Successfully Copied

‘टिमवर्क बलियो भयो भने जे पनि गर्न सकिन्छ’

पूजा महतो (क्याप्टेन, यु–१९ महिला क्रिकेट)


१८ वर्षीया पूजा महतो अन्डर–१९ महिला क्रिकेट टिमकी क्याप्टेन हुन् । भर्खरै दुबईमा सम्पन्न यु–१९ महिला विश्वकप एसिया छनोटमै शतक हान्ने उनी एक्ली खेलाडी हुन् भने समग्रमा अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी ।


सेन्चुरी हान्दा कस्तो अनुभव भयो ?
आफ्नो देश सम्झिएर अत्यन्तै खुसी भएँ । शतक नै हान्छु भन्ने भन्दा पनि ५० को तयारीका साथ गएकी थिएँ, तसर्थ ५० कै स्पिडमा खेलेकी थिएँ, जब ५० कट्यो तब एकाएक सयको स्पिडमा खेल्न थालें । फलस्वरूप १ सय ३० रन बनाउन सफल भएँ ।
सेन्चुरी र पाँच विकेट एउटै खेलमा कसरी सम्भव भयो ?
म त भगवान्को आशीर्वाद भन्ठान्छु । पक्कै पनि त्यसमा मेरो मेहनत छ । तर कहिलेकाहीँ नसोचेको हुन्छ जस्तो भयो । यसबाहेक मेरो टिमको सहयोगले पनि साथ दियो । टिमवर्क बलियो भयो भने जे गर्न पनि सकिन्छ भन्ने प्रमाण हो यो ।
तपाईंको क्रिकेट यात्रा कहाँ र कसरी सुरु भयो ?
महोत्तरीबाट कामका लागि दिल्ली पुगेका अभिभावकले कोभिडमा छोराछोरी घरैमा बसिराखे मोटा र अस्वस्थ हुन्छन् भनेर भाइलाई क्रिकेट तालिममा पठाउनुभयो । हामी दिदीबहिनी भाइलाई लिन–पुर्‍याउन जान्थ्यौं । त्यही बेला क्रिकेट कोच श्रवणकुमार (ईशान शर्माका पनि कोच हुन्) ले यी दुईछोरीलाई पनि क्रिकेट तालिममा भर्ना गरिदिन मेरो बुवालाई भन्नुभयो । तर बुवाले शुल्क तिर्न नसक्ने कारण देखाउँदै अनकनाउनुभयो । ईशान सरले हामी तीनै जनालाई निःशुल्क क्रिकेट सिकाउने बचन दिनुभयो । त्यसपछि निःशुल्क क्रिकेट, निःशुल्क म्याच खेलाउन थाल्नुभयो । मेरो भाइले बुवासँग महोत्तरीको एउटा विवाहमा आउँदा यु–१६ खेल्यो, म्यानअफ द म्याच भयो । मेरो बुवाको परिचय रोशन सरसँग भयो । बुवाले छोरीहरू पनि खेल्छन् भनेपछि क्यानले मेरो भिडियो हेरेर क्याम्पका लागि बोलायो । घरेलु नखेली वर्ल्ड कप क्वालिफाइडका लागि मलाई लिइयो । मलेसियामा ३ विकेट लिँदै म्यानअफ द म्याच हुन सफल भएँ भने एसीसी प्रिमियर कपमा ५९ रन नकआउट गर्दै ३ विकेट लिएँ । मलेसियन सुपर लिगमा बेस्ट बलर पाएँ । एसिया कपमा पाकिस्तानविरुद्ध २५ रन बनाएँ । यही परफर्मेन्स देखेर मलाई यु–१९ को क्याप्टेन बनाइयो । जिम्मेवारी थाप्लोमा आएपछि अझ दृढ र सजग भइँदोरहेछ ।


तपाईं तराईको हुनुहुन्छ, खेल क्षेत्रमा आउन कस्तो संघर्ष गर्नुपर्‍यो ?
महोत्तरीमै हुन्थ्यौं भने अहिले क्रिकेट खेलिरहेकी हुन्नथें । हामी विपन्न परिवार भएकाले यतिबेला सायद मेरो विवाह मात्र होइन बालबच्चा पनि हुन्थे होला । बुवाआमाले हाम्रै भविष्यका लागि दिल्ली लानुभयो ।कहिलेकाहीँ महोत्तरी आउँदा दिल्लीवाली भन्थे । छोरीलाई किन क्रिकेट खेलाएको यो त केटाहरूले खेल्ने खेल हो, क्रिकेट खेल्दा अनुहार बिग्रिन्छ विवाह हुँदैन भन्ने सुनिन्थ्यो । तर मेरा अभिभावकले हामी सन्तानको क्षमतामाथि भरोसा र विश्वास गरेर ‘सि डिजर्भ, सि क्यान×’ भनिरहनुभयो । तसर्थ म मेरा बुवा–आमा र देशका लागि खेल्छु, दुवैलाई गर्व महसुस गराउन चाहन्छु ।
यसैलाई करिअर बनाउने कि अन्य केही गर्ने सोच छ ?
अरु केही आउँदैन, अहिलेसम्म जानेको यही मात्रै हो । पहिले आर्मी–पुलिसमा जाने इच्छा थियो । यतातिर लागेपछि यसैबाट देशका लागि असल कर्म गर्ने र नेपालको नाम विदेशमा चिनाउने प्रतिबद्धता छ । त्यसो त म पहिलेदेखि नै देशका लागि योगदान गर्ने पेसामा आबद्ध रहने इच्छा राख्थें ।
नेपालमा क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ ?
म धेरै आशावादी छु ।नेपालमा क्रिकेट अगाडि जान्छ ।
तपाईं जस्ता नवयुवा खेल क्षेत्रमै जमिरहनका लागि के आवश्यक छ ?
जुनसुकै क्षेत्रमा होस्, युवाहरू सफल हुनका लागि परिवारको साथ, सहयोग र भरोसा आवश्यक छ । त्यसपछि समाजले हौसला दिनुपर्छ । हाम्रो समाज अझैसम्म पनि तौलिने–नाप्ने खालको सोच बोकेको छ । यसमा परिवर्तन जरुरी छ । सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छ । महिलामा विश्वास गर्ने वातावरण बनाउनुपर्छ ।
क्रिकेटबाहेक के गर्नुहुन्छ ?
आर्टस्मा भर्खरै १२ कक्षा पूरा गरें । अब पढाइलाई अगाडि लैजाने योजना छ । तर, पढाइभन्दा बढी क्रिकेटमा रुचि छ ।
क्रिकेटमा तपाईंको आदर्श को हो र किन ?
नेपालका सोमपाल कामी र भारतका रोहित शर्मा ।

 Image