Successfully Copied

चाडपर्वमा घरको सरसफाइ

चाडपर्वमा घर सफा गर्ने, सजाउने, रंगरोगन गरेर चिरिच्याट्ट पार्ने चलन छ । तिहारमा त घर राम्रो वा सफा भएन भने लक्ष्मी भित्रिन्न भन्ने धार्मिक मान्यता नै छ । त्यसैले चाडपर्वमा विशेष समय दिएर घर सफा–सुग्घर गरिन्छ । चाडपर्वमा घरको सौन्दर्यले पनि उल्लास थप्छ । 

चाडपर्वमा घर सफा गर्ने, सजाउने, रंगरोगन गरेर चिरिच्याट्ट पार्ने चलन छ । तिहारमा त घर राम्रो वा सफा भएन भने लक्ष्मी भित्रिन्न भन्ने धार्मिक मान्यता नै छ । त्यसैले चाडपर्वमा विशेष समय दिएर घर सफा–सुग्घर गरिन्छ । चाडपर्वमा घरको सौन्दर्यले पनि उल्लास थप्छ । 

चाडपर्वमा घरको सरसफाइ अनिवार्यजस्तै भैसकेको छ । यद्यपि अहिलेको व्यस्त समयमा मानिसलाई आफ्नो घर सरसफाइ गर्ने, सजाउने फुर्सद छैन । फुर्सद नभएर के भयो त ? इच्छा भए पुग्छ । किनभने यसरी घरको सरसफाइ गर्नेदेखि सजावटको कामसम्म विभिन्न कम्पनीले गरिदिन्छन् ।

यस्ता कम्पनीहरूले चाडपर्वलाई लक्षित गरी प्याकेज नै बनाएर सरसफाइ गर्छन् । त्यसका लागि बुकिङ खुल्ला भैसकेको र केही छुटको व्यवस्था पनि गरिएको एप्पल क्लिनिङका अध्यक्ष ऋषि बस्ताकोटी बताउँछन् ।

यस्ता प्याकेजअन्तर्गतको सरसफाइमा भान्सा कोठा, बाथरुम, झ्याल, ढोका, कार्पेट, वाल, पर्दा, सोफा, मार्बल आदिको सम्पूर्ण काम गरिन्छ । नयाँ–नयाँ प्रविधिबाट सफाइ गरिने भएकाले घर पूर्णरूपमा सफा हुनुका साथै समय पनि बचत हुने बस्ताकोटीको दाबी छ ।

घर सफा गर्ने नयाँ ट्रेन्ड

घर सफाइ गर्ने नयाँ ट्रेन्ड हो, यो । विदेशमा यसरी घर सरसफाइ गर्ने चलन पुरानै भए पनि यो चलन नेपाल भित्रिएको धेरै भएको छैन । नेपालीहरूमा घरको सरसफाइ गर्ने चलन चाडपर्व र नयाँ वर्षमा मात्र सीमित छ । सरसफाइका लागि यसरी कम्पनी नै खोलिएको ७ वर्ष भए पनि यसले पिकअप लिएको धेरै नभएको रोयल क्लिनिङ कम्पनीका सञ्चालक कमल थापा बताउँछन् । काठमाडौं उपत्यकामा मात्र २ सयवटा सरसफाई गर्ने कम्पनी सञ्चालनमा छन् । सरसफाइ गर्न चाहनेहरूले अनलाइन बुकिङसमेत गर्न सक्छन् । त्यसका साथै यस्ता कम्पनीहरू घरमै भिजिट गर्न पनि पुग्ने गरेका छन् । 

कम समयमै घरको सफाइ

अहिले धेरैजसो मानिसलाई घरको सरसफाइ गर्ने फुर्सद छैन । आफ्नो घर सरसफाइ गर्न फुर्सद नभए पनि अहिले यो समस्याको हल सजिलै निकाल्न सकिन्छ । किनभने अहिले व्यावसायिक स्वीपरहरू उपलब्ध हुन्छन् जसले गर्दा समयको बचत त हुन्छ नै घर पनि चिरिच्याट्ट बन्छ । सरसफाइ गर्ने यी कम्पनीहरूले एकदिनमै घरको सरसफाइ गरिदिन्छन् । उनीहरूले निश्चित शुल्क लिएर घर सरसफाइको जिम्मेवारी लिन्छन् । उनीहरूलाई घर सरसफाइ गर्न दिएपछि ढुक्क हुन्छ । उनीहरूले घर सफा–सुग्घर त बनाइदिन्छन् नै बगंैचा, बार्दली आदिलाई पनि आकर्षक ढंगले सजाइदिन्छन् ।

खर्च गर्ने हो भने सरसफाइका लागि अब तनाव वा झन्झट लिनु पर्दैन । पहिले–पहिले आफ्नो घर आफैले सरसफाइ गर्नुपथ्र्यो । सरसफाइ गर्दा विभिन्न केमिकल प्रयोग गरिन्छ । ती केमिकलले घरको चमक बढाउनुका साथै सामानहरू पनि ड्यामेज नहुने थापाको भनाइ छ ।

घर सफा गर्ने पुरानो शैली: स्वास्थ्य र वातावरणमैत्री

वर्षायाम सकिएसँगै चाडपर्वको माहोल सुरु हुन्छ । गाउँघरमा चाडपर्वमा घर लिपपोत गर्ने चलन छ । अन्नबाली पनि थन्काइसकिने हुनाले यो समय फुर्सदिलो हुन्छ । वर्षाले घरको रंग खुइलाइदिएको हुन्छ । घरवरिपरि झारपातले ढाकेको हुन्छ । लगातारको वर्षाले घर वरिपरि लेउ नै लेउ हुन्छ । त्यसैले पनि यतिबेला घरको सरसफाइ गरिन्छ । यसरी सरसफाइ गर्न थालेपछि चाडपर्वको रौनक पनि सुरु हुन्छ । 

परम्परागत शैलीलाई उछिन्दै अहिले आधुनिक शैली हाबी हुँदै गएको छ । यसले हाम्रो संस्कार, रीतिरिवाज र परम्परा त मेटिँदैछ त्यससँगै हामी स्वस्थ र वातावरणमैत्री जीवनशैलीबाट पनि टाढिँदैछौं । घरको स्वरूप हेर्दा राम्रो र आधुनिक भएर मात्र हुँदैन घर स्वस्थ एवं वातावरणमैत्री पनि हुनु जरुरी छ । यसका लागि घरको सरसफाइ एवं रंगरोगनमा विशेष ध्यान दिनुपर्छ । घर, कोठा, भान्सा, बाथरुम आदि सफा गर्ने सामान स्वास्थ्यलाई हानि गर्ने केमिकल मुक्त हुनुपर्छ । 

घरमा लगाइने रंग स्वस्थ एवं वातावरणमैत्री हुनु जरुरी हुने नेरोल्याक पेन्ट्सका मार्केटिङ एक्ज्युकेटिभ सन्तोष श्रेष्ठ बताउँछन् । ‘गुणस्तरीय रंग प्रयोग गर्न सकिएन भने हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्ने’ उनको भनाइ छ । अहिले बजारमा पेन्टिङ कम्पनीहरूले विभिन्न प्रकारका रंग बजारमा ल्याएका छन् । रंग छनोट गर्दा लामो समयसम्म टिक्ने, रंगको गन्धको असर कम भएको गर्नुपर्छ । केमिकल मिसाइएको रंग लगाउँदा हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ । एलर्जी हुने, फोक्सोमा समस्या सिर्जना हुने, श्वासप्रश्वास प्रणालीमा असर गर्ने हुनसक्छ । घर सरसफाइ र रंगरोगन गर्दा स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ ताकि घरमा बस्ने मानिस स्वस्थ र रोगमुक्त रहन सकून् । 

घरको सरसफाइ गर्ने घरेलु तरिका

भनिन्छ, घर सफा भए घरमा बस्ने मानिसहरू पनि स्वस्थ हुन्छन् । चाडपर्वको मौसममा घरमा धेरै जना मानिसको आउजाउ भैरहने हुनाले घर चाँडै फोहोर हुन्छ । घर सफा मात्र नभई कीटाणुहरूबाट पनि मुक्त हुनु जरुरी हुन्छ । जसले गर्दा चाडपर्वमा स्वस्थ रूपमा रमाउन सकिन्छ । त्यसका लागि केही घरेलु उपाय अपनाउन सकिन्छ । 

सिरका

२ कप सिरका तथा २ कप पानी मिसाएर स्प्रे बोतलमा राख्ने । स्प्रे बोतलको सहायताले टाइल्स वा सिसामा स्प्रे गर्दै माइक्रो फाइबर कपडाले पुछ्ने । यो कपडाले अन्य कपडाको तुलनामा फोहोरलाई राम्रोसँग अवशोषित गर्छ र टाइल्स पनि कोरिँदैन । गन्ध भगाउन पनि सिरका प्रयोग गर्न सकिन्छ । 

बेकिङ सोडा

बेकिङ सोडाले दागहरूबाट छुटकारा दिलाउँछ । बेकिङ सोडा र पानीको पेस्ट बनाउने र दाग लागेको ठाउँमा लगाएर १५ मिनेटजति सुक्न दिने । त्यसपछि चिसो कपडाले पुछ्ने । यसरी पनि दाग गएन भने पहिले टुथब्रसले रगडेर सफा गर्ने । त्यसका साथै बेकिङ सोडाले सिसा वा ऐना सफा गर्दा चम्किलो हुन्छ । 

ब्लिच 

ब्लिच र पानी समान मात्रामा मिसाउने । यो मिश्रणलाई कीटाणु हुन सक्ने सम्भावित ठाउँ (टाइल्स) मा छर्कने । त्यसपछि तातोपानीले सफा गरेर कपडाले पुछ्ने । ब्लिच प्रयोग गर्दा हातमा पञ्जा लगाउनुपर्छ । 

अमोनिया 

एक बाल्टी पानीमा एक कप अमोनिया मिसाएर फ्लोर सफा गर्ने । अमोनियाको गन्ध एकदमै कडा हुन्छ । त्यसैले झ्याल तथा ढोका खोलेर मात्र अमोनिया प्रयोग गर्नुपर्छ । 

नुन

नुन खानाको स्वाद बढाउन मात्र होइन घरको सफाइमा पनि काम लाग्छ । नुनले घरको सिसा वा ऐना सफा गर्न सकिन्छ । नुनलाई पानीमा घोलेर सिसा सफा गर्ने । यसले सिसा चम्किलो हुन्छ र दाग पनि बस्दैन । 

कागती 

एक बाल्टी पानीमा कागती निचोरी कोठाको भुइँ पुछ्ने । यसरी सफाइ गर्दा दाग–धब्बा जानुका साथै कोठाको गन्ध हराएर ताजापन अनुभव गर्न सकिन्छ । 

तातोपानी र साबुनको घोल

यदि घरमा कालो रंगको मार्बल लगाइएको छ भने अम्लीय कुरा प्रयोग गर्नुहुँदैन । यसले फ्लोरको चमक बिगार्छ । मनतातो पानीमा साबुनको घोल मिसाएर सफाइ गर्दा कालो 

फ्लोर चम्किलो देखिन्छ ।

आलुको बोक्रा

आलुको बोक्रालाई केही बेर पानीमा उमाल्ने । उक्त पानीले फ्रिजको भित्री तथा बाहिरी भाग सफा गर्दा गन्धसमेत हराउँछ । 

टुथपेस्ट

धारा सफा गर्न टुथपेस्ट प्रयोग गर्न सकिन्छ । कपडामा थोरै टुथपेस्ट लगाएर पुछ्ने अनि तातोपानीले पखाल्दा नल चम्किलो देखिन्छ । 

केही मिनेटमै घर चम्काउन 

सिसाको सफाइदेखि बेसिनसम्मको सफाइका लागि विभिन्न सामानहरू बजारमा उपलब्ध छन् । तीमध्ये केही लिक्विड क्लिनर छन्, जसको प्रयोगले सबै दाग–धब्बाबाट सजिलै छुटकारा प्राप्त गर्न सकिन्छ । सिसाको प्रयोगले घर एवं कोठालाई क्लासी लुक दिन्छ तर जब सिसामा दाग लाग्छ घरको लुक्स फिक्का देखिन थाल्छ । झ्याल, ढोका एवं टेबलमा भएको सिसा सफा गर्न ग्लास क्लिनर प्रयोग गर्नुपर्छ । 

खिया लागेको ठाउँ

मेटलको प्रयोगले कोठालाई मोर्डन लुक दिन्छ तर पानी पर्नेबित्तिकै मेटलमा खिया लाग्न थाल्छ । यसबाट छुटकारा पाउन रस्ट क्लिनर लिक्विड प्रयोग गर्न सकिन्छ ।  

तेल तथा मसलाको दाग लागेको ठाउँ

तेल तथा मसलाको प्रयोग खानामा स्वाद बढाउन गरिए पनि यसले भान्सामा चिपचिपे दाग–धब्बा पनि छोडेर जान्छ । त्यसले पूरै भान्सा र भान्सामा राखिएका सामानलाई चिपचिप बनाउँछ । साबुनबाट मात्र यस्तो चिपचिपेपनबाट छुटकारा पाईदैन । यसका लागि ग्रिस क्लिनर नै प्रयोग गर्नुपर्छ । 

ग्रिलको सफाइ गर्न

खुल्ला र ठूलो ठाउँ सफा गर्न सजिलो हुन्छ तर सानो र साँघुरो ठाउँको सफाइ गर्न उत्तिकै कठिन हुन्छ । झ्यालको ग्रिल त्यसमध्ये एक हो । ग्रिल सफा गर्न ग्रिल लिक्विड क्लिनर प्रयोग गर्न सकिन्छ ।

 

मार्बलको फ्लोरका लागि

मार्बल र स्टोनको फ्लोरमा लागेको दाग–धब्बा छुटाउन निकै कठिन हुन्छ तर बजारमा पाइने मार्बल क्लिनरले यसबाट सजिलै छुटकारा दिलाउँछ । मार्बलको जुन ठाउँमा दाग लागेको छ त्यो ठाउँमा थोरै यो लिक्विड हालेर केही समय त्यत्तिकै छाडिदिने । पछि ब्रसको सहायताले उक्त ठाउँ सफा गर्दा दाग–धब्बाबाट छुटकारा पाइन्छ । 

टाइल्स चम्काउन

टाइल्स जति चाँडो चम्किन्छ त्यति नै चाँडो फोहोर पनि हुन्छ । टाइल्स चम्काउन टाइल्स क्लिनर प्रयोग गर्न सकिन्छ । 

ब्रास सफा गर्न 

झ्याल, ढोका, बाथरुम आदि ठाउँमा ब्रासको हेन्डिल लगाइएको हुन्छ । नल, सावर पनि ब्रासकै हुनसक्छन् । यसमा दाग लागेपछि नराम्रो देखिन्छ । त्यसका साथै ब्रासका गमलाहरू सफा गर्न ब्रास क्लिनर प्रयोग गर्न सकिन्छ । 

पानी ट्यांकी

हिजोआज पानी ट्यांकी सफाइ गर्ने विशेष प्रविधिसमेत भित्रिसकेको छ जुन बजारबाट वा अनलाइनमार्फत प्राप्त गर्न सकिन्छ ।

 Image