Successfully Copied

सञ्चार गृहमा शिशु स्याहार केन्द्र हुनुपर्नेमा जोड

नेपाल पत्रकार महासङ्घको महिला विभागले आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् । सहभागीले सबै सञ्चार गृहमा शिशु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । 

पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् । सहभागीले सबै सञ्चार गृहमा शिशु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मधु शाहीका अनुसार अधिकांश सहभागीले महिला र पुरुष दुवैलाई हुने गरी शिशु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा ३३ प्रतिशत पदाधिकारी सुनिश्चित हुनुपर्नेमा पनि जोड दिएका छन् ।  पोखरामा हुन लागेको साधारणसभामा विधान संशोधन गरी महिलाको प्रतिनिधित्वको विषय समावेश गर्नुपर्नेमा जोड दिएको अर्का केन्द्रीय सदस्य सिर्जना अर्यालले बताइन् । 

महासङ्घको विधान संशोधन गरी सङ्घीय संरचनामा पूर्णरुपमा लैजान पनि सहभागीले जोड दिएका छन् । कार्यक्रमको बन्द सत्रमा ‘पत्रकारितामा महिला सहभागिता: विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार बबिता बस्नेतले नेतृत्वमा महिलालाई पुर्‍याउनुपर्नेमा जोड दिइन् । बस्नेतले नेतृत्वमा महिला पुग्न नसक्नुका कारण प्रस्ट पार्दै नेतृत्वमा पुर्‍याउनका लागि गर्नुपर्ने कार्यका बारेमा पनि कार्यपत्रमा समेटेकी छन् । 

बन्द सत्रको समापन गर्दै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बिपुल पोखरेलले पत्रकार बन्ने कि पत्रकारको नेता बन्ने भन्ने विषय तय गरेर काम गर्न सुझाव दिए ।  सो अवसरमा दिइएको तथ्याङ्कअनुसार सञ्चार क्षेत्रमा महिलाको सहभागिता निकै न्यून रहेको छ । फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानुमाया खड्काले सन् २०१८ मा पत्रिका, अनलाइन र मोफसलका पत्रिकाको अनुगमन गर्दा महिलाको सहभागिता न्यून रहेको पाइएको बताइन् । 

फ्रिडम फोरमले नौ ब्रोडसिट पत्रिका, ६ अनलाइन र प्रदेशबाट प्रकाशित हुने २१ पत्रिकाको अनुगमन गरेको थियो । खड्काका अनुसार ती अनलाइन र पत्रिकामा महिलाको सहभागिता न्यून देखिएको हो ।  अनलाइनमा १८ प्रतिशत, ब्रोडसिट पत्रिकामा ९ प्रतिशत र प्रदेशका पत्रिकामा ११ प्रतिशत मात्र महिलाको बाइलाइन समाचार प्रकाशित भएको पाइएको छ । 

यसैगरी पत्रिकाको मुख्य पृष्ठमा २२ प्रतिशत महिलाका लेख समावेश भएका छन् भने स्रोतमा पनि महिला कमजोर देखिएका छन् । अनलाइनमा ११ प्रतिशत, ब्रोडसिटमा १२ प्रतिशत र प्रदेशका पत्रिकामा १४ प्रतिशत महिलाले स्रोत प्रयोग गरेको खड्काले बताइन् । उनले महिलाका अधिकांश समाचार सामाजिक भएको भन्दै राजनीतिक समाचारमा पनि महिला कमजोर रहेको बताइन् । मिडियामा महिलाको पहुँच कमजोर भएको उनले बताइन् । 

क्रमश: महिलाको प्रतिनिधित्व बढ्दो रहे पनि सन्तोषजनक रुपमा बढ्न नसकेको उनको भनाइ थियो । बन्द सत्रमा प्रदेश २ बाहेक सबै प्रदेशका महिला उपाध्यक्षले रिपोर्टिङ गरेका थिए । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको भेला शुक्रबार पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

 

 Image