अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

कुनै बेला हजुरबा–हजुरआमादेखि नाति–नातिनासम्म एउटै घरमा बस्थे । बालबालिकाहरू हजुरबा–हजुरआमाको परिपक्व एवं मायालु अभिभावकत्वमा हुर्कन्थे । हजुरबाको छातीमा टाँसिएर ‘एकादेशको कथा’ सुन्न पाउँदा बालबालिका दंग पर्थे । कतिपय सानातिना रोगमा हजुरआमाले घरेलु औषधि ख्वाउँथे । हजुरबा–हजुरआमा पनि नाति–नातिनासँग झुम्मिन पाउँदा आफ्नो रोग–व्यथा भुल्थे । उनीहरू घुलमिल भएर परिवारको माहौल नै रमाइलो बनाइदिन्थे ।
अहिलेका बालबालिका भने हजुरबा–हजुरआमाबाट विमुख छन् । हजुरबा–हजुरआमाले पनि आफ्ना नाति–नातिना खेलाउन पाइरहेका छैनन् । यसको मुख्य कारण संयुक्त परिवार टुक्रिनु नै हो । धेरै दम्पतीले एकल परिवारमा आफ्ना सन्तान हुर्काइरहेका छन् । मूल घर वा ठूलो परिवारबाट अलग भएर सानो एवं छरितो घरबार बसाउने प्रवृत्तिका कारण हजुरबा–हजुरआमा तथा नाति–नातिनाहरूलाई अलग गराएको छ ।
काम, पेसा, व्यवसायको सिलसिलामा वा सुख–सुविधाको खोजीमा धेरै दम्पती सहर पसेका छन् । यसले पनि हजुरबा–हजुरआमाहरूबाट नाति–नातिनाहरू टाढिएका छन् । वैदेशिक रोजगारीले समेत अहिले संयुक्त परिवारलाई टुक्राइदिएको छ । छोराहरू पैसा कमाउन विदेश जान बाध्य भएका छन् । बुहारीहरू छोराछोरीको भविष्य खोज्दै सहर पसेका छन् । श्रीमान्ले विदेशबाट पठाएको पैसाले छोराछोरीलाई सहरमा राखेर बोर्डिङ स्कुल पढाउने प्रवृत्तिले पनि नाति–नातिनाले हजुरबा–हजुरआमाको सामीप्य गुमाएका छन् ।
‘हजुरबा–हजुरआमा एक्लै बस्दा दिक्कदारीपनले सताउने र नाति–नातिनामा असल मातृत्वको अभाव हुने’ मनोविश्लेषक वासु आचार्य बताउँछन् । ‘हजुरबा–हजुरआमालाई आफ्ना नातिनातिनासँग खेल्न–बस्न नपाउँदा दिक्क लाग्छ भने छोराछोरीसँग पनि वितृष्णा जाग्न थाल्छ ।
पट्यारलाग्दा दिन गुजार्दै हजुरबा–हजुरआमा
भनिन्छ–साउँको भन्दा ब्याजको माया । हजुरबा–हजुरआमा आफ्ना नाति–नातिना भनेपछि हुरुक्कै हुन्छन् । नाति–नातिनासँग खेल्न एवं रमाउन चाहन्छन् । बालबालिकाहरूसँग घुलमिल हुँदा उनीहरूले आफैलाई भुल्छन्, आफ्नो दु:ख भुल्छन् ।
नाति–नातिना अलग भएपछि भने उनीहरू पट्यारलाग्दा दिन बिताउन बाध्य हुन्छन् । न उनीहरूसँग मनको बह पोख्ने आफन्त छन्, न मन बहलाउने नाति–नातिनाहरू ।
कतिपय हजुरबा–हजुरआमा त वृद्धाश्रम पुर्याइएका छन् । बूढाबूढी भएपछि आफ्ना आमाबुवाको स्याहार–सुसार गर्न नभ्याउने वा नचाहनेहरूले आमाबुवालाई वृद्धाश्रममा राखिदिएका छन् । बुवा–आमालाई वृद्धाश्रममा राख्ने प्रवृत्ति बढेसँगै काठमाडौंजस्ता सहरी क्षेत्रमा सुविधायुक्त वृद्धाश्रम सञ्चालन गर्ने लहर नै चलेको छ । हुन त यसले बुढेसकालमा सुरक्षित आश्रय पनि प्रदान गरेको छ, तर परिवारबाट विमुख भएर बस्दा कतिपय बूढाबूढी चैनले निदाउन सक्दैनन् ।
अहिले पारिवारिक संरचना बदलिएसँगै हजुरबा–हजुरआमा तथा नाति–नातिनाबीचको निकटता पनि टुटेको छ । उनीहरू एउटै थलोमा रमाउन–खेल्न पाइरहेका छैनन् । एक–अर्काको स्पर्श र आत्मीयता गुमाइरहेका छन् ।
एक्लिँदै बालबालिका
‘थोरै भए सानो परिवार, सुखी परिवार’ जस्ता नारासँगै परिवारको आकार खुम्चदै गएको छ । अहिले एउटा दम्पतीको पुगिसरी एउटा परिवार भएको छ । एक दम्पतीले एक मात्र सन्तान हुर्काउने प्रवृत्ति पनि बढेको छ । त्यसैले बालबालिका आफ्नो ठूलो परिवारबाट विमुख भएका छन् ।
त्यति मात्र होइन, आमाबुवा दुवै कामकाजी छन् । अहिले परिवारको व्ययभार बढेकाले पनि काम, पेसा एवं व्यवसाय गर्नुपर्ने बाध्यता छ । आमाबुवा कामकाजी भएकाले छोराछोरी हुर्काउने वा स्याहार्ने फुर्सद छैन । अहिलेका बालबालिकाले सही किसिमको अभिभावकत्व गुमाइरहेका छन् ।
हजुरबा–हजुरआमासँगै हुर्कने बालबालिकाले धेरै कुरा पाउँछन् । उनीहरूले परिवारको स्नेह तथा स्पर्श प्राप्त गर्छन् । उनीहरूले संस्कार पनि सिक्छन् । हजुरबा–हजुरआमाको परिपक्व र अनुभवी अभिभावकत्वमा बालबालिकाहरू राम्रोसँग हुर्कन पाउँछन् । हजुरबा–हजुरआमा तथा नाति–नातिना एक–अर्काका सबैभन्दा घनिष्ठ मित्र पनि हुन् ।
जब घरमा हजुरबा–हजुरआमा हुन्छन्
हजुरबा–हजुरआमा भनेका घरका गहना हुन् । उनीहरूले नै परिवारलाई सही मार्गदर्शन गर्छन् । परिवारको परम्परा, संस्कारमा नयाँपुस्तालाई अभ्यस्त गराउँछन् । उनीहरूले आफूसँग भएको सीप, दक्षता, ज्ञान नयाँ पुस्तासँग बाँड्छन् ।
परिवारका सदस्यहरूलाई एकढिक्का बनाएर राख्छन् । त्यसैले पारिवारिक एकताको मियो पनि हुन्, हजुरबा–हजुरआमा । हजुरबा–हजुरआमा हुँदा चाडपर्वमा पनि बेग्लै उल्लास छाउँछ । उनीहरूले परिवारको संस्कार जोगाइरहेका हुन्छन् ।
हजुरबा–हजुरआमा भएको घरमा ठूलालाई श्रद्धा एवं सानालाई माया गर्ने संस्कार हुन्छ । परिवारमा कुनै संकट परे, आर्थिक विचलन आए पनि हजुरबा–हजुरआमाले सही मार्गदर्शन दिएर परिवारको सुख कायम राख्छन् ।