Successfully Copied

जसले क्यान्सरलाई जितेर अघि बढे

हलिउड नायिका एञ्जलिना जोली, बलिउड नायिका सोनाली बेन्द्रे तथा मनीषा कोइराला पनि क्यान्सर रोगबाट पीडित भए तर आफ्नो आत्मबल र सही उपचारले उनीहरू रोगबाट मुक्त हुन सके । मनीषा कोइराला अहिले क्यान्सर पीडितहरूको आत्मबल बढाउने काममा सक्रिय छिन् ।

हरेक व्यक्तिका आ–आफ्नै कथा–व्यथा हुन्छन् । कतिपयका कथा मिल्छन् भने कतिपयका पात्र मिल्छन् । कोही सुखसयलका साथ जीवनलाई रंगीन क्यानभाससँग दाँजिरहेका हुन्छन् त कोही दु:खका मझेरीमा एक छाकका लागि संघर्ष गरिरहेका हुन्छन् । दु:ख र सुख भनेको कुमालेको चक्रजस्तै हो, जुन घुमिरहन्छ । त्यसैले पनि बूढापाकाहरू भन्छन्, सुखमा नमात्तिनु र दु:खमा नआत्तिनु । हो कसले देखेको हुन्छ र यति लामो जीवन यात्रामा के–के भोग्नुपर्ने हो, के–के देख्नुपर्ने हो ? रोगले यो धनी र यो गरिब भन्दैन, यो बालक र यो वृद्ध पनि भन्दैन । जसलाई जुनसुकै रोगले समात्न सक्छ । 

अहिले आधुनिकीकरणका साथ जीवन यापन गरिरहेको भए पनि सहरी वातावरणीय प्रदूषण, केमिकलयुक्त खानपान एवं अस्तव्यस्त जीवनशैलीले विभिन्न पुराना तथा नयाँ किसिमका रोगले जोकसैलाई सताएको हुन्छ । त्यसमध्ये पनि अबुर्द अर्थात् क्यान्सर रोगको नाम सुन्नेबित्तिकै धेरैजसो मानिस डराउँछन् । परिवार अर्थात् चिनजानका कसैलाई क्यान्सर भयो भन्नासाथ आत्तिएर अब धेरै बाँच्दैन भनिन्छ । पछिल्लो समय नेपालमा क्यान्सर रोगको संक्रमण निरन्तर बढ्दो छ । के गरिब, के धनी, के गाउँले, के सहरिया सबैलाई क्यान्सरले सताइरहेको छ । 

मानिसहरू सडक दुर्घटनादेखि निमोनियाँ, जन्डिस, मिर्गाैला, उच्च रक्तचाप, ह्दयघात तथा एड्सबाट अकालमै मरिरहेका छन् । तैपनि क्यान्सर भनेको कालको अर्काे रूप हो भन्ने जनमानसको सोचले नै बिरामीको आत्मबलमा कमी गराइरहेको छ । समयमा उपचार गर्न सके क्यान्सरको पनि सफल उपचार हुनसक्छ । समयमै उपचार नहुँदा झाडापखाला, निमोनियाँ, उच्च रक्तचापबाट पनि ज्यान गएकै हुन्छ । त्यसैले क्यान्सरबाट उपचारपछि निको भएकाहरू क्यान्सर भयो भनेर आत्तिन नहुने, यसमा आत्मबल र बाँच्ने इच्छा भने बलियो हुनुपर्ने धारणा राख्छन् । 

हलिउड नायिका एञ्जलिना जोली, बलिउड नायिका सोनाली बेन्द्रे तथा मनीषा कोइराला पनि क्यान्सर रोगबाट पीडित भए तर आफ्नो आत्मबल र सही उपचारले उनीहरू रोगबाट मुक्त हुन सके । मनीषा कोइराला अहिले क्यान्सर पीडितहरूको आत्मबल बढाउने काममा सक्रिय छिन् । उनी हरेक कार्यक्रममा आफ्नो अव्यवस्थित जीवन शैली र खानपानलाई परिवर्तन गरी सक्रिय जीवनका लागि आग्रह गरिरहेकी हुन्छिन् । मनीषा भन्छिन्–‘क्यान्सर लाग्यो भनेर हरेस खानु हुँदैन, बरु आफ्नो जीवन शैलीमा परिवर्तन ल्याएर पौष्टिक आहार खाएर, सरल र सुखी जीवनशैलीअपनाएर तथा नियमित योगाभ्यास एवं सकारात्मक सोचले क्यान्सर लागेका बिरामीको आयु बढाउन सकिन्छ ।’ गायिका संगीता शाक्य थापा भन्छिन्–रोग लागेपछि आत्मबल कमजोर त हुन्छ नै, उल्टै आफन्त एवं साथीभाइहरूको बिचरा भन्ने भावले मनोबल अझ घट्छ । थापाका अनुसार–उनलाई दुई पटक क्यान्सरले सतायो तर आफूमा भएको आत्मविश्वास कहिल्यै कम भएन । संगीता भन्छिन्–उल्टै ममा यो रोगलाई जित्नुपर्छ भन्ने भावना थियो, कहिल्यै म क्यान्सर पीडित हुँ भन्ने लागेन । त्यस्तै अनुभव डली गुरुङको पनि छ । गुरुङले अस्पतालमा बस्दा निराश भएका आफन्त एवं शुभचिन्तकहरूलाई हौसला दिँदै क्यान्सरविरुद्धको युद्ध जितिन् । 

क्यान्सर शरीरको कुनै पनि अङ्गमा लाग्न सक्छ । नङ, केश र दाँतबाहेक टाउकोदेखि गोडासम्म जहाँ पनि । विश्वव्यापी रूपमा हेर्दा पुरुषको हकमा फोक्सो र महिलाको हकमा पाठेघर एवं स्तनको क्यान्सर सबैभन्दा बढी पाइन्छ ।

 Image