‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

जाडो तथा गर्मी मौसममा विभिन्न किसिमका रंगीबिरंगी फूल फुल्छन् । बगैंचा तथा गमलामा फुलेका आकर्षक फूलले घरको वातावरण नै मनमोहक बनाउँछन् । फूलका लागि जाडो तथा गर्मी मौसम दुवै उपयुक्त छन् । मौसमअनुसारका फूलका बिरुवा छनोट गर्नुपर्छ । कतिपय फूलका बीउ नेपालमै पाइन्छन् भने कतिपय बीउ भारतलगायत अन्य देशबाट आयात गरिन्छ । नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि चाडपर्वमा सयपत्री, गोदावरी तथा मखमली फूलको माग बढी हुन्छ ।
सयपत्री
हाल नेपालमा तीन प्रजातिका सयपत्री फूलको व्यवसायिक खेती गरिन्छ । चाडपर्वमा अन्य फूलको तुलनामा यसको प्रयोग बढी मात्रामा हुन्छ । हरेक वर्ष फूलको व्यवसायिक खेती बढ्दै गए पनि अझै २० प्रतिशत फूल विदेशबाट आयात गरिन्छ । सयपत्री फूल रोप्न तथा रेखदेख गर्न सहज छ । यसलाई गमला तथा ब्याड दुवैमा हुर्काउन सकिन्छ । सयपत्रीको बीउ नेदरल्यान्ड, जापान, थाइल्यान्ड आदि देशबाट आयात गरिन्छ । साउन महिनामा रोपिने यो फूलको बिरुवा रोपेको ७० दिनपछि फुल्न थाल्छ । यो फूल तीन महिनामा ढकमक्क फुलिसक्छ । कात्तिक महिनामा यो फूल सबैजसो नेपालीको घर–आँगन तथा गमलामा ढकमक्क फुलेको देख्न सकिन्छ । यो फूल तिहार, विवाह उत्सव तथा अन्य उत्सवका साथै पूजामा प्रयोग गरिन्छ । सयपत्री रंगोली तथा सजावटका लागि समेत प्रयोग गरिन्छ । स्थानीय फूलको तुलनामा यसको विकासे (हाइब्रिड) जात ठूलो हुन्छ । सयपत्रीलाई सरलताको प्रतीक मानिन्छ । यसलाई लभ चार्मका रूपमा पनि लिइन्छ ।
मखमली
मखमली फूलको व्यवसायिक खेती भक्तपुरको गुन्डुमा छ । यो फूल रोपेको दुई महिनादेखि नै फुल्न थाल्छ । मखमली गमलामा भन्दा पनि जमिनमा राम्रोसँग फुल्छ । यो फूलले तिहारमा विशेष महत्व राख्छ । दिदीबहिनीहरूले मखमली फूलको माला दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीकाका दिन लगाइदिन्छन् । कहिल्यै नसुक्ने भएकाले भाइटीकामा यसको विशेष महत्व छ । अहिले विदेशमा पनि यसको माग बढ्दो छ । नओइलाउने भएकाले भाइटीकामा आफ्ना दाजुभाइलाई लगाइदिन विदेश गएका नेपालीहरूले समेत यो फूल मगाउने गरेका छन् । यो फूल प्याजी तथा सेतो गरी दुई रंगमा उपलब्ध छ । यो फूल फुल्न थाल्नुभन्दा पहिले दुईपटकसम्म गोडमेल गर्नुपर्छ । विकासे मखमली डेढ महिनासम्म बोटमा रहन्छ भने स्थानीय मखमली त्यसभन्दा लामो अवधिसम्म फुल्छ । विकासे फूल स्थानीयको तुलनामा केही ठूलो हुनुका साथै आकर्षक पनि देखिन्छ ।
गोदावरी
गोदावरी असार–साउनतिर रोपेपछि कात्तिकमा फुल्छ । यो फूलका चार सय प्रजाति छन् । जापानको राष्ट्रिय फूल गोदावरी सजावट तथा पुष्पविन्यासका लागि लोकप्रिय छ । यो फूलको सजावट करिब एक हप्तासम्म रहन्छ । अहिले यो फूलको बीउ नेपालमै तयार गरिन्छ । नयाँ–नयाँ भेराइटी भने भारत तथा नेदरल्यान्डबाट ल्याइन्छ । यो फूल ब्याड तथा गमलामा रोप्न सकिन्छ । गोदावरी गमलाभन्दा पनि ब्याड (जमिन) मा राम्रोसँग फुल्छ । यसको बोट ३ फिटसम्म अग्लो हुन्छ । यसलाई धेरै पानी पर्ने ठाउँमा रोप्नुहुँदैन । यसलाई पर्याप्त मात्रामा सूर्यको प्रकाश चाहिन्छ । हाँगै छोप्ने गरी ढकमक्क फुल्ने यो फूलले घरलाई सुन्दर देखाउँछ । फूल फुल्न थालेपछि यसलाई बाँसको कप्टेराले टेको दिए फूलको भार थाम्न सहयोग पुग्छ । यो फूल सेतो, हल्का गुलाबी, पहेंलो, प्याजी आदि अनैकौं रंगमा फुल्छ । सेतो रंगको गोदावरीलाई सत्यको तथा रातोलाई मायाको प्रतीकका रूपमा लिइन्छ । चाडपर्व तथा विभिन्न उत्सवमा मालाका लागि पनि यो फूलको प्रयोग गरिन्छ । यसका साथै यसको कटफ्लावर बुकेमा समेत प्रयोग गरिन्छ ।
फूल राम्रो बनाउन
बीउ छर्न क्यारी राम्रोसँग सफा गर्नुपर्छ ।
मलखाद मिसाई, हल्का पानी हालेर बीउ छर्कनुपर्छ । बीउ उम्रिएपछि कीरा लागेका बिरुवा उखेलेर फाल्नुपर्छ ।
गमलामा एउटा मात्र बिरुवा रोप्नुपर्छ । पात फैलन थालेपछि तथा जराले राम्रोसँग माटो समातेपछि यसको
टुप्पा काट्दै जानुपर्छ । यसो गर्दा नयाँ–नयाँ हाँगा पलाउँदै जान्छन् । यसले क्यारी तथा गमला दुवैलाई आकर्षक देखाउँछ ।
बिरुवा रोप्ने बेला मल हाल्नुपर्छ । त्यसपछि फुल्नुभन्दाअघि बीचको समयमा र फूलेपछि मल हाल्नुपर्छ । अहिले वाटर सोलुबल मल पनि उपलब्ध छ जसलाई पानीमा घोलेर प्रयोग गर्न सकिन्छ ।
गोडमेल गरेर मल हाल्नु फाइदाजनक हुन्छ । फूल फुल्नुअघि दुईपटक गोडमेल गर्नुपर्छ ।
बिरुवा रोपेपछि प्रत्येक दिन पानी हाल्नुपर्छ ।
प्रोप्राइटर, रक्षा नर्सरी