Successfully Copied

हरेक सम्बन्धलाई सहज बनाउनुपर्छ

हरेक सम्बन्धलाई जटिल होइन सहज बनाउनुपर्छ भन्ने सिर्जना मानन्धरका लागि हरेक सम्बन्धको आ–आफ्नै स्थान र महत्व छ । त्यसमा एउटाको स्थान अर्कोले लिन नसक्ने र हरेक सम्बन्धको आ–आफ्नै विशेषता र महत्व रहेको बताउने सिर्जनाको आफ्नी सासूसँगको सम्बन्ध सुरुदेखि नै सुमधुर एवं मिठासपूर्ण छ । 

सिर्जना मानन्धर, बैंकर्स / नेपाल इन्भेस्टमेन्ट बैंक

पूर्णतारा मानन्धर, गृहिणी

हरेक सम्बन्धलाई जटिल होइन सहज बनाउनुपर्छ भन्ने सिर्जना मानन्धरको सिद्धान्तअनुरूप उनको जीवन सूत्रबद्ध ढंगले अघि बढिरहेको छ । उनका लागि हरेक सम्बन्धको आ–आफ्नै स्थान र महत्व छ । त्यसमा एउटाको स्थान अर्कोले लिन नसक्ने र हरेक सम्बन्धको आ–आफ्नै विशेषता र महत्व रहेको बताउने सिर्जनाको आफ्नी सासूसँगको सम्बन्ध सुरुदेखि नै सुमधुर एवं मिठासपूर्ण छ । 

विगत २३ वर्षदेखि सासूसँगै बस्दै आएकी सिर्जनाले यो सम्बन्धलाई कर्म दिने अभिभावकका रूपमा बुझेकी छिन् । आमाभन्दा सासूसँग सहज महसुस गर्ने सिर्जना सासूसँग सबै कुरा सेयर गर्छिन् भने सासू पनि उनलाई नसोधी कुनै निर्णय लिन्नन् । हँसमुख स्वभावकी पूर्णतारा बुहारीका हरेक साथीसंगीसँग छोरीकै व्यवहार गर्छिन् । पूर्ण भन्छिन्–‘उनी पनि कसैकी छोरी हुन् । मेरो घरमा आइसकेपछि अब उनी अर्काकी होइनन् मेरै छोरी हुन् । छोरी त छोरी नै हुन्छन् नि ।’ उनीहरूको सम्बन्धमा खासै खटपट भएको छैन । सिर्जना विवाह गर्दा १८ वर्षकी थिइन् । विवाहपछि नै सिर्जनाले ब्याचलर र मास्टर्स डिग्री सिध्याइन् ।

२४ वर्षअघि नै कुलघर छोडेर सासूले बनाएको बल्खुस्थित घरमा बस्न थालेका उनीहरूको परिवारमा सासूले नै बुहारीलाई स्वतन्त्रता दिएकी थिइन् । एसएलसीसम्म पढेकी पूर्णतारालाई पढ्न र मिडी लगाउन असाध्यै मन लाग्थ्यो । आफूले गर्न नपाएको काम बुहारीले गरिदिए हुन्थ्यो भनेर सोच्ने पूर्णताराले छोरीलाई माइती बोलाउँदा पनि बुहारी भएका बेला मात्र आऊ भन्थिन् ताकि उनीहरूबीच सम्बन्ध प्रगाढ होस् ।

सिर्जना भन्छिन्–‘परिवारप्रतिको कर्तव्य बोध भयो भने सबै कुरा आफै मिल्दै जान्छ । स–साना कुरामा गहिरो वास्ता गर्न थाल्यो भने सम्बन्ध अप्ठ्यारो हुँदै जान्छ तसर्थ व्यक्तिको भाव र बानी बुझेर सोहीअनुसार व्यवहार गर्नुपर्छ ।’ सिर्जना आफ्नी आमा र सासूलाई उस्तै उपहार दिन्छिन् । जुन पूर्णतारा असाध्यै खुसीका साथ स्वीकार गर्छिन् । सिर्जनाले गरेको व्यवहारमा उनका श्रीमान्को कुनै रोकतोक हुँदैन । सासू–बुहारीको सम्बन्धमा श्रीमान् कतैबाट भित्र छिर्दैनन् । मानिसको स्वभावमा पनि यो सम्बन्ध निर्भर रहने सिर्जनाको अनुभवले बताउँछ । 

पूर्णताराको नजरमा सिर्जना

सिर्जनाले हरेक कुरामा माया र सम्मान दिन्छिन् । उनी राम्री एवं असल छिन् । उनीप्रतिको विश्वास र मायाकै कारण म हरेक निर्णय उनैसँग सोधेर गर्छु । अहिलेसम्म मैले उनीप्रति बुहारीको भाव लिएकी छैन । मेरी छोरी, बुहारी र म मिलेर हरेक कुराको निर्णय गर्छौं अनि पछि मात्र छोरालाई भन्छौं । सासू–बुहारीको सम्बन्धलाई बलियो र सुमधुर बनाउन हामी सासूहरूले नै बुहारीसँग छोरीसरहको व्यवहार गर्नुपर्छ । त्यसपछि बुहारीले पनि हामीलाई आमा जस्तै मान्छन् र सोहीअनुरूप व्यवहार गर्छन् । मेरो मनभित्र मैले दुःख पाए पनि बुहारीले नपाओस् भन्ने छ । त्यसैले पनि सम्बन्ध पानीजस्तै स्वच्छ छ । आफू भलो त जगतै भलो । सन्तानको खुसी नै मेरो खुसी हो । 

सासूका बारेमा सिर्जना

खुसी : आमाको खुसी नै हाम्रो खुसीमा छ ।

मनपर्ने खाना : मासुका परिकार 

मनपर्ने पहिरन : सलवार–कुर्ता ।

रिसाउनुहुन्छ : हामीले खाना खाएनौं भने ।

राम्रो पक्ष : सधै हँसिली र बालबालिकाहरूलाई धेरै माया गर्ने ।

 

 Image