‘इन भोग–९’को विजेता प्रमिस र दिपिका
हाउस अफ फेसन नेपालले आयोजना गरेको ‘इन भोग–९’को विजेटा प्रमिस कोइराला र दिपिका थापा मगर भएका छन् ।
गत साता राजधानीको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा १६ जना युवतीहरु फेसन परीका रुपमा देखा परे । फेसनका परिमार्जित र चलन चल्तीका पहिरन शैलीहरुलाई आकर्षक ढंगबाट प्रस्तुत गर्ने क्रममा उनीहरुले ७८ फिट लामो रनवेमा करिब साढे दुई घण्टा ओहोर दोहोर गरे ।
गायिका एवं डिजाइनर मनिषा पोखरेलद्वारा तयार पारिएको ककटेल वेयर तथा क्याजुयल शैलीका साडीहरुको प्रस्तुतिबाट प्रारम्भ भएको उक्त फेसन शोले एस आर कलेक्सन एण्ड बुटिककी सुरक्षा रेग्मीले तयार पारेका विभिन्न स्टाइल, डिजाइन तथा स्वरुपका गाउनहरुको कलेक्सनको प्रस्तुतिबाट कार्यक्रमले बिट मारेको थियो ।
कार्यक्रममा चलचित्र रणवीरका अभिनेता शुशिल सिटौला, अभिनेत्री शुभेच्छा खड्का तथा पिंजडा ब्याक अगेनकी अभिनेत्री सारा शिर्पाली पनि रनवेमा प्रस्तुत भएका थिए । आर एण्ड आर ग्रुपको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो फेसन शोमा वचु जिन्सका सुनिल महर्जन तथा शुष्मा महर्जनले डेनिम जिन्ममा प्रयोग तयार पारेका विभिन्न स्वरुपका पहिरनहरु पनि प्रस्तुत गरिएको थियो ।

सबाह नेपालका लागि बिनी बज्राचार्य, रश्मी तण्डुकार, रिकेश कस्ती र अनिशा महर्जनले तयार पारेको ढाँका फ्याब्रिक मुख्य संयोजन रहेका ए लाइन एवं फिटेड पहिरनहरुको अनुपम दृष्य पनि कार्यक्रमको महत्वपूर्ण पाटो रह्यो ।
उक्त फेसन शोमा एलेक्सीस् कलेक्सन अन्तर्गत गोमा विष्टको प्रस्तुतिमा समर सिजनका लागि उपयुक्त विभिन्न क्याजुल वेयर पहिरनहरु पनि प्रस्तुत गरिएका थिए ।