अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

सुन्दर हुन सबैलाई मन लाग्छ तर कस्तो आकारको अनुहारमा के र कसरी लगाउने सबैमा यो कला नहुन सक्छ जसका लागि आवश्यक हुन्छ उक्त विषयको गहिरो ज्ञान र अध्ययन । गरेर जान्ने, परेर सिक्ने वा पढेर दक्ष हुने यी तीनै कुरामा मानिसहरू अहिलेसम्म पनि अलमलमै छन् । ‘हाम्रो शरीरको छाला, केश, मेकअप र सौन्दर्य प्रसाधनमा विषयगत विज्ञता हासिल गर्नु नै कस्मेटोलोजी हो ।’ भारतको प्रख्यात सौन्दर्य शैक्षिक संस्था सिड्री इन्टरनेसनल इन्स्टिच्युट अफ एडभान्स ब्युटी थेरापीबाट कस्मेटोलोजी अध्ययन गरेर फर्किएकी पूजा जोशी भन्छिन्–‘हामी कस्मेटोलोजिस्टले छालाको प्रकृति सुहाउँदो प्रसाधन उत्पादन गर्न सक्नुपर्छ । हाम्रो कामले सौन्दर्यका कुनै पनि विधामा सम्झौता नगर्ने दक्षता राख्न सक्नुपर्छ ।
पाल्पाली व्यापारिक घरानाका प्रेम कार्की र सुष्मा सिंह ठकुरीकी छोरी पूजाको स्कुलिङ दिल्लीमा भएको हो । कलेज लाइफ उनले काठमाडौंमा बिताइन् । रुचिको विषय नभए पनि खाली समयको सदुपयोग गर्दागर्दै सौन्दर्य क्षेत्रमा आइपुगेकी पूजा यो क्षेत्रमा आमबाट खास बन्न चाहन्थिन् । सानैदेखि तिखो बुद्धि र फरक सिर्जना गर्न रुचाउने स्वभावकी पूजामा जुन क्षेत्रमा लाग्छु, केही नयाँ र पृथक् गर्छु भन्ने दृढता थियो ।
फलस्वरूप उनले साधारण ब्युटिसियनमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय स्तरका विभिन्न शैक्षिक संस्थामार्फत हेयर, स्किन, मेकअप, कस्मेटिक प्रोडक्ट उत्पादन, लिफ्टिङजस्ता विषयमा विशेषज्ञता हासिल गरिन् । विदेशमा पाएको आकर्षक जागिर र उच्च तलव त्यागेर नेपालमै यो क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्छ भन्ने उद्देश्यले काठमाडौं फर्किएकी पूजाले हालसम्म सयभन्दा बढीलाई तालिम दिइसकेकी छिन् । उनले असहाय, आर्थिक स्थिति कमजोर भएका तथा हिंसामा परेका महिलालाई नि:शुल्क तालिम प्रदान गर्दै आएकी छिन् ।
पूजा भन्छिन्–मैले लाखौं खर्च गरेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा सिकेको ज्ञान यहाँ कम शुल्कमा बाँड्न पाएकी छु, त्यति मात्र होइन मकहाँ नि:शुल्क वा थोरै शुल्कमा सीप सिकेकाहरू आज विदेशी भूमिमा मासिक २–४ लाख सहजै कमाइरहेका छन्, यही नै मेरो उपलब्धि हो ।’ ग्रेट ब्युटिसियन–२०१२ की विजेता पूजा म्यागेजिन एड्भरटाइजिङ तथा र्याम्प शोहरूमा समेत उत्तिकै सक्रिय छिन् । नेपाली सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन यसको गुणस्तर, प्राज्ञिक ज्ञान एवं उच्च व्यावहारिक सिर्जनशील दक्षतामा विशेष ध्यान पुर्याउनुपर्ने पूजाको धारणा छ ।