Successfully Copied

केश प्रत्यारोपण केश प्रत्यारोपण

एउटा सामान्य स्वस्थ टाउकोमा लगभग एक लाखवटा केश हुन्छ । जहाँ प्रति १ सेन्टिमिटरको दूरीमा २ सयवटा केश हुन्छन् । पुरुषको केश सामान्यत: २० वर्षको उमेरपछि झर्न थाल्छ । पुरुषको मुडुलोपन टाउकोको अघिल्लो भागबाट सुरु हुन्छ ।

-डा. रुपक घिमिरे,

डम्र्याटोलोजिस्ट तथा हेयर ट्रान्सप्लान्ट सर्जन, आवरण हेयर एन्ड स्किन क्लिनिक

 केश प्रत्यारोपण के हो ?

झरेको केश पुन: उमार्ने प्रविधि नै केश प्रत्यारोपण हो ।

केश प्रत्यारोपण गर्न आउनेमा महिला तथा पुरुषमा को बढी छन् ?

महिलाभन्दा पुरुषमा केश झर्ने समस्या बढी हुन्छ । केश प्रत्यारोपणका लागि पुरुष नै बढी आउँछन् ।

केश झर्ने प्रकृति कस्तो हुन्छ ?

एउटा सामान्य स्वस्थ टाउकोमा लगभग एक लाखवटा केश हुन्छ । जहाँ प्रति १ सेन्टिमिटरको दूरीमा २ सयवटा केश हुन्छन् । पुरुषको केश सामान्यत: २० वर्षको उमेरपछि झर्न थाल्छ । पुरुषको मुडुलोपन टाउकोको अघिल्लो भागबाट सुरु हुन्छ । यसलाई नाइट्रेम्पोरल रिसेसन भनिन्छ । यो बिस्तारै पछाडितिर बढ्छ । यद्यपि टाउकाको पछाडिको भाग केशको स्थायी क्षेत्र हो जहाँ बूढेसकालमा पनि केश झर्दैन ।

प्रत्यारोपणका लागि केश कसरी निकालिन्छ ?

डोनर क्षेत्र अर्थात् टाउकाको पछाडि र दाह्रीबाट केश निकाल्न सकिन्छ । स्ट्रिप विधिमा छालाको १० देखि १५ सेन्टिमिटर लामो र १ देखि १ दशमलव ५ सेन्टिमिटर चौडा हेयर फोलिसिस सहितको स्ट्रिप टाउकोको पछाडिको भागबाट निकालिन्छ । यसले गर्दा टाउको पछाडिको भागमा लामो खत बस्छ । उक्त स्ट्रिपबाट खाली ठाउँमा प्रत्यारोपण गर्न एक–एकवटा फोलोसिस छुट्टाइन्छ । अर्को विधि फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन विश्वकै लागि नवीनतम प्रविधि हो । यसमा एक–एकवटा फोलिसिस युनिट निकालिन्छ । यो घाउ एकदुई हप्तामा निको हुन्छ । यसमा खत पनि बस्दैन । यो प्रविधिअनुसार केशलाई निकालेर तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले केश मर्ने सम्भावना कम हुन्छ । केश निकालेर स्टोर गर्दा ५ डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्छ ।

कसरी गरिन्छ प्रत्यारोपण ?

केश प्रत्यारोपण गर्दा टाउकाको पछाडिको भागको केश जसलाई एन्ड्रोजेन ‘इन सेन्सेटिभ एरिया’ भनिन्छ बाट केश निकालेर केश झरेको भागमा एउटा–एउटा ग्राफ्ट प्रत्याारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट केश प्रत्यारोपण गर्दा बेहोस बनाउनुपर्दैन । केश निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपिएको केश २ देखि ३ हप्तापछि झरे पनि १० देखि १६ हप्ताको बीचमा पुन: बाक्लो भएर उम्रन्छ । २ हजारवटा ग्राफ्ट केश प्रत्यारोपण गर्न ६ देखि ८ घन्टा लाग्छ ।

प्रत्यारोपणपछि के–कस्ता असर देखा पर्छन् ?

कुनै औषधीले एलर्जी हुने, चिन्ता बढेको महसुस हुने, हल्का ब्लिडिङ हुनेजस्ता सामान्य समस्या देखा पर्छन् । शल्यक्रियापछि केही मानिसमा डोनर तथा केश रोपिएको क्षेत्रमा पीडा हुनसक्छ । यो मानिसअनुसार फरक हुन्छ । कसैको आँखा सुन्निन सक्छ तर एक हप्तापछि सबै कुरा आफैं ठीक हुन्छ ।

केश प्रत्यारोपणपछि त्यसलाई के–कस्तो हेरचाह गर्नुपर्छ ?

प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरी छोप्नुपर्छ । त्यसलाई ४८ देखि ७२ घन्टाभित्र निकाल्नुपर्छ । ब्यान्डेज निकालेपछि एन्टिबायोटिक मल्हम सात दिनसम्म लगाउनुपर्छ । केश रोपेको भागमा संक्रमण नहोस् भनेर खुल्ला भाग लोस क्यापले छोप्नुपर्छ । प्रत्यारोपण गरेको ७२ घन्टापछि क्लिनिकमै गएर बेबी सेम्पुले केश सफा गराउनुपर्छ । प्रत्यारोपण गरेको १ वर्षसम्म औषधी लगाउनुपर्छ । यसले ट्रान्सप्लान्टेड केशमा रक्त संचार हुनुका साथै केश पनि छिटो बढ्न सहयोग पुर्‍याउँछ ।

हाइलाइट्स

- प्रत्यारोपण गरिएको केश ४८ देखि ७२ घन्टापछि बढ्न थाल्छ ।

- ५ महिनापछि केश काट्न मिल्छ ।

-  एक वर्षभित्र केश बाक्लो भएर आउँछ । मुण्डन गरे पनि केश पलाइरहन्छ ।

-  केश प्रत्यारोपण गर्दा मस्तिष्कमा असर पर्दैन । किनभने टाउकोमा पाँचवटा पत्र हुन्छन् । केश छालाको सबैभन्दा माथिल्लो पत्रमा हुन्छ ।

-   मस्तिष्कलाई यी पत्रभन्दा तल रहेको स्कोल बोनले संरक्षण गरेको हुन्छ । केश प्रत्यारोपण छालामा गरिने भएकाले मस्तिष्कमा असर पर्दैन ।

-  केश प्रत्यारोपण गर्दा क्यान्सर हुन्छ भन्ने भ्रम पनि पाइन्छ जुन सर्वथा गलत हो । प्रत्यारोपण गर्दा एक ठाउँको केश अर्को ठाउँमा सार्ने मात्र हो ।

-  मधुमेह भएका मानिसको मधुमेह नियन्त्रणमा आएपछि मात्र केश प्रत्यारोपण गर्न सकिन्छ ।

-   अन्य कुनै समस्याले अप्रेसन थिएटरमा जाँदा वा कुनै कुराको एलर्जी छ भने पनि केश प्रत्यारोपण गराउनु हुँदैन ।

-  कुनै रोगका कारण केश झरेको भए पनि प्रत्यारोपण गराउनुहुँदैन । 

-डा. रुपक घिमिरे,

डम्र्याटोलोजिस्ट तथा हेयर ट्रान्सप्लान्ट सर्जन, आवरण हेयर एन्ड स्किन क्लिनिक

 Image