इलेक्ट्रिक सामग्रीको प्रयोग
पुस २४, २०७५
जाडो मौसममा विभिन्न कम्पनीले नयाँ–नयाँ इलेक्ट्रिक सामग्री बजारमा उतार्छन् । यतिबेला खानालाई छिट्टै तातो बनाउन इलेक्ट्रिक ओभन, खानेपानी तताउन विभिन्न डिजाइनका हटपट, केटल आदि उपलब्ध हुन्छन् । नुहाउनका लागि इलेक्ट्रिक ग्यास गिजर, तातो र चिसो पानी बनाउने वाटर डिस्पेन्सर, कोठा न्यानो राख्ने रुम हिटर आदिको बजार पनि यतिबेला उत्कर्षमा हुन्छ ।
माइक्रो ओभन : नयाँ परिकार बनाउन एवं खाना तताउन माइक्रो ओभन राम्रो विकल्प हुन सक्छ । जाडो मौसममा चिसा खानेकुरा खान मन लाग्दैन । पकाएर राखिएका खानेकुरा तताउने सहज माध्यम ओभन हुन सक्छ । प्रयोग नगरेका बेलामा यसको प्लग निकालेर राख्नुपर्छ । यसलाई सुख्खा कपडाले पुछ्नुपर्छ ।
हिटर : जाडो मौसममा पानी तताउनदेखि कोठा न्यानो पार्नसम्म हिटरको प्रयोग हुन्छ । विद्युतीय हिटरको प्रयोग जाडोमा बढी गरिन्छ । बत्ती गएका बेला ग्यास हिटरको प्रयोग पनि उत्तिकै हुन्छ ।
हिटर प्रयोग गर्दा
विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ ।
यसलाई बालबालिकाको पहुँचबाट टाढै राख्नुपर्छ ।
हिटर एकदम नजिकभन्दा पनि केही पर बसेर ताप्नुपर्छ ।
रडले पानी तताउँदा पानी भएको बाल्टीमा हात हाल्नुहुँदैन ।
ग्यास हिटर तथा इलेक्ट्रिक हिटर झ्यालढोका बन्द गरेर बाल्नुहुँदैन । यसले गर्दा कोठामा अक्सिजन कम भएर निस्सासिन सकिन्छ भने हिटर बालेर सुत्नु हुँदैन । सुत्नुअघि हिटर अफ गर्नुपर्छ ।
गिजर : जाडो मौसममा नुहाउन धेरैले गिजर प्रयोग गर्छन् । गिजर इलेक्ट्रिक तथा ग्यासबाट चल्ने खालका हुन्छन् । नुहाउनु केही अघि इलेक्ट्रिक गिजर अन गर्नुपर्छ । पानी तातेपछि स्वीच अफ गरेर मात्र नुहाउनुपर्छ । ग्यास गिजर भने नुहाउने बेलामा सिलिन्डर अन गर्नुपर्छ । नुहाइसकेपछि अफ गर्नुपर्छ । बाथरुमका झ्यालढोका गुम्म पारेर गिजर प्रयोग गर्नुहुँदैन, निस्सासिन सकिन्छ ।
केटल : अहिले रड भएका तथा नभएका इलेक्ट्रिक केटल पनि उत्तिकै प्रयोग भएको पाइन्छ । केटलमा पानी छिट्टै तात्छ । केटलमा पानी तताएपछि स्वीच अफ गर्नुपर्छ । केटलभरि पोखिने गरी पानी राख्नुहुँदैन । पानी नतताएका बेला पनि केटल खाली राख्नुहुँदैन, पानी भरेर राख्नुपर्छ । केटललाई हप्ताको एकपटक राम्रोसँग सफा गर्नुपर्छ ।
जाडोमा इलेक्ट्रिक हिटर, रुम वार्मर, पानी तताउने वाटर जार र केटल, माइक्रोवेभ, गिजरदेखि लिएर इलेक्ट्रिक ब्ल्यांकेटसम्म उपलब्ध हुन्छन् । यस्ता सामग्रीको उचित प्रयोग तथा देखभाल गरे लामो समयसम्म टिक्छन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्