Successfully Copied

परिमार्जित र विकसित तीजका लागि के–कस्ता कुरा परिवर्तन गर्नुपर्ला ?

निराहार व्रतलाई म ठीक मान्दिन । यो स्वास्थ्यका दृष्टिले निकै हानिकरक छ । सुत्केरी आमा, ग्यास्ट्रिकका बिरामी तथा गर्भवतीहरूलाई यसले बढी असर गरिरहेको हुन्छ । परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ । दूध, फलफूल तथा प्रशस्त पानी पिएर व्रत बस्नु उपयुक्त हुन्छ । हरेक क्षेत्रमा

 

सदियौंदेखि निरन्तर चलिआएको हिन्दू नारीहरूको महान् पर्व तीज भगिनी मात्र नभई भातृत्व प्रगाढ तुल्याउने पर्वका रूपमा समेत चिनिन्छ । उहिले र अहिलेको तीजमा धेरै कुरा परिवर्तन भएको देख्न पाइन्छ । यो चाडलाई अझ परिमार्जित र विकसित बनाउन के–कस्तो सुधार आवश्यक छ भन्ने विषयमा फरक क्षेत्रमा महिलाहरूको धारणा :

ईम.प्रीति विष्ट, क्लिनिकल एम्ब््रयोलोजिस्ट, नेपाल अन्तर्राष्ट्रिय फर्टिलिटी तथा ल्याप्रोस्कोपिक सेन्टर

म तीजलाई परिवारका सदस्यहरू, साथीभाइ तथा माइतीसँग मिलेर रमाइलो गर्ने, मीठा परिकारहरू खाने तथा सुखदु:ख साट्ने चाडका रूपमा लिन्छु । समयसँगै परिवर्तन, परिमार्जन र विकास जरुरी छ, तर यस्ता परिमार्जन सांस्कृतिक तथा धार्मिक मूल्य–मान्यतामा असर नपर्ने गरी हुनु पनि त्यत्तिकै जरुरी छ । रुढिवादी र अवैज्ञानिक चलनलाई आँखा बन्द गरेर मान्नुपर्छ भन्ने छैन । तीजलाई भक्ति, प्रेम तथा सद्भावको चाड मानी फलाहार गरेर पनि मनाउन सकिन्छ । देखावटी रूपमा एक दिनका लागि मात्र नभएर, आफ्ना श्रीमान्, श्रीमती तथा परिवारका सदस्यहरूसँग भावनात्मक सम्बन्ध विस्तार गर्न त्यत्तिकै आवश्यक छ । फजुल खर्च र भड्किलो पहिरन, मद्यपान, तास, गरगहनाको प्रदर्शन तथा पार्टी प्यालेसमा गरिने खर्च अप्ठेरोमा परेका दिदीबहिनीहरूलाई सहयोग गरी तथा सामाजिक कार्यमा उपयोग गर्न सकिन्छ । महिला सशक्तीकरण र स्वच्छन्दताको भाव बोकेका गीतहरूको माध्यमबाट महिला अधिकार र दायित्वका बारेमा जनचेतना फैलाउन सकिन्छ । यसमा महिलालाई मात्र नभई पुरुषहरूलाई समेत समावेश गर्न सकिन्छ । अहिले तीजका नाममा थुप्रै विकृति भित्रिएका छन् । भड्किलो संगीत एवं नृत्य तथा देखावटीपनको अन्त्य गर्दै लानुपर्छ, स्वतन्त्रताको नाममा चाडपर्वको मौलिकता मास्ने काम बन्द गर्नुपर्छ । अहिले तीजमा महिलाहरूमाझ अपत्यारिलो प्रतिस्पर्धा देखिन्छ । यस्ता विकृतिमा नरमाई चाडपर्वलाई सभ्य एवं मर्यादित ढंगले मनाउनुपर्छ । समाजको परिवर्तन तथा महिलाहरूको सिर्जनात्मक विकासका लागि तीजलाई माध्यम बनाए, तीजको रमझमले थप सार्थकता पाउनेछ ।

वन्दना खाँड, अधिकारकर्मी तथा क्यान्सर रोकथाम अभियन्ता

विकृतिका रूपमा देखिएको महिनौंअघिदेखि दर खाने कार्यक्रम बन्द हुनुपर्छ । तीजमा भइनभई खोजेर वा मागेर लगाइने लुगाफाटा एवं गरगहनाको प्रदर्शनमा कमी ल्याउनुपर्छ । यसले घरभित्रको सुन्दर वातावरणमा खलल पुर्‍याउँछ । हेल्थ प्रस्पेक्टिभबाट फास्टिङ राम्रो हो तर श्रीमान्कै आयु वृद्धि हुन्छ भन्ने कुसंस्कारमा भने परिवर्तन परिवर्तन आवश्यक छ । श्रीमान्–श्रीमतीबीचको समझदारी बलियो बनाउन आपसी व्यवहार राम्रो हुनुपर्छ । मीठोचोखो खाने, माइती जाने, पारिवारिक जमघट यो संस्कारको अत्यन्त राम्रो पक्ष हो । अहिले मादल, खैंजेडी बजाउँदै दिदीबहिनी जम्मा भएर आफैं गीत गाउने चलन कमै पाइन्छ । यस्तो संस्कारलाई अघि बढाउनुपर्छ, महिलालाई अझ सशक्तीकरण गर्ने, महिला विकास र उत्प्रेरणाका रूपमा यो चाडको मूल मर्म मर्न नदिई यसलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ ।

नम्रता सापकोटा, नायिका तथा मोडल

हाम्रा संस्कार तथा परम्पराहरू अत्यन्तै सुन्दर छन् तर यसभित्रका विकृतिहरूलाई भने त्याग्नैपर्छ । तीजका सन्दर्भमा पानी नै नपिई व्रत बस्ने, श्रीमान्को खुट्टाको जल पिउने, महँगा गहना तथा लुगाफाटा प्रदर्शन गर्ने कार्य एवं होड कम हुनुपर्छ ।  साडी लगाएको मलाई असाध्यै राम्रो लाग्छ तर धान्नै नसक्ने प्रतिस्पर्धाले मलाई मात्र होइन धेरैलाई पोल्दो हो । व्रत स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो हो तर व्रत आफ्नो इच्छानुसार बस्नुपर्छ जबर्जस्ती होइन । अहिले तीजलाई हाम्रो परम्परागत चाडभन्दा पनि स्टेज शो र इभेन्ट बनाइएझैं लाग्छ जुन महिनौंअघि पार्टी–प्यालेसहरूमा मनाइन्छ, मलाई त्यस्तो चलन मन पर्दैन । उहिले आमा मामाघर गएर मामा–हजुरआमाहरूसँग रमाउने, फुपू दिदीहरू हाम्रो घरमा आएर बाबाहरूसँग नाच्ने र दरको दिन मीठा परिकार खाँदै रमाउने चलन देख्दै आएका हामीलाई अहिले भित्रिएका विकृति देखेर दिक्क लाग्छ । मोर्डनाइजेसनका नाममा विकृति कति हदसम्म सही हो ? कतिपय संस्कारलाई यथावत् रहन दिए मात्र त्यसको सौन्दर्य मर्न पाउँदैन ।

रक्षा आरसी शाह, बिएन नर्सिङ, नर्सिङ इन्स्ट्रक्टर

निराहार व्रतलाई म ठीक मान्दिन । यो स्वास्थ्यका दृष्टिले निकै हानिकरक छ । सुत्केरी आमा, ग्यास्ट्रिकका बिरामी तथा गर्भवतीहरूलाई यसले बढी असर गरिरहेको हुन्छ । परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ । दूध, फलफूल तथा प्रशस्त पानी पिएर व्रत बस्नु उपयुक्त हुन्छ । हरेक क्षेत्रमा लैङ्गिक विषय उठेकाले अब श्रीमतीले श्रीमान्का लागि मात्र होइन श्रीमान्ले पनि श्रीमतीका लागि व्रत बस्नुपर्छ । मेरा श्रीमान् मेरा लागि प्रत्येक तीजमा व्रत बस्नुहुन्छ । देखावटीभन्दा पनि आफूले सक्ने र भ्याउने ढंगले तीज मनाउनुपर्छ । परिवारका सदस्यहरू भेला भएर नाचगान एवं रमाइलो गर्दै यो संस्कारलाई निरन्तरता दिनुपर्छ ।

वन्दना पाठक, डेपुटी–चिफ एक्ज्युकेटिभ अफिसर,

एनसीसी बैंक

पहिलो त निर्जल, निराहार व्रत बस्नु स्वास्थ्यका दृष्टिले त्यति राम्रो होइन । वर्षमा केही दिन खाना नखाएर कुनै घाटा छैन । त्यसले शरीरको विकार नै कम गर्छ तर पानीसम्म नपिई निराहार व्रत बस्दा शरीरलाई क्षति पुग्छ । यो विषयमा महिला आफैं सजग हुनुपर्छ । अहिले तीजलाई भड्किलो तरिकाले मनाउने चलन भित्रिएको छ । यसलाई कम गर्नुपर्छ । बरु यो रिर्सोसेज अन्य सामाजिक कार्यमा लगाउँदा अझ बढी पुण्य कमाइन्छ कि ? महिला दिदीबहिनीहरू आफन्तसँग जमघट भएर सुखदु:ख साट्दा वा आफूसँग भएको आइडिया सेयर गर्दा अझ प्रोडक्टिभ भइन्छ, ऊर्जा मिल्छ । यसले शरीर र दिमागलाई सुचारु र तन्दुरुस्त बनाउन सहयोग गर्छ । थोरै परिमार्जन गरेर यो पर्वलाई निरन्तरता दिनुपर्छ ।

 Image