Successfully Copied

स्कुटीमा सरर

नेपालमा विगत दुई वर्षदेखि स्कुटर राइडरहरूको सपना साकार पार्दै आएको भेस्पा १ सय २५ सिसीको लक्जरियस स्कुटर हो । प्रतिलिटर ५० किलोमिटर माइलेज दिने भेस्पा प्रतिघन्टा ६० किलोमिटर कुँद्ने बताइएको छ ।

एमबीए अध्ययनरत पूनम थापा सबेरै उठी घरधन्दा भ्याएर बिहान ६.३० बजे कलेज पुग्दा उनको शरीर मात्र होइन मस्तिष्कसमेत थकित हुन्थ्यो । थकान र अनिद्राले उनी हरेक क्लासमा झुल्न थालेको देखेपछि उनले शिक्षकहरूबाट कयौं पटक गाली खानुपरेको थियो । उनी त्यस्तो वातावरणमा आफूले पढेको कुरासमेत बुझ्न नसकेको बताउँछिन् । जब उनले आफ्ना लागि स्कुटर किनिन् तब उनका ती सारा कष्ट र झन्झट दूर भए । अहिले उनी आधा घन्टा बढी सुत्ने समय पाउँछिन् भने सबै काम सकेर सहज तरिकाले समयमै कलेज पुग्छिन् । त्यस्तै वित्तीय क्षेत्रमा कार्यरत अर्पणा सार्वजनिक सवारी साधनको कोचाकोच मात्र होइन विविध खालका दुव्र्यवहारले वाक्क भएपछि आफूले स्कुटर किनेको बताउँदै भन्छिन्–समयको बचतका साथै अनेकन किसिमका तनावबाट समेत मुक्त भएकी छु ।

अहिलेको समयमा कामकाजी हुन् वा गृहिणी अथवा कलेज स्टुडेन्ट नै किन नहुन् दुइपांग्रे सवारी साधनले उनीहरूको दिनचर्यालाई सहज र आनन्ददायक बनाएका छन् । आफ्नो समयमा आफूले चाहेको स्थानमा पुर्‍याउन सहयोगी यी सवारीले छिटो यात्राका लागि मात्र नभएर व्यक्तित्वको स्तर, पहिचान र क्षमता मापन गर्ने काममा समेत सहयोगी भूमिका खेल्छन् । २ वर्षअघिसम्म कम सीसीयुक्त छरिता स्कुटर बढी चलेको नेपाली बजारमा अहिले हेभी स्कुटरसमेत लोकप्रिय छन् । एप्रेलिया, एभिएटर, नोभा, जेड–आर, रे जेड आर ड्रम, रे जेड आर डिस्क, फ्यासिनो हेभी स्कुटरमा पर्छन् । स्पोर्ट्स तथा एड्भेन्चरस आदि क्षेत्रमा काम गर्नेहरूले यस्ता हेभी स्कुटर चढ्न मन पराएको पाइन्छ । अहिले भेस्पा, इटालियो, डियो, फेसिनोको बिक्री चुलिएको व्यवसायीहरू बताउँछन् । स्टाइलिस्ट बाइक तथा मोटरसाइकलको दुनियाँमा राम्रो नाम कमाउन सफल यामाहाले पछिल्लो समय ठूलो संख्यामा बेचेको फ्यासिनोको मूल्य १ लाख ९४ हजार ९ सय छ । आरामदायक तथा कम तेल खपत गर्ने दाबी गरिएको यो स्कुटरको खरिदमा फाइनान्सको सुविधासमेत छ ।

चाइनिज ब्रान्डको इलेक्ट्रिक स्कुटर हो ‘न्यू’ । नम्बर प्लेट पाउने नेपालको पहिलो इलेक्ट्रिक स्कुटर न्यूको प्रयोगले प्रेट्रोलका लागि खर्च हुने वार्षिक ५० हजारसम्म जोगाउन सकिने बताइएको छ । ६ घन्टा लगाएर फुल चार्ज गरेपछि ८० किलोमिटर गुड्न सकिने यो स्कुटर प्रतिघन्टा ४५ किलोमिटरको रफ्तारमा कँुद्न सक्छ । युवापुस्ता लक्षित न्यू स्कुटरको लुक्स पेट्रोल स्कुटरभन्दा आकर्षक छ । संसारमै सर्वाधिक बिक्री हुने न्यू इलेक्ट्रिक स्कुटर सन् २०१५ मा सार्वजनिक भएको हो । यो स्कुटर अहिले २८ वटा देशमा बिक्री हुन्छ । काठमाडौंमा १ वर्षअघि यसको बिक्री सुरु भएको हो । गत महिना मात्र पोखरामा समेत बिक्री गर्न थालिएको यो स्कुटर विस्तारै अन्य सहरमा समेत पुग्ने कम्पनीले बताएको छ । यसको मूल्य २ लाख ३५ हजार रुपैयाँ छ ।

नेपालमा विगत दुई वर्षदेखि स्कुटर राइडरहरूको सपना साकार पार्दै आएको भेस्पा १ सय २५ सिसीको लक्जरियस स्कुटर हो । प्रतिलिटर ५० किलोमिटर माइलेज दिने भेस्पा प्रतिघन्टा ६० किलोमिटर कुँद्ने बताइएको छ । अटोगियर सुविधायुक्त यो स्कुटरमा ७ लिटरको इन्धन ट्यांकी छ भने २ लाख, ३९ हजार ९ सय ४६ रुपैंयाँ यसको बजार मूल्य छ । विभिन्न कलरमा उपलब्ध भेस्पा अहिले नेपालका सहरी क्षेत्रमा सर्वाधिक बिक्री हुने स्कुटर भएको कम्पनीको दाबी छ ।

होन्डाको डियोले स्कुटरको बजारमा बलियो हिस्सा ओगटेको छ । १ सय ५८ एमएम ग्राउन्ड क्लियरेन्स दिने यो स्कुटरमा ५ दशमलव ३ लिटर इन्धन अट्ने फ्युअल ट्यांकी छ । १ लाख ८२ हजार ९ सयमा १ हजार रजिस्ट्रेसन ट्याक्स तथा ५ हजार १ सय ५० इन्स्योरेन्स गरी यसको समग्र मूल्य १ लाख ८९ हजार ५० रुपैंयाँ पर्न आउँछ । त्यसो त अहिले कम्पनीले १२ महिने किस्तामा मासिक ९ हजार ४ सय ८४ रुपैंयाँ तिर्ने गरी १६ प्रतिशत ब्याजमा फाइनान्सको व्यवस्थासमेत मिलाएको छ ।

त्यसैगरी यामाहा कम्पनीको १ सय १३ सिसीको फोर–स्ट्रोक रे–जेड पनि बजारमा उपलब्ध छ । प्रतिघन्टा ८६ किलोमिटर कुँद्ने यो स्कुटर निकै बलियो र भरपर्दो भएको बताइन्छ । रे–जेडमा ५ लिटर अट्ने फ्युअल ट्यांकी छ । १ सय २८ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको खुद तौल १ सय ४ किलोग्राम छ ।

इटालियन ब्रान्ड अप्रिलियाको आधिकारिक बिक्रेता डि–लाइफ स्टाइलले अप्रिलिया एसआर १ सय २५, अप्रिलिया एसआर १ सय ५० तथा अप्रिलिया एसआर १ सय ५० रेस इडिसन गरी तीन किसिमको हेभी स्कुटर नेपाल भित्र्याएको छ । अप्रिलिया एसआर १ सय २५ को ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम छ भने प्रतिघन्टा १ सय ५० किलोमिटर गति तथा प्रतिलिटर ४० किलोमिटर माइलेज जस्ता विशेषताले भरिपूर्ण छ । अटोगियरयुक्त यो स्कुटरको मूल्य २ लाख ३५ हजार ९ सय छ । त्यसैगरी अप्रिलिया एसआर १ सय ५० को २ लाख ५४ हजार ९ सय तथा अप्रिलिया एसआर १ सय ५० रेस इडिसनको २ लाख ६४ हजार ९ सय रुपैयाँ पर्छ । इन्जिन र इन्धन क्षमताका साथै ठूलो फ्युअल ट्यांक र अन्य थप सुविधाका कारण एउटै ब्रान्डका स्कुटरमा पनि फरक मूल्य निर्धारण गरिएको बताइन्छ ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटरमध्ये यामाहा फ्यासिनो पनि एक हो । कामकाजी युवती मात्र होइनन् कलेज जाने विद्यार्थीहरूले समेत अत्यन्तै रुचाएको यो स्कुटर विभिन्न कलरमा उपलब्ध छ । २ लाख १ हजार ९ सय बजार मूल्य तोकिएको फ्यासिनोमा ५ दशमलव २ लिटर पेट्रोल अट्ने ट्यांकी तथा १ सय २८ एमएम ग्राउन्ड क्लियरेन्स छ ।

 Image