Successfully Copied

स्वास्थ्यका लागि सन्तुलित भोजन 

सन्तुलित भोजन खाए समय–समयमा देखापर्ने साधारण समस्याले सताउँदैन भने शरीर पनि स्वस्थ रहन्छ । यसबाट शरीरको कार्यक्षमता बढ्छ अनि मानसिक एवं शारीरिक विकास राम्रोसँग हुन्छ । खाना असन्तुलित भए शरीरमा विभिन्न किसिमका अप्ठ्यारा देखापर्छन् । कहिल्यै निको नहुने रोग मेटाबोलिक डिसअर्डरबाट जोगिन पनि

मोदनाथ पौडेल, डाइटिसियन, नेपाल डाइटिसियन संघ 

सन्तुलित भोजन के हो ?

हाम्रो खाने थालीमा सबै प्रकारका परिकार समावेश हुनु नै सन्तुलित भोजन हो । यसमा शरीरलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा हुन्छ । तरल पदार्थ, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन तथा मिनरल्स शरीरलाई चाहिने पौष्टिक तत्व हुन् । यी सबैको सन्तुलित सेवनले शरीर स्वस्थ रहन्छ । एउटा स्वस्थ ६० किलोग्रामको मानिसका लागि प्रत्येक दिन १८ सय किलो क्यालोरी भए पुग्छ । उसले आफ्नो खानामा ५० प्रतिशत कार्बोहाइड्रेड, ३० प्रतिशत प्रोटिन, १० प्रतिशत तेल तथा घिउ, १० प्रतिशत भिटामिन तथा खनिज पदार्थ भएका खाद्य समूहका सागसब्जी खानुपर्छ । यसका साथै २–३ लिटर पानी तथा ग्रिन सलाद पनि खानुपर्छ । स्वस्थ मानिसले एकदिनमा अन्न तथा कन्दमूल, गेडागुडी, पशुपन्छीजन्य स्रोत, हरिया सागपात तथा पहेंला फलफूल आदि खानुपर्छ । 

शाकाहारी भोजनलाई कसरी सन्तुलित बनाउन सकिन्छ ?

शाकाहारी भोजन आफैंमा सन्तुलित भोजन हो । कतिपयमा मासुबिनाको भोजन सन्तुलित हुँदैन भन्ने सोच हुन्छ जुन यो गलत हो । भिटामिन बी १२ प्राप्त गर्न मासु नै खानुपर्छ भन्ने धारणा छ । माछा, मासुबाहेक सोया मिल्क, तोफु, चीज एवं अन्य फोर्टिफाइड फुडबाट पनि भिटामिन बी १२ प्राप्त गर्न सकिन्छ ।  

सन्तुलित भोजनका फाइदा के–के हुन् ?

सन्तुलित भोजन खाए समय–समयमा देखापर्ने साधारण समस्याले सताउँदैन भने शरीर पनि स्वस्थ रहन्छ । यसबाट शरीरको कार्यक्षमता बढ्छ अनि मानसिक एवं शारीरिक विकास राम्रोसँग हुन्छ । खाना असन्तुलित भए शरीरमा विभिन्न किसिमका अप्ठ्यारा देखापर्छन् । कहिल्यै निको नहुने रोग मेटाबोलिक डिसअर्डरबाट जोगिन पनि सन्तुलित भोजन फाइदाजनक हुन्छ । भान्सामा सन्तुलित भोजन समावेश गर्नुपर्छ । यसले साधारण मानिस, गर्भवतीदेखि वृद्धवृद्धासम्मलाई फाइदा पुर्‍याउँछ । 

भोजन सन्तुलित नहुँदा के–कस्ता समस्या देखा पर्छन् ?

असन्तुलित भोजन धेरै भए बढी र थोरै हुँदा कम पोषण हुन्छ । यी दुवैलाई कुपोषण मान्न सकिन्छ । पोषण धेरै भए मोटोपनको सम्भावना प्रबल हुन्छ । यसले गर्दा विभिन्न रोग देखापर्न सक्छन् । यसैगरी सन्तुलित भोजनको कमीले शारीरिक विकृति सिर्जना गर्नसक्छ । जस्तो खाए पनि खाना नै हो, पेट भर्ने त हो भन्ने धारणा धेरैमा व्याप्त छ । त्यसैले शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वको कमी हुन पुग्छ । फलस्वरूप थकाई लागेजस्तो हुनु, काममा मन नलाग्नुका साथै मानसिक विकास प्रभावकारी रूपमा हुन सक्दैन । सुरुवाती दिनमा खुट्टा तथा ढाड दुख्ने, निद्रा कम लाग्ने, थकाइ धेरै लाग्ने हुन्छ । यसले गर्दा दिनचर्यामै असर पर्छ । 

शाकाहारी भोजनका फाइदा के–के हुन् ?

माछा, मासु, अण्डा समावेश नभएको अन्न, गेडागुडी, फलफूल सागसब्जी, दही दूध एवं बोटबिरुवाबाट उत्पादित खाद्यवस्तु शाकाहारीमा पर्छन् । सन्तुलित शाकाहारी भोजन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हरिया सागपात, पहेंला फलफूल, बदाम तथा जडीबुटीमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा भएको विकार बाहिर निकाल्नुका साथै रोगप्रतिरोधक क्षमता वृद्धि गर्छ । खनिज तथा भिटामिन बोटबिरुवाबाट प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, रक्तअल्पता आदिबाट पनि जोगिन सकिन्छ । शाकाहारी भोजन खासगरी बोटबिरुवाबाट उत्पादन हुने भएकाले त्यसमा पानीको मात्रा मांशाहारी भोजनको तुलनामा बढी हुन्छ । यसले शरीरमा पानीको परिपूर्ति गर्न सहयोग पुर्‍याउँछ । सागपात एवं फलफूलमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले कब्जियत, ग्यास्ट्रिक, कोलोन क्यान्सर तथा एसिडिटी कम गर्नुका साथै पाचन प्रणाली मजबुत बनाउँछ । 

–विभिन्न अध्ययनमा शाकाहारी मानिसलाई दीर्घकालीन एवं प्राणघातक रोग कम लाग्ने बताइएको छ । 

–शाकाहारी भोजनमा कुनै प्रकारको कमी हुँदैन भने यो स्वस्थसमेत हुन्छ । ६–६ महिनामा स्वास्थ्य एवं पोषण स्तर परीक्षण गराएर, रोगको परीक्षण गरी उमेर एवं तौलका आधारमा डाइटिसियनले दिएको डाइट चार्ट तथा निर्देशन पालना गरे स्वस्थ जीवन जिउन सकिन्छ । 

शरीर स्वस्थ बनाउन के–कस्ता खानेकुरा खानुपर्छ ?

बासी, सडेगलेका तथा पुरानो तेलमा तारेका खानेकुरा खानुहुँदैन । सम्भव भएसम्म हरेक खानामा खस्रा खानेकुरा बढी मात्रामा समावेश गर्नुपर्छ । यसले रगतमा ग्लुकोज, ट्राइग्लिसिराइड तथा कोलस्टेरोलको मात्रालाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ । यसैगरी बोक्रासहितको दाल, टुसा उमारेको गेडागुडी, सागपात आदि खानुपर्छ । 

–नियमित रूपमा मौसमी फलफूल खानुपर्छ । सागसब्जी दैनिक सेवन गरे भिटामिन सी तथा एन्टिअक्सिडेन्टको आपूर्ति हुन्छ । 

–उमेर तथा अवस्थाअनुसार दिनमा २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । यसले कब्जियत हुन दिँदैन । घरमा एकै प्रकारका खाना पाक्ने भएकाले गर्भावस्था, सुत्केरी, बालबालिका तथा वृद्धवृद्धाको खानामा विशेष ध्यान पुर्‍याउनुपर्छ । उमेर र स्थितिअनुसार खानाको आवश्यकता पनि फरक–फरक हुन्छ । 

 Image