Successfully Copied

क्रियटिभ जोडि

हामी हरेक दिन सिक्ने प्रयासमा हुन्छौं । त्यसैले हामी आफूलाई सिकारुका रूपमा लिन्छौं साथै हामी भित्रैबाट हाँस्छौं, हामीलाई संसारको नम्बर वान हुनु छैन । हामी आफ्नो सन्तुष्टि र खुसीमा विश्वास राख्छौं । हामी कुनै पनि काम प्रेसरमा गर्दैनौं ।

                                    किशोर कायस्थ (फोटोग्राफर)

फोटोग्राफी र आर्ट दुवै कलाका क्षेत्र हुन् । यी दुवैमा के–कस्तो सहयोग आदान–प्रदान भैरहेको छ ?

पक्कै पनि मीनाको कला र मेरो फोटोग्राफी कलाकै दुई रूप हुन् । हामीलाई हाम्रो कामप्रति उत्सुकता, प्रेम एवं रुचि छ । दुवैको काम सिर्जनशील भएकाले एक–अर्काका कामहरू देखाउने, कस्तो भएको छ कमेन्ट गर्ने गर्छौं । हामीसँग धेरै सपना छन् । त्यसैले हामी काममा रमाउँछौं ।

तपाईंहरूको अफेयर र विवाहका बारेमा केही बताइदिनुहोस् न ?

मीना दत्तात्रेयमा बस्थिन् र म दरबार स्क्वायरमा । हामीले एक–अर्कालाई नदेख्दै कुराकानीकै भरमा प्रेम गरेका हौं । हामी फोन फ्रेन्ड हौं । मीनाले एसएलसी दिएपछि हामीले भागी विवाह गरेका हौं ।

भनिन्छ कुनै पनि पुरुषको सफलतामा महिलाको हात हुन्छ, यो भनाइ तपाईंमा कत्तिको मिल्दो छ ?

मीना मात्र त्यस्ती व्यक्ति हुन् । उनी म जिरोमा हुँदादेखि मलाई सपोर्ट र विश्वास गर्ने पात्र हुन् । उनको मप्रतिको विश्वास, समर्पण एवं सहयोगले नै म यहाँसम्म आइपुगेको हुँ ।

छोरा ठूलो भैसक्दा पनि आमाबुवा युवा देखिनुको रहस्य के होला ?

हामी हरेक दिन सिक्ने प्रयासमा हुन्छौं । त्यसैले हामी आफूलाई सिकारुका रूपमा लिन्छौं साथै हामी भित्रैबाट हाँस्छौं, हामीलाई संसारको नम्बर वान हुनु छैन । हामी आफ्नो सन्तुष्टि र खुसीमा विश्वास राख्छौं । हामी कुनै पनि काम प्रेसरमा गर्दैनौं ।

मूर्तिकारका रूपमा मीनाको कला तपाईंलाई कस्तो लाग्छ ?

मलाई त उनको हरेक काम अति नै राम्रो लाग्छ किनभने उनी र मबीच विशेष कनेक्सन छ ।

                                          

                                           मीना कायस्थ (मूर्तिकार)

किशोरजीलाई देख्दै नदेखी कसरी मन पराउनुभयो ?

किशोरले फोनमा कुरा गर्दा मोटिभेसनका अनि क्रियटिभ कुराहरू गर्थे । विवाहअघि नै फोटोग्राफीमा किशोरको नाम बनिसकेको थियो । जीवनमा सफल हुनुभन्दा पनि आफ्नो पहिचान बनाउनुपर्छ भन्ने उनको कुराले मलाई आकर्षित गर्‍यो । प्रेममा अनुहारको भन्दा कनेक्सनको बढी महत्व हुन्छ । अनुहार मात्र हेरेर गरिएको प्रेम सही अर्थको प्रेम होइन ।

बुहारी भएपछि आफ्नो काममा कत्तिको कठिनाइ अनुभव गर्नुपर्‍यो ?

मैले विवाहपछि नै कलेज पढेकी हुँ । कलेज पढ्दापढ्दै आर्टतिर लागें । मलाई कहिल्यै बुहारी हुँ, यसमा सीमित हुनुपर्छ भन्ने बार लगाइएन । अझ किशोरकी आमाले नै खाना बनाउने, छोराहरू हेरिदिने गर्नुहुन्थ्यो । सासूले नै तिमीलाई छोटो स्कर्ट सुहाउँछ, कुर्ता, साडी नलगाऊ भन्नुहुन्थ्यो ।

श्रीमानसँग कत्तिको फोटो खिचाउनुहुन्छ ?

सुरुमा जहाँ गए पनि फोटो खिचाइहाल्थें तर अहिले फोटो खिचाउँदा पोज दिएजस्तो लाग्छ । बरु त्यत्तिकै थाहा नहुने गरी खिचिएका तस्बिर मनपर्छन् ।

श्रीमानका हटाउनुपर्ने बानी के–के छन् ?

चुरोट धेरै पिउने बानी हटाउन सके एकदमै राम्रो हुन्थ्यो भने एक्साइटेड भएर काम गर्ने तर पैसाका बारेमा नसोच्ने, आफैले इनभेस्ट गर्ने बानी हटाउनुपर्छ ।

श्रीमानको फोटोग्राफीका बारेमा तपाईंको धारणा ?

उनी हरेक समय नयाँ–नयाँ एंगलमा काम गरिरहेका हुन्छन् । उनका सबै काम ए वान छन् ।

 Image