Successfully Copied

वाटरप्रुफ सौन्दर्य प्रसाधन

वर्षामा मेकअपमा सजिई टिपटप भएर हिँड्ने चाहना पूरा हुँदैन भन्ने चिन्ता धेरैमा हुन्छ । पानी पर्ने मौसममा यस्तो सोच आउनु अस्वाभाविक पनि होइन तर अहिले संसारमा असम्भव भन्ने कुरा हराउँदै गएको छ ।

 

वर्षामा मेकअपमा सजिई टिपटप भएर हिँड्ने चाहना पूरा हुँदैन भन्ने चिन्ता धेरैमा हुन्छ । पानी पर्ने मौसममा यस्तो सोच आउनु अस्वाभाविक पनि होइन तर अहिले संसारमा असम्भव भन्ने कुरा हराउँदै गएको छ । अब चर्को घाम लागोस् वा ठूलो झरी परोस् कुनै विवाह, पार्टी वा समारोहमा जाँदा मेकअप बिग्रन्छ भन्ने चिन्ता गरिरहनु पर्दैन र त्यो डर भगाइदिएको छ वाटरपु्रफ मेकअपले ।

इन्द्रचोकका व्यवसायी भवेश बाँस्कोटाका अनुसार अहिले वर्षामा मात्र होइन अन्य समयमा पनि वाटरपु्रफ सौन्दर्य प्रसाधनको माग बढ्दो छ । लामो समय टिक्ने एवं चित्ताकर्षक भएकाले यसको माग ह्वात्तै बढेको हो । बाँस्कोटा भन्छन्–वाटरपु्रफ मेकअप गरेकाहरू अत्यन्तै कन्फिडेन्ट देखिन्छन् । जहाँ, जस्तो र जतिसुकै भीडमा भए पनि उनीहरूको आत्मविश्वास डगमगाउँदैन । साधारण मेकअपमा पुछिने, लतपतिने, बग्नेजस्ता समस्या हुन्छन् तर यस्ता सौन्दर्य प्रसाधनले लामो समयसम्म फ्रेस र ताजा देखाउन मद्दत पुर्‍याउँछन् ।

जोकोब हर्बलका घनश्याम गौतम वाटरपु्रफ सौन्दर्य प्रसाधनलाई सौन्दर्य प्रसाधनका क्षेत्रमा आएको क्रान्तिकारी र पछिल्लो प्रविधियुक्त प्रसाधन भन्न रुचाउँछन् । वर्षा र गर्मी अर्थात् पसिना आउने समयमा यस्ता प्रसाधन वरदान नै साबित हुने गौतमको धारणा छ ।

फेसनेबल मानिने गर्मी मौसम पहिरनका दृष्टिले उत्तम मानिन्छ । फेसनेबल भएर हिँड्दा आकर्षक देखिन मेकअपले विशेष महत्व राख्छ । पसिना आउने, भारी वर्षा हुने यो समयमा साधारण मेकअपको कुनै अर्थ रहंँदैन । त्यसैले लामो समयसम्म टिकिरहने मेकअप तथा त्यस्तै प्रकृतिका सौन्दर्य प्रसाधन सबैको रोजाइमा पर्छन् ।

लोटस हर्बल कस्मेटिकसका ऋषि अधिकारी भन्छन् –हाम्रोजस्तो हावापानीयुक्त मुलुकमा वाटरप्रुफ कस्मेटिक्स उपयुक्त छन् । उनका अनुसार यसले लामो समयसम्म सुन्दर त देखाउँछ नै कन्फिडेन्स पनि बढाउँछ ।

स्किन भिटा कस्मेटिक्सका सचिन मुडभरी भन्छन् —वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रोफेशनलहरूका लागि बरदान सावित भएका छन् । यी प्रसाधन स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक छैनन् ।

अहिले लोरियल, ल्याक्मे, रिमेल, मिसा, सिनेल, क्रसरोज, न्युट्रोजिनाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका कस्मेटिक्स कम्पनीले वाटरपु्रफ प्रसाधनको उत्पादनमा जोड दिन थालेका छन् । यी ब्रान्डका प्रसाधन संसारभर उत्कृष्ट मानिन्छन् । ती प्रसाधन सौन्दर्यका दृष्टिले मात्र होइन स्वास्थ्यका दृष्टिले समेत लोकप्रिय छन् । यी उच्च गुणस्तरीय ब्रान्डका फाउन्डेसन, कन्सिलर, प्राइमर, लिपिस्टिक, गाजल, मस्कारालगायत ब्लसरसम्म वाटरपु्रफ स्वरूपमा उपलब्ध हुन थालेका छन् ।

प्राइमर

साधारण प्राइमर अर्थात् मेकअप गर्नुअघि स्किनको बेसमा लगाइने यो प्रसाधनले नेचुरल मेकअपमा ठूलो भूमिका खेल्छ । प्राइमर त्यसै पनि मेकअपलाई धेरै समय टिकाउन र अझ मनमोहक बनाउन प्रयोग गरिने प्रसाधन हो । लिक्विड फममा हुने प्राइमर अहिले वाटरपु्रफमा पनि उपलब्ध हुन थालेको छ । वाटरप्रुफ प्राइमरले मेकअपलाई दोब्बर टिकाउने काम गर्छ तर प्राइमर छनोट गर्दा जहिले पनि राम्रो ब्रान्डको उच्च गुणस्तरीय नै छनोट गर्नुपर्छ किनभने यो प्रत्यक्ष रूपमा छालामा लगाइने प्रसाधन हो ।

मोइस्चराइजर

मोइस्चराइजरले सुख्खा छालालाई नरम एवं फ्रेस देखाउने काम गर्छ । मोइस्चराइजर ठ्याक्कै वाटरप्रुफ नै नभए पनि हिजोआज केही थिकमा आएको छ जसले छालालाई मोइस्चर प्रदान गर्ने मात्र नभई ग्लसी पनि देखाउँछ । मोइस्चराइजर बिनाको मेकअप पूर्ण हुँदैन । यसलाई मेकअपको जग नै मानिन्छ ।

फाउन्डेसन

यो मेकअपको मूल प्रसाधन हो । यसले कन्टोरिङ गर्ने, फेसकट मिलाउने, दाग–धब्बाका साथै पिम्पल्स र ब्ल्याक हेड्स छोप्ने आदि काम गर्छ । यसले मेकअपमा पहिलो र महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । हिजोआज बजारमा वाटरपु्रफ फाउन्डेसनसमेत उपलब्ध छन् । केही महँगा भए पनि यसको काम हेर्दा तिरेको पैसा बिर्सिइन्छ । यो फाउन्डेसन टिकाउ एवं मुहारमा चमक दिने खालको हुन्छ जुन साधारण फाउन्डेसनबाट प्राप्त गर्न सकिँदैन ।

कम्प्याक्ट

मूलत: वाटरप्रुफमा ठूलो भोल्युममा आउने भनेकै कम्प्याक्ट हो । प्राइमरलगायतका स्किन बेसमा लगाइने प्रसाधन पछि अप्लाइ गरिने कम्प्याक्ट लुज र ग्लसी दुवै फममा उपलब्ध हुन्छ । साधारण कम्प्याक्ट २ देखि ४ घन्टासम्म टिक्छ भने वाटरपु्रफ कम्प्याक्ट १२ घन्टासम्म सहजै टिक्ने खालको हुन्छ । कम्प्याक्ट लगाएपछि पानी परोस् वा पसिना आओस् बिग्रने र बग्ने डर हँुदैन ।

ब्लस एन्ड ब्लेन्ड

ब्लेन्डले मेकअपलाई रिफाइन गर्ने काम गर्छ भने ब्लसले रोज सेडेडको काम गर्छ । यी दुवै मेकअप हाइलाइट्सका प्रसाधन हुन् जसले मेकअपमा फाइन ट्युनिङको भूमिका खेल्छन् । पछिल्लो समयमा यी दुवै प्रसाधन वाटरप्रुफमा उपलब्ध हुन थालेका छन् । त्यसो त यस्ता फिनिसिङका लागि बाहिर लगाइने प्रसाधन वाटरपु्रफ नै हुनुपर्ने सौन्दर्यविज्ञहरू बताउँछन् । रिमेल, ल्याक्मे तथा लोरियलले पनि यस्ता ब्लस र ब्लेन्ड दुवै ठूलो भोल्युममा वाटरपु्रफमै उत्पादन गर्ने गरेका छन् । वाटरपु्रफ ब्लस तथा बेन्ड लगाएपछि बिहान गरेको मेकअप बेलुकासम्म जस्ताको तस्तै रहन्छ न बिग्रिने डर न पखालिने भय ।

मस्कारा

हिजोआज वाटरप्रुफ भोल्युम मस्कारा नै बढी चलेको पाइन्छ । आँखा जस्तो संवेदनशील अंगमा लगाइने हुनाले स्वास्थ्यका हिसाबले पनि वाटरपु्रफ मस्कारा नै उपयुक्त छ । किनभने न यो बग्छ, न लतपतिन्छ । यो मस्कारा बढी टिकाउ हुनुका साथै यसले परेला नझार्ने, नबिगार्ने तथा आँखालाई धूलोका कणबाट जोगाउने कामसमेत गर्छ । वाटरपु्रफ मस्कारालाई ५ सयभन्दा माथि पर्छ । यसमा बिहान लगाए रातिको पार्टीलाई समेत धान्ने विशेषता हुन्छ ।

गाजल

गाजललाई आँखाको सुन्दरता थप्ने मात्र नभई प्राकृतिक रूपमा आँखाको स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । घरमा बनाइएको गाजलले आँखालाई राम्रो गर्ने विश्वास गरिन्छ । हिजोआज बजारमा वाटरपु्रफ गाजलको बढी माग छ । यो गाजलले कुनै साइड इफेक्ट नगर्ने व्यवसायीहरूको तर्क छ । एकपटक लगाएपछि नबग्नु, लामो समयसम्म टिक्नु तथा अनुहार धुँदा पनि फरक नपर्नु यसका विशेषता हुन् ।

लिपिस्टिक

वाटरप्रुफ लिपिस्टिक लगाइसकेपछि पानी पिउँदा पोखियोस् वा खानेकुरा खाँदा त्यति होसियार भैरहनु पर्दैन । यसले थप आत्मविश्वास भर्छ अन्यथा आम लिपिस्टिक लगाउँदा बाहिर लाग्यो कि वा केही खाँदा–पिउँदा बिग्रने हो कि भन्ने चिन्ता भैरहन्छ । वाटरप्रुफ लिपिस्टिक विभिन्न ब्रान्डमा सयौं कलरमा उपलब्ध छ ।

 वाटरप्रुफका विशेषता:

-  लामो समयसम्म टिक्ने ।

- बीचबीचमा कम्प्याक्ट, गाजल, लिपिस्टिक आदि थपिरहनु नपर्ने ।

- झरी परोस् वा चर्को घाम लागेर निथु्रक्कै पसिना आओस् मेकअप बिग्रिएला भन्ने कुराले चिन्तित भैरहनु नपर्ने ।

-  व्यक्तित्वमा आत्मविश्वास थप्ने ।

- सौन्दर्यविद् एवं व्यवसायीहरूका अनुसार ल्याव टेस्टेड भएकाले कुनै साइड इफेक्ट नभएको ।

- सुन्दरतामा थप निखार ल्याउने ।

 Image