पशुपतिको छेकिएको क्षमता

  • समाजसेवी तथा व्यवसायी

- उपासना घिमिरे, सिर्जना दुवाल श्रेष्ठ, लक्ष्मी भण्डारी थापा

चैत्र २०, २०७४

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :

पशुपति गुरुङ

गरिखाने कामलाई एकातिर राखी समाज र मुलुक बनाउने काममा अहोरात्र खटिरहेकी पशुपति गुरुङ आम व्यक्तिभन्दा फरक छिन् । गुरुङले थोरै समय सुतेर सामाजिक सेवामा आफ्नो समय खर्चिएकी छिन् । म बरु मेरो पेसा छोड्न सक्छु नेपाल बनेको नहेरी मर्न चाहन्न–गुरुङले भनिन्– विदेशमा कति सरसफाइ हुन्छ, एकले अर्कासँग बोल्दा कति नम्र भएर बोल्छन् । यहाँ पनि सोही आचरणको विकास गर्न यसरी खटिरहेकी छु । गुरुङ आशावादी पनि छिन् । उनी भन्छिन्– म एकजनाले गरे अर्कोले सिक्छ उसले फेरि अर्कोलाई सिकाउंँछ ।

पेसाले व्यापारी गुरुङले जापान र कोरियामा ठूलो संघर्ष गरेकी छिन् । आफ्ना कलिला दुई छोरीलाई स्वदेश छाडेर विदेशमा एक्लै संघर्ष गर्नुको पीडा उनी अहिले पनि बिर्सन सक्दिनन् । लामो विदेश बसाइपछि उनलाई अब आफ्नै मुलुक बनाउनुपर्छ भन्ने लाग्यो र स्वदेश फर्किन् ।  उनी विदेशमा देखेको संस्कार, सभ्यता र आचरण यहाँ फेला पार्न मुस्किल भएको बताउँछिन् ।

गुरुङका अनुसार नागरिकको भावनामा सकारात्मक विकास नल्याई देश विकास सम्भव हँुदैन । आमनागरिकको आचरण सुधार एवं त्यसको अभिवृद्धिका लागि आधार तयार गर्नुपर्छ । त्यसका लागि गुरुङले संस्कार समाज नेपाल नामक संस्था गठन गरी सम्पूर्ण नेपालीमा सकारात्मक भावना जागृत गराउने पहल  गरिन् । संस्थाको सात सदस्यीय समितिका सबै पदाधिकारी महिला छन् ।

यो संस्थाका महिलाहरू प्रत्येक शनिबार हातमा कुचो लिएर सडकमा निस्कन्छन् । बाटोमा फालिएको फोहोर संकलन गर्छन् । घरधनीहरूलाई विनम्र भाषामा बाटोमा फोहोर नफाल्न आग्रह गर्छन् । आचरण एक पटकमा नसुध्रिने हुँदा एउटै ठाउँमा तीन पटकसम्म पुग्ने गरेको उनले बताइन् । कतिपय नागरिकले ‘हामीले गरेर कहाँ हुन्छ ? भन्दै निरुत्साहित गर्ने गरेको समेत उनको अनुभव छ । संस्कार समाजले एकै समयमा सबैको मनोभावना परिवर्तन गर्ने लक्ष्य लिएको छैन ।

‘एक सय जनामध्ये एकजनालाई बुझाउन सकियो भने बाँकी ९९ जना हुन्छन् । त्यसबाट पनि एक–एक गरी घटाउँदै जाने हो ।’ गुरुङले भनिन् । सार्वजनिक सवारी साधनमा अपशब्द बोलेको अवस्थामा उनी यात्रु, चालक वा सहचालकहरूलाई विनम्र तरिकाले सम्झाउँछिन् ।

१० वर्ष जापान तथा १२ वर्ष दक्षिण कोरियामा बिताएकी गुरुङमा के विश्वास छ भने नागरिकको आनीबानीमा सुधार भए देशविकासले गति लिन्छ । नैतिक शिक्षाको अभावका कारण मानिसहरू अविवेकी भएको उनले बताइन् । किताबी ज्ञानले मात्र बालबालिकाहरूको सर्वाङ्गीण विकास हुँदैन भन्दै उनको संस्थाले उपत्यकाका विद्यालयहरूमा नैतिक शिक्षाको कक्षा पनि संचालन गर्ने भएको छ । असभ्य बानी हटाउन उमेर पुगेका मानिसहरूको बोलीमा सुधार ल्याउने उनको पहल जारी छ । उनको संस्थाले बस तथा ट्याक्सी चालकको बोली एवं व्यवहारमा परिवर्तन ल्याउन सचेतनामूलक कार्यसमेत संचालन गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>