नो... टेन्सन

सिर्जना शर्मा

असार १५, २०७६

केटाकेटीको व्यवहारमा आमाबाबु, परिवार, घर–समाज तथा साथीसंगीको प्रभाव अवश्य परेको हुन्छ तर बुझ्नुपर्ने कुरा के हो भने बढ्दो उमेरका केटाकेटीमा आउने समस्याको समाधान अभिभावकहरू छटपटाएर, अनावश्यक चिन्ता लिएर वा एक–अर्कालाई दोष दिएर मात्र हुँदैन, न त पूजापाठ वा ग्रहशान्तिले वास्तविक समस्या समाधान हुनसक्छ । 

लामो समयपछि मैले आफ्नी एउटी साथीलाई संकटा मन्दिर नजिकै भेटें । शनिबारको दिन थियो । खुसीले उत्तेजित हुँदै हालखबर सोध्न थालें । सुस्ताएको भाकामा उनले भनिन्–‘के हालखबर हुनु ? मेरो त बेहाल छ ...।’

यति बोल्दाबोल्दै उनी अड्किइन् ।

‘किन त्यसो भनेको के भएको छ र त्यस्तो अप्रिय ?’

मुख बिगार्दै उनले भनिन्–‘ओ ..टेन्सन । ...म त हैरानीमा छु । साथीहरूसँग बोल्न पनि मन लाग्दैन आजकल ।......बाहिरका मानिसले दिएको दुःख सहन सकिँदो रहेछ, तर सन्तानले दुःख दिएपछि त आफै पागल भइँदो रहेछ ।’ केही बेर कुराकानी गरेपछि थाहा भयो उनी आफ्नो छोराको विषयमा निकै चिन्तित रै’ छिन् । भनेको केही नमान्ने, रिसाउने, झर्कने, केही भन्यो कि खाना नखाने, ढोका थुनेर घन्टौं बस्ने, साथीहरूसँग मात्र डुल्ने–घुम्ने आदि । छोराको व्यवहार राम्रो बनाउन उनी ज्योतिषीकहाँ पनि पुगिन् रे । ज्योतिषीकै सल्लाहबमोजिम ग्रहशान्ति गर्न हरेक शनिबार महाकाल र संकटाको मन्दिर धाउँदिरै’ छिन् । छोराका लागि पूजापाठ एवं जप पनि लगाइछिन् ।

किशोरावस्थामा पुगेका आफ्ना छोराछोरीको आनीबानीप्रति धेरै अभिभावकले यस्तै–यस्तै दुखेसो व्यक्त गरेको सुनिन्छ । कसैको मर्का अलि बढी, कसैको कम होला तर धेरैजसोको भनाइ ‘छोराछोरीले भनेको मान्दैनन्, उग्र भए, पढ्न मन गर्दैनन्, साथी–साथी मात्र भन्छन्, डुलिरहन्छन्...’ भन्ने हुन्छ । छोराछोरीेले भनेको नमानेपछि लोग्नेस्वास्नीबीच ठाकठुक हुँदा ‘आमाले गतिलो संस्कार दिएको भए पो छोराछोरी गतिला हुन्थे’ भन्ने आरोप बाबुको हुन्छ । ‘बाबुले दबाबमा राख्न जानेको भए पो छोराछोरी अनुशासित हुन्छन् भन्ने आरोप आमाको हुन्छ । केटाकेटीको बानी–व्यवहारमा आफूले भनेजस्तो र सोचेजस्तो नहुँदा साथीसंगीको संगतले बिग्रियो भन्ने गुनासो पनि अभिभावकको हुन्छ । आफूलाई अप्ठ्यारो परेको परिस्थितिको दोष अरूलाई दिने त सामान्य चलन नै हो । 

केटाकेटीको व्यवहारमा आमाबाबु, परिवार, घर–समाज तथा साथीसंगीको प्रभाव अवश्य परेको हुन्छ तर बुझ्नुपर्ने कुरा के हो भने बढ्दो उमेरका केटाकेटीमा आउने समस्याको समाधान अभिभावकहरू छटपटाएर, अनावश्यक चिन्ता लिएर वा एक–अर्कालाई दोष दिएर मात्र हुँदैन, न त पूजापाठ वा ग्रहशान्तिले वास्तविक समस्या समाधान हुनसक्छ । बरु किशोरावस्थामा केटाकेटीले किन उग्र स्वभाव देखाउँछन् ? उनीहरूमा देखापर्ने विभिन्न किसिमका समस्याका कारण के हुन् ? किशोरावस्थाका केटाकेटीप्रति अभिभावकहरूले कस्तो व्यवहार गर्नुपर्छ ? भन्ने विषयमा सामान्य जानकारी भए समस्यालाई सामान्य तरिकाले कम गर्न सकिन्छ । 

किशोरावस्थामा अर्थात् ११–१२ वर्षको उमेरमा प्रवेश गरेसँगै केटाकेटीहरूको मस्तिष्कमा पिट्युटरी ग्रन्थिले एक किसिमको हार्मोन उत्पादन गर्छ । यही हार्मोनका कारण किशोर–किशोरीमा शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तन हुन थाल्छ । त्यसैले उनीहरूको आनीबानी, सोच एवं दृष्टिकोणमा परिवर्तन आउँछ । किशोरावस्थामा केटाको भन्दा केटीको शारीरिक विकास छिटो हुन्छ । जसले गर्दा केटीहरू आफ्नै उमेरका केटाहरूको तुलनामा परिपक्व देखिन्छन् । किशोरावस्थामा प्रवेश गरेसँगै केटीहरूको यौनाङ्गको विकास हुन्छ । यस्तो अवस्थामा परिवार तथा समाजबाट उनीहरूलाई विभिन्न किसिमका अर्ति–उपदेश वा दबाब आइपर्ने हुँदा उनीहरू तनावमा पर्न थाल्छन् । 

किशोरावस्थामा प्रवेश गरेसँगै केटाकेटीहरू आफ्नो छुट्टै पहिचान खोज्न थाल्छन् । आफूलाई अभिभावकले ठूलो मानिससरह नै व्यवहार गरून्, इज्जत गरून् र आफूले चाहेको कुरामा आफैले निर्णय लिन दिऊन् भन्ने चाहना उनीहरूको मनमा आउँछ तर आमाबाबुले नियन्त्रण गर्न खोज्दा उनीहरूमा विद्रोहको भावना आउँछ । किशोरावस्थाका केटाकेटीहरू बढी स्वतन्त्र हुन चाहन्छन् । उनीहरू घरपरिवारको दायराभित्र बस्न मन पराउँदैनन् । आफ्नै उमेरका दौतरीहरूसँग रमाउन चाहन्छन् । 

किशोरावस्थाका केटाकेटीले असहज व्यवहार देखाउनुमा वंशानुगत गुण, वातावरण एवं खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले कतिपय किशोर–किशोरीले आमाबाबुको चाहनाअनुसार सामान्य  व्यवहार गर्छन् भने कतिपयले आमाबाबु तथा समाजलाई अमान्य हुने व्यवहार गर्न थाल्छन् ।

केटाकेटी १४–१५ वर्षका भएपछि सैद्धान्तिक वा आदर्शका कुराबाट बढी प्रभावित हुन्छन् भने दैनिक व्यवहारका कुराप्रति विद्रोह गर्छन् । फलस्वरूप उनीहरू आफूभन्दा ठूलाले भनेको नमान्ने, रिसाउने, झर्कने तथा ठूलो स्वरले कराउने हुन्छन् । किशोरावस्थाका केटाकेटीहरू एकान्तमा बस्न मन पराउनु, सानै कुरामा खुसी हुनु, छिनमै उदास हुनु र परिवारका सदस्यहरूसँग भन्दा साथीहरूसँग बस्न बढी रुचाउनु स्वाभाविक प्रक्रिया हो । किशोरावस्थाका केटाकेटीहरू भावनात्मक रूपमा परिपक्व हुँदैनन् । त्यसैले कुनै कुराको निर्णय आफै गर्नुपर्दा एकातिर उनीहरूमा आत्मविश्वासको कमी हुन्छ । यद्यपि उनीहरू अभिभावकहरूसँग सल्लाह पनि लिन चाहँदैनन् । बरु आफ्नै उमेरका साथीसँग सल्लाह लिन पुग्छन् ।

त्यसैले कतिपय अवस्थामा उनीहरू गलत निर्णयका कारण तनावमा पर्छन् । कतिपय केटाकेटी साथीसंगीको तुलनामा आफूलाई कम आकर्षक तथा कमजोर छु भन्ने मानेर मनमनै हीनताबोध गर्छन् । यसो हुनुमा आमाबाबु जिम्मेवार भएको सोच उनीहरूको हुन्छ । यस्ता केटाकेटी सामान्य कुराभन्दा पनि नकारात्मक सोचका कारण तनावग्रस्त रहन्छन् । त्यसैले उनीहरूको व्यवहार उग्र एवं आक्रामक हुन्छ । 

किशोर–किशोरीहरूको मनोविज्ञानमा जैविक गुण तथा उनीहरू हुर्के–बढेको समाजले अत्यन्त ठूलो प्रभाव पारेको हुन्छ । आमाबाबुले केटाकेटीलाई कस्तो तरिकाले हुर्काएका छन् भन्ने कुराको ठूलो प्रभाव परेको हुन्छ । केटाकेटीलाई राम्रो वातावरण दिएर उनीहरूलाई आफ्नो जिम्मेवारी तथा कर्तव्यप्रति सजग गराउने पहिलो कर्तव्य आमाबाबु तथा परिवारकै हो । यद्यपि यसमा राज्यको पनि ठूलो दायित्व हुन्छ । कतिपय आमाबाबु असभ्य व्यवहार, हिंस्रक घरायसी झगडा, तँभन्दा म ठूलोको घमन्डमै जीवन बिताइरहेका हुन्छन् भने छोराछोरीबाट भने सभ्य, शान्त तथा मिलनसार स्वभावको अपेक्षा राख्छन् । कलिलो उमेरमा केटाकेटीले घरमा जे–जस्तो देख्यो उस्तै सिको गर्छन् । जस्तो रोप्यो त्यस्तै फल्छ भन्ने उखानलाई सधै ध्यानमा राख्न सके ‘ओ टेन्सन भन्नुको सट्टा नो टेन्सन ..’ भन्न पाइन्छ । 

किशोरावस्था भनेकै नवजीवनको महत्वपूर्ण अवस्था हो । किशोरावस्थाका केटाकेटीलाई आवश्यक माया र सहयोग दिन सके उनीहरू गलत बाटोमा हिँड्ने सम्भावना धेरै कम हुन्छ । बाल्यकाल तथा किशोरावस्थामा राम्रो संरक्षण पाई आफ्नो अधिकार उपभोग गर्न पाए केटाकेटीहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छन् अनि भविष्यमा सुयोग्य नागरिकका रूपमा आफ्नो जिम्मेवारी फूरा गर्न समर्थ हुन्छन् ।

(लेखिका सेभ द चिल्ड्रेनको किशोर–किशोरी कार्यक्रमसँग आबद्ध हुनुहुन्थ्यो ।)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>