Successfully Copied

सुदिप्त क्यान्सर सर्भाइभर  र्‍याम्प शो

हामी सबैलाई थाहा भएकै कुरा हो, अझै पनि क्यान्सर भन्नेबित्तिकै मरिहालिन्छ र यो डरलाग्दो रोग हो भनेर धेरैले रोग लुकाएर बस्छन् । अझै पनि यसलाई हाउगुजीकै रूपमा लिइन्छ । यद्यपि समयसँगै नेपालमै क्यान्सरको उपचार हुन थालेको छ र यो रोग पनि अन्य रोगजस्तै समयमै

हामी सबैलाई थाहा भएकै कुरा हो, अझै पनि क्यान्सर भन्नेबित्तिकै मरिहालिन्छ र यो डरलाग्दो रोग हो भनेर धेरैले रोग लुकाएर बस्छन् । अझै पनि यसलाई हाउगुजीकै रूपमा लिइन्छ ।  यद्यपि समयसँगै नेपालमै क्यान्सरको उपचार हुन थालेको छ र यो रोग पनि अन्य रोगजस्तै समयमै उपचार गरे निको हुन्छ भन्नुका साथै क्यान्सरपछि पनि ‘प्रोडक्टिभ’ जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो ।

         

 स्वरूपा श्रेष्ठ, निर्देशक, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

क्यान्सर सर्भाइभरहरूलाई लिएर र्‍याम्प शो गर्नु भयो यो कस्तो किसिमको शो हो ?

यो र्‍याम्प शो अन्य फेसन वा र्‍याम्प शोभन्दा अत्यन्त फरक शो हो । क्यान्सर पनि अन्य रोगजस्तै निको हुन्छ । क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भन्ने सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो । धेरैले यो रोग निको भएपछि पनि लुकाएर बसेका हुन्छन् । हामीले जसरी मधुमेह, उच्च रक्तचाप ग्यास्ट्रिक, मुटु रोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा निको भयो भन्नलाई हिच्किचाउनुपर्दैन भन्ने सन्देश दिन खोजेका छौं । यसमा विभिन्न खालका क्यान्सर लागेर निको भैसकेकाहरू सहभागी हुनेछन्, जसमा क्यान्सर विजेता र उनीहरूलाई उपचार गर्ने चिकित्सकहरू सँगै र्‍याम्पमा हिँड्नेछन् । सम्भवत: यस्तो खालको शो नेपालमै पहिलोपटक हुँदैछ ।

र्‍याम्प शो गर्ने योजना कसरी बनाउनुभयो ?

यो र्‍याम्प शो गर्ने योजना तीन वर्ष अघिदेखिको हो, तर विविध कारणले सफल हुन सकिरहेको थिएन । त्यतिबेला सर्भाइभरहरू अहिलेजस्तो खुल्न चाहँदैनथे । उनीहरूलाई एक ठाउँमा भेला पार्न नै कठिन थियो । र्‍याम्पमा आउने त धेरै पछिको कुरा भयो । यसको अर्थ अहिले सबै खुलेर आउँछन् भन्ने होइन तर केही चेतना चाहिँ पक्कै बढेको छ, जसले गर्दा तीन वर्षदेखिको प्लान अब साकार हुँदैछ । हाम्रो समूहले क्यान्सरका बिरामीलाई सहयोग गर्दै आएको छ । यद्यपि अब निको भएकाहरूमार्फत नै सकारात्मक सन्देश दिन सकिन्छ भनेर हामीले यो शो गर्ने योजना बनाएका हौं । यसमा क्यान्सर सहयोग समूहका सबै साथीको उत्तिकै परिश्रम छ । हामीले क्यान्सरपछि पनि ‘प्रोडक्टिभ’ जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन खोजिरहेका छौं ।

कस्ता खालका क्यान्सर विजेताहरूको सहभागिता रह्यो  ?

यसमा विभिन्न खालका क्यान्सर जित्नेहरू सहभागी रह्यो । विभिन्न अस्पतालमा उपचार गराएर निको भएकाहरूको सहभागीता थियो  । हामीसँग ३ वर्षका नानीदेखि ९० वर्षसम्मका क्यान्सर विजेताहरू र्‍याम्पमा हिँड्का छन्  । मलाई लाग्छ यसले समाजमा क्यान्सरका बारेमा अझ बढी कुरा र छलफल हुनेछ । देशभरिका क्यान्सर विजेताहरूको प्रतिनिधित्व गर्दै २५ जना विजेताले र्‍याम्प वाक गर्नेछन् । यसमा क्यान्सरपछि नेपालमा बसेर काम गरिरहेका एक–एक जना विदेशी नागरिकको पनि सहभागिता रहेको थियो ।

सहभागीहरूलाई एकै ठाउँमा ल्याउन कत्तिको कठिन भयो ?

असाध्यै गार्‍हो काम हो यो । एक त क्यान्सर छ भनेर सबैलाई थाहा नहुने अर्को कुरा र्‍याम्पमा हिँड्ने भनेपछि धेरै जना पछि हट्ने काम हुन्छ । खासमा हामीले यो शो एक महिनाअघि नै गर्न खोजेका थियौं । मिति पनि तय गर्‍यौं तर सहभागीमध्ये पाँच जनाले बाहिर खुल्न सकिँदैन भनेर आफ्नो नाम काट्न लगाउनु भयो । त्यसपछि फेरि हामीलाई उहाँहरूको ठाउँमा अन्य पाँच सर्भाइभर खोज्न समय लाग्यो । सायद यसको महत्व बुझेर होला अहिले म पनि सहभागी हुन्छु भनेर आउनेहरू धेरै छन् । हामीले २५ जनाको ‘लिमिटेसन’ राखेका छौं । मलाई विश्वास छ अर्कोपटक यस्तो शो गर्दा हामीले मानिसहरू खोजिरहनुपर्दैन क्यान्सरलाई जित्नेहरू आफै यसमा सहभागी हुन उत्सुक हुनेछन् । सबै कुरालाई बुझ्न समय त 

लाग्छ नै ।

के सन्देश दिन खोज्नुभएको हो यो र्‍याम्प शोबाट ?

हामी सबैलाई थाहा भएकै कुरा हो, अझै पनि क्यान्सर भन्नेबित्तिकै मरिहालिन्छ र यो डरलाग्दो रोग हो भनेर धेरैले रोग लुकाएर बस्छन् । अझै पनि यसलाई हाउगुजीकै रूपमा लिइन्छ । जसले गर्दा अर्को बिरामीलाई पनि त्यस्तै लाग्छ र उसले पनि लुकाउँछ । यद्यपि समयसँगै नेपालमै क्यान्सरको उपचार हुन थालेको छ र यो रोग पनि अन्य रोगजस्तै समयमै उपचार गरे निको हुन्छ भन्नुका साथै क्यान्सरपछि पनि ‘प्रोडक्टिभ’ जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो । उपचारपछि निको भएका बिरामीले म उपचारपछि क्यान्सरबाट मुक्त भएँ भनी खुलेर आउँदा अर्को बिरामीमा म पनि निको हुन्छु भन्ने मनोबल बढ्छ । अर्को कुरा क्यान्सरको उपचार गर्न बिदेसिनु पर्दैन । अहिले नेपालमै विशेषज्ञ चिकित्सक र राम्रा अस्पताल उपलब्ध छन् । सबै खालका क्यान्सरको उपचार सम्भव छ । यस विषयमा पनि बुझ्न जरुरी छ । यसलाई रोक्न यो शोले केही हदसम्म भए पनि सहयोग गर्नेछ ।

 Image