Successfully Copied

कर्मक्षेत्रमा अब्बल संगीता

आजभन्दा १४ वर्षअघि त्यसमाथि गर्भावस्था, उनका लागि पढ्ने कुरा त्यति सहज थिएन । सबैले उडाए पनि उनले ९ महिनाको गर्भ लिएरै चार्टर्ड एकाउन्टेन्टको परीक्षा दिइन् । परीक्षाको १५ दिनपछि छोरा जन्मियो । लगत्तै अर्को १५ दिनपछि शंकरदेवमा बीबीएसको परीक्षा थियो ।

जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाइ चार्टर्ड एकाउन्टेन्ट संगीता कडेरिया प्रसाईंको जीवनमा चरितार्थ भएको छ । पुख्र्यौली घर रामेछापका भन्सार कर्मचारी कृष्णप्रसाद तथा देवी कडेरियाका ५ सन्तानमध्ये माहिली संगीता ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं बाल्यकालदेखि नै तिक्ष्ण थिइन् । उनमा अद्वितीय क्षमता र हरेक विधामा अब्बल गुण थिए । संगीता वीरगंजमा जन्मिए पनि मामाघर रामेछापमा हुकिईन् । उनले प्राथमिक शिक्षा पनि त्यहीँ पूरा गरिन् । वि.सं. २०५८ को एसएलसीमा रामेछाप जिल्ला टपर संगीताले कन्या कलेज डिल्ली बजारबाट प्लस टु टप गरिन् । १२ कक्षा अध्ययनरत छँदै विवाह भएपछि उनले जेठी बुहारीका रूपमा पारिवारिक जिम्मेवारी सम्हालिन् । यद्यपि उनले अध्ययनलाई निरन्तरता दिने चाहनालाई मारिनन् । आजभन्दा १४ वर्षअघि त्यसमाथि गर्भावस्था, उनका लागि पढ्ने कुरा त्यति सहज थिएन । सबैले उडाए पनि उनले ९ महिनाको गर्भ लिएरै चार्टर्ड एकाउन्टेन्टको परीक्षा दिइन् । परीक्षाको १५ दिनपछि छोरा जन्मियो । लगत्तै अर्को १५ दिनपछि शंकरदेवमा बीबीएसको परीक्षा थियो । 

सन् २००५ जूनको फाउन्डेसन कोर्समा परीक्षा दिएका ३७ जनामध्ये संगीता तेस्रो स्थानमा आइन् । अब उनले चार्टर्ड एकाउन्टेन्टको फाइनल परीक्षा उत्तीर्ण गर्नैपर्ने थियो । दैनिक १२ घन्टा पढ्नैपर्ने भएकाले संगीता त्यतिबेला छोराको झोलुंगोको डोरी आफ्नो खुट्टामा बाँधेर रातभरि पढ्थिन् । गर्भवती भएको ७ महिनापछि डाक्टरले बेड रेस्ट गर्ने सल्लाह दिँदा पनि उनी ढोका लगाई एक्लै लुकेर पढिन् । यी सबै संघर्षको परिणाम सन् २०१० को चार्टर्ड एकाउन्टेन्टको फाइनल परीक्षामा सयौं सहभागी भएपनि उत्तीर्ण हुने संगीता एक्ली थिइन् ।

‘महिला जुन तहमा छन् त्यहाँ उनलाई सबल र सक्षम हुने वातावरण बनाइदिनुपर्छ’–संगीता भन्छिन्–‘सम्पत्ति, सुन–गहना दिने भन्दा पनि महिलाप्रतिको सोचको स्तरमा विकास गर्नुपर्छ । आत्मनिर्भर हुनुपर्छ भन्ने सोच र चेतना आवश्यक छ, व्यवहारमा छोराछोरीबीच विभेद हुनुहँुदैन, मेरी निरक्षर हजुरआमाले मलाई आफूसामु राखेर पुस्तक नघोकाए पनि त्यो व्यवहार र वातावरण दिनुभयो जसले मलाई सम्पन्नताका बीच पनि संघर्ष गरी आफ्नो पहिचान बनाउनुपर्छ भन्ने पाठ सिकायो ।’

सर्वप्रथम आफू दक्ष र असल नागरिक बन्नेमा समय र परिश्रम खर्चिएकी प्रसाईंले सम्पन्न श्रीमान् भए पालिहाल्छन् भन्ने मान्यता तोड्दै सीएससीमा ३ वर्ष काम गरिन् । नेपाल औद्योगिक विकास बैंक, एनसेललगायत दर्जनौं संस्थामा अडिटको काम गरिन् । संगीता एसोसियसन अफ चार्टर्ड एकाउन्टेन नेपालको कार्यसमिति सदस्य, डी क्लास राष्ट्रिय बैंकको कार्यसमिति सदस्य तथा मोटिभेसनल स्पिकरका रूपमा समेत सक्रिय छिन् । सन् २०१२ देखि शिखर सुजको प्रबन्ध निर्देशकको कार्यभार सम्हालिरहेकी संगीता हरेक क्षेत्रमा महिला सहभागिता बढाएर मात्र हुँदैन उनीहरूलाई दक्ष बनाउन सीप विकासमा समेत ध्यान पुर्‍याउनुपर्ने बताउँछिन् । 

उनले नेतृत्व गरेको शिखर सुजमा हाल मुलुकभर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ४ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । संगीताले शिखर सुजको फ्याक्ट्रीमा ७० प्रतिशतभन्दा बढी महिला कामदारलाई तालिम दिएर रोजगार प्रदान गरेकी छिन् । काठमाडौंमा मात्र १२ वटाभन्दा बढी फ्रेन्चाइज आउटलेटका साथै विराटनगर, दमौली, नेपालगञ्ज आदि स्थानमा समेत आउटलेट रहेको शिखर सुज महिला, बालबालिका तथा सुशासनका लागि विभिन्न सामाजिक कार्यमा समेत आबद्ध रहँदै आएको छ । संगीता श्रीमान् रामकृष्ण प्रसाईं तथा २ छोराका साथ काठमाडौं रानीबारीमा बस्छिन् ।

 Image