Successfully Copied

यमपञ्चकका  पाँच मान्यता

नेपालमा मात्र यस्तो संस्कार छ जसमा गाई, भाइ, चराचुरुङ्गी, कुकुरलगायत स्वयं आफ्नो समेत पूजा गरिन्छ । पशु अधिकारकर्मी तथा अभियन्ता प्रमदा शाह भन्छिन्–‘यो हाम्रो संस्कारको अत्यन्तै सुन्दर पक्ष हो । यसलाई सकारात्मक सन्देशका साथ विश्वसामु चिनाउन जरुरी छ ।’

नेपालमा मात्र यस्तो संस्कार छ जसमा गाई, भाइ, चराचुरुङ्गी, कुकुरलगायत स्वयं आफ्नो समेत पूजा गरिन्छ । पशु अधिकारकर्मी तथा अभियन्ता प्रमदा शाह भन्छिन्–‘यो हाम्रो संस्कारको अत्यन्तै सुन्दर पक्ष हो । यसलाई सकारात्मक सन्देशका साथ विश्वसामु चिनाउन जरुरी छ ।’ शाहजस्ता अधिकारको क्षेत्रमा लागेका मानिसहरू एकदिन पूजा गर्ने र भोलिपल्टदेखि दुव्र्यवहार गर्ने चलन र व्यवहारबाट भने आफूहरू दिक्क भएको कुरा बताउँछन् ।

एनिमल लभर सिर्जना ठकुरी बाटाघाटामा देखिएका दु:खी, असहाय तथा खान नपाएका जनावरहरूलाई आफ्नो घरमा ल्याउँछिन् । तिनको स्याहार–सुसार एवं औषधोपचार गर्दा उनलाई शान्ति मिल्छ । सिर्जना भन्छिन्–‘ती जीवित आत्मा हुन् । मानिस र तिनमा किन विभेद ? प्राणीप्रतिको कर्तव्य निर्वाह नै मानवको धर्म हो ।’ यता अधिवक्ता शोभा कार्की भने पशुपंक्षीको स्वतन्त्रता हनन हुन नहुने विषय नेपाल अधिराज्यको कानुनमै उल्लेख भएको कुरा बताउँछिन् । कार्कीका अनुसार विशेषत: पंक्षीलाई घरमा थुनेर पाल्नु वैध (कानुन सम्मत) होइन ।

काग तिहार बर्ड लभरको चाड 

कागतिहार यमपञ्चकको पहिलो दिन हो । यो दिन खाना खानुअघि कागलाई मीठो–मसिनो ख्वाएर पूजा गरिन्छ । नेपालमा पशुपंक्षी ऐन २०७४ लागू छ । अधिवक्ता शोभा कार्की भन्छिन्–‘स्वतन्त्र र खुला रूपमा उड्न पाउने पंक्षीलाई कैद गर्नु अवैधानिक हो भन्ने कुरा उक्त ऐनमा उल्लेख छ ।’ 

असीम आचार्य (२७) ले विगत ५ वर्षदेखि वर्ड कलेक्सन गरिरहेका छन् । असीम भन्छन्–‘हरेक मानिसका आ–आफ्नै प्रिय पशु–पंक्षी हुन्छन् । मलाई कुकुरले भन्दा माछा र चराले शीतलता प्रदान गर्छन् । अहिले मसँग ७ प्रकारका ५० भन्दा बढी चरा छन् । यिनीलाई ठूलो खोर चाहिन्छ । सबै चरा एक–अर्कासँग मिल्छन् भन्ने छैन ।’ चराचुरूङ्गीलाई अवैधानिक तरिकाले भारतबाट आयात गरिने असीम बताउँछन् ।

भारतीय व्यापारीहरूले चराचुरूङ्गीहरूलाई अण्डा नपार्ने औषधि ख्वाउँछन् जसले गर्दा उनीहरूको व्यापार सधै यथावत् रहोस् । चरा पाल्नु आफैंमा विवादास्पद कुरा हो, असीमले भने–‘पाप त्यतिबेला लाग्छ जब बाहिर उडिरहेको खुला र स्वतन्त्र चरालाई समातेर खोरमा हालिन्छ तर खोरमै जन्मिएर खोरमै हुर्किएका चरालाई बाहिर छोडियो भने ऊ मर्छ । यस्ता चराको संरक्षण गर्दा पाप लाग्दैन ।’ अहिले उनीसँग बजेरी, जाभा, फिलिङ्स, डायमन्ड ढुकुर, ककटिल, प्लम सिड्स प्यारोट, हरियो सुगा आदिको कलेक्सन छ । चरा पाल्न थालेपछि उनलाई आत्मिक शान्ति प्राप्त हुनुका साथै नियमसंगत ढंगले केन्द्रिकृत अर्थात् स्थिर भएको महसुस भएको छ । असीम चरा मर्‍यो भने संस्कार अनुसार खाल्डो खनेर गाड्छन् र शोक मनाउँछन् । 

 

कुकुर तिहार, जनावरप्रेमी पर्व 

हालका दिनमा संसारभर पशु अधिकारका विषयमा मुद्दा उठ्न थालेको छ । त्यसैको प्रभाव हुनसक्छ संसारका एक तिहाई मानिस भेगन बन्दैछन् । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारलाई नेपालमा अहिले राम्रैसँग सेलिब्रेसन गरिन्छ । कतिपय एनिमल लभरले त कुकुर तिहारलाई लक्ष्मीपूजा वा भाइटीका भन्दा कम रूपमा मनाउँदैनन् । एनिमल नेपालकी अध्यक्ष तथा पशु अधिकारका क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी अभियन्ता प्रमदा शाह भन्छिन्–यो पनि संसारको एउटा दयालु प्राणी हो । 

नेपालमा पनि कुनै पनि जनावरलाई दु:ख–पीडा दिए कारबाही हुन सक्ने कानुन आइसकेको छ ।  बच्चैदेखि जनावरहरूप्रति दयालु स्वभावकी प्रमदाको घरमा थुप्रै जनावर थिए । कुकुर, गाई, गिनिपिग, मुसा, बिरालो, खसी–बाख्रा हुन्थे उनको घरमा । अहिले प्रमदाको घरमा १२ वटा कुकुर तथा गाईको एउटा बाच्छो छ । शाहको फुर्सद उनीहरूसँगै बित्छ । उनी बाँधेर वा थुनेर जनावर पाल्दिनन्, खुल्ला छोडिदिन्छिन् । यसलाई उनी जनावरको प्राकृतिक व्यवहार प्रदर्शन गर्ने अधिकार भित्र राख्छिन् ।

बाँधेर, थुनेर, दु:ख दिएर पाल्नु उनीहरूलाई दु:ख–पीडा दिनु हो, अरु देशमा भएको भए कानुन लाग्थ्यो भन्ने शाह भन्छिन्–‘पछिल्लो समयमा पशु अधिकारको आवाज चर्किरहेको छ । अहिले पशु अधिकारको अभियान बलियो हुँदै गएको छ ।  हामीले ३ सय ६५ दिन नै उनीहरूप्रति माया एवं करुणा दर्शाउनुपर्‍यो ।’ बाँधेर राखेको कुकुरको चित्कार र खुला राखिएको कुकुरको भुकाइ फरक हुने प्रमदा बताउँछिन् । कुकुर पाल्नु महँगो काम हो । उनीहरूको आफ्नै डायट चार्ट हुन्छ, त्यसलाई औषधोउपचारका साथै अन्य एक्सेसरिज पनि चाहिन्छ । कुकुर पाल्नेहरूले रिसर्चपछि मात्र बुझेर पाल्नुपर्ने सुझाव दिँदै उनले भनिन्–‘आजकल त इन्टरनेटमा मनग्य सूचना हुन्छ । सन् २०१० तिर एनिमल नेपालले गरेको सर्वेक्षणअनुसार नेपालमा ९० प्रतिशत मानिसले आफ्नो कुकुरलाई बाँधेर वा थुनेर राख्छन् ।

हामी अहिले पशु अधिकारसम्बन्धी कानुन बनाउने कुराको वकालत गर्दैछौं, सम्भवत: यो छिट्टै बन्छ ।’ सिर्जना ठकुरी बाटाघाटामा देखिने असहाय, बिरामी तथा दु:खी जनावरको उद्धार गर्छिन् । उनले कुनै संघसंस्था वा समूहमा आबद्ध भएर यो काम गरेकी होइनन् । आफूभित्रको मानवता, स्वविवेक तथा करुणाका कारण यो काम गर्न प्रेरित भएको उनको भनाइ छ । ठकुरी भन्छिन्–हरेकको आत्मामा ईश्वरको बास हुन्छ । यो पृथ्वीका हरेक जिउँदा प्राणी ईश्वर हुन् तसर्थ हामी हरेकले हरेकप्रति समान व्यवहार गर्नुपर्छ र समान अधिकारको भागिदार हामी सबै हौं ।’ श्रद्धा र सम्मान समानान्तर हुनुपर्छ भन्नेमा विश्वास राख्ने ठकुरी वर्षका ३ सय ६५ दिन नै कुकुरलगायतका जनावरको सेवा गरेर पर्व मनाइरहेकी हुन्छिन् ।

 

गाई तिहार, लक्ष्मीपूजा

लक्ष्मीपूजालाई विशेष पर्वका रूपमा मनाउने रञ्जना प्रधान तिहारको यो दिनको विशेषता नै छुट्टै भएको बताउँछिन् । यो दिन घर, समुदाय तथा समग्र देश नै बत्ती र रंगको उज्यालोले रंगिएको हुन्छ । उनको शब्दमा रमाइलो भनेकै यही हो । जहाँ सफा, सुग्घर र स्निग्ध वातावरण हुन्छ त्यहाँ लक्ष्मी प्रसन्न भएर बास गर्ने प्रधानको विश्वास छ । नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल प्रधान यो दिन आफ्नो घर मात्र नभई स्कुल, कलेज र वरिपरिको वातावरणलाई नै फरक र उल्लासमय बनाउन अघिल्लो दिनदेखि नै प्रयास गरिरहेकी हुन्छिन् । 

बैंकर्स निकिता भण्डारीका अनुसार पैसाको महत्व छ र हुनुपर्छ । यसको महत्व थाहा पाउनेले मात्र व्यावहारिक जीवनमा पैसा कमाउन सक्छन् । महिलाका लागि अर्थ भनेको स्वाभिमान हो । आफू आर्थिक रूपमा सशक्त भइयो भने कसैले पनि हेला एवं दुव्र्यवहार गर्न सक्दैनन् । आफू निर्णायक तहमा पुग्न सकिन्छ । त्यसैले जीवनमा लक्ष्मीको ठूलो अर्थ र महत्व छ । पैसा नभए धेरै चीज हँुदैन, कतिपय चीज नहुँदा मृत्युसम्म पुगिन्छ । जीवन चलाउने यो चीजको सम्मान स्वरूप लक्ष्मीपूजा गरिन्छ । तिहारमा उनलाई सबैभन्दा मनपर्ने दिन लक्ष्मीपूजा नै हो । लक्ष्मी नारी हुन् हरेक व्यक्ति यिनका अगाडि नतमस्तक भएर झुक्नु भनेको सानो कुरा होइन । 

गोरु तिहार, देउसी–भैलोको रौनक

तिहारको चौथो दिन हरेकका घर–घरमा देउसी–भैलो गुञ्जन्छ । एक दशकयता देउसी–भैलोको स्वरूपमा परिवर्तन आएको छ । उहिले मुर्चुङ्गा, मादल बजाएर देउसीको भाका हालिन्थ्यो । पाउमा घुङरु लगाएर देउसी गीतमा नाचिन्थ्यो तर अहिले प्राय: ब्यान्ड बजाएर एकत्रित हुने चलन छ । हिजोआज देउसी–भैलोमा आधुनिक वाद्यवादन (गितार, ड्रमसेट, स्पिकरलगायत) को प्रयोग खुबै हुन्छ । एक्टिभ युवा क्लबका दुर्लभ थापा भन्छन्–‘संस्कृति जोगाउने हो तर समयसँगै यो परिमार्जन र परिवर्तन हुँदै जानु पनि आवश्यक हुन्छ ।’ थापा देउसी–भैलो टोलीका संयोजक पनि हुन् ।

उनीहरूको देउसी अत्यन्तै रमाइलो र उल्लासमय हुन्छ । उनीहरू जुन घरमा छिर्छन् त्यो घरका सम्पूर्ण सदस्यलाई नचाउँछन् । लो प्राइस नेपाल चावहिलका अरभिन थापाका अनुसार तिहार आउनु महिना दिनअघि उनको गितार पसलमा भीड लाग्न थाल्छ । थापा भन्छन्–‘यो सिजनमा देउसी–भैलो खेल्नेहरू नै हाम्रा क्रेता हुन् ।’ ५८ वर्षीया दिलु भुसालले गाई तिहार र गोरु तिहारका दिन नछुटाई देउसी–भैलो खेल्दै आएका छन् ।

उनी प्रत्येक घरका एक–एक जना बटुल्दै समूह बनाउँछन् । गितार, ड्रमसेट र अन्य वाद्यवादनबिनै उनीहरूको देउसी घन्किन्छ, सिर्फ भाकामा मात्र । दिलु भन्छन्–‘यो हाम्रो परम्परा यत्तिकै सुन्दर छ यसलाई नक्कली सामग्रीले सिंगारिरहनु पर्दैन । पित्तललाई जति घोटे पनि सुन हुँदैन भनेझैं हाम्रो संस्कृति हीरा हो । यसको छुट्टै महत्व छ ।’ भुसालका अनुसार देउसी–भैलो रमाइलोमा मात्र सीमित नभएर यसले सांस्कृतिक अर्थ बोकेको छ, बली राजाको पालादेखिको इतिहास बोकेको छ । जसको घरमा जति धेरै देउसी–भैलो टोली आउँछन् उक्त घरमा उत्तिकै राम्रो हुने विश्वास छ । अहिलेको देउसी–भैलोको स्वरूपमा केही परिवर्तन आए पनि देउसी गीतको चलन भने यथावत् हुनुपर्ने दुर्लभ बताउँछन् । थापा भन्छन्–यसले निरन्तरता पाउनैपर्छ र पाइरहेको पनि छ ।’

 

 Image