Successfully Copied

कैयौं पटक मृत्युको मुखमा पुगेर जोगिएकी ओनसरी घर्ती

०५८ सालमा आफू दाङको इन्चार्ज हुँदा एकाध घरमा टेलिफोन हुने र टेलिफोन भएको एक घरबाट केन्द्रमा सूचना पठाउँदा उक्त घरधनीले सुराकी लगाइदिएपछि दाङको बिजौरीदेखि बाँसगढीमा सेनाको घेरामा परेको उनले बताइन् । त्यतिबेला बाँच्ने आशा नै गुमेको घटना सुनाउँदा ओनसरी भावविह्वल देखिइन् ।

कैयौं पटक मृत्युको मुखमा पुगेर जोगिएकी पूर्वसभामुख ओनसरी घर्ती युद्धकालमा रोल्पा, रुकुम, सल्यान, प्यूठान, दाङ आदि भू–भागमा मात्र होइन पूर्वको सिन्धुलीगढीमा समेत सक्रिय थिइन् । रोल्पाका किसान प्रसाद तथा नौमती घर्तीका ७ सन्तानमध्येकी एक ओनसरी २०४८ देखि अर्धभूमिगत तथा २०५२ देखि पूर्ण भूमिगत राजनीतिमा रहिन् । वि.सं. २०३४ सालमा रोल्पामा जन्मिएकी घर्तीको वि.सं. २०५२ भदौमा तत्कालीन लडाकु वर्षमान पुनसँग जनवादी विवाह भएको थियो ।

रोल्पाको होलेरीमा पहिलो पटक कमाण्ड सम्हाल्दै युद्धमा सहभागी भएकी ओनसरी त्यतिबेला जाली, फटाहा एवं सुदखोरहरूलाई लक्षित गरी चेतावनी दिने तथा सूचना लिनेजस्ता कार्यमा आफूहरू बढी केन्द्रित भएको बताउँछिन् । ०५८ सालमा आफू दाङको इन्चार्ज हुँदा एकाध घरमा टेलिफोन हुने र टेलिफोन भएको एक घरबाट केन्द्रमा सूचना पठाउँदा उक्त घरधनीले सुराकी लगाइदिएपछि दाङको बिजौरीदेखि बाँसगढीमा सेनाको घेरामा परेको उनले बताइन् । त्यतिबेला बाँच्ने आशा नै गुमेको घटना सुनाउँदा ओनसरी भावविह्वल देखिइन् ।

वि.सं. २०६२ मा शान्ति प्रक्रियामा आउनुभन्दा केही दिनअघि मात्र आफूहरूले चौतारा हान्दा उतिबेला देशैभरि ठूलो हंगामा मच्चिएको र त्यसले तत्कालीन सत्तासीनहरूलाई नराम्रो धक्का पुर्‍याएको उनको बुझाइ छ । शान्ति प्रक्रियाकै बेला माओवादी अन्तरिम संसद्मा प्रवेश गर्‍यो । उनको क्रियाकलापलाई नजिकबाट नियालिरहेका प्रचण्डकै पहलमा उनी ०७२ मा मुलुककै प्रथम महिला सभामुख बन्न सफल भइन् ।

सभामुख बन्दा उत्साह र दबाब एकैपटक महसुस गरें–ओनसरीले भनिन्–धेरै सकारात्मक समर्थन र सहयोगले पनि कहिलेकाहीँ प्रेसर महसुस गराउँदो रहेछ जुन मलाई सभामुख भएपछि अनुभूति भयो । यस्तो अवस्थामा कसरी राम्रो गर्दै जाने ? भन्ने प्रश्नले गाह्रो बनाउँदो रहेछ । यद्यपि काम गर्दै जाँदा आत्मविश्वास बढ्दै गयो । मैले सदनभित्र बनाएको अघोषित सल्लाहकार समूहले मलाई ठूलो सहयोग गर्‍यो ।

सभामुख हुँदा महिलाहरूको मर्म बुझेर इच्छापत्र (विल सिस्टम) सम्बन्धी कानुन खारेज गर्न घर्तीको ठूलो योगदान छ । अति विकसित मुलुकलाई हेरेर त्यस्तो कानुन बनाउँदा समय र परिस्थिति सापेक्ष नहुने कुरा बुझेरै उनले त्यसमा जोड दिएकी थिइन् । त्यसका अतिरिक्त उनी सभामुख हुँदा महिलाका थुप्रै सकारात्मक विधेयक पास भए, कानुन बने । राजनीतिलाई सबैभन्दा ठूलो जनसेवा एवं समाजसेवा मान्ने घर्तीको अबको बाटो पनि राजनीति नै हो । ओनसरीले भनिन्–जुन जिम्मेवारी पाउँछु त्यही स्थानमा रहेर महिला–बालबालिका, सीमान्तकृत, गरिब तथा पछाडि पारिएका समुदायका निम्ति काम गर्नेछु । मुख्यत: शिक्षा एवं महिला क्षमता–दक्षता अभिवृद्धिमा केन्द्रित हुने रहर छ ।

 Image