Successfully Copied

फिटनेसप्रति महिलाको चासो र महत्व

केही वर्षअघिसम्म फिटनेसमा आउने महिलाहरू आमा भएपछि पुन: पहिलेकै जस्तो फिगर बनाउन चाहन्थे । हिजोआज भने महिलाहरू किशोरावस्थादेखि नै आफूलाई फिट राख्ने प्रयास गर्छन् ।

महिलाहरू फिटनेसप्रति कत्तिको सजग छन् ?

केही वर्षअघिसम्म फिटनेसमा आउने महिलाहरू आमा भएपछि पुन: पहिलेकै जस्तो फिगर बनाउन चाहन्थे । हिजोआज भने महिलाहरू किशोरावस्थादेखि नै आफूलाई फिट राख्ने प्रयास गर्छन् । किशोरीदेखि ५५–६० वर्षसम्मका महिलाहरू जुम्बा, एरोबिक्स, कार्डियो आदिका लागि आइरहेका छन् । यसरी हेर्दा आधुनिक महिलाहरू फिटनेसप्रति सचेत हुँदै गएका छन् भन्ने देखिन्छ ।

नियमित रूपमा जुम्बा गर्दा के–कस्ता फाइदा हुन्छन् ?

वजन घटेर शरीर फिट हुनुका साथै मानसिक रूपमा पनि बलियो हुन मद्दत मिल्छ । तनमन फुर्तिलो एवं जाँगरिलो हुने हुँदा जीवनमा खुसी वृद्धि हुन्छ ।

जुम्बालाई निरन्तरता दिन सकिएन भने पहिलेको तुलनामा अझ बढी मोटाउने कुरामा कत्तिको सत्यता छ ?

जुम्बालगायत कुनै पनि कार्डियो गरेपछि इनर्जी घट्छ र भोकाइन्छ अनि त्यसपछि त्यही अनुपातमा डाइट खाइन्छ । जुम्बा छोडेपछि पनि खाने शैली भने उस्तै हुन्छ र यही कारणले बढी मोटाइने हो । व्यायाम नगर्दा सोही अनुपातमा सन्तुलित भोजन खाए शारीरिक तौलमा खासै फरक पर्दैन ।

जुम्बा सिकेपछि घरमै गर्दा पनि हुँदैन ?

धेरैले २–३ महिना जुम्बा गरेपछि घरमै गर्छु भनेर छाड्छन् । घरमै हुँदा नियमितता दिन अल्छी लाग्छ र बीचमै छोड्छन् । फिटनेस क्लबमा जत्तिकै समय निरन्तर दिन सकिन्छ भने घरमै गर्दा पनि हुन्छ ।

जुम्बालाई नृत्यकै एउटा भाग मान्न सकिन्छ ?

जुम्बा ५ प्रकारका नृत्यको संयुक्त रूप हो । नृत्यको माध्यमबाट रमाइलो गर्दै आफूलाई स्वस्थ  राख्न सकिने भएकाले नै जुम्बाको लोकप्रियता वृद्धि भएको हो ।

धेरैजसो महिला फिटनेस क्लबमा केका लागि आउँछन् ?

वजन घटाउन कार्डियो खोज्ने महिलाहरू बढी आउँछन् । कार्डियोभित्र साइक्लिङ, ट्रेडमिल, इलेक्ट्रिक साइक्लिङ, जगिङ, जुम्बा, एरोबिक्स आदि सबै पर्छन् । यी सबै किसिमका व्यायामले पसिना निकाल्ने काम गर्छन् ।

कार्डियोबाट स्पोट रिडक्सन गराउन कत्तिको सम्भव छ ?

धेरैजसो मानिस शरीरको कुनै भाग (पेट, थाइ, हिप, कम्मर आदि) मात्र घटाउन भनेर आउँछन् । यो कुरा कार्डियोबाट सजिलै सम्भव छैन । त्यसका लागि त सर्जरी नै गराउनुपर्छ । कार्डियोवाट त सम्पूर्ण भाग घट्छ । स्वस्थ तरिकाले स्पोट रिडक्सन गर्न अर्थात् शरिरको निश्चित भाग मात्र घटाउन मिल्दैन ।

खानाको गाइडलाइन कसरी दिनुहुन्छ ?

सबैले खाने खानाको चार्ट हेर्छु अनि त्यहीअनुरूप निर्देशन दिन्छु । जंक फुड खाँदै नखाने सल्लाह दिन्छु । फिटनेसका लागि प्रोटिन, कार्बाेहाइड तथा फ्याट सन्तुलित तरिकाले खाइयो भने स्वस्थ रहन सकिन्छ । यहाँ कोही दुब्लाउन तथा कोही मोटाउन आउँछन् । त्यहीअनुसार डाइट चार्ट बनाउनुपर्छ ।

फिटनेसमा आउनेहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

अहिले मानिसहरू छिटो र सजिलो परिणाम खोज्छन् । यद्यपि सजिलो तरिकाबाट खोजिने परिणाम पनि ढिलै हुन्छ । सेल्फ मोटिभेसनबाट वजन घटाउन सक्नु सबैभन्दा प्रभावकारी उपाय हो । एक–दुई हप्ता व्यायाम गर्ने अनि सोचेजस्तो नतिजा आएन भनेर छोड्ने प्रवृत्तिले आफ्नै शरीरलाई हानि पुग्नसक्छ । शरीर स्वस्थ राख्न धैर्य एवं आत्मविश्वास हुनैपर्छ ।

                                        -प्रियंका अमात्य, जुम्बा तथा जिम प्रशिक्षक

 Image