Successfully Copied

विवाहपूर्वको आशंका

विवाहपूर्व हरेक युवतीको मनमा के प्रश्न उठ्छ भने जोसित उनी प्रणयसूत्रमा बाँधिन जाँदैछिन् के ऊ राम्रो जीवनसाथी बन्न सक्छ ? विवाहपूर्व हरेक युवतीले आफ्नो भावी जीवनसाथीले आफूलाई प्रेम गरोस्, आफ्नो पूर्णरूपमा ख्याल राखोस् भन्ने चाहना गरेका हुन्छन् र यही चाहनाले उनीहरूमा डर सिर्जना

युवा हुन् वा युवती विवाहका सम्बन्धमा सबैजसो उत्साहित हुन्छन् तर उनीहरूमा कहीँ–कतै डर वा आशंका समेत हुन्छ ।

जिम्मेवारी पूरा गर्ने डर

अधिकांश युवतीलाई विवाहपछि श्रीमान्को घर गएर जिम्मेवारी निर्वाह गर्न सक्छु कि सक्दिन भन्ने डर हुन्छ । विवाहपूर्व उनीहरू आफ्नो घरमा आरामसित बसेका हुन्छन्, उनीहरूमाथि कुनै प्रकारको जिम्मेवारी हुँदैन, तर बुहारी बनेर कसैको घर भित्रिएपछि उनीहरूले थुप्रै जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । नवदुलहीलाई श्रीमान्को घरका परिवारजनले रुचाउँछन् कि रुचाउँदैनन् भन्ने कुराको चिन्ता हुन्छ । आफूले गरेको काम सासू–ससुरालगायत घरका अन्य सदस्यले मन पराउँछन् कि मन पराउँदैन् भन्ने कुराले पनि उत्तिकै पिरोल्छ भने सबैको मन जित्न सकिन्छ कि सकिँदैन भन्ने कुराको आशंका पनि उत्तिकै हुन्छ ।

स्वतन्त्रता गुम्ने डर

युवतीहरूलाई आफ्नो स्वतन्त्रता गुम्ने डर पनि उत्तिकै हुन्छ । अहिलेसम्म उनीहरू आफ्नो घरमा विन्दास जीवन बिताइरहेका थिए, न कोही रोक्ने, न त कसैले हस्तक्षेप गर्ने । जस्तो मन लाग्यो त्यही लगायो, जस्तो मन लाग्यो त्यही गर्‍यो । विवाहपछि त्यो सबै सम्भव होला–नहोला भन्ने डर जोकसैमा हुनु स्वाभाविक हो । विवाहपूर्व हरेक युवतीमा आफ्नो स्वतन्त्रता खोसिन्छ कि भन्ने शंका उत्पन्न हुन्छ । विवाहपछि कतै जान, केही गर्न सासू–ससुरा वा श्रीमान्को अनुमति माग्नुपर्ने वा अरु कसैको नियमअनुरूप जीवन गुजार्नुपर्ने डर पनि हुन्छ ।

सामन्जस्य स्थापना गर्न नसकिएला कि ?

नयाँ परिवारमा सामन्जस्यता कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने डर सबैजसो नवदुलहीमा रहन्छ । विवाहपछि कुनै पनि युवती श्रीमती मात्र होइन अन्य कतिपय सम्बन्धमा बाँधिन्छन् र उनीबाट ती सबै सम्बन्धमा सामन्जस्य स्थापित गर्नुपर्ने अपेक्षा राखिन्छ । नवदुलहीले ती सबै सम्बन्धको मान–सम्मान गर्नुपर्ने बाध्यता हुन्छ । त्यस क्रममा कतै गल्ती भए कोही रिसाउने त होइनन् भन्ने डर हुन्छ ।

मानसिक स्तर एक नहुने डर

विवाहपूर्व युवा–युवतीबीच जति नै भेट किन नहोस् (घुमफिर, फोनमा कुराकानी आदि) तैपनि युवतीको मनमा विवाहपछि जीवन कस्तो होला भन्ने डर रहन्छ । हामी दुवैको विचार आपसमा मिल्छ कि मिल्दैन ? कारण जब दुई अलग–अलग सोच राख्ने व्यक्तिले सँगै बस्ने निर्णय लिन्छन् वा प्रणयसूत्रमा बाँधिन्छन् तब उनीहरूमा केही समानता तथा केही असमानता देखिन्छ । दुवैको मानसिक स्तर अलग हुनसक्छ । मानसिक स्तरको भिन्नताले विवाहपछि एकसाथ रहन सकिने सम्भावना समाप्त पार्ने हुनाले यस्तो डर सिर्जना हुनु स्वाभाविक हो ।

जीवनसाथीका सम्बन्धमा आशंका

विवाहपूर्व हरेक युवतीको मनमा के प्रश्न उठ्छ भने जोसित उनी प्रणयसूत्रमा बाँधिन जाँदैछिन् के ऊ राम्रो जीवनसाथी बन्न सक्छ ? विवाहपूर्व हरेक युवतीले आफ्नो भावी जीवनसाथीले आफूलाई प्रेम गरोस्, आफ्नो पूर्णरूपमा ख्याल राखोस् भन्ने चाहना गरेका हुन्छन् र यही चाहनाले उनीहरूमा डर सिर्जना गर्छ । आफ्नो जीवनसाथीले जीवनभर यत्तिकै माया गरिरहन्छ ? आफ्नो जीवनसाथी विश्वासपात्र हुन्छ ? भरोसा गर्न लायक हुन्छ–हुँदैन भन्ने कुरामा पनि उनीहरू उत्तिकै चिन्तित हुन्छन् ।

युवकमा हुने आशंका स्वतन्त्रतामा लगाम लाग्छ कि ?

कतिपय युवती विवाहपछि श्रीमान्माथि रोक–टोक लगाउँछन् । कहाँ जाँदै हुनुहुन्छ, अफिसबाट फर्कन किन ढिला ? फोन किन व्यस्त थियो आदि कुराले गर्दा युवकलाई डर रहन्छ कि कतै उनी विवाहपछि नियन्त्रित हुने त होइनन् ? विवाहपछि हरेक कुराको हिसाब–किताब आफ्नी श्रीमतीलाई दिनुपर्ने आशंका पनि युवकहरूमा रहन्छ । अहिलेसम्म मस्तीपूर्ण जीवन थियो, साथीभाइहरूसँग रमाइलो गरिन्थ्यो, तर अब यो सबै बन्द हुन्छ । घर पुग्न ढिलो भयो भने थुप्रै प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । यिनै कुरा सोचेर विवाहपछि आफ्नो स्वतन्त्रतामा लगाम लाग्ने हो कि भन्ने डर सबैजसो पुरुषमा हुन्छ ।

अतीतको रहस्य भण्डाफोर भयो भने

प्राय: युवालाई विवाहपछि आफ्नो अतीतको पर्दा खुल्ने डर हुन्छ । यदि केटापक्षले युवकको कमाइ लुकाएको छ, पढेलेखेको भनेर ढाँटेको छ वा विवाहपूर्व कसैसित अफेयर थियो वा त्यस्तो कुरा जुन युवतीले विवाहपूर्व थाहा पाउनुपर्ने थियो, लुकाइयो वा भनिएन भने विवाहपछि त्यो कुरा खुल्ने डर हुन्छ ।

ड्रामा क्विन त होइन नि

पुरुषलाई आफ्नो भावी जीवनसाथी बढी रुने, इमोसनल स्वभावकी होलिन् कि भन्ने डर लाग्छ । यदि श्रीमती त्यस्ती भए इमोसनल ब्ल्याकमेल गरी आफूलाई नियन्त्रणमा राख्छिन् भन्ने डर उनीहरूमा हुन्छ । महिलालेझैं पुरुषले पनि आफ्नो जीवनसाथी असल होस् भन्ने सोच राख्नु स्वाभाविक हो । आफ्नी जीवनसाथीले आफ्नो ख्याल गरोस्, आफ्नो रुचि–अरुचि बुझोस् । परिवारजनको मन दुख्ने तथा मन नपर्ने काम नगरोस् भन्ने चाहना सबै पुरुषमा हुन्छ । यसमा तलमाथि हुन्छ कि भन्ने डर पनि उत्तिकै हुन्छ भने ससुराली आउँदा गुनासाका पोका खोलेर ड्रामा गर्ने खालकी हुन् कि भन्ने आशंकाले पनि सताउँछ पुरुषलाई ।

कतै बढी डिमान्डिङ त छैनन् ?

युवती चाहे कामकाजी हुन् वा नहुन् विवाहपछि पुरुषले नै घरको सम्पूर्ण जिम्मेवारी उठाउनुपर्ने हाम्रो सामाजिक मान्यता रहिआएको छ । जीवनसाथीको नाताले त्यो पुरुषको दायित्व पनि मानिँदै आएको छ । आफ्नी श्रीमतीको खुसीको ख्याल राख्नु श्रीमान्को कर्तव्य हो । विवाहपूर्व सबैजसो पुरुषमा आफ्नो भावी जीवनसाथी बढी डिमान्डिङ त छैनन् भन्ने चिन्ता हुन्छ । विवाहपछि खर्च मात्र गराएर आफ्नो इच्छा पूरा गर्ने खालकी पर्ने त होइनन् भन्ने डर सबैजसो पुरुषमा हुन्छ । अहिलेसम्म त आफ्नो मात्र जिम्मेवारी थियो, विवाहपछि श्रीमतीको पनि जिम्मेवारी थपिन्छ, तसर्थ खर्च बढ्छ नै । यस्तोमा बढी डिमान्ड गर्ने श्रीमती परिन् भने के गर्ने भन्ने डरले प्राय: पुरुषलाई सताउँछ ।

मिलनसार नहुने हुन् कि ?

प्रत्येक पुरुषले विवाहपछि आफ्नी श्रीमतीले जसरी आफ्नो ख्याल राख्छिन्, त्यसरी नै आफ्नो परिवारजनको पनि ख्याल राखून् भन्ने चाहना राख्छन् । उनीहरूको चाहना हुन्छ–श्रीमतीको राम्रो व्यवहारले सम्पूर्ण परिवारमा खुसी छाओस् । उनले सानालाई माया र ठूलाको सम्मान दिन सकून् । विवाहपछि श्रीमान् मात्र सर्वोपरि हुने, बाँकी परिवारजनको वास्ता नगर्ने श्रीमती भइन् भने घर बिग्रने आशंका पुरुषमा सदैव रहन्छ ।

ध्यान दिनुपर्ने कुरा

-  संसारमा कोही परफेक्ट हुँदैन भन्ने कुरा युवा–युवती दुवैले राम्रोसँग बुझ्नुपर्छ । यद्यपि आफ्ना कमी–कमजोरीहरू सुधारेर कसैको पनि मन जित्न सकिन्छ ।

-  जिम्मेवारीबाट भाग्नु हुँदैन, आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रयास गर्नुपर्छ ।

-  विवाहपूर्व आफ्नो अतीत बताउन जरुरी लाग्छ भने बताउन सकिन्छ । कारण एक–अर्काका बारेमा जानकारी पाउनु दुवैको अधिकार हो । जुन कुरा बताउनु आवश्यक हुँदैन र सम्बन्धमा त्यसले खासै प्रभाव पार्दैन भने खुल्ला किताब हुनु पनि ठीक होइन । यद्यपि यस्ता कुरा बताउँदा सम्बन्धित व्यक्ति समझदार र बुझ्ने खालको छ–छैन यकिन हुनु उपयुक्त हुन्छ ।

- सफल दाम्पत्य जीवनका लागि एक–अर्काका कमीहरूलाई नजर अन्दाज गर्दै एक–अर्काको सुख–दु:खमा सहभागी हुनु आवश्यक हुन्छ ।

-  एक–अर्काबाट अत्यधिक अपेक्षा राख्नु ठीक होइन । कारण विवाहपूर्व बढी अपेक्षा राख्दा विवाहपछि त्यो पूरा नभए सम्बन्ध सुखद् रहन सक्दैन । अत: एक–अर्काबाट धैरै होइन उचित मात्र अपेक्षा राख्नुपर्छ ।

- एक–अर्काको व्यक्तिगत स्वतन्त्रता एवं भावनाको पनि उत्तिकै कदर गर्नुपर्छ भने आपसी सल्लाहमा निर्णय लिनुपर्छ । एक–अर्काको गुणको प्रशंसा गरी आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । एक–अर्काबाट बढी अपेक्षा राख्ने, हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, बढी पोजेसिभ हुने, अनुत्तरदायी व्यवहार गर्नेजस्ता क्रियाकलापलाई सम्बन्धका बीच आउन दिनु हुँदैन ।

 Image