Successfully Copied

इन्डक्सन चलाउँदा अपनाउनुपर्ने सावधानी

नेपालीहरू इन्धन अभावका कारण खाना पकाउने वैकल्पिक उपाय अपनाउन बाध्य भए। यसै क्रममा उच्च तथा मध्यमवर्गीय परिवारमाझ इन्डक्सन चुल्हो विशेष लोकप्रिय भयो।

नेपालीहरू इन्धन अभावका कारण खाना पकाउने वैकल्पिक उपाय अपनाउन बाध्य भए। यसै क्रममा उच्च तथा मध्यमवर्गीय परिवारमाझ इन्डक्सन चुल्हो विशेष लोकप्रिय भयो। 

सुरुसुरुमा ग्राहकहरू इन्डक्सन चुल्हो पाउनासाथ खरिद गरिहाल्थे। ब्रान्ड र मूल्यको वास्ता गर्दैनथे तर अहिले भने ग्राहक ब्रान्डप्रति सजग हुँदै गएका छन्। ननब्रान्डेडभन्दा ब्रान्डेड चुल्हो केही महँगो परे पनि ग्राहकहरू ब्रान्डेड चुल्होकै माग गर्छन्। ननब्रान्डेड चुल्हो खरिद गर्दा केही सस्तो परे पनि छिट्टै बिग्रने सम्भावना भएको तथा नयाँ प्रविधि भएकाले बिग्रिएपछि मर्मतका लागि बजारमा मनपरी शुल्क लिइने गरेकाले खर्च बढ्ने गृहिणीहरूको अनुभव छ। नयाँ प्रविधि भएकाले प्रयोगकर्ताका लागि यसको सञ्चालन प्रक्रिया पनि नौलो नै छ। चलाउने तथा हेरचाह गर्ने विधि थाहा नहुँदा पनि चुल्होमा समस्या आएको कतिपय गृहिणीको भनाइ छ। 

ब्रान्डेड उपकरण खरिद

ब्रान्डेड उपकरण खरिद गर्दा उपभोक्ताले वारेन्टी पाउँछन्। नयाँ प्रविधि प्रयोग गर्दा बिक्रीपछिको सेवा–सुविधामा पनि ध्यान दिनुपर्ने हुन्छ। यो सुविधा ननब्रान्डेड उपकरणको खरिद गर्दा नपाइनसक्छ। त्यसैले खरिद गर्दा सस्तो परे पनि पछि समस्या आउँदा व्ययभार थपिन्छ तसर्थ सकेसम्म भरपर्दो बिक्रेतामार्फत ब्रान्डेड चुल्हो खरिद गर्नु उपयुक्त हुन्छ।

कम वाटको प्रयोग

खाना पकाउने कार्यमा मानिसहरू अनावश्यक रूपमा बढी वाट प्रयोग गर्छन्। यसले तुलनात्मक रूपमा खाना छिटो पाके पनि ऊर्जा खपत बढी हुन्छ भने उपकरणमा खराबी आउने सम्भावना पनि वृद्धि हुन्छ। खाना पकाउन ८ सयदेखि १ हजार ४ सय वाट प्रयोग गर्नु पर्याप्त हुन्छ।

थोरै वाटबाट सुरू गर्ने

इन्डक्सन चुल्हो प्रयोग गर्दा सुरुको अवस्थामा सकेसम्म कम (करिब ८ सय वाट) बाट गर्नु उपयुक्त हुन्छ। पकाउने क्रममा यसलाई आवश्यकताअनुसार बढाउन–घटाउन सकिन्छ। अधिकांश मानिसले प्रारम्भिक अवस्थामै कम समयमा खाना पकाउन धेरै वाट प्रयोग गर्छन्, जसले उपकरणमा चाँडै खराबी ल्याउन सक्छ।

सफाइमा सावधानी

खाना पकाउन उच्च तापक्रम प्रयोग गरेपछि केही समय यसलाई सेलाउन दिनुपर्छ। उच्च तापक्रममा प्रयोग गर्नेबित्तिकै चिसो रुमाल आदिले पुछेर सफा गर्दा उपकरणमा खराबी आउने सम्भावना हुन्छ।

भाँडा बसाल्दा सावधानी

चुल्होको माथिल्लोपट्टि कुकटपमा मोटो कालो ग्लास प्रयोग गरिएको हुन्छ। बलियो नै हुने भए पनि चुल्होमा भाँडा बसाल्दा विशेष सावधानी अपनाएर कम दबाब पर्ने गरी राख्नुपर्छ। सावधानी नअपनाउँदा यो चर्कने वा फुट्ने सम्भावना हुन्छ। चुल्होको प्रयोग सकेसम्म काठको टेबुल आदिमा राखेर गर्नु उपयुक्त हुन्छ।पकाउने बित्तिकै मेन स्विच अफ नगर्ने इन्डक्सन चुल्होमा खाना पकाउने काम सकिएलगत्तै मेन स्विच अफ गर्नु हुँदैन। चुल्होमा यसलाई चिसो बनाउन पंखा पनि हुन्छ। काम सकिएपछि पनि चुल्हो चिसो बनाउन केही समय पंखा चलिरहन्छ। मेन स्विच अफ गर्दा यसले आफ्नो काम गर्न पाउँदैन। फलस्वरूप उपकरणमा हानि पुगिरहेको हुन्छ। त्यसैले खाना पकाउने काम सकिएपछि इन्डक्सन अफ गरे पनि मेन स्विच भने अन नै राख्नुपर्छ।

आल्मुनियम फाइलबाट जोगाउने

खाना बेर्न प्रयोग हुने आल्मुनियम फाइललाई कुकटप्समा पर्नबाट जोगाउनुपर्छ। फाइलको प्रयोग गरी जोगाएर राखिएका खानेकुरा तताउनुपर्दा उपकरणमा उक्त फाइल नपरोस् भनेर विशेष ध्यान पुर्‍याउनुपर्छ। कुकटप्समा आल्मुनियम फाइल परे फाइल पग्लिएर ग्लास फुट्नसक्छ।

पेसमेकर प्रयोगकर्ताहरू सावधान

पेसमेकर प्रयोग गरिरहेकाहरूले यो उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। हृदयको गति नियमित बनाउन छातीमा पेसमेकर प्रयोग गरिएको हुन्छ। त्यस्ता व्यक्तिमा इन्डक्सन चुल्होले उत्पन्न गर्ने चुम्बकीय शक्तिले नकारात्मक प्रभाव पार्ने भएकाले विशेषज्ञहरूको सल्लाहअनुरूप मात्र यसको उपयोग गर्नुपर्छ।

 Image