Successfully Copied

सुनीताको बाँडिएको आकाश

सबै मानिस फरक–फरक भएजस्तै उनले कौसी पनि ठाउँअनुसार फरक हुने अनुभव गरिन् । सुनीताले त्यही फरकपनलाई परिभाषित गरिन्, मानिसले आफ्नो वातावरण र आवश्यकताअनुसार आफूलाई सुहाउँदो ठाउँको सिर्जना गर्छ ।

कीर्तिपुरमा जन्मिएकी कलाकार सुनीता महर्जनलाई खाली जग्गामा मानिसहरूले आ–आफ्नो तरिकाले आफ्नो घर तथा ठाउँहरू सिर्जना गरेको देख्दा अचम्म लाग्थ्यो । उनको त्यो उत्सुकता नै उनको कलाकारिताको एउटा माध्यम अर्थात् विषय बन्न पुग्यो । 

उनको यो विषयको कला सिर्जना मुस्ताङको मार्फाबाट प्रारम्भ भयो । मार्फामा एकदमै हावा लाग्ने भएकाले त्यहाँ उनले ठूल्ठूला पर्खाल निर्माण गरी भित्री भाग न्यानो बनाएको देखिन् । प्रकृतिले जस्तो मौसम वा भू–भाग दिए पनि मानिसहरू त्यसलाई आफूअनुकूल ढाल्न सिपालु भएको यथार्थ नै सुनीताको कलाको मुख्य विषय हो । मार्फाबाट फर्किएपछि उनले काठमाडौंको कौसीलाई आफ्नो कलामा उतारिन् । 

सबै मानिस फरक–फरक भएजस्तै उनले कौसी पनि ठाउँअनुसार फरक हुने अनुभव गरिन् । सुनीताले त्यही फरकपनलाई परिभाषित गरिन्, मानिसले आफ्नो वातावरण र आवश्यकताअनुसार आफूलाई सुहाउँदो ठाउँको सिर्जना गर्छ । उनीहरूका दैनिक गतिविधि एवं जीवनले नै यी ठाउँलाई एक–अर्काबाट भिन्न बनाइरहेका हुन्छन् । अधूरो बाँडिएका आकाश कला प्रदर्शनीमा सुनीताले टेक्सटायल आर्ट, फोटो कोलाज तथा स्टेन्मिल आर्टलाई समावेश गरेकी छिन्, जसलाई प्रिन्ट एन्ड टेक्सटायल आर्ट भन्न सकिन्छ । 

सुनीताले मार्फा र काठमाडौंको कौसीका साथमा भूकम्पपछिको भान्साकोठा र रसुवाका बस्तीहरूलाई समावेश गरेकी छिन् । आर्ट भन्नासाथ क्यानभास, कलर र ब्रस नै चाहिन्छ भन्ने छैन, उनले कपडाका साथै फोटो र प्रिन्ट माध्यम प्रयोग गरी आफ्ना सिर्जनालाई नयाँपन दिएकी छिन् । सुनीताको मुख्य विशेषता उनको कलामा मानिसलाई नदेखाई सामान र ठाउँका माध्यमबाट मानिसको प्रतिनिधित्व गराउनु हो ।

 

 Image