Successfully Copied

मानिसको प्रिय साथी

घरमा कोही छ उसलाई ख्वाउनुपर्छ, जिम्मेवारी छ भनेर घरपालुवा जनावर पाल्नेहरू पनि छन् । यद्यपि धेरैले साथीका रूपमा कुकुर नै पाल्छन् किनभने कुकुर घरको सुरक्षामा समेत सहायक हुन्छ ।

मानव समाज स्वार्थी हुँदै गएको छ । त्यसैले धेरैले कुकुर, बिरालो, खरायो एवं चराचुरुंगीलाई आफ्नो मिल्ने साथीका रूपमा लिन थालेका छन् । पहिले घरको सुरक्षाका लागि पालिने कुकुर हिजोआज एकान्तको साथी अनि डिप्रेसनको औषधि समेत हुन थालेको छ । अहिले एकल परिवारको चलन बढ्नु, मानिसले मानिसप्रति पूर्ण विश्वास गर्न नसक्नु, छोराछोरी विदेश गएर नफर्कनु आदि कारणले एक्लोपन हटाउन कुनै न कुनै जनावर पालिन्छ । घरमा कोही छ उसलाई ख्वाउनुपर्छ, जिम्मेवारी छ भनेर घरपालुवा जनावर पाल्नेहरू पनि छन् । यद्यपि धेरैले साथीका रूपमा कुकुर नै पाल्छन् किनभने कुकुर घरको सुरक्षामा समेत सहायक हुन्छ । मानिसमा सबै भएर पनि कोही आफ्नो छैन भन्ने सोच झाँगिने क्रमसँगै आफ्नो भाव मूक पशुपक्षीहरूसँग साटासाट गर्ने बानीको विकास हुँदै गएको पाइन्छ ।

परिवार, आफन्त एवं साथीहरूले बुझ्न नसकेको कुरा आफूले पालेको कुकुरले बुझ्ने नायिका प्रियंका कार्की बताउँछिन् । उनलाई सानैदेखि कुकुरप्रति निकै मोह छ, अहिले पनि थाकेर घर आउँदा काखमा कुकुर आएर बस्दा, उफ्रिएर खेल्दा सबै थकान हटेको अनुभव हुन्छ । प्रियंका कुकुरलाई आफ्नै कोठामा सुताउँछिन् । प्रियंका भन्छिन्–‘हरेक सम्बन्धमा धोका हुनसक्छ तर आफूले पालेको कुकुरले कहिल्यै धोका दिँदैन ।’ कुकुर प्रशिक्षक सुस्मिता रञ्जित नबोली फिलिङ सेयर हुने हुँदा कुकुरप्रति आफ्नो रुचि बढेको बताउँछिन् । कुकुरले मालिक खुसी भएको, दु:खी भएको आदि सबै कुरा सजिलै बुझ्ने रञ्जितको अनुभव छ । उनीहरू गाली गर्दा पनि पुच्छर हल्लाउँदै खेल्न आउँछन् । कामको टेन्सन हुँदा पनि कुकुरसँग एकछिन खेल्दा टेन्सन फ्रि हुने सुस्मिता बताउँछिन् ।

क्याम्पियन एकडेमीमा अध्ययनरत मान्यश्री श्रेष्ठले ६ कक्षादेखि नै डली नामक पग पालेकी हुन् । मान्यश्रीलाई जस्तोसुकै टेन्सन, रिस भए पनि एकैछिन सानैदेखि आफूले नै हुर्काएको पगसँग खेल्दा फ्रेस अनुभव हुन्छ । श्रेष्ठका अनुसार आफूले पालेका कुकुरहरू आफूप्रति सधैं बफादार हुन्छन्, मानिसजस्तो स्वार्थी कहिल्यै हुँदैनन् । स्नेहा केयरकी स्नेहा भन्छिन्–बिरामी तथा बूढाबूढीहरूलाई कुकुरको बीचमा राख्दा उनीहरू खुसी मात्र हुँदैनन् फ्रेस फिलसमेत गर्छन् । टेन्सनले मानसिक रूपमा रोगी बनेकाहरूका लागि त कुकुरलगायत घरपालुवा खरायो, कछुवा, मुसा, एक्वेरियममा माछा आदि पाल्दा रोग कम हुँदै जाने श्रेष्ठले बताइन् ।

कुकुर प्रशिक्षक प्रवीण श्रेष्ठ पनि अहिले नेपालमा घरपालुवा जनावर पाल्ने चलन बढ्दै गएको बताउँछन् । घरपालुवा जनावर पाल्दा नराम्रो संगत हट्ने, मानसिक रूपमा स्वस्थ हुने, क्रियटिभ काम गर्ने जागरुकता पलाउने आदि सकारात्मक परिवर्तन देखा पर्छन् । भर्खरै उनले ७६ वर्षीय एक पूर्व अर्थमन्त्रीलाई डेढ लाखको कुकुर बेचेका थिए । बिमारी अवस्थामा रहेका ती पूर्व अर्थमन्त्रीको घरमा कुकुर पाल्न थालेपछि धेरैले यस्तो बिमारीको घरमा किन कुकुर ल्याएको भनेर गाली गरेका थिए तर एक हप्तापछि बिरामी फ्रेस भएर हिँड्न–डुल्न थालेपछि आफूले धन्यवाद पाएको कुरा सुनाउँदै प्रवीणले भने–अहिले हरेक परिवारले कुकुर, बिरालो, मुसा वा चराचुरूंगी पाल्नैपर्छ, जसले गर्दा मनमा शान्ति र उत्साह वृद्धि हुन्छ ।  

 Image