ओम अस्पताल  निःसन्तानहरूका लागि वरदान 

नारी संवाददाता

भाद्र १९, २०७६

 

अरू तरिकाबाट बच्चा भएको छैन भने वरदान साबित हुनसक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कसैले पनि बच्चा भएनन् भनेर निराश हुनुपर्ने अवस्था छैन ।

निःसन्तान जोडीका लागि टेस्टट्युब बेबी वरदान साबित हुँदै आएको छ । विश्वमा टेस्टट्युब बेबीको सुरुवात भएको करिब ३२ वर्षपछि नेपालमा पनि यसको सुरुवात भएको थियो । नेपालले टेस्टट्युब बेबी सुरु गरेको पनि १६ वर्ष पूरा भएको छ अर्थात् नेपालको पहिलो टेस्टट्युब बेबी अहिले बेबी नभएर किशोरावस्थामा पुगिसकेका छन् । विश्वमा टेस्टट्युबको माध्यमबाट बच्चा जन्माउने प्रविधिको विकास भएको ३२ वर्ष पुगेको छ । नेपालले भने टेस्टट्युब बेबी सुरु गरेको १६ वर्ष पूरा भएको छ ।

टेस्टट्युब बेबी प्रविधि नेपाल भित्राएर सेवा सुरु गरेको ओम अस्पतालले हालसम्म १ हजारभन्दा बढी टेस्टट्युब बेबीमार्फत निःसन्तान महिलाहरूलाई मातृत्व सुख प्रदान गरिसकेको छ । नेपालमा महिलाहरू आइयूआई र विभिन्न पद्धतिका माध्यमबाट आमा बन्न सफलता भएको चिकित्सकहरू बताउँछन् ।

नेपालले टेस्टट्युब बेबीका क्षेत्रमा प्राप्त गरेको सफलतासँगै विश्वमा यस क्षेत्रमा भएका नयाँ प्रविधिको विकास एवं प्रयोगबाट पनि ज्ञान हासिल गर्दै आएको छ ।

के हो टेस्टट्युब बेबी प्रविधि ?

कृत्रिम गर्भाधान इन ब्रिटो फर्टिलाइजेसन (आईबीएफ) महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एउटा प्रविधि हो । यसलाई बाँझोपन विरुद्धको प्रभावकारी प्रविधि मानिन्छ । यो प्रविधिमा कुनै महिलाको अण्डाशयबाट अण्डलाई अलग गरेर त्यसलाई टेस्टट्युबमा शुक्राणुसँग निषेचित गराइन्छ । त्यसपछि निषेचित अण्डा महिलाको गर्भाशयमा राखिन्छ । विश्वमै पहिलो पटक यो प्रविधिको प्रयोग बेलायतमा पैट्रिक स्टेपो तथा रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यो प्रविधिबाट जन्मिएको शिशुको नाम लुइस ब्राउन थियो, जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो । भारतमा पहिलो पटक डाक्टर सुभाष मुखोपाध्यायले यो विधिको प्रयोग गरेका थिए । आज यो प्रविधि निःसन्तान दम्पतीहरूका लागि एउटा नयाँ आशाको किरण साबित हुँदै आएको छ । भारतमा यो प्रविधिबाट जन्मिएकी शिशुको नाम दुर्गा राखिएको थियो । दुर्गा विश्वकी दोस्रो टेस्टट्युब बेबी थिइन् । 

ओम अस्पताल नेपालमा टेस्टट्युब बेबी सेवा आरम्भ गर्ने पहिलो अस्पतालका रूपमा परिचित छ । ओम अस्पतालमा नेपालको पहिलो टेस्टट्युब बेबी ओममणि तामाङको जन्म भएको थियो ।

बाँझोपन के हो ?

नेपालको परिप्रेक्ष्यमा बाँझोपन भन्नाले १ वर्षभन्दा बढी उपचार गर्दा पनि सन्तान नहुनुलाई बुझिन्छ । नेपालमा बाँझोपनको मुख्य कारण संक्रमण भएको चिकित्सकहरू बताउँछन् । महिलामा बाँझोपन हुने कारण भने अण्ड निष्कासन नहुने, युरिनरी समस्या आदि हुने गरेको छ । यसमा उमेर, तनाव एवं सामाजिक कारण आदिले फरक पार्ने बताइएको छ । ३५ वर्षपछि महिलाको गर्भधारणको क्षमता घट्दै जान्छ । यौनजन्य सरुवा रोग एवं असुरक्षित गर्भपतनले पनि सन्तान हुने क्षमता घटाउँछ । पुरुषमा भने कार्य वातावरण, संक्रमण तथा तनावका कारण बाँझोपन सिर्जना हुन्छ । यसका साथै पुरुषको उमेर बढ्दै जाँदा पनि सन्तान हुने सम्भावना कम हुँदै जान्छ । ओम अस्पतालमा टेस्टट्युब बेबी चिकित्सा क्षेत्रमा काम गर्दै आएकी डा. सविना श्रेष्ठका अनुसार वैदेशिक रोजगारीका कारण पुरुष बाहिर रहनेहरूका श्रीमतीको सन्तान उत्पादनमा समेत असर परेको छ ।

सफलताको कथा 

ओम अस्पतालको आईभीएफ सेवाको माध्यमबाट प्राप्त गरेको सन्तान सुख र वात्सल्य सुखको अनुभव सुनाउँदै नेपालको पहिलो टेस्टट्युब बेबी ओममणि तामाङकी आमा सन्ध्या तामाङ भन्छिन्–विवाहिता स्वास्नीमान्छे र अविवाहिता स्वास्नीमान्छे दुवैको अनुभव गरें मैले । केही तीतो त केही मीठो पनि । विवाह नहुँदा आनन्दको जिन्दगी । आफू आफैले जे गरे पनि हुने जहाँ गए पनि हुने तर विवाहपछि अरूका लागि, परिवारका लागि, आफन्तका लागि, समाजका लागि आफ्नो दिनचर्या सुरु गर्नुपर्ने । पारिवारिक बन्देज, सामाजिक रोकतोक भनेजस्तो वा सोचेजस्तो नहुने । त्यसमा पनि निःसन्तान स्वास्नीमान्छेका लागि सामाजिक कानेखुसी एवं पारिवारिक घोचपेचले गर्दा बाह्य सुख भए पनि मानसिक सुख भने कहिल्यै नहुँदो रहेछ । म पनि गुज्रँदै गएँ ती अवस्थाहरूबाट ।

भगवान्ले सन्तान नदिएका पनि होइनन् । पहिलो सन्तान महिना पुगेर बित्यो भने दोस्र्रो र तेस्रो सन्तान २–३ महिना नपुग्दै बिते । दुःख पनि लाग्थ्यो सन्तान सुख नपाइने हो कि भनेर । धैर्य धारण गर्दै चित्त बुझाउँथें–मजस्ता कतिपय स्वास्नीमान्छे निःसन्तान भएर पनि खुसी र सुखी छन् भन्दै तर मनले सोचेजस्तो सुख र खुसीले कहाँ बस्न पाइँदो रहेछ ? जहाँ गए पनि छोराछोरी कतिवटा भए ? कत्रा भए ? किन भएनन् ? विवाह भएको कति वर्ष भयो ? आदि–इत्यादि प्रश्नको ओइरो लाग्थ्यो ।

ओम अस्पतालको सहयोगबाट मैले सन्तान सुख प्राप्त गरें । आभारी छु ओम अस्पतालको आईभीएफ टिमका सम्पूर्ण सदस्यप्रति । बच्चा भएको ११ औं दिनमा बाबुको न्वारन गरियो । धर्म, संस्कृति र बौद्ध परम्पराअनुसार लामा गुरुबाट बाबुको नाम रिन्जिध्र नोर्बु तामाङ राखियो । बौद्ध धर्मगुरु र पुरोहितको सरसल्लाहअनुसार घरमा बोलाउने नाम नोर्बु राखियो भने चलनचल्तीको नाम ओममणि तामाङ हस्पिटल छँदै मेरी आमा (माइती) ले राखी दिनुभएको थियो । अहिले हामी दुई र हाम्रो परिवार सुखी अनि खुसी छौं ।

तपाईंहरू पनि सन्तान सुख खोजिरहनुभएको छ र पटक–पटकको प्रयास असफल भयो भनेर निराश हुनुभएको छ भने एकपटक ओम अस्पतालमा गएर परामर्श गर्न सक्नुहुन्छ ।

यसरी जन्माइन्छ टेस्टट्युब बेबी

नेपालमा पहिलोपटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि ओम अस्पतालले भित्र्याएको थियो । त्यसपछि ओम हस्पिटलबाट मात्र १ हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । यो अस्पतालमा नेपाली मात्र नभएर विदेशीसमेत आएर टेस्टट्युब बेबी जन्माउँछन् । यद्यपि अहिलेसम्म पनि नेपाली समाजमा टेस्टट्युब बेबीका सम्बन्धमा विभिन्न मिथक कायमै छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ?

के हो टेस्टट्युब बेबी ?

नेपालमा टेस्टट्युब बेबी भनेर प्रचलित भए पनि यो प्रविधिको खास नाम भने यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि यो प्रविधिअन्तर्गत शिशु पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर ल्याउने हो । बाबुको शुक्रकीट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गरिने अर्थात् मिलन गराइने भएकाले यो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिएको हो । यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकीट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकीटलाई टेस्टट्युबमा निषेचित गरिने भएकाले यसको नेपाली नाम टेस्टट्युब बेबी रहन गएको हो ।

 

यसरी जन्माइन्छ

सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर उनीहरूको डिम्ब र शुक्रकीट निकालिन्छ । यसो गर्नुको कारण आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकीट निस्कियोस् भन्ने हो । त्यतिबेला बाबु र आमालाई अलिकति लठ्याइन्छ पनि । त्यसफछि नलीबाट डिम्ब र शुक्रकीट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुत्रकीटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गरिने टेस्टट्युब तर त्यसको प्रकृति भने अलि फरक हुन्छ ।

त्यसफछि डिम्ब र शुक्रकीटलाई इत्रिपेट पेट्रिडिस (सिसाको विशेष भाँडो) मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकीट फर्टायल अर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रूण बन्न योग्य वातावरण हुन्छ अर्थात् भ्रूण बन्छ । त्यसरी सेचन भैसकेको भ्रूणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ अर्थात् पुनर्स्थापित गरिन्छ जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि जसरी अरू शिशु जन्मिन्छन् त्यसरी नै आमाको गर्भबाटै टेस्टट्युब बेबी जन्मन्छ । 

किन पर्‍यो आवश्यक ?

जब बाबुको शुक्रकीट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता फर्छ । बाबुले शुक्रकीट खसाल्न नसकेको वा शुत्रकीटलाई डिम्बसम्म पुर्‍याउने आमाको नसा वा कोषबीचमा बाधा उत्पन्न भएको अवस्थामा यो प्रविधिको प्रयोगबाट सन्तान जन्माइन्छ । अरू कुनै पनि तरिकाबाट बच्चा भएको छैन भने वरदान साबित हुनसक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कसैले पनि बच्चा भएनन् भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाइन्छ ।

खर्च कति लाग्छ ?

अहिले नेपालमा थुप्रै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन थालिसकेका छन् । पहिलोपटक ओम हस्पिटलमा ओममणि तामाङलाई जन्म दिएपछि अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । ओम हस्पिटलमा टेस्टट्युब बेबीका लागि तीनदेखि साढे तीन लाख रुपैंयाँ खर्च लाग्छ । कतिपय केसमा अझ सस्तोमा पनि टेस्टट्युब बेबीको जन्म प्रक्रिया पूरा हुन्छ । ओममा विदेशीहरूले समेत यो सेवा लिइरहेका छन् भने यही प्रविधि प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे आठ लाख खर्च लाग्छ ।

आमाको स्वास्थ्यमा असर पर्छ त ?

टेस्टट्युब बेबी जन्माउन केही लिमिटेसनहरू चाहिँ पक्कै छन् । यसका लागि बाबुसँग सक्षम शुक्रकीट हुनुका साथै आमाबाट डिम्ब निस्कनु अनिवार्य छ भने आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता पनि हुनुपर्छ । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ तर टेस्टट्युब बेबीकै कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन ।

नेपालका पहिलो टेस्टट्युब बेबी ओममणिसँगको कुराकानी

पत्रकारहरूले तपाईंलाई किन पछ्याउँछन् ?

म टेस्टट्युब बेबी हो नि त ।

टेस्टट्युब बेबी भनेको के हो, थाहा छ ?

थाहा छैन ।

कसले भन्यो तपाईं टेस्टट्युब

बेबी हो भनेर ?

आमाले ।

आमासँग सोध्नुभएन त, 

यो भनेको के हो भनेर ?

आमाले भन्नुभएन ।

छेउमा बसेकी उनकी आमा सन्ध्या अघिदेखि मुसुमुसु हाँसिरहेकी थिइन् । उनले भनिन्–‘अहिले बुझ्नेबेला भएको छैन यसको । ठूलो भएपछि आफैं थाहा पाउँछ ।’

टेस्टट्युब प्रविधिमा जानुअघि सन्ध्याको तीनपटक गर्भ खेर गएको थियो ।

भोजपुरका राजेन्द्र तथा वीरगञ्जकी सन्ध्याबीच ०५५ सालमा मागी विवाह भएको थियो । विवाह गरेको दुई वर्षपछि सन्ध्याको गर्भ बस्यो तर उनको पेटमा रहेको शिशु धरतीमा आउन सकेन । सन्तान सुखको प्रतीक्षामा फक्रदै गएको तामाङ दम्पतीको खुसी पनि बिलायो । नौ महिनाको गर्भ खेर गएपछि उनीहरूसित अर्को बच्चाको प्रतीक्षा गर्नेबाहेक अर्को विकल्प थिएन ।

एक वर्षपछि फेरि सन्ध्याको गर्भ बस्यो तर त्यो ३ महिनामै बिग्रियो । त्यसपछि अर्को गर्भ पनि त्यस्तै भयो । लगातार तीनवटा गर्भ खेर गएपछि त गर्भ नै बस्न छाड्यो । लामो समयसम्म गर्भ नबसेपछि तामाङ दम्पती अत्तालिए । उनीहरू सन्तानका लागि धामी–झाँक्रीदेखि लिएर सम्भव सबै उपायको खोजीमा लागे । 

धामी–झाँक्री आदिबाट पार नलागेपछि तामाङ दम्पती डाक्टरकै शरण पर्न बाध्य भए । उनीहरू चाबहिलस्थित ओम हस्पिटल पुगे । डाक्टरले सन्ध्याको स्वास्थ्य परीक्षणपछि अब प्राकृतिक रूपले उनको बच्चा हुन नसक्ने घोषणा गरिदिए । डाक्टरले सँगै आशाको त्यान्द्रो पनि देखाए, टेस्टट्युबमार्फत जन्माउने आईभीएफ प्रविधि । जुन नेपालमा त्यतिबेलासम्म भित्रिइसकेको थिएन । डाक्टरले पहिलोपटक ओम हस्पिटलमा आईभीएफ भिर्‍याउन लागिएको पनि बताए ।

‘पटक–पटक मिसक्यारेज हुनाले पाठेघर सफा गर्दा ब्लड गएर फेलोपेन्ट ट्युब बन्द भएको छ, अब तपाईंको बच्चा हुन सक्दैन,’ त्यतिबेला डाक्टरले आफूलाई भनेको कुरा सम्झिन्छिन् सन्ध्या । उनले टेस्टट्युब प्रविधिका बारेमा पहिले पनि सुनेकी थिइन् । डाक्टरले भनेपछि उनले यस विषयमा थप अध्ययन गरिन् । त्यसपछि उनले श्रीमान्सित सल्लाह गरेर निर्णय लिइन्–टेस्टट्युब प्रविधिबाट बच्चा जन्माउने पहिलो नेपाली आमा बन्ने ।

टेस्टट्युबमार्फत गर्भधारण गरेपछि नौ महिनासम्म सन्ध्या पूरै बेडरेस्टमा बसिन् । ‘पहिले तीनपटक गर्भ रहँदा र यसपटक कुनै फरक महसुस भएन,’ उनी भन्छिन्–‘पहिलेका दुःखद् अनुभवका कारण यसपटक बढी सतर्क भएँ ।’ 

लोकसेवादेखि अखबारसम्म

०६१ साल फागुन २० गतेका दिन सिजरियनमार्फत सन्ध्याले छोरा जन्माइन् । तामाङ दम्पतीले छोराको नाम ओम हस्पिटलको नामसित जोडेर राखे–ओममणि । जन्मनासाथ ओममणि अखबारका पानाहरूमा छाए । उनी सामान्य ज्ञानको प्रश्नोत्तरको विषय बने । बाबु राजेन्द्र भन्छन्–‘पहिलो टेस्टट्युब बेबीको बुवा भएकोमा मलाई गर्व छ ।’

जवाफ दिँदाको हैरानी

टेस्टट्युब बेबी भन्नासाथ मानिसहरूले असामान्यरूपमा लिन्छन् । सन्ध्या आफ्नो बच्चाको विषयमा सोधिने प्रश्नहरूबाट आजित छिन् । उनलाई प्रायः सोधिने प्रश्न यस्ता हुन्छन् ।

‘तपाईंको बच्चाको स्वास्थ्य त ठीक छ ?’

‘तपाईंको बच्चा राम्रोसित हिँडडुल गर्छ ?’ ‘तपाईंको बच्चाले के–के खान्छ ?’

सन्ध्या भन्छिन्–‘पढेलेखेका मानिस र मिडियाले समेत यस्ता उडन्ते प्रश्न गरेको देख्दा अचम्म लाग्छ । टेस्टट्युब बेबी र सामान्य शिशुमा केही फरक हुँदैन भनेर कतिलाई सम्झाउनु ?’

वैज्ञानिक बन्ने रहर

हाल सेन्ट जेभियर्स स्कुलमा कक्षा ७ मा अध्ययनरत ओममणि पढाइमा निकै जेहेन्दार छन् । उनी कक्षामा प्रायः दोस्रो वा तेस्रो हुन्छन् । बोल्छन् कम, हाँस्छन् बढी । आम केटाकेटीको तुलनामा भलाद्मी छन् । ओममणिका दुईवटा रहर छन्–एउटा क्रिकेट खेलाडी र अर्को वैज्ञानिक बन्ने । के एकैसाथ दुवै रहर पूरा हुन सम्भव छ ? सम्भव भयो भने चाहिँ नेपालले भविष्यमा एउटा ‘वैज्ञानिक क्रिकेटर’ पाउनेछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्