाजी दम्पतीका लागि हनिमुन एउटा राम्रो अवसर हो । उनीहरूको दैनिक जीवन व्यस्त भएकाले एक–अर्कालाई समय दिन पाउँदैनन् । हनिमुन जाँदा थोरै समय भए पनि एक–अर्कालाई साथ दिन एवं बुझ्न पाइन्छ । मागी विवाह गर्नेहरूमा प्राय: एक–अर्काको स्वभाव अलग हुन्छ । एक–अर्काको स्वभाव बुझे भावी जीवन राम्रोसँग बिताउन सकिन्छ । 

सामाजिक रीति–रिवाज, अस्तव्यस्त दिनचर्या तथा विवाहको भीडभाडका कारण नवविवाहित दम्पतीेले थकान महसुस गरिरहेका हुन्छन् । यस्तोमा हनिमुन लामो समयको थकान मेटाएर आराम गर्ने तथा रिफ्रेस हुने अवसर हो । हनिमुन लभ म्यारिज गर्नेहरूलाई भन्दा एरेन्ज म्यारिज गर्नेहरूलाई अझ बढी जरुरी हुन्छ । यतिबेला उनीहरूले एक–अर्काका बारेमा बुझ्नु आवश्यक हुन्छ । हनिमुन नवविवाहित दम्पतीहरूलाई एक–अर्काका बारेमा जान्ने–बुझ्ने अनि एक–अर्कासँग ‘एडजस्ट’ हुने अवसर हो । 

कसरी रोमाञ्चक एवं स्मरणीय बनाउने ? 

हनिमुन भनेको नयाँ दाम्पत्यको सुरुवात हो । हनिमुनलाई जतिसक्दो रोमाञ्चक तथा स्मरणीय बनाउनुपर्छ । भोलिका दिनमा हनिमुनका क्षणहरू सम्झिएर दम्पतीले आनन्दको अनुभूित गर्न सक्छन् । 

हनिमुनलाई स्मरणीय बनाउन दम्पतीले सक्दो प्रयास गर्नुपर्छ । चाहे हनिमुन मनाउने गन्तव्यको छनोटमा होस् वा त्यहाँ बिताउने तौर–तरिकामा, केही नयाँपन हुनुपर्छ । जस्तो कि एकदमै नयाँ ठाउँ, नयाँ परिवेशमा जाने । त्यहाँका अनुभवहरू लिने तथा रैथाने परिकारहरू चाख्ने । घुमफिर गर्ने, मीठोमसिनो खाने, फोटो खिच्ने आदि । 

हनिमुन जानुअघि 

विवाह तय भएपछि नवदम्पतीले हनिमुनका लागि योजना बुन्न थाल्छन् । नेपालमा काठमाडौं, चितवनको सौराह, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङजस्ता गन्तव्य हनिमुनका लागि पनि उपयुक्त मानिन्छन् । केही वर्षअघिसम्म हनिमुन मनाउने जोडी देशभित्र मात्र सीमित थिए भने अहिले देशबाहिर जाने ट्ेरन्डसमेत बढेको छ । 

सही ठाउँ रोज्ने 

हनिमुन मनाउन कहाँ जाने भन्ने कुरा सोचेर मात्र तय गर्नुपर्छ । हनिमुन मनाउन जाने ठाउँको मौसम कस्तो छ ? त्यसको विशेष जानकारी हुनुपर्छ । जुन ठाउँमा जाने हो, त्यो ठाउँको मौसम आरामदायक र रमाइलो होस् । हनिमुनका लागि आनन्द आउने ठाउँ रोज्नुपर्छ, जहाँ निस्फिक्री घुम्न सकियोस् । त्यस्तो ठाउँ रोमान्टिक पनि हुनुपर्छ । एडभेन्चर गर्ने चक्करमा धेरै थकावट हुन्छ । हनिमुनका लागि गन्तव्य छनोट गर्दा सकेसम्म दुवैको सल्लाह–सहमति आवश्यक हुन्छ । 

ठाउँको जानकारी लिने

हनिमुन जान लागेको ठाउँका बारेमा पूरै जानकारी लिने । त्यहाँको मौसम, रहनसहन, खर्च आदि सबै कुराका बारेमा जानकारी भए सोहीअनुसार पूर्वतयारी गर्न सकिन्छ । हनिमुन जानुअघि नै आउने, जाने तथा त्यहाँ बस्ने होटल बुकिङ गराउनुपर्छ । 

योजना बनाउने

हनिमुन कहाँ जाने ? यसलाई कसरी अविस्मरणीय बनाउने ? भन्ने कुरामा आपसमा सल्लाह आवश्यक हुन्छ जसले गर्दा हनिमुनलाई सम्झनलायक बनाउन सकिन्छ । त्यसका लागि हनिमुन जानुपूर्व नै योजना बनाउनुपर्छ । त्यही ठाउँमा पुगेर योजना बनाउँदा समयको बर्बादी मात्र हुँदैन, हतारमा योजना बनाउँदा तनावग्रस्तसमेत भइन्छ ।

बजेट तयार गर्ने 

हनिमुन जानुअघि नै कति खर्च लाग्छ भनेर हिसाब निकाल्नुपर्छ । आफूसँग भएको बजेटअनुरूप योजना बनाउनुपर्छ । बाटोमा पैसा अपुग हुन सक्छ । बजेटअनुसार खर्च गर्दा कुनै समस्या पर्दैन । क्रेडिट कार्डका अतिरिक्त नगदसमेत बोक्नुपर्छ । 

फेन्सी ड्ेरसबाट जोगिने 

विवाहमा नवविवाहित जोडीलाई धेरै कपडा उपहारका रूपमा आएका हुन्छन् । खासगरी युवतीहरूलाई फेन्सी ड्ेरस वा अन्य ड्ेरस पनि टन्नै प्राप्त हुन्छन् । त्यही चक्करमा युवतीहरू अनावश्यक कपडा बोक्छन् । हनिमुनमा फेन्सी ड्ेरस वा अनावश्यक कपडाको मोह त्याग्नुपर्छ । पहिरनको सुन्दरतामा जानुभन्दा आरामदायक पहिरन बोक्नुपर्छ । हनिमुनलाई रोमान्टिक बनाउन पहिरनमा विशेष ध्यान दिनुपर्छ ।

मोबाइलको प्रयोग कम गर्ने 

हनिमुनमा मोबाइल फोनको प्रयोग एकदमै कम गर्नुपर्छ । आवश्यक नहुँदासम्म मोबाइल प्रयोग नगर्नु नै उपयुक्त मानिन्छ । फोनमा लामो कुराकानी गर्नुहुँदैन । 

अन्य जोडीलाई नहेर्ने 

हनिमुनको समयमा वरिपरि अन्य नवविवाहित जोडी पनि घुम्न आएका हुन्छन् । उनीहरूलाई हेर्नुहुँदैन । त्यसबाट वैवाहिक जीवनको सुरुवातमै जीवनसाथीमा नकारात्मक प्रभाव पर्न सक्छ । 

सहज रहनुपर्छ 

राम्रो देखिने चक्करमा धेरै अभिनय गर्नु वा लजाउनु राम्रो हुँदैन । आफ्नो व्यवहार जस्तो छ त्यस्तै रूपमा प्रस्तुत हुनुपर्छ जसले दुवैलाई सहज बनाउँछ ।

परफ्युमको प्रयोग 

हनिमुनको समयमा एक–अर्काप्रतिको आकर्षण बढाउन परफ्युम प्रयोग गर्न सकिन्छ । यद्यपि यसको प्रयोगमा एक–अर्काको रुचिलाई ध्यान दिनुपर्छ । परफ्युमको गन्धले हनिमुन खराब पनि हुनसक्छ ।

घर वा अफिसको तनाव 

घर वा अफिसको तनाव हनिमुनमा पर्न दिनुहँुदैन । तनावका कारण हनिमुनको लाभ उठाउन सकिँदैन । तनाव जति लिए पनि त्यसको हल निकाल्न सकिँदैन तसर्थ हनिमुनको आनन्दमा कमी आउन दिनुहुँदैन । 

औषधि 

हनिमुन जाँदा सिटामोल, एसिलक, आइब्रुफिन, एन्टिएलर्जिक आदि औषधि बोक्नुपर्छ । किनभने यात्रामा निस्कदा यसको आवश्यकता पर्न सक्छ । यात्राका क्रममा बिरामी भए प्राथमिक उपचार गर्न सकिन्छ ।

अनावश्यक प्याकिङ नगर्ने 

चाहिने भन्दा बढी कपडा बोक्नु हुँदैन किनभने सामान भारी भए यात्राको मज्जा लिन पाइँदैन । आवश्यक सामानहरू छुट्छन् कि भनेर ध्यान दिनुपर्छ । हनिमुनका क्रममा गरगहना बोक्नुहुँदैन । महँगा गहना लगाउँदा एकातिर हराउने डर हुन्छ भने अर्कातिर हनिमुनमा रमाउन पनि सकिँदैन ।

हनिमुनका लागि नेपालदेखि युरोपसम्म पुग्छन् 

समृद्धि मल्ल, म्यानेजर कान्तिपुर होलिडेज

विदेशी संस्कृति भए पनि नेपालमा हनिमुन जाने ट्ेरन्ड बढ्दो छ । पहिलेको तुलनामा अहिले हनिमुन जानेहरूको संख्या बढी छ । जोडीहरू नेपालभित्र मात्र नभएर विदेश पनि हनिमुन मनाउन जान थालेका छन् । नेपालमा चितवन, पोखरा, लुम्बिनीका साथै भारतका दार्जीलिङ, सिमला, गोवा आदि ठाउँ धरैको रोजाइमा पर्ने गरेका छन् भने विदेशमा माल्दिभ्स, थाइल्यान्ड, बाली तथा सिंगापुर बढी जान्छन् । पछिल्लो समयमा युरोप जानेहरू पनि बढेका छन् । 

हनिमुन जाने जोडीहरू विवाहअघि नै बुकिङ गर्छन् । पछि गर्दा महँगो हुने भएकाले अगाडि नै बुकिङ गरिन्छ । विवाहअघि नै बुकिङ गर्नेहरूलाई होलिडेज कम्पनीहरूले केही छुटसमेत प्रदान गर्छन् । हनिमुनका लागि नेपालमा १२ हजारदेखि १ लाखसम्म खर्च लाग्छ भने विदेशमा ३० हजारदेखि ३ लाखसम्म खर्च लाग्छ ।

मागी विवाह गरेकाहरूलाई हनिमुन जरुरी 

कैलाशनाथ प्याकुरेल, समाजशास्त्री

सहरी क्षेत्रमा बस्ने प्राय:जसो नवविवाहित जोडी हनिमुनमा निस्कन्छन् । अहिले हनिमुन देशभित्र मात्र नभएर समुद्रपारि पनि मनाउन थालिएको छ । हनिमुन पश्चिमी संस्कृति भए पनि हाम्रो समाजमा पनि पहिले यस्तै चलन थियो । नवविवाहित दम्पतीलाई परिवार, आमाबुवा, दिदीबहिनी मिलेर एउटै कोठामा हप्तादिनसम्म थुनेर राखिन्थ्यो । अहिले यो चलन हराउँदै गए पनि यसलाई हनिमुनकै स्वरूप मान्न सकिन्छ । 

आफैले रोजेर विवाह गरेका जोडीको तुलनामा आमाबुवाले खोजेर विवाह गरिदिएका जोडीलाई बढी हनिमुन जरुरी हुन्छ । एक–अर्कामा पहिलेदेखि चिनाजान भएकाहरूलाई हनिमुन फेसन भएको छ । उनीहरूमा हनिमुन भनेको घुमघाम गर्ने बाहना मात्र हो । हनिमुन एकान्तमा बास खोजेर, एक्लै बसेर, एक–अर्कामा समाहित भएर रमाइलो गर्ने अवसर हो । 

नयाँ जोडीलाई सहजीकरण हुन्छ

पुष्प राई, समाजशास्त्री

हनिमुनले पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ ?

हनिमुन मागी विवाह गर्नेहरूका लागि वा अहिले भन्दा पहिले विवाह गर्ने जोडीहरूका लागि अझ बढी जरुरी हुन्छ । अहिलेको विवाहमा स्वतन्त्रता हुन्छ । एक–अर्कामा अनुबन्धन गर्ने, चिनजान गर्ने, मूल्य–मान्यता बुझाउने, एक–आपसमा भावनात्मक रूपमा नजिकिने भएकाले नयाँ जीवन सुरुवात गर्न लागेका जोडीहरूका लागि हनिमुनले केही सहजीकरण भने पक्कै गर्छ । 

यो संस्कृति कति उपयुक्त छ ?

हनिमुन पश्चिमी संस्कृति हो । यो नेपाली संस्कृतिमा पर्दैन । नयाँपुस्ताले यसको अनुकरण बढी नै गरेको छ । अहिले त यो संस्कारकै रूपमा विकसित भैसकेको छ । पश्चिमी संस्कार भए पनि हनिमुनले नवदम्पतीलाई रिफ्रेस गराउँछ । केही दिनका लागि परिवार, आफन्त, साथीभाइ तथा कामबाट टाढा रहेर घुम्न निस्कदा रिल्याक्स फिल हुन्छ तर यसले हाम्रो पूर्वीय संस्कृतिलाई भने कमजोर बनाउँदै लान्छ ।

 

 Image